विकासन्युज

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नाइफ उद्यमशीलता सम्मेलन आयोजना सम्पन्न

काठमाडौं ।  काठमाडौंमा नाइफ उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न भएको छ । नाइफ काठमाडौंले २३ वैशाखमा मल्ल होटलमा आयोजना गरेको सम्मेलनको उद्देश्य युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने रहेको थियो । सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सांसद सोविता गौतम, नाइफ एनजीसीका अध्यक्ष रितेश लामिछाने र नाइफ काठमाडौंका अध्यक्ष चिराग गोयलले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा नाइफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्यमशीलतामा महिलालाई  प्रोत्साहन गर्न सरकारले दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्न सक्नेमा उनको जोड थियो । नाइफ उद्यमशीलता सम्मेलनमा प्यानलगत छलफलका साथै उद्यमशील यात्रा, उत्पादन र सेवाबारे प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढीले कार्यक्रममा भाग लिएका थिए। नाइफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थिए।

नबिल बैंकले काठमाडौं उपत्यकासहित २७ ठाउँको जग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, ललितपुर, बारा, कैलाली, मोरङ्ग, झापा, सुनसरी, भोजपुर, पर्सा, दार्चुला र बाँकेका विभिन्न २७ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिन अर्थात् जेठ १० गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । चालू आवको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३ प्रतिशत बढेर १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर २ अर्ब ९० करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोष २० प्रतिशत बढेर ३६ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोष ४९ प्रतिशत बढेर १७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अुपात ६८१० गुणा रहेको छ ।

कित्ताकाट खोल्ने सरकारको निर्णय फिर्ता

काठमाडौं । कित्ताकाट खोल्ने भू–उपयोग नियमावली २०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत बैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको भएपनि मन्त्रालयबाटै फिर्ता भएको छ । पछिल्लो समय घरजग्गा कारोबार सुस्ताउँदा अर्थतनत्र संकटमा परेको भन्दै कित्ताकाट खुला गरेको अर्थमन्त्री प्रकाश शरण महत र प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रमहरुमा बोल्दै आएका छन् । सोही अनुसार सरकारले गत बैशाख ५ गते बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । भु उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्विकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन् । भुउपभोग सम्बन्धी नियमावलीमा गरिएको संशोधनले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजिकरण गर्ने मन्त्री शर्माको भनाइ थियो । सो निर्णय प्रमाणीकरण गरेर कार्यान्वयनका लागि भूमि मन्त्रालयमा पठाउनुपर्ने थियो । तर, वैशाख १२ मा कित्ताकाटसम्बन्धी विषय मन्त्रिपरिषद्अन्तर्गतकै आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको समितिका सचिव दिनेश भट्टराईले बताए । उनका अनसार नियमावली प्रस्ताव थप संशोधन गर्न फेरि मन्त्रालयमै पठाएको छ । अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न पुनः गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्थापन महाशाखाका अनुसार अझै सहज र सरल ढंगले गर्ने गरी भू–उपयोग नियमावलीलाई संशोधन गर्न फाइल फिर्ता पठाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौं । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् । प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए । ‘रायमाझीको खोजीका लागि हुलिया र फोटोसहित ७७ वटै जिल्लामा सर्कुलर भइसकेको छ, प्रहरीले खोजी गरिरहेको छ, यो पक्राउ पुर्जी जारी भएपछिको नियमित प्रक्रिया नै हो,’ प्रहरी प्रवक्ता कडायतले भने । यो समाचार राजधानी दैनिकमा छ ।

अरुण काबेलीको विद्युत बिक्री नभएपछि नाफा घट्यो

काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्नु र कम्पनीको खर्च बढेका कारण कम्पनीको नाफा ३५.३५ प्रतिशत घटेको हो । चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी ४.६४ प्रतिशत घटेर ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेर ५३ करोड १८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६० लाख रुपैयाँ कूल नाफा गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी १३७.७८ प्रतिशत बढेर ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ लाख रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च १८.४९ प्रतिशत घटेर ३९ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्ष ३३ लाख २ हजार रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँ र जगेडा कोष ५३.६४ प्रतिशत बढेर ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ घटेर १०.३२ रुपैयाँमा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ ।