दुर्गा प्रसाईंलाई अपहरण र हत्याको धम्की, ३० करोड लिन जाँदा पक्राउ परे रमेश गुरुङ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई अपहरण र हत्याको धम्की दिदै ३० करोड रुपैयाँ फिरौती माग गर्ने रमेश कुमार गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोले आजै गुरुङलाई पक्राउ गरेको हो । ३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा लगाइने केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए । गुरुङले प्रवेश लामाको नामबाट फोन गरी अपहरण गर्ने, हत्या गर्ने भन्दै फिराैती मागेका थिए । “हत्या गर्नको लागि योजना बनिसकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जीवन बच्न सक्छ, तपाईको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक पटक एसएमएस समेत गरेका भेटिएको प्रहरीले जनाएको छ । ३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा आजै रमेश कुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ । ४० वर्षिया रमेश कुमार गुरुङ खोटाङ जिल्ला राहबेसी गाउँ पालिका वडा नम्बर १ स्थायी घर भएका व्यक्ति हुन् । उनी हाल काठमाडौं जिल्लाको चुनदेवीमा बस्दै आएका थिए । सम्बन्धित समाचार अर्बमा ठगी, करोडमा दान
१६ अर्बमा बनेको नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
गण्डकी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो । नारच्याङमा १६ अर्बको लागतमा एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए । उनका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ । नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो । यो जिल्लामै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरू निर्माण गरिएका छन् । आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण काम सकिएको छ । नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिए। पेनस्टक र टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ । तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । क्यासकेडको विद्युत्गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली दुई सय २० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सबस्टेसन जोड्ने आठ दशमलव पाँच किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ । दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत्गृहको सिभिल स्ट्रक्चरको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम थालिएको छ । भौगोलिक विकटताका भएर पनि आयोजना निर्माणले तीव्रता पाएको इन्जिनियर लामाले बताए । आगमी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो । रासस
छुट्टै नियामक बनाएर सहकारीको नियमन गर्छौं : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले छुट्टै नियामक निकाय स्थापना गरेर सहकारी संस्थाको नियमन गरिने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा मन्त्री महतले छिट्टै नियामक निकाय स्थापना गरिने बताए । अर्थमन्त्री महतले बजेटमा ल्याइएका कार्यक्रम तालिका बनाएर एक–एक कार्यान्वयन गर्ने दावी गरेका छन् । ‘बजेटमा उल्लेख गरिएका निर्णय बोल्नका लागि होइन, कार्यान्वयन गर्ने गरी निर्णय गरेको हो’, महतले भने ।
सेयर बजार ४ अंकले घट्यो, विकास बैंकमा आकर्षण
काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ४.७३ अंक घटेर नेप्से परिसूचक २०७२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार भने कारोबार २ अर्ब ८५ करोडमा खुम्चिन पुग्यो । ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । समग्र बजार घट्दा विकास बैंक उपसमूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक उपसमूह ३.४२ प्रतिशत बढेको छ । विकास बैंक उपसमूह १२९ अंक बढ्दा फाइनान्स ५८ र उत्पादन १८ अंक बढेको छ । बैंकिङ २, होटल तथा पर्यटन ८०, जलविद्युत् २७, जीवन बीमा ८२, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३६, अन्य ८ र ब्यापार उपसमूह १९ अंकले घटेका छन् ।
‘बजेटमा ल्याइएको पूर्वाधार विकास कार्यक्रमले भ्रष्टाचार बढाउँछ’
काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पिछडिएका प्रदेशहरुमा आवश्यकभन्दा कम बजेट गएको बताए । ‘मानव विकास सूचकाङ्कले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पछि परेको देखाएको छ । तर, त्यही प्रदेशमा जसरी बजेट विनियोजन भएको छ त्यो ठीक भएको छैन’, सांसद देवले भने । पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेटले भ्रष्टाचार बढाउन सहयोग गर्ने उनले बताए । पूर्वाधार विकास कार्यक्रमले सांसद, उनका स्वकीय सचिव र पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन सहयोग गर्ने टिप्पणी उनले गरेका छन् । ‘पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो । त्यो रकममा धेरै ठूलो चुहावट छ । त्यो राजनीतिकर्मीहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो’, सांसद देवले भने ।
नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा यादव
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर यादवले पाएका छन् । उनी संघको महासचिवको जिम्मेवारीमा छन् । यसअघि संघको कार्यवाहक अध्यक्ष मीनबहादुर बोहरा थिए । धौलागिरी लघुवित्त मर्जरमा गएपछि उनले अवकाश लिएका थिए । यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
दुर्घटनामा परेका सबै यात्रु मेक्सिकन नागरिक, अनुभवी पाइलट गुरूङले उडाएका थिए हेलिकप्टर [सूचीसहित]
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन नागरिक रहेको खुलेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सबै यात्रु मेक्सिकन नागरिक रहेको बताएका हुन् । हेलिकप्टरमा सवारमध्ये अहिलेसम्म ५ जनाको शव भेटिएको छ । हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । हेलिकप्टर पाइलटमध्ये गुरूङ अनुभवी मानिन्थे । मंगलबार विहान सोलुखुम्बुबाट काठमाडौंको लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
एसईई पछि कुन विषय पढ्दा छिटो करिअर बन्छ ?
काठमाडौं । सामान्यतया एसईई पछिको पढाइलाई विद्यार्थीको करिअर निर्माणको शुरुवातको रुपमा लिने गरिन्छ । कक्षा १० सम्मको पढाईमा विद्यार्थीहरुले धेरै अनिवार्य विषय पढ्नुपर्ने हुन्छ भने सिमित विषय मात्रै ऐच्छिक रुपमा पढ्न पाएका हुन्छन् । कक्षा ११/१२ मा भने विद्यार्थीहरुले अनिवार्य शिक्षा भन्दा धेरै आफूले रोजेको विषय पढ्न पाउँछन् । केही दशक यता डिग्री हासिल गरेका लाखौं विद्यार्थीहरु देशभित्रै स्वरोजगार हुन नसक्ने र रोजगार पनि प्राप्त गर्न नसक्ने समस्या फराकिलो दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो केही वर्ष यता पाठ्यक्रम विकास केन्द्रले कक्षा ११/१२ को लागि ९३ वटा विषयको विकास गरेको छ । विद्यार्थीहरुका लागि छनोट गरेर अध्ययन गर्न धेरै विषयहरु भएपनि उनीहरुले कुन विषय पढ्दा करिअर छिटो बन्छ वा पढेको विषयलाई आफ्नो जीवन, परिवार र समाजको लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई भने ध्यान दिएर विषय छनोट गर्नुपर्छ । पछिल्लो समय नेपालमा डाक्टर, इन्जिनियर, पाइलट, कृषि लगायत प्राविधिक विषय अध्ययन गरेका धेरै विद्यार्थीहरुपनि देशभित्रै स्वरोजगार नबन्ने र रोजगारका लागि विदेशीने