विकासन्युज

सरकारले बनायो हेलिकप्टर दुर्घटना छानविन समिति, सहसचिव लामिछाने संयोजक

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानविनको लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो । पाँच जना मेक्सिकन नागरिकलाई लिएर क्याप्टेन आरबी गुरूङले हेलिकप्टर उडाएका थिए । दुर्घटनामा निधन भएका सबै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । हेलिकप्टर दुर्घटनामा सरकारले दुःख व्यक्त गरेको छ ।

अब पशुधन र माछा दुबैको बीमा हुने, २ लाखसम्मको दुर्घटना बीमा, कति तोकियो प्रिमियम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछा बीमालेख जारी गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त बीमालेख जारी गरेको हो । प्राधिकरणले पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्न पशुधन बीमालेख र माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्न माछा बीमालेख ल्याएको हो । यी दुई वटै बीमालेखमा विभिन्न ७ प्रकारको क्षति वा नोक्सानीको रक्षावरण हुन्छ । जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण हुने छ । २ लाखसम्मको दुर्घटना बीमा यो दुबै बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको छ । बीमा अवधिभित्र आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा, कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने छन् । कसरी गरिन्छ बीमांक निर्धारण ? पशुधन बीमालेखको बीमांक रकम विभिन्न पक्षबाट निर्धारण हुनेछ । प्रति प्रशुधन एक लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा बीमक, बीमित र प्राविधिकको आपसी सहमतिमा प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने छ । त्यस्तै, एक लाखदेखि माथि दुई लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएको हुनुपर्ने छ । दुई देखि तीन लाखसम्मको कायम गर्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत सिफारिस लिनु पर्ने र सोभन्दा माथि प्रति प्रशुधनको बीमांक कायम गर्दा वंशावली अभिलेख, जातीय शुद्धताको प्रमाण, औषत दुग्ध उत्पादन र उमेरको विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यता माछाको बीमांक निर्धारण कायम गर्दा माछाको बीमांक निर्धारण सूचक बमोजिम उत्पादन मूल्यलाई आधार लिनु पर्ने निर्देशिकामा स्पष्ट पारिएको छ । कति लाग्छ प्रिमियम ? पशुधन बीमालेख अनुसार पशुधनको बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क (प्रिमियम) लाग्ने छ । दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५ सय रुपैयाँ लाग्ने छ । त्यस्तै, माछा बीमामा तीन प्रतिशत प्रिमियम तोकिएको छ । यो बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने छ । बीमा प्राधिकरणका अनुसार १२ केजीभन्दा माथिको माछाको बीमा हुँदैन । र, पशुधन बीमाको जस्तै माछा बीमामा पनि दुर्घटना बीमा बापत प्रिमियम प्रति बीमित ५ सय रुपैयाँ लाग्ने छ ।

सहसचिव लक्ष्मीकुमारी बस्नेत सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो । ललिता निवास जग्गा घोटला प्रकरणमा सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राय परेपछि मन्त्रालयको सचिव पद रिक्त थियो ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाको विश्लेषण : वित्तीय पहुँचको दुरूपयोग हुँदा सट्टेबाजी मौलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्ला दिनहरूमा वित्तीय पहुँचको दुरूपयोग भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थामा सीमित ब्यक्तिको मात्रै पहुँच हुँदा कर्जा प्रवाह समेत दुरुपयोग भइरहेको उनले बताए । वित्तीय पहुँचको हुँदा नै मिटरब्याजी जस्ता समस्या आएको र उत्पादनमूलक क्षेत्रमा नभएर सट्टेबाजीमा लगानी बढेको थापाको भनाई छ । बैंक तथा वित्तीय संस्थाले क्यासफ्लोभन्दा पनि धितोको आधारमा कर्जा प्रवाह गर्दा कतिपय अवस्थामा समस्या आएको उनले बताए । अर्थतन्त्रमा संकुचन आएपछि धेरैले मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा गरेको भए पनि मौद्रिक नीतिले ‘पेन किलर’को काम मात्रै गर्न सक्ने थापाको भनाई छ । दीर्घकालिन समस्याको समाधान मौद्रिक नीतिले नगर्ने उनले बताए । नेपालका सबैभन्दा छिटो बैंकिङ क्षेत्रकै विकास भएको र त्यो पनि निजी क्षेत्रको पकडमा गएको थापाले बताए ।

दबाइ तितो हुन्छ, राष्ट्र बैंकको निर्देशन पनि त्यस्तै हो : कावा गभर्नर ढुङ्गाना

काठमाडौं । केन्द्रीय बैंकको कार्यवाहक गभर्नर डा. निलम ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाहरुको लागि राष्ट्र बैंकको निर्देशन औषधीसरह भएको बताएकी छिन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार काठमाडौंमा आयोजना गरेको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले औषधी तितो भए पनि त्यसले फाइदा गर्ने बताइन् । राष्ट्र बैंकको निर्देशन पनि बैंक वित्तीय संस्थाको लागि तितो हुने तर, त्यसले फाइदा नै गर्ने उनको भनाई छ । ‘दबाइ खाँदा तितो हुन्छ । तितो भए पनि त्यसले रोग निको हुन्छ । त्यसैले रास्ट्र बैंकका निर्देशन तितो हुनु स्वभाविक हो’, ढुङ्गानाले भनिन् । बैंक तथा वित्तीय संस्थाले वर्किङ क्यापिटल मार्ग दर्शन पालना गर्ने हो भने अहिलेका सबै समस्या समाधान हुने उनको भनाई छ । बैंक वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो त्यसमा लगानी लगानी नहुने गरेका कारण समस्या देखिने गरेको र त्यसलाई समाधान गर्ने एउटै उपाय वर्किङ क्यापिटल मार्ग दर्शन भएको ढुङ्गानाको भनाई छ । कार्यक्रममा ढुङ्गानाले मुद्रा स्फितिलाई सीमामा ल्याउन चुनौती रहेको बताएकी थिइन् । राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व कायम गर्न चनाखो भएर काम गरिरहेको उनको भनाई छ । सबैतिरबाट ब्याजदर घटाउनुपर्ने आवाज उठिरहेको भए पनि मूल्यवृद्धिदरभन्दा कम हुने गरी ब्याज घटाउन नसकिने उनले बताइन् । त्यसैगरी, राष्ट्र बैंकले ग्रीन फाइनान्सका लागि आवश्यक काम गरिरहेको उनले बताइन् । वातावरण जोगाउनका लागि कर्जा प्रवाह गर्नेगरी व्यवस्था मिलाउन लागिएको ढुङ्गानाले जानकारी दिइन् ।

