एक लाख घुससहित लेखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ । पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।
असार २९ गते सार्वजनिक बिदा
काठमाडौं । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा ‘गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ,’ भनिएको छ ।
साढे २ अर्ब लगानीमा घारखोला जलविद्युतको परीक्षण सुरु
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मङ्गलबारदेखि परीक्षण थालेको हो । ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सवस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकाले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुनु होला,’ आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । आयोजनाका प्रमुख विनोद देवकोटाले हेडबक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको बताए । ‘एक हप्तादेखि आयोजनाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टको एक महिनासम्म अनुगमन गर्यौँ, सबै सूचक न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौँ । प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादनपछि व्यावसायिकरूपमा उत्पादन सुरु गर्छांै,’ उनले भने । वि.सं २०७४ चैतदेखि निर्माण थालिएको आयोजनाले अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत्गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सवस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण गर्न थालेको हो । विद्युत् प्रवाह गर्ने क्रममा प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ । विद्युत्गृहमा रहेका दुईवटै युनिटका टर्बाइन र जेनेरेटरको परीक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका वडा नं ६ अमिलाकाफलस्थित आउटलेटबाट १ हजार २ सय मिटर पेनस्टक पाइपमा ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत्गृहमा जोडिएको छ । २ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । विसं २०७८ मा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधालगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवद्र्धकले बताएका छन् । पोखरेबगरस्थित विद्युत्गृहबाट उत्पादित विद्युत् ८ किमीमाथि रहेको २२० केभी दाना सबस्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले भौतिक संरचना निर्माण सकेको हो । विद्युत्गृहको नजिकै स्विचार्ड बनाइएको छ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवद्र्धकले बताएको छ । रासस
पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमाबाट बाराको अमलेखगञ्जस्थित डिपोमा ४ हजार सय किलोलिटर क्षमताका २ पेट्रोल ट्याङ्क, २ सय ५० किलोलिटर क्षमताका २ ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको प्रमुख उपाध्यायले बताए । सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणको कामअघि बढेको उनको भनाइ छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इनफ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । यसै परियोजनाअन्तर्गत निर्माण हुन लागेको दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयल निगम र अर्को ट्याङ्क भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ । पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएको प्रमुख उपाध्यायको कथन छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने जनाइएको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ, आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ,’ प्रमुख उपाध्यायले भने । यो आयोजनाको काम यही वर्षको डिसेम्बरसम्ममा सकिने र नयाँ वर्ष २०२४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात हुने उनले जानकारी दिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले थप ५÷५ हजार किलोलिटर क्षमताको २ वटा ट्याङ्क निर्माणको कामअघि बढाएको प्रमुख उपाध्यायले बताए ।रासस
लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि भ्यालु फण्ड २ बिक्री गर्ने
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले साउन ५ गतेदेखि लक्ष्मी भ्यालु फण्ड २ निष्काशन तथा बिक्री खुुला गर्ने भएको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड १० वर्ष अवधिको हो । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने भएको हो । क्यापिटलको फण्डमा इकाईधनीहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन सक्ने छन् । सो फण्डको इकाईमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको फण्डमा इकाईधनीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
रिलायबल लाइफको आईपीओ २५७ रुपैयाँमा बिक्री खुला, कति भर्ने आवेदन ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार २७ गते, बुधबारदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
नेपाल एसबीआई बैंकले सपथ ग्रहण गरेर मनायो बार्षिकोत्सव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३० औंं बार्षिकोत्सव मनाएको छ । तीन दशक पूरा गरेको अवसमा बैंकले सपथ ग्रहण समारोह आयोजना गरेको थियो । सपथ ग्रहण कार्यक्रममा बैंकका कर्मचारीहरुले बैंकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा उल्लेख गरेका थिए । बैंकको दिगो प्रगति कायम राख्न कर्मचारीहरुले व्यक्तिगत जिम्मेवारी लिनुपर्ने उनले बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पूर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । वार्षिक उत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
सरकारले तोक्यो धानको समर्थन मूल्य, अघिल्लो वर्षभन्दा २५० रुपैयाँ बढी
काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । किसानले धान लगाउने समय अगावै धानको समर्थन मूल्य तोक्ने प्रावधानअनुसार सरकारले समर्थन मूल्य तोकेको हो । अघिल्लो वर्षको तुलनामा २५० रूपैयाँ बढाएर धानको समर्थन मूल्य तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको शर्माले जानकारी दिइन् । सरकारले किसानको धान खरिद गर्दा सोही मूल्यअनुसार खरिद गर्नेछ भने अन्य व्यापारीलाई बिक्री गर्दा पनि सोही मूल्यलाई आधार मानेर बिक्री गर्न पाउनेछन् ।