विकासन्युज

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ९०३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स २४ प्रतिशतले बढेको हो । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

धुलिखेलवासीले पाए ४६ वर्षपछि जग्गाधनी पुर्जा

धुलिखेल । धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् । तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् । यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताए । उनले भने, ‘त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन ।’ उनका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकले भूकम्पपछिको पुनर्निर्माण गर्न सम्भव भएको थियो । विसं २०६७ मा डिजिटल नापी कार्यालयमार्फत पुनःनापी गरिए पनि सिमाङ्कन विवाद, भुकम्प, कोरोनालगायतका कारण देखाउँदै प्रक्रिया अघि नबढाइएको बताइन्छ । उनले पुर्जा तयार भएका जग्गा धनीलाई सोमबारदेखि पुर्जा वितरण गरेका छन् । ‘प्रक्रिया पु¥याइ पुर्जा तयार भएर आएकालाई क्रमैसँग वितरण गर्दै गइनेछ’, उनले भने । डिजिटल नापी कार्यालय बनेपाले भने पुर्जा पाउन छुट भएका नागरिकलाई ६० दिनभित्र कागजातसहित प्रक्रियामा आउन भनेको छ । कार्यालय प्रमुख सरस्वती धितालका अनुसार डिजिटल नापी सुरुभएको १३ वर्षपछि पुर्जा वितरण गर्न सम्भव भएको हो । ‘छुट भएका नागरिकलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ’ उनले भने । उनका अनुसार १ सय २० दिनपछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी प्रक्रिया रहेकाले नागरिकलाई समयमै उजुरी गर्न अनुरोध गरिएको हो । कार्यालयले पुर्जा भएका नागरिकलाई पनि नयाँ प्रणालीअनसार डिजिटल पुर्जा वितरण गर्दै आएको छ । श्रीखण्डपुरमा विसं २०३४ सालमा नापी भएको २०७ नं कित्ताको एक प्लटमा २८ रोपनी ५ आना जग्गामा २०६६ सालसम्ममा ८५ घर परिवारको बसोबास रहँदै आएको थियो । उक्त स्थानमा एक आना मात्रै जमिन भएका नागरिकको पनि बसोबास रहेको छ । स्थानीय नागरिक पुर्जा प्राप्त भएपछि खुसी भएका छन् । स्थानीयले पुर्जा नहुँदा ‘अचल जमिन’ बैकमा राखेर गर्जो धान्नसमेत सकेका थिएनन् । भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित रहेको वडाध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । ‘अझै केही प्लटको जमिन डिजिटल नापी हुन बाँकी रहेकाले छुट भएका नागरिकको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्दै जानेछौँ’ उनले भने । उनका अनुसार जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतकै समस्याबाट स्थानीय मुक्त भएका छन् । अबका केही दिनमा साबिक श्रीखण्डपुर गाविस–१ का ३२, वडा नं २ का ९३ र वडा नं ३ का १ सय पाँच जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्ने जनाइएको छ । नापी कार्यालयका अनुसार पूर्जा दिने तयारी भएका नागरिकको जग्गा हालसाबिक भैसकेको छ । नगर कार्यालयले यसअघि धुलिखेल नगरको वडा नं ८ र ९ मा पर्ने श्रीखण्डपुरमा ८ न वडाका नागरिकलाई पुर्जा वितरण गरिसकिएको छ । यो प्रक्रियालाई निरन्तर अघि बढाइनेसमेत नगरपालिकाले जनाएको छ । रासस

नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ, को-को हुन ?

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लङ रहेको भन्दै बुधबारसम्म १२ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १२ पुगेको हो । प्रहरीले यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार बिहानै खाँण र उनका स्वीकय सचिव केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको हो । स्वकीय सचिव नरेन्द्र केसी यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका, २३ का सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् । यस्तै, सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका ७ का टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ । सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।

