विकासन्युज

नौ महिनामा सरकारको आन्तरिक कर्जा ५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको नौ महिनाको वित्तीय विवरणअनुसार चालु आवको नौ महिनामा कुल आन्तरिक कर्जा ५.० प्रतिशतले बढेको हाे । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ५५.७ प्रतिशतले बढेकोमा २०७९ चैत मसान्तमा यस्तो दाबी ५२.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.० प्रतिशतले बढेको छ ।

श्रीलङ्काले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर माग्ने

श्रीलङ्का । श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैंकसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाको लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले २० करोड डलर ऋण उपलब्ध गराउन सहमति जनाइसकेको र उक्त रकमलाई अन्तिम रूप दिन विश्व बैंकसँग छलफल हुने बताए । श्रीलङ्काको मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट तीन करोड ५० लाख अमेरिकी डलर ऋण र थप १५ लाख अमेरिकी डलर अनुदानका लागि वार्ता अघि बढाउन अर्थ मन्त्रालयलाई अख्तियारी दिने प्रस्तावलाई पनि अप्रिलमा अनुमोदन गरेको थियो । रासस

७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं । चैतमा सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैत महिनामा सबैभन्दा धेरै उपभोक्ता मूल्यवृद्धि काठमाडौं उपत्यकामा भएको पाइएको हो । चैत महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

भारततर्फको निर्यात ३५ प्रतिशतले घट्यो, १० खर्ब ८३ अर्बको व्यापार घाटा

काठमाडौं । नेपालले भारततर्फ गर्ने निर्यातमा ठूलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाका अनुसार चैत महिनासम्म नेपालले भारततर्फ गर्ने निर्यात ३५.१ प्रतिशतले निर्यातमा कमी आएका हो । गन्तव्यका आधारमा भारततर्फ हुने निर्यातमा कमी आउँदा चीन लगायत अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । तथ्यांक अनुसार चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमश २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । वैदेशिक व्यापार (नौ महिना) निर्यात आयात व्यापार घाटा निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई १०८३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।

हिमालयन बैंकले नेपाल प्रहरी अस्पतालमा २४ घण्टा काउन्टर सेवा दिने

काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकले प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेक्सन इभी म्याक्स अब नेपाली बजारमा, मूल्य साढे ४६ लाख

काठमाडौं । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको हाल बजारमा बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप  ७.२ किलोवाट चार्जिङ्गको व्यवस्थासहित यो नयाँ गाडी ४६ लाख ४९ हजार मूल्यमा उपलब्ध रहेकाे छ । उच्च भोल्टेजको उच्चतम जिप ट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन वटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ । ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने कम्पनीकाे दावी छ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सक्ने बताउँछन् । ‘रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ । त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छाैं,’ उनी भन्छन्। नेक्सन इभी म्याक्समा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ । यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

सरकारको बचत १९ खर्ब, खर्च तीन खर्ब ४३ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अबधिमा सरकारले ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैत महिनासम्म सरकारले उक्त रकम खर्च गरेको हो । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७०६ अर्ब ७७ करोड, १०७ अर्ब २४ करोड र १२९ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६८३ अर्ब ८१ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६१६ अर्ब १२ करोड र गैर कर राजस्व तर्फ ६७ अर्ब ६९ करोड परिचालन भएको छ । यस्तै, चैत्र मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १९१ अर्ब ३७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २२५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । चालू आवको ९ महिनाको अबधिमा ३ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

विदेशी मुद्राको सञ्चिति सवा १४ खर्ब नाघ्यो, सोधानान्तर स्थिति झण्डै २ खर्ब बचत

काठमाडौं । विदेशी मुद्राको सञ्चिति सबा चौध खर्ब नाघेको छ । चालु आर्थिक वर्षको नौ महिनामा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनाको राज्यको वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो कुरा उल्लेख गरेको हो । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । राष्ट्र बैंकले पछिल्लो नौ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.६ प्रतिशत रहेको जनाएको छ । २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पछिल्लो नौ महिनामा आयात १८.१ र निर्यात २६.३ प्रतिशतले घटेको र व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु.१२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । सोधानान्तर स्थिति एक खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । संघीय सरकारको खर्च चालु आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको जसमा राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड मात्रै भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकहरुमा निक्षेप सात प्रतिशतले बढेको र कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको वित्तीय सूचकांकमा उल्लेख गरिएको छ ।