विकासन्युज

९ बैंकलाई राष्ट्र बैंकको साढे १५ करोड जरिवाना, कुन बैंकलाई कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगर्ने विभिन्न ९ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कर्जा परिचालन गर्दा बदनियत गरेको देखि सीडी रेसियो कायम नगरेको भन्दै राष्ट्र बैंकले ९ वटा बैंकलाई कारवाही गरी साढे १५ करोड रुपैयाँ जरिवाना तिराएको हो । राष्ट्र बैंकका अनुसार साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, कर्जा तथा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै साविकको सेञ्चुरी बैंकलाई २ करोड ८४ लाख ७३२ रुपैयाँ, नेपाल बैंकलाई १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ ग्लोबल आइएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना तिराएको हो । साविकको एनसीसी बैंकले सहुलियतपूर्ण कर्जा सम्बन्धि एकिकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समुहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र निर्देशन विपरित हुने गरी प्रिमियम दरमा परिर्वतन गरेको हुँदा तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) र सीईओले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको खण्ड (ग) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवम् जोखिम भार प्रदान नगरेको हुँदा साविक कुमारी बैंकका सीईओलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले बताएको छ ।

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन गर्न निर्वाचन आयोगको विशेष व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो । उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ । आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबोहक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । यदि त्यस प्रकारका अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ । आयोग नेपाल प्रहरीका सम्बन्धित सबै एकाइ, राष्ट्रिय अनुसन्धान विभाग मातहतका सम्बन्धित एकाइ र आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृत तथा अन्य सरोकारवाला सबै पक्षलाई सोही बमोजिम गर्न/गराउन आयोगले निर्देश गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए । आयोगले उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने निर्णयसमेत गरिसकेको छ । यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसका रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन/नहुने र त्यस्तो कार्य गर्ने व्यक्तिलाई रु पचास हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सक्नेछ । सोही ऐनको दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा पुनः स्मरण गराएको आयोगले जनाएको छ । साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ । निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले तोकिएकोभन्दा बाहेक वा अनुमति विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिई आवश्यक कारबाही गर्ने पनि आयोगले जनाएको छ । रासस

महिला कृषकलाई तरकारी खेती तालिम

