विकासन्युज

टेकनारायण पोण्डेको बयानका आधारमा खाँण पक्राउ, फोन अफ गरेर बसेका थिए

काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेकोे बयानका आधारमा प्रहरीले पूर्वगृृहसचिव बालकृष्ण खाँणलाई पक्राउ गरिएको पाइएको छ । सचिव पाण्डेले मन्त्रीकै निर्देशनका आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार बिहानै उनको निजी निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै प्रहरीले गत बुधबार पाण्डेलाई पक्राउ गरिसकेको थियो । खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो । कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए । सोही बयानका आधारमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुँजी जारी गरेर पक्राउ गर्दा पूर्वसचिव टोपवहादुर रायमाझि नै फरार हुने आंशकामा प्रहरीले उनलाई जरुरी पुँर्जी थमाएर पक्राउ गरिएको जनाएको छ । सोमबार कार्यदलका संयोजकहरुले प्रतिवेदन आफूले तयार नपारेको बयान दिएपछि खाँण फोन अफ गरेर बसेका थिए ।

सरकारले फेर्यो गृहसचिव, भट्टराईले पाए जिम्मेवारी

काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेकोे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहलाई हटाएर दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालीन गृृहमन्त्री बालकृष्ण खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्। भट्टराई यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । उनले स्थानमा सिंहलाई पठाईएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लनलाई पक्राउ गरिएको बेला सरकारले गृह सचिव फेरेको हो ।

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । उक्त घटनामा आरोपित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । रासस

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि केसीलाई बुधबार बिहान जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको थियो । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । रायमाझी नेकपा एमालेका सचिव समेत हुन् । प्रहरीले हिजो रायमाझीको घर खानतलास गरेको थियो । यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मनाङमा चार महिनामा ८ हजार पर्यटक

मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्याङ्क छ । कोभिड–१९ को सङ्क्रमणपश्चात सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ । नेपाल भित्रिने क्रममा उनीहरु विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । पदयात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताए । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्कमा उल्लेख छ । अहिले वर्षात्को समय भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरिएको उनले बताए । ‘पर्यटक एक्लै जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजीकार्य गर्न समस्या भएपछि सरकारले पथप्रदर्शकबिना यात्रामा जान रोक लगाएको छ, अहिले पथप्रदर्शक लिएर मात्रै पर्यटक आउने गरेका छन्’, गौतमले भने । पथप्रदर्शक भएपछि सूचना पाउन सहज भएको उनको भनाइ छ । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा पथप्रदर्शकको सहयोग हुने हुँदा सहज भएको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । पर्यटक वृद्धि हुँदा उनीहरुको आयस्तरसमेत वृद्धि हुने छ । पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा पर्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दीसित जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सडकमार्ग त्यसपछि पदमार्गमार्फत पर्यटकले मनाङका विभिन्न स्थानको अवलोकन गर्छन् । रासस

खाण पक्राउ परेपछि रवीले दिए सरकारलाई धन्यावाद

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले सरकारलाई धन्यावद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यावाद दिएका हुन । ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु, यो शिलशिला नरोकियोस्, कुनै हालतमा नरोकियोस्’, उनले लेखेका छन् । यस्तै, उनले बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत सरकारको खबरदारी समेत गरेका थिए । ‘शिर्षहरुको तिब्र भेटघाट,फरार (गराइएका) अझै गायब, नाम आएकाहरुको अनुसंधान फितलो, खबरदार’, उनले लेखेका छन्, ‘अनुसन्धानले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’ लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन, यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला प्रम ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ।’