गरेको पाइन्छ । तर, स्वदेश वा विदेशमा प्राविधिक रुपमा क्षमतावान भएका व्यक्तिहरु नै स्वरोजगार हुन सकेको वा रोजगार पाउन सकेको देखिन्छ । अन्यथा भाषिक विषय मात्रै पढेका विद्यार्थीहरुले स्वरोजगार वा रोजगारको लागि पनि पुनः प्राविधिक तालिम लिनुपर्ने हुन्छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षा भनेको मानिसले आफ्नो शारीरिक क्षमता हुने बेलासम्म प्रयोग गर्न सकिने तथा स्वरोजगार र रोजगारको हिसाबले पनि प्रभावकारी रहेको बताउँछन् । सैद्धान्तिक विषय पढेका विद्यार्थीहरु धेरै पढेर पनि बेरोजगार भएको तर, प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुमा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ । ‘प्राविधिक शिक्षा पढेकाहरु कहिल्यै रिटायर्ड हुँदैनन्, सक्रिय जीवनसम्म उनीहरुले काम गर्न पाउँछन्, तर, साधारण विषय पढेकाहरुले निश्चित समय जागिर खान्छन् अनि रिटायर्र्ड हुन्छन्’, निर्देशक तिमिल्सिनाले भने । आफूले चाहेको बेलामा सिपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सकिने शिक्षा प्राविधिक शिक्षा भएको उनको भनाइ छ । सैद्धान्तिक विषयमा धेरै पढेका व्यक्तिहरुले रोजगार नपाइरहेको अहिलेको अवस्थामा प्राविधिक शिक्षा लिएका विद्यार्थीहरु भने खाली बस्न नपरेकोको कारणले उनीहरुमा खुसीको अवस्था पनि तुलनात्मक रुपमा राम्रो भएको निर्देशक लामिछाने बताउँछन् । राम्रोसँग विषय छनोट गरेर पढ्न सक्दा अहिले नेपालमा भएका प्राविधिक शिक्षा पढेपछि नेपालमा नै स्वरोजगार हुन वा रोजगार प्राप्त गर्न समस्या नभएको उनको भनाइ छ । आर्थिक विकासको दृष्टिकोणबाट हेर्दा पनि नेपाल एउटा विकासोन्मुख मुलुक हो । साढे तीन दशक यताको मुलुकको अवस्था हेर्ने हो भने नेपाल धेरै वस्तुहरुमा परानिर्भर बन्दै गइरहेको छ । परानिर्भरताको दर घट्ने भन्दा पनि थप बढ्ने क्रम जारी छ । शिक्षा मन्त्रालयले २०७६ सालमा गरेको जनशक्ति प्रक्षेपण सम्बन्धी अध्ययनले वि.सं. २१०० सालसम्म कृषि क्षेत्रमा ७६ लाख ६१ हजार ७४७ र उद्योगमा ५५ लाख ३० हजार ५९० जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यस्तै विश्वबजारमा पनि दिन प्रतिदिन जनशक्तिको अभाव बढीरहेको तथ्यांकहरुले देखाएका छन् । विशेषगरी, कृषि, उद्योग, विज्ञान तथा प्रविधि, चिकित्सा, इन्जिनियर, लगायतका प्राविधिक क्षेत्रसँग सम्बन्धित विषय पढ्दा बेरोजगार पनि बन्न नपर्ने र पढाइ सकिएपछि व्यवसायिक करिअरको पनि शुरुवातको शुनिश्चित हुने देखिन्छ । त्यसैले, एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुले उच्च प्राविधिक शिक्षा उन्मुख विषयहरु नै रोजेर अध्ययन गर्दा सैद्धान्तिक विषयको तुलनामा उत्तम हुने विज्ञहरुको सुझाव छ । शिक्षा क्षेत्रका अभियन्ता तथा युवा राजनीतिकर्मी मिलन पाण्डेले कामसँग जोडिएका धेरै विषय भएको भन्दै औसत भन्दा राम्रो करिअर बनाउने हो भने ग्राफ खिचेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिन्छन् । ‘पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला, विगतमा फिल्म समिक्षक निकै चलेको थियो, सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला, आइटीमा सबैभन्दा बढी राम्रो छ, धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ’, पाण्डेले सुझाव दिन्छन् । त्यस्तै, स्टार्टअप विज्ञ रञ्जित आचार्यले समाजको आवश्यकतालाई बुझेर पढ्न सक्दा पनि छिटो करिअर बनाउन सकिने सुझाव दिन्छन् । ‘समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ, आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ’, आचार्यले नयाँ पुस्ताका युवाहरुलाई सुझाव दिएका छन् ।