सिमकोट । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताए । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् भन्ने उद्देश्यले सञ्चालित तालिमबाट महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताए । वडा नं ६ माथिल्लो गाउँका १५ दलित महिला कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको सहजीकरण सिंह र जेटिए सुन्दर रावतले गरेका थिए । तालिममा सहभागी १५ दलित महिला कृषकलाई ग्रिनहाउस निर्माणका लागि प्रतिमहिला एक–एक थान त्रिपाल वितरण गरिएको थियो । साथै उनीहरुलाई तरकारीको बीउ निःशुल्क वितरण गरिएको थियो । यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई काठमाडौंको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको छ । हेल्थ ट्रष्टबाट तीन सय १८ प्रकारको औषधि सहयोग प्राप्त भएको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताए । ट्रष्टले चार लाख ५० हजार रुपैयाँको औषधि सहयोग गरेको हो । रासस

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौं । टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसइई दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसनको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो । टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीनमहिने कम्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए । उक्त तालिममा टोखाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिकरुपमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित सो नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस

‘यूएचएस होल्डिङ्ग्सले घरको आयु बराबरका बहुराष्ट्रिय इन्टेरियर प्रडक्ट बिक्री गर्छ’

यूएचएस होल्डिङ्ग्सका अध्यक्ष हुन् पुरुषोत्तम न्यौपाने । न्यौपानले वि.सं. २०६२ सालदेखि इन्टेरियरसम्बन्धी व्यवसाय सुरु गरेका हुन् । यूएचएस होल्डिङ्ग्स इन्टेरियर व्यवसायमा अग्रणी कम्पनी हो । कम्पनीले घरायसी तथा व्यवसायिक संस्थाका लागि आवश्यक पर्ने विश्व प्रख्यात ब्राण्ड नेपाली बजारमा सर्वसुलभमा बिक्री गरिरहेको छ । कम्पनीको बिक्री प्रबन्धक (सेल्स डाइरेक्टर) नवराज कार्की हुन् । वि.सं. २०७३ सालमा यूएचएस होल्डिङ्ग्स प्रवेश गरेका उनी ७ वर्षदेखि कम्पनीमा कार्यरत छन् । यसअघि सिप्रदी कम्पनीको चितवन एरिया सेल्स म्याजेरको रुपमा काम गरेका उनले इन्टेरियर प्रडक्ट सम्बन्धी अनुभव हासिल गरेका छन् । यूएचएस होल्डिङ्ग्समा बिक्री प्रबन्धकको जिम्मवारी पाएका कार्कीसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । यूएचएस होल्डिङ्ग्सले इन्टेरियर क्षेत्रमा कुन-कुन ब्राण्डका सामान बिक्री गर्छ ? वि.सं. २०६२ सालदेखि यूनिभर्सल होम सोलुसन (यूएचएस) का नामले निर्माण तथा घरायसी फिनिसिङ वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । यूएचएस होल्डिङ्ग्सको नामबाट घरायसी तथा व्यवसायीक संस्थासँग सम्बन्धित सामाग्रीहरु खुद्रा तथा होलसेलमा बिक्री गरिरहेको छ । यूएचएस होल्डिङ्ग्सले रिटेल स्टोरबाट व्यवसाय सुरु गरेको हो । यो अवधिमा हामीले थुप्रै रिटेल काउन्टरहरु थपेका छौं । साथै, अन्य ब्राण्डहरु पनि थप्दै गयौं । मल्टिनेशनल र भारतीय कम्पनी गरी विभिन्न ९ वटा ब्राण्डको आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स हो । ट्रोयगा ब्राण्डलाई छोटो अवधिमै देशभर २ सय भन्दा बढी डिलर मार्फत् विस्तार गर्याैं । त्यसको ४/५ वर्षपछि फ्याभर ब्राण्ड थप्न सफल भयौं । फ्याभर ब्राण्ड इटालियन कम्पनी हो । यस कम्पनीका ब्राण्डहरु भान्सासँग सम्बन्धित छन् । फ्याभरमार्फत् भान्सासँग