पढाइसँगै करेसाबारी स्याहार्दै कैलालीका विद्यार्थी

कैलाली । कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन् । विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो । सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन् । विद्यार्थी सुरजा प्याकुरेल कृषिसम्बन्धी सिकाइ भइरहेको बताउँछन् । ‘हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ । घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ’, उनी भन्छन्, ‘अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदैछौँ । बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ ।’ कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ । करेसाबारी कार्यक्रम सञ्चालन हुँदा आपूmले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको कल्पना गिरी बताउँछन् । ‘तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ । हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ’, उनी भन्छन्, ‘हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ ।’ करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बमले बताए । ‘विद्यालयमा करेसाबारी कार्यक्रमप्रति विद्यार्थी उत्साहित भएकाले अहिले विद्यालयमा पाँच कठ्ठामा तरकारी खेती गरिएको हो’, उनले भने, ‘विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत काम गराउँदा विद्यार्थीमा सिकाइ भइरहेको छ । यसले विद्यार्थीलाई विद्यालय र कृषि पेसाप्रति हौस्याएको छ ।’ तीस हप्तासम्म करेसाबारी कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि हप्तामा एक दिन कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ । कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, तोरिया, बोडी र भिन्डी खेती गरिएको जानकी गाउँपालिकाका कृषि प्राविधिक तेजराम चौधरीले बताए । ‘एक विद्यालयमा न्यूनतम दुईदेखि पाँच कठ्ठामा अहिले खेती सञ्चालन गरिएको छ’, उनी भन्छन्, ‘यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उनीहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ ।’ पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन् । स्थानीय रविन चौधरीले पालिकाले विद्यालयमा कृषि कर्म सिकाउन थाल्नु नयाँ अभ्यास भएको बताए । रासस

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकैपटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा भने जस्तै अहिले एकैपटक अर्थतन्त्रको पूरा शल्यक्रिया गर्दा अफ्ठ्यारो हुने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई उनले यस्तो बताएका हुन् । संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताएका हुन् । ‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो, तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ, शुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ,’ उनले भने । अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताए । यस्तै, उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताएका छन् । ‘अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके विदेशी लगानी विस्तार हुन्छ, विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा हाम्रो प्राथमिकतामा रहेको छ,’ उनले भने ।

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

रामपुर । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताए । गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन् । बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी छैनन् । शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मङ्गलबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताए । ‘विद्यालयमा विद्यार्थी भर्ना नभएपछि समयमै हामीलाई सम्बन्धित निकायबाट जानकारी आएन, ढिलो भएपछि आफूले सो जानकारी पाएपछि तत्काल विद्यालय अनुगमन गरेको छु’, उनले भने, ‘जतिसक्दो चाँडो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र विद्यालय सामायोजन गर्न विद्यालयलाई ताकेता गरेको छु ।’ रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी सङ्ख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी व्यवस्था गरिएको र विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालय समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्ले बताउँछन् । यस शैक्षिकसत्रको वैशाख २ गतेदेखि नै सुरु भएको विद्यालयमा शिक्षक, कर्मचारी दिनभर विद्यालय खोलेर बस्ने, कार्यालय समय सकिएपछि हाजिर गरेर घर जाने कार्यमात्र भएको छ । शिक्षक कर्मचारीलाई पनि विद्यार्थी नहुँदा दिनभर त्यत्तिकै खाली समय बिताउन कठिनाइ परेको शिक्षक शर्मिला रेग्मीले बताए । रामपुर नगरपालिकाको माथिल्लो भेग भएकाले यहाँ विशेषगरी जनजाति, दलित समुदायका बालबालिकाको बर्चस्व रहन्थ्यो । सहरबजार आसपास क्षेत्रमा बसाइँसराइ जाने कार्यले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या अति न्यून छन् । चारैतिर घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलमा तीन भवनमा ११ वटा कक्षाकोठा रहेका छन् । भौतिक पूर्वाधार राम्रो रहेता पनि विद्यार्थी सङ्ख्या नै नभएपछि विद्यालय समायोजन गरिनुपर्ने स्थितिमा पुगेको छ । विसं २०२१ माघ १९ गते स्थापना भई पठनपाठन हुँदै आएको यस विद्यालय अहिले विद्यार्थी कोही पनि नभएपछि शिक्षणकार्य बन्द छ । गाउँमा जनघनत्व बाक्लै हुँदा धेरैलाई शिक्षा दिएको विद्यालय आज जनघनत्व कम हुँदै गर्दा विद्यालय बन्द हुने स्थिति आएको छ । यहाँको जनविकास प्राथमिक विद्यालयजस्तै अन्य ठाउँमा पनि गाउँमा रहेका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छन् । रासस

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, नेपाली बजारमा चाँदीको मूल्य तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आजदेखि एकिकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, पूँजी तीन अर्ब दुई करोड पुग्ने

काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । यि दुई कम्पनीले आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ । स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।