गिटी बालुवा निर्यात गरौं, वार्षिक २ अर्ब डलर आर्जन हुन्छ

मुलुकको वृहद आर्थिक परिसूचकहरुले अर्थतन्त्र प्रतिकुलतातिर गैरहेको देखाइरहेको समयमा हामी आगामी आर्थिक बर्षको बजेटको तयारी गर्दैछौं । मुलतः उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहेको राष्टिय तथ्यांक कार्यालयको तथ्यांक छ । यसले मुलुक मन्दीतर्फ उन्मुख भैरहेको देखाएको छ । तर म प्रतिकुलतामा सम्भावना खोज्ने व्यक्ति हुँ । तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक भएपनि यस बर्ष १.८६ प्रतिशत वृद्धि हुने प्रक्षेपण कार्यालयको छ । अबका दिनमा अर्थतन्त्रमा सुधार हुँदै जाने आधारमा यो प्रक्षेपण गरिएको हुनुपर्छ । मलाई पनि आशा एवं विश्वास छ, अब अर्थतन्त्र विस्तारै लयमा फर्किदै जानेछ । मैले नेपाली अर्थतन्त्रमा सम्भावना देख्नुका पछाडि केहि आधार छन् । २०७२ को विनाशकारी भुकम्पपछि दुइ बर्ष लगातार ७ प्रतिशतभन्दा बढि आर्थिक वृद्धि भएको थियो ।अर्को, पछिल्लो कोभिड १९ महामारी पछिको पहिलो बर्ष ४ र दोस्रो बर्ष पाँच प्रतिशत वृद्धि सम्भव हुनु नेपाली अर्थतन्त्र रेजिलेन्ट हुनुको उदाहरण हो । नेपाली अर्थतन्त्रमा केहि मूलभूतः गुण छन्, जुन अन्यत्र विरलै पाइन्छ । हामीकहाँ स्वच्छ र नविकरणीय उर्जाका प्रायः सबै स्रोत उपलब्ध छन् । हरेक प्रकारको खेती गर्न सकिने मौसम र भू वनोट छ । नेपालमा संचालित प्रायः सबै वहुराष्टिय कम्पनी नाफामा छन् । नेपालीहरुको मेइडेन एज २४ बर्ष छ अर्थात यो युवाहरुको देश हो । विश्वका दुइ ठुला बजारसंग सिमा जोडिएको मात्र नभइ भन्साररहित पहुँच पनि छ । हालसम्म युरोप अमेरिका लगायत बजारमा पनि नेपाली उत्पादनले भन्साररहित पहुँच पाउछन् । सबै मौसममा पर्यटकहरु रमाउन सक्ने वातावरण छ । यस्तो अवस्थामा हामी गरिब भै रहनुपर्ने कुनै कारण देखिदैन् । तर केहि व्यवस्थापकीय, केहि नियामकीय समस्या छन । राजनीतिक अस्थीरता र शुसासनको अभाव छ । सबैभन्दा ठूलो कुरो निजी क्षेत्रमाथिको विश्वास एकदमै न्युन छ । हामी सबैलाई थाहा छ, कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको भूमिका ८१ प्रतिशत छ । राजश्व संकलन र रोजगारीमा पनि निजी क्षेत्रको त्यति नै हिस्सा छ । ्भारत, चीन, रवान्डा, बंगलादेशजस्ता मुलुकमा गरिबी तिव्र गतिमा घटनुका मुख्य कारण निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो । अब आउने नीतिहरुले त्यो आँट गर्नुपर्छ । हामी यत्तिकै बस्यौ भने अर्थतन्त्रमा सुधार हुँदैन् । यो सुधार तत्कालै आउने मौद्रिक नीतिको चौथो त्रैमासिक समिक्षा, आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीति मार्फत गरिनुपर्छ । मैले महासंघको नेतृत्व सम्हाल्दै गर्दा यी बिषयलाई आफ्नो प्राथमिकतामा राखेको छु । पहिलो विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्कालीन सुधारका उपाय अबलम्बन गर्नुपर्छ । संगसंगै, आगामी दिनमा पनि यस्तो समस्या आउन नदिने केहि संरचनात्मक सुधार अहिले नै आवश्यक छ । जस्तो कि हामीकहाँ सात प्रतिशत माथिको आर्थिक वृद्धि हुँदा तरलतामा चाप पर्ने गरेको छ । त्यसैले बजारमा निरन्तर रकम प्रवाह भैरहने उपायको खोजी गरिनुपर्छ । त्यसैले हाम्रो दोस्रो प्राथमिकता, स्वदेशी र विदेशी लगानीलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम संचालन गर्नु हो । नेपालमा बार्षिक करिब २० अर्ब विदेशी लगानी आउने गरेको छ । नेपालजस्तै अतिकम बिकसित मुलुकहरु बंगलादेश, क्याम्बोडिया भन्दा यो दश गुणा कम लगानी हो । सन २०१९ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन नया ल्याइयो । एकद्धार केन्द्र पनि स्थापना गरियो । तर