सम्बन्धित चिम्नी, चुला, ओभन, माइक्रो ओभन, डिस्चार्जर लगायत वस्तुहरुको बिक्री गरिरहेका छौं । यो मल्टिनेशनल कम्पनी भएपनि दक्षिण एशियामा भारतबाट बिक्री वितरण भइरहेको छ । फ्याभर ब्राण्डका प्रडक्टहरु काठमाडौंको टेकु, कुमारीपाटी, पेप्सीकोला, कमलादी लगायतका ४ वटा ठाउँमा स्टोरमार्फत् बजारमा उपलब्ध गराइ रहेका छौं । साथै, नारायणगढ, पोखरा र बुटवल लगायतका सहरहरुमा एस्कुलिसिभ सोरुममार्फत् उपत्यका बाहिर सेवा दिइरहेका छौं । बहुर्राष्ट्रिय ब्राण्ड हाफलेलाई २ वर्षअघि मात्रै नेपाल भित्र्याइएको हो । नेपाली बजारमा हाफले ब्राण्डको आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स हो । हाफले ब्राण्डका भान्सा तथा प्रोजेक्टसँग सम्बन्धित प्रडक्टहरु छन् । हाफले जर्मन ब्राण्ड हो । साथै, हामीले भारतीय कम्पनीका वेस्टाइड ब्राण्ड, ज्याकोजी, बाक्टभ, सोना, ओभरसेट सावल प्रडक्टहरुको पनि बिक्री वितरण गर्दै आएका छौं । जर्मनीकै अर्नेसिया ब्राण्ड, फ्लोरिङका लागि मिलानो ब्राण्डको आधिकारीक बिक्रेता पनि यूएचएस होल्डिङ्ग्स नै हो । यूएचएस होल्डिङ्ग्सले एउटा घरको लागि आवश्यक पर्ने बाथरुम, भान्सा तथा इन्टेरियल सामाग्री उपलब्ध गराइरहेको छ । यूएचएस होल्डिङ्ग्सबाट बिक्री हुने प्रडक्टहरुको मूल्य कति छ ? एउटा घरको लागि चाहिने सम्पूर्ण सामाग्री खरिद गर्दा लागत कति लाग्छ ? हामीसँग मान्छेको बजेट र प्योकज अनुसारको प्रडक्टहरु छन् । प्रडक्टहरुको ब्राण्ड, गुणस्तर, क्याटागोरी, सिरिज वाइज मूल्य फरक–फरक छ । सामान्यतया एउटा मान्छेले उच्च गुणस्तर (प्रिमियम)मूल्यको सामाग्री प्रयोग गर्ने हो भने १५ लाखदेखि १ करोडभन्दा माथिका प्रडक्टहरु हामीसँग उपलब्ध छन् । मूल्य यति नै पर्छ भनेर फिक्स हुँदैन । प्रडक्टलाई कस्टमाइज गर्न सकिन्छ । हामीले उपलब्ध गराउने प्रडक्टहरुको मूल्य ‘स्पेसिफिक’ छैन । मान्छेको घरको आकार र बजेट अनुसारका प्रडक्ट पनि उपलब्ध छन् । यूएचएस होल्डिङ्ग्सले बिक्री गर्ने प्रडक्टका ग्राहकहरु ब्यक्ति धेरै छन् की कर्पाेरेट हाउस ?  हामीले दुई तरिकाबाट विजनेश गरिरहेका छौं । हामीले सोरुम राखेर रिटेल गरिरहेका छौं भने अर्काे होलसेलमार्फत् डिलरको काम गर्छाैं । त्यसैले हामीसँग दुइटै खालका ग्राहकहरु हुनुहुन्छ । हामीले सुरुवातमा रिटेल मार्फत् विजनेश गरेको थियौं । ग्राहकहरु आफैं प्रत्यक्ष आएर सामाग्रीहरु खरिद गरिरहनु भएको छ । अहिले नेपालभरि २ सय भन्दा बढी डिलर नेटवर्कमार्फत कर्पारेट हाउसलाई बिक्री वितरणको काम पनि हामीले गरिरहेका छौं । व्यवसायिक र ब्यक्तिगत ग्राहकहरु ५०/५० प्रतिशत छन् । अहिले डिलर नेटवर्कमा कर्पारेट हाउस हुने भएकाले कारोबार बढी भएको देखिन्छ । किनभने उनीहरुको भोलुम पनि बढी हुन्छ । सबैभन्दा धेरै विजनेश काठमाडौंमा छ । त्यसपछि पोखरा, नारायणगढ, बुटवल, इटहरी, हेटौडा, दाङ, धनगढी, विरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायत मुख्य सहरहरुमा पनि राम्रो विजनेश भइरहेको छ । हामीले पूर्वदेखि पश्चिमसम्मका सबै सहरहरुमा यूएचएस होल्डिङ्ग्स मार्फत् इन्टेरियल प्रडक्टहरु उपलब्ध गराइरहेका छौं । फ्याभर ब्राण्ड घरसँग सम्बन्धित छन् भने हाफले ब्राण्ड प्रोजेक्टमा आधारित छन् । नेपालमा सञ्चालन भएका पाँचतारे होटलहरुमा हाफले ब्राण्डका प्रडक्टहरु प्रयोग भइरहेका छन् । टायल, सेनेट्री, धारा, कम्बोड सबै घरका लागि आवश्यक पर्ने प्रडक्टहरु हुन् । सामान्य घरहरुमा पनि यी प्रडक्ट प्रयोग भइरहेका हुन्छन् । कर्पाेरेट र ब्यक्तिगत ग्राहक अनुसार छुट्टाछुट्टै ब्राण्डका प्रडक्ट हामीसँग उपलब्ध छन् । ब्यक्तिगत ग्राहकहरु धेरै भएपनि कारोबारका आधारमा कर्पाेरेटमा बढी हुन्छ । पछिल्लो समय भवन तथा निर्माण क्षेत्र सुस्ताएको छ । यस्तो अवस्थामा ब्यापार व्यवसायमा कस्तो असर परेको छ ?  अहिले समग्र बजार नै सुस्ताएको छ । वित्तीय क्षेत्र समस्यामा छन् । निर्माणसम्बन्धी कामहरु कम भएका छन् । जसले गर्दा इन्टेरियल ब्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ । निर्माण सम्बन्धी कार्य कम भएकाले सप्लाइ पनि कम भएको छ । अहिले किराना पसलदेखि ठूला ब्यापारिक संस्थाहरुको व्यवसायमा नै गिरावट आएको छ । त्यसैले जुन रेसियोमा ब्यापार हुनु पर्ने हो त्यो रेसियोमा हुन सकेको छैन । हाम्रा प्रडक्टहरु प्रिमियम भएकाले जो ग्राहकहरुलाई आवश्यक पर्छ उहाँहरुले जुनसुकै समयमा पनि खरिद गरिरहनु भएको छ । तर, कोभिड अघिको व्यवसाय र कोभिड पछिको व्यवसायमा ठूलो ग्याप छ । पहिला ब्यापार मनलाग्दी थियो भने अहिले सुस्ताएको छ । आर्थिक मन्दीका कारण माग घटेको छ । बजार विस्तार गर्न अहिले कठिन छ । ५० प्रतिशत व्यवसाय घटेको छ । अघिल्ला वर्षहरुमा ६०/७० प्रतिशतसम्म विजनेश ग्रोथ हुन्थ्यो । अहिलेको यो अवस्थाले भविष्यमा के होला भन्ने चिन्ता छ । यूएचएस होल्डिङ्ग्सले बिक्री वितरण गर्ने प्रडक्टहरुको गुणस्तर कस्तो छ ?  मल्टिनेशन कम्पनीका प्रडक्टहरु गुणस्तर उच्च हुन्छ । विश्वव्यापी बिक्री गर्ने भएकाले गुणस्तरीयतामा कुनै कम्प्रमाइज हुँदैन । साथै, भारतीय ब्राण्डहरुको पनि उच्च गुणस्तर हुन्छ । आजको दिनसम्म हामीले बिक्री गरेका प्रडक्टहरुको गुनासो सुन्नु परेको छैन । कतिपय प्रडक्टहरुमा बिक्रीपश्चात् पनि सेवा दिइरहेका हुन्छौं । हाम्रो सर्भिस डिपार्टमेन्ट (यूएचएस केयर डिपार्टमेन्ट)ले नेपालभरि नै सेवा दिइरहेको छ । त्यसैले पनि नकारात्मक प्रतिक्रिया सुन्नु परेको छैन । ब्राण्ड र प्रडक्टअनुसार न्यूनतम २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म सेवा शुल्क लिन्छौं । यूएचएस होल्डिङ्ग्सले कस्ता अफर वा स्कीम ल्याउँछ ?  हरेक वर्ष स्कीम वा अफर सार्वजनिक गरेका हुन्छौं । विशेषगरी नयाँ वर्ष र दशैं तिहारमा विशेष स्कीम ल्याउँछौं । साथै अफ सिजनमा पनि स्कीमहरु ल्याएका हुन्छौं । प्रत्येक क्वार्टरमा पनि स्कीम ल्याइरहेका हुन्छौं । अहिले नयाँ वर्षमा ग्राहकहरुलाई नयाँ स्कीम चलिरहेको छ । फरक–फरक बाण्डको फरक–फरक स्कीम छन् । ग्राहकहरुलाई आकर्षण गर्नका लागि नै स्किम ल्याउने हो । स्मिकमा सामान खरिद गर्दा ग्राहकहरुलाई फइदा नै छ । बजारमा तपाईंको प्रतिस्पर्धी को हो ?  हामीले होल्ड गरेका ब्राण्डहरु अरु कसैले पनि बिक्री वितरण गर्दैन । नेपालका लागि आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स मात्रै हो । हामीले बिक्री गर्ने ब्राण्डमा एकल प्रतिस्पर्धी हो । तर, यो क्षेत्रसँग सम्बन्धीत विभिन्न ब्राण्डका प्रडक्टहरु बजारमा छन् । तर, हामीले बजार विस्तारमा जोड दिएका छौं । फ्याभरको प्रिमियम ब्राण्डमा कोही पनि प्रतिस्पर्धी छैन । अरु ब्राण्डहरु आउनेक्रम जारी छ । आजको दिनमा फ्याभर, हाफले ब्राण्डका अरु प्रतिस्पर्धी नै छैनन् । हामीले बिक्री वितरण गरिरहेका ब्राण्डहरुमा हामी नै लिडिङ पोजिसनमा छौं । यूएचएस होल्डिङ्ग्सबाटै इन्टेरियर प्रडक्ट किन खरिद गर्ने ? उपभोक्तालाई के फाइदा हुन्छ ?  