एनआईसी एशिया बैंकले पाँच जना ग्राहकलाई दियाे ५० लाख बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीलाई रकम हस्तान्तरण गरिएको हो । लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त रकम प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

इक्यानको अध्यक्षमा चार जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । असार ३० गते हुन लागेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा अहिलेसम्म चार जना आकांक्षीहरुले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, वर्तमान उपाध्यक्षहरु शेषराज भट्टराई, कृष्णहरी केसी र देवीदास भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संगठनको रुपमा स्थापित इक्यानको आगामी नेतृत्वमा को आउला भन्ने विषयलाई अहिले निकै चासोका साथ हेरिएको छ । अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी घोषणा गरेको भएपनि प्यानल बनाएर विष्णुहरी पाण्डे र शेषराज भट्टराईले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्यानको तर्फबाट पदाधिकारी तथा सदस्यमा आकांक्षी रहेका व्यक्तिहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । त्यसैले, मुलतः संगठन र सदस्यको आधारमा हुने मतविभाजनको अनुमान गर्दा नेतृत्वमा विष्णुहरी पाण्डे र शेषराज भट्टराईबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । चारैजनाले व्यवसायीहरुसँग मत माग्नको लागि आ–आफ्ना चुनावी एजेन्डा अगाडि सारेका छन् । अध्यक्षका उम्मेदवार विष्णुहरी पाण्डेले आफूले विगतको कार्यकालमा संस्थाको लागि गरेको राम्रो काम र त्यसको निरन्तरताको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आगामी दिनमा इक्यानको आफ्नै भवन बनाउने, इक्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लगायतका महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् । त्यस्तै, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेषराज भट्टराईले संस्थाको थप गतिशिलतामा टेवा पुर्याउन आफ्नो नेतृत्वको सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण लगायतका विषयमा आफ्नो भूमिका रहने दावी गरेका छन् । सदस्यमैत्री इक्यान, बैंकमा रहेको इक्यानको पैसाको सदुपयोगमा आफ्नो एजेन्डा रहेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका देवीदास भट्टराईको भनाइ छ । स्वतन्त्र मतदाताहरुको मत नै आफ्नो जित्ने आधार रहेको उनले बताए । ‘मलाई मतदाताहरुले लामो समयदेखि चिन्दै आएका आउनुभएको छ, मैले सदस्यदेखि दुइपटक उपाध्यक्षसम्म निर्वाचित भएर इक्यानको निम्त काम गरेको छु’, उनले भने । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कृष्णहरी केसीले प्यानलको निर्माण नगरीकन अध्यक्ष पदमा मात्रै एक्लैले उम्मेदवारी घोषणा गरेका छन् । केसीले आफूले स्वतन्त्र प्रतिस्पर्धामा विश्वास गर्ने एउटै पदमा व्यक्ति दोहोरिरहनु हुँदैन भन्ने मान्यता रहेको बताए । ४६७ जना सदस्य संख्या रहेको इक्यानको निर्वाचनले २६ जना पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ । साथै, नयाँ कार्यसमिति निर्माणसँगै सल्लाहकारको नयाँ बोर्ड र निवर्तमान अध्यक्षहरुको काउन्सिल समेत निर्माण हुनेछ ।

व्यवसाय समस्यामा परेपछि धमाधम विदेशिदै व्यवसायी

चितवन । कोभिड– १९ र त्यसपछि आर्थिक तरलतामा आएकाे संकुचनका कारण उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएको उनीहरूको भनाइ थियो । विगत वर्षदेखि व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय अहिले बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देखिन्छ । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात व्यवसायी व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उनले बताए । अहिले १२ उद्योगी व्यवसायीले औपचारिकरुपमा फार्म बन्द गर्नका लागि निवेदन दिएका छन् । उनले भने, ‘आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।’ मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् । उनले थपे,’ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् । सानाको अवस्था नाजुक बन्दै गएको छ ।’ सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसाय सञ्चालनमा समस्या पर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । जिल्ला उद्योग वाणिज्य सङ्घमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यन्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग त्यसको प्रत्यक्ष मारमा परेका छन् । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताए । यो क्रम बढ्दो रहेको उनले जानकारी दिए । सङ्घमा आवद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उनको भनाइ थियो ।अध्यक्ष कँडेलले भने, ‘उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ ।’ उनले अगाडि थपे ‘बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।’ उद्योगी तथा व्यवसायी आफ्ना उद्योग तथा व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै अध्यक्ष कँडेललले यसलाई रोक्न राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए । बैंकहरुले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायत काम गर्न जरुरी रहेको उनको भनाइ थियो । रासस