पनि लगानी बढन सकेन । रोजगारी र राजश्वका लागि मात्र नभइ निर्यात बढाउन पनि विदेशी लगानी अपरिहार्य रहेको विश्व बैंकले गत बर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनले सन २०२० को निर्यातका आधारमा १२ गुणा निर्यात बढाउन सकिने आधार पेश गरेको छ । तर यसको एउटा शर्त विदेशी लगानी विस्तार गर्नु पनि हो, जसले उच्च मूल्य अभिवृद्धिसंगै प्रविधि आकर्षित गर्नेछ । नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएयता निर्यात मात्र तीन गुणा बढेको छ । जबकि आयात ८ गुणासम्म बढ्यो । निर्यात बढाउन तीन पटक रणनीति वने । तर पनि उपलब्धि हासिल हुन सकेको छैन् । यसैबीच नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदैछ । त्यसपछि विशेष गरि युरोप र अन्य बिकसित मुलुकमा पाइरहेको भन्साररहित सुविधा गुम्न जानेछ । साना तथा मझौला उद्यमी यसबाट बढि प्रभावित हुनेछन् । यसबारे महासंघले अध्ययन गरेको छ । रणनीति तयार पारि मुख्य पाँच बिषय सम्बोधन गर्नुपर्ने हाम्रो राय छ । लक्षित उपलब्धि हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य नभइ सम्भव छैन् । यस दिशमा गत साउनमा हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसंग आर्थिक रुपान्तरणका लागि सार्वजनिक निजी साझेदारी गरेका छौं । अर्को दक्ष जनशक्ति उत्पादनमा हामीले विशेष ध्यान दिनु जरुरी छ । नेपाल श्रमशक्ति सर्वेक्षणले मुलुकमा ११ प्रतिशत पुणर् बेरोजगारी देखाएको छ । अर्ध बेरोजगारी त धेरै बढि छ । यता, उद्योग व्यवसायले दक्ष जनशक्ति पाइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने ७४ प्रतिशत युवा अदक्ष छन । त्यसैले आय बढाउन दक्षता बढाउनु आवश्यक छ । अर्को निजी क्षेत्रको मर्यादाको बिषय छ । हामीले यसपटकको बजेट सुझाव तयार पार्दा पनि यी बिषयलाई विशेष प्राथमिकता दिएका छौ । पहिलो विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउनु आवश्यक छ । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक छ । यससंगै निर्माण, उद्योग एवं साना उद्योगहरुलाई पुर्नकर्जा आवश्यक परेको छ । सरकारले पूँजीगत खर्च बढाइ अनुत्पादक खर्च घटाउनुपर्छ । स्रोत सुनिश्चितता नभएका अनावश्यक दायित्व सिर्जना हुने कार्यक्रम आगामी बजेटमा समावेश गरिनु हुँदैन् । न्युन पूँजीगत खर्च रहने गरि बजेटको आकार बढाउदा राजश्वले थेग्न सक्दैन । यसैगरि रेमिट्यान्स विशेष प्रवद्र्धन कार्यक्रम मार्पmत औपचारिक माध्यमबाट बढिभन्दा वढि रेमिट्यान्स भित्र्याउने योजना आवश्यक छ । देशभित्र विशेष गरि सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रेमिट्यान्स सेवा जुन रोकिएको छ, त्यसलाई सुचारु गर्नुपर्छ । वाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिन्छ । मौद्रिक र वित्तिय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्छ । आगामी आर्थिक बर्षदेखि अर्थतन्त्रमा क्रमशः सुधार देखिदै जानेछ । संकट दीर्घकालीन सुधारको अवसर पनि हो । पुर्नसंरचनाको आधार हामी अहिलेको बजेटबाट तयार पार्न सक्छौ । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन नगरि सम्भव छैन । त्यसमा हाम्रो विशेष ध्यान आवश्यक छ । तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नया ठाउँमा पनि निजी क्षेत्रलाई अवसर दिइनुपर्छ । जस्तो कि नेपालको फलाम लगायत खनिजजन्य पदार्थको उत्पादन एवं निर्यातमा विशेष कार्यक्रम आवश्यक छ । विभिन्न खोलाहरुमा गिटि ढुंगा बालुवा थुप्रिएका छन् । एक अध्ययनले यसको उपयोगबाट बार्षिक करिब दुई अर्ब डलर (करिव २ खर्ब ६० अर्ब रुपैयाँ) आर्जन गर्न सकिने सम्भावना देखाएको छ । वातावरणीय प्रभाव न्युनिकरण गरि यी तुलनात्मक लाभका वस्तुहरुलाई हामीले प्रवद्र्धन गर्नुपर्छ । उच्च मुल्य अभिवृद्धि हुने पर्यटन बिकासका लागि विजनेस र लिजर अर्थात ब्लिजर पर्यटनलाई वढावा दिइनुपर्छ । प्रकृतिसंग नजिकिने पर्यटक बढने हुँदा पर्यटन पुर्वाधार निर्माणमा सरकारी सहयोग आवश्यक हुनेछ । विगत १५ बर्षमा आधा घटेको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा बढाउन विशेष कार्यक्रम आवश्यक छ । यस्ता उद्योगलाई सहज र सस्तो दरमा बिजुली उपलब्ध गराई प्रतिष्पर्धि बनाउन सकिन्छ । नीतिगत र व्यवहारिक समस्या समाधानका उपाय अबवम्बन गर्नुपर्छ । साना तथा मझौला उद्यम प्रवद्र्धन गर्न परियोजना कर्जा, करमा सहुलियत, बजार विविधिकरणमा सहयोग पुर्याउनु आवश्यक छ । साना उद्यमको संरक्षण दिगो अर्थतन्त्रको निर्माण हो । किनभने यहाँ थोरै लगानीमा रोजगारी सम्भव छ । भोलीका ठूला उद्योग यिनै हुन । जसले थप अवसर सिर्जना गर्नेछन । यो किन पनि आवश्यक छ भने अबको २० बर्षमा हामी युवाहरुको देशको लाभबाट वन्चित हुनेछौ । त्यसैले गाउँगाउँसम्म रोजगारी र स्वरोजगारी यिनै उद्यमको विकासबाट सम्भव छ । अर्को कृषि हो । कृषि खाद्य सुरक्षाका लागि मात्र नभइ उद्योगहरुका लागि पनि कच्चा पदार्थ हो । तर कृषिमा हालसम्म हामीले अवलम्बन गरेका नीति तथा कार्यक्रमले प्रभावकारी नतिजा निकाल्न सकेको छैन् । त्यसैले कृषिको इकोसिस्टममै सुधार आवश्यक छ । मुख्य पाँच वा दश यस्ता कृषि वस्तुको पहिचान गरौ जसको आयात प्रतिस्थापन गर्न सकिन्छ । तिनमा विशेष कार्यक्रम आवश्यक हुनेछ । यसबाहेक, सर्वसाधारण र व्यवसायीले सरकारबाट पाउने सेवाको गुणस्तरका बिषयमा बारम्बार गुनासो गरिरहेको हुन्छ । अब प्रविधिको उच्चतम प्रयोगबाट शुसासन कायम गर्ने तर्पm बजेटले विशेष पहल गर्नु आवश्यक छ । नीतिगत सुधारले राजश्व प्रसासन र संकलनमा पनि सुधार हुनेछ । राजश्व सम्बन्धि विभिन्न कानुनी व्यवस्थाहरु कार्यान्वयनका क्रममा उद्यमी व्यवसायीले नीतिगत र प्रक्रियागत समस्या भोग्नु परिरहेको छ । यस्तो अवस्थामा एकिकृत कानुन निर्माणसंगै कर प्रशासनको पुर्नसंरचना, प्रविधिको प्रयोग र दर समायोजन आवश्यक छ । धेरै मुलुकले लगानी आकर्षित गर्न संस्थागत आयकरको दर घटाइसकेको सन्दर्भमा प्रतिष्पर्धी व्यवसायिक वातावरणका लागि नेपालमा पनि दर घटाउन आवश्यक छ । यसैगरि द्धन्दका बेला बढाइएको मुल्य अभिवृद्धिकरको दरलाई अहिलेसम्म समायोजन गरिएको छैन । यसमा समय सापेक्ष सुधार आवश्यक छ । यो व्यवसायीको हितका लागि मात्र होइन । यसले उपभोक्ताको क्रयशक्ति बढछ र समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्नेछ । मैले माथि पनि भने संकट सुधारको अवसर पनि हो । किनभने यो समयमा सबैले सुधारको अपेक्षा गरेका हुन्छन् । साथ पनि प्राप्त हुन्छ । विगत ४५ बर्षमा प्रतिव्यक्ति आय औसत आम्दानी दक्षिण एसियामा सबैभन्दा कम दरमा बढेको छ । यस अवधिमा आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रह्यो । अब पनि हामीले छलांग लगाउन सकेनौ भने धेरै पछाडि पर्नेछौ । आगामी आर्थिक बर्षको बजेटलाई सुधारको प्रस्थानविन्दु बनाउनुपर्छ । (नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले पूर्व बजेट कार्यक्रममा राखेको मन्तव्यबाट)

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ हो । उनी सत्ता गठबन्धनको मुख्य दलमा पनि प्रभावशाली नेता हुन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । रायमाझी नेकपा एमालेका सचिव समेत हुन् । प्रहरीले हिजो रायमाझीको घर खानतलास गरेको थियो । यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।