उपभोक्ताहरुले प्रिमियम प्रडक्टहरु सस्तो मूल्यमा पाउनु हुन्छ । साथै, उपभोक्ताहरुले उत्कृष्ट सेवा पाउनु हुन्छ । घर बनाउने भनेको एकपटक हो । बजारमा कमसल किसिमका सामानहरु प्रयोग गर्दा समस्या आउन सक्छ । तर, हाम्रा प्रडक्ट एक चोटी प्रयोग गर्याे भने लामो समयसम्म टिकाउ हुन्छन् । सबै प्रडक्टहरु अन्तर्राष्ट्रिय रुपमा मापन भएर आएका हुन्छन् । जति घरको आयु छ त्यति नै आयु हामीले बिक्री गरेका प्रडक्टहरुको हुन्छ । यदि केही समस्या आउने बित्तीकै तत्काल समाधानका लागि सेवा दिएका छौं । हाम्रा प्रडक्टहरु एकचोटी प्रयोग गरेपछि पटक पटक फेरिरहनु पर्ने बाध्यता हुँदैन । सर्वसाधारणको पहुँचयोग्य छन् की छैनन् ?  आर्थिक अवस्था कमजोर भएका ग्राहकहरुले पनि हाम्रा प्रडक्ट खरिद गर्न सक्नु हुन्छ । हामीले बिक्री वितरण गर्ने प्रडक्टहरु निम्न वर्गदेखि उच्च वर्गका ग्राहकहरुले खरिद गर्न मिल्ने गरी मूल्य तोकिएको हुन्छ । न्यूनतम मूल्यमा घर बनाएको छ भने उक्त घरका लागि आवश्यक पर्ने गरी मूल्य तोकिएको हुन्छ । सबै ग्राहकलाई लक्षित गरेर प्रडक्टको मूल्य कायम गरिएको हुन्छ । ब्यापार विस्तार गर्ने आगामी योजना के–के छन् ?  हामीले अहिले नेपालभरी नै रिटेल स्टोरहरु विस्तार गरिरहेका छौं । यसबाहेक साना सहरहरुमा पनि डिलर नेटवर्क मार्फत जाने तयारीमा छौं । अहिले आर्थिक मन्दीका कारण सबै ठाउँमा विस्तार गर्न सकेका छैनौं । तर, केही समयपछि नेपालका कुना कुनामा सबैले सहज तरिकाले खरिद गर्ने वातावरण बनाउँछौं । पछिल्लो समय वस्तुहरुको माग किन घट्यो ?  अस्थिरता धेरै भएका कारण माग घटेको हो । सरकार पनि परिवर्तन भइरहेको छ । सरकार परिवर्तन हुने बित्तीकै नीति नियम के हुने भनेर स्पष्ट छैन । साथै, निर्माण कार्य पनि सुस्त भएकाले माग घटेको हो । कति समयमा मूल्य परिवर्तन गर्नु हुन्छ ?  हामीसँग उपलब्ध भएका ब्राण्डहरुको मूल्य हरेक महिना परिवर्तन हुँदैन । मल्टिनेशन ब्राण्डहरुले पूर्व जानकारी गराएर मूल्य तोकेर पठाउँछन् । २/४ वर्षको अन्तरमा मूल्य परिवर्तन हुन्छ । अन्य क्षेत्रको जस्तो आजको भोलि नै मूल्यमा तलमाथि भइराख्ने हुँदैन । सरकारले के गर्याे भने यो क्षेत्र सहज हुन्छ ?  सरकारले लगानी गर्न स्पष्ट नीति बनाउनुपर्छ । दीर्घकालका लागि नीति नियम ल्यायो भने सहज हुनेछ । लगानीकर्ताहरुलाई दीर्घकालका लागि लगानी गर्ने वातावरण छैन । सरकार कहिले परिवर्तन हुन्छ भन्ने टुंगो नै छैन । सरकार परिवर्तन भएपछि नीति नियम पनि परिवर्तन गर्ने गरेका छन् । साथै, नीजि क्षेत्रलाई हेर्ने नजरमा पनि परिवर्तन गर्न जरुरी छ । ब्याजदर उच्च हुँदा कस्तो असर गर्याे ?  ब्याजदर उच्च हुँदा भयानक असर गरेको छ । ब्याजदर नियन्त्र गर्न जरुरी छ । बैंकले ब्याजदर बढाएर ब्यापारीसँग पैसा मात्रै असुलेको छ । उद्योगी व्यवसायीहरुले ब्याज मात्रै तिर्नु परेको छ । बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंक र सरकारले येस क्षेत्रलाई सहजीकरण गर्नुपर्छ । एकजनालाई अफ्ठ्यारो पारेर अर्काेलाई सहज हुने गरी नीति नियम बनाइरहेका छन् । अब सबै क्षेत्रलाई सहज हुने गरी नीति नियम बन्नुपर्छ । नयाँ र पुराना उद्योगी व्यवसायीहरुलाई काम गर्ने वातावरण हुनुपर्छ । विदेशी प्रडक्ट आयातमा कडाइ आवश्यक छ ?  सरकारको भिजन स्पष्ट छैन । प्रिमियम प्रडक्टहरु थोरै आयात हुन्छन् । प्रिमियम प्रडक्ट आयात बन्द गरेर मात्रै सुधार हुँदैन । किनभने प्रिमियम प्रडक्ट स्वदेशमै उत्पादन गर्न सकिँदैन । खाद्यजन्य वस्तुहरु आयात गर्नुपरेको छ भने अन्य वस्तुहको हालत झनै गाह्रो हुन्छ । अन्य वस्तुहरुको तुलनामा यी बस्तुहरु कम आयात हुने गरेका छन् । प्रिमियम वस्तुहरु खरिद गर्ने मान्छे पनि थोरै छन् । त्यसैले आयात पनि कम हुन्छ । यी वस्तुहरु विलासिता भित्र पर्दैनन् । घरमा खाना पकाउने चुलो आवश्यक नै पर्छ । चुलो प्रयोग गरेपछि ग्यास फ्याक्ने स्मोकर र चिम्नी चाहियो । घरमा टायल लगाउनै पर्याे । धारा राख्नै पर्याे । यी वस्तुहरु आधारभूत आवश्यकताभित्र पर्छन् । त्यसैले यी प्रडक्ट विलासीता भित्र पर्दैनन् । यी सामाग्रीहरु स्वदेशमै उत्पादन गर्न सकिन्छ । अहिले टायल नेपालमै विरगञ्जमा टायल उत्पादन भएर केही सहज भएको छ । भारतबाट आउने टायल आयातमा केही ब्रेक लाग्न सक्छ । अरु देशले उत्पादन गर्न सक्ने नेपालले उत्पादन गर्न नसक्ने भन्ने हुँदैन । तर, सरकारको नीति, दीर्घकालका लागि नीति बनाउनुपर्छ । भारत, श्रीलङ्का, चाइना, इजरायल लगायतका देशहरुबाट अहिले आयात गरिरहेका छौं ।

शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार २०० रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त छिन् । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् । जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गरेकी हुन् । ‘बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु’, बिमलाले भनिन्, ‘जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।’ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ । यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउँछिन् । हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रुपमा कार्यरत हुन् । ‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु’, उनले भने, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।’ शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै छिन् । ‘छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ’, उनले भने, ‘दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।’ घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ । ‘जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन’, बिमलाले भनिन्,  ‘अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।’ उनले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताइन् । ‘आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ’, बिमला भन्छिन्–’ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।’ विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिइन् । ‘अहिले एउटा छावा बच्चा सहित सात हात्ती मात्रै यहाँ छन्’, उनले भनिन् । विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि यहाँ फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन् । रासस

१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाख रुपैयाँसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रुपैयाँ रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ । गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस