विकासन्युज

प्राविधिक शिक्षाका लागि एसईईपछि सिटिइभिटी हुनसक्छ सजिलो विकल्प

काठमाडौं । विद्यालय शिक्षाको महत्वपूर्ण ढोका एसईईको नतिजा केही दिन अगाडि आइसकेको छ । एसईई पछि अब के पढ्ने भन्ने विषयमा धेरै विद्यार्थीहरुको उत्सुकता छ । कसैले साथीभाईसँग, कसैले शिक्षक र कसैले अभिभावकसँग यी विषयमा पक्कै छलफल गरिरहेका छन् । एसईई उत्तिर्ण भएका विद्यार्थीहरुले विद्यालयमा कक्षा ११ र १२ को विकल्पमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको विभिन्न प्राविधिक विषय पढेर पनि आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्छन् । सिटिइभिटीले कक्षा ११ र १२ कै सरहको शैक्षिक मान्यता पाउने गरी तीन वर्षे डिप्लोमा कोर्षका विभिन्न प्राविधिक विषयहरुको डिजाइन गरेर थुप्रै विद्यालय तथा कलेजहरुलाई पठनपाठनको लागि स्वीकृति दिएको छ । त्यस्तै, सिटिइभिटीले १८ महिना पढेर सकिने प्रि–डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थी तालिम कोर्ष पनि सञ्चालन गर्दै आएको छ । सिटिइभिटीले सञ्चालन गर्ने यी दुबै कोर्षहरु पाठ्यक्रम, पाठ्यपुस्तक सहित समय तालिकाअनुसार नै पढाइ हुन्छ । एसईई पछि सिधै छोटो अवधिको सिपयुक्त तालिम लिएर काममा लाग्न चाहनेहरुलाई लक्षित गरेर पनि सिटिइभिटीले निजी तालिम प्रदायक संस्थालाई पनि स्वीकृति दिन्छ । जुन कार्यक्रम देशैभरी विभिन्न निजी संस्थाहरुले सञ्चालन गर्ने गर्छन् । पछिल्लो समयमा सैद्धान्तिक भन्दापनि व्यवहारिक, प्राविधिक एवं जीवनउपयोगी शिक्षाको महत्व बढ्दै गएको छ । सिटिइभिटीले डिप्लोमा तहको कार्यक्रमका लागि ४९, प्रि–डिप्लोमा तहको कार्यक्रमका लागि ३३ र छोटो अवधिको व्यवसायिक तालिमको लागि २७४ र इलेक्ट्रोनिक सिकाइ सामग्री २९८ वटा तयार पारेको छ । त्यस्तै, सिटिइभिटीले २७ वटा व्यवसायिक क्षेत्रको सीप परीक्षण र ३११ वटा विषयमा पेशा वा व्यवसायको राष्ट्रिय सीप प्रमाणिका दिने गरेको छ । कहाँ पढ्न पाइन्छ र कति लाग्छ शुल्क ? गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार सिटिइभिटीले देशैभरी ६५ वटा आफ्ना आंगिक शिक्षालय सञ्चालन गरेको छ । त्यस्तै, ५२ वटा साझेदारीमा, ६३६ वटा सामुदायिक विद्यालय र ४२२ वटा निजी संस्थाहरुले सिटिइभिटीका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यसरी सिटइभिटीका प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरु सबै प्रदेशमा फैलिएका छन् । सिटिइभिटीले प्राविधिक शिक्षाको क्षेत्रमा ठूलो संख्यामा शैक्षिक कार्यक्रम निर्माण गरेको हुँदा विद्यार्थीहरुलाई रोज्ने धेरै विकल्पहरु पनि रहेका छन् । जस्तै, विद्यार्थीहरुले डिप्लोमा तर्फ स्वास्थ्य, इन्जिनियरिङ, कृषि, हस्पिटालिटी लगायतका विषयमा ३३ वटा विषय रोजेर अध्ययन गर्न सक्छन् । त्यस्तै, प्रि–डिप्लोमा तर्फ इन्जिनियरिङ, कृषि, अप्रेन्टिसिप, हस्पिटालिट लगायतका २३ वटा विषय मध्ये छानेर अध्ययन गर्न पाइने सुविधा रहेको छ । सिटिइभिटीले आंगिक, सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गर्दा लाग्ने शुल्क पनि निर्धारण गरेको छ । जसमा प्रि–डिप्लोमा अन्तर्गत कृषि र हस्पिटालिटी तथा होटल म्यानेजमेन्ट विषय अध्ययन गर्दा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रुपैयाँ शुल्क लाग्छ । प्रि–डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ६५ हजार रुपैयाँ लाग्ने सिटिइभिटीले जनाएको छ । त्यस्तै, प्रि–डिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा ५५ हजार शुल्क लाग्छ । डिप्लोमा अन्तर्गत कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य, हस्पिटालिटी र व्यवस्थापन तथा अन्य विषयहरु आंगिक शिक्षालयमा अध्ययन गर्दा क्रमशः ८५ हजार, ९८ हजार, एक लाख ६० हजार र ९९ हजार शुल्क लाग्छ । त्यस्तै सामुदायिक र सरकारी अनुदान प्राप्त हुने साझेदारी प्रतिष्ठानमा अध्ययन गर्दा क्रमशः एक लाख ७५ हजार, एक लाख ९० हजार र एक लाख ७५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, सरकारी अनुदान प्राप्त नभएका साझेदारी प्रतिष्ठानहरुमा इन्जिनियरिङ डिप्लोमा अध्ययन गर्दा दुई लाख पाँच हजार शुल्क लाग्ने सिटिइभिटीले जनाएको छ । डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गरेपछि सिटिइभिटीले विद्यार्थीलाई प्रमाणपत्र पनि उपलब्ध गराउने गर्छ । तीनवर्षे डिप्लोमा कोर्ष अध्ययन गरेका विद्यार्थीहरुले सोही विषयमा विश्वविद्यालयको स्नातक तह पनि अध्ययन गर्न सक्छन् भने प्रि–डिप्लोमाको तालिमलाई पनि सरकारी तथा गैह्र सरकारी निकायहरुले मान्यता दिने गरेका छन् । त्यस्तै, विभिन्न निजी संस्थाहरुबाट छोटो अवधिको तालिम लिएकाहरुलाई पनि राष्ट्रिय सीप परीक्षण समितिले सिप परीक्षण गरेर सर्टिफिकेट प्रदान गर्ने गर्छ ।

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

पर्यटक लोभ्याउँदै कास्कीको अर्मलाकोट गाउँ

कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ । गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ । यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउए । ‘हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो’, उनले भने, ‘यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।’ पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताए । उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाए । ‘अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ’, उनले भने, ‘पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।’ पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताए । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उनले बताए । हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । रासस

केराका थामबाट हस्तकलाका सामग्री, ९ सय जनालाई रोजगार

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित बृहत्रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ । पाण्डेले गण्डकी प्रदेशको नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनका लागि  एक करोड ४० लाख रुपैयाँ र कालीगण्डकी गाउँपालिकाको ६० लाख रुपैयाँ लागत अनुमान गरिए पनि करिब ५३ लाख रुपैयाँ खर्च भएको बताए । यसका लागि गण्डकी प्रदेश सरकारको ३६ लाख ५० हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिकाको १५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ‘योजना सम्झौता भएयता २९ नागरिकले केराका थामबाट मुडा, चप्पल, चकटी, गलैँचा, पातबाट दुुनाटपरी, धागो बनाउने काम सिक्दै आएका छन्, पछिल्लो समय गलैँचा र खादा बनाउने तालिम चलिरहेको छ’, उनले भने, ‘गाउँपालिकाका सबैले यो काममा चासो देखाएका छन्, अन्य पालिकाले समेत आएर सिक्ने वातावरण बनेको छ ।’ प्रमुख प्रसासकीय अधिकृत पाण्डेले नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत गाउँपालिका तीन विद्यालय र ९० किसानलाई २० हजार केराका बेर्ना वितरण गरिएको जानकारी दिए । उनले प्रत्यक्ष–अप्रत्यक्षरूपमा करिब नौ सय जनालाई रोजगार दिने गरी योजना अगाडि बढाएको दाबी गरे । गाउँपालीका कृषि शाखा प्रमुख अनुप पौडेलले सानो लगानीमा केही गरौँ भन्ने हुटहुटी भएकालाई तालिम फलदायी भएको बताए । उनले पाखोबारीमा खेरा गएका सामग्री प्रयोग गरेर आम्दानीको स्रोत बनाउने अभियान चलाइएको बताए । ‘स्थानीय तहका नागरिकले महसुुस गर्ने गरी पालिकाले विभिन्न स्वरोजगारमूलक कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिएको छ’, प्रमुख पाण्डेले भने, ‘हस्तकला सामग्री निर्माण गर्न तालिम दिइएको छ, तालिमपश्चात ठूलो सङ्ख्यामा स्वरोजगार बन्ने गाउँपालिकाको अपेक्षा छ ।’ हस्तकलाको तालिममा सहभागी स्थानीय दिलसरा थापाले ज्ञानको अभावमा फालिएका केराका थाम उपयोग गरेर आयआर्जन गर्न सकिने विश्वास पलाएको बताए । ‘केरामात्र खाइन्थ्यो, थाम फालिन्थ्यो, अत्यावश्यक सामान बन्छ भन्ने थाहा थिएन’, थापाले भने, ‘यस्ता खेरा जाने वस्तु उपयोगमा ल्याएर स्वरोजगार बन्न सकिने रहेछ ।’ गण्डकी प्रदेश सरकार र कालीगण्डकी गाउँपालिकाबीच २०७९ पुस १७ गते सम्झौता भएको योजनाको काम गत चैत ९ गतेदेखि सुरु भएको थियो । गत जेठ ३२ गतेभित्र सक्ने सम्झौता भए पनि असार मसान्तसम्मका लागि लम्ब्याइएको प्रशासकीय अधिकृत पाण्डेले बताए । प्रशिक्षण र परामर्शको काम नेपाल हस्तकला महासङ्घले गरेको हो । रासस

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।

केबलकार सर्किट पर्यटनमा नयाँ आयाम, थप ४ वटा केबलकार निर्माण गर्ने

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताए । नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालको भनाइ छ । आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले जानकारी दिए । नेपालमा सयौं हिल्स एरिया रहेका र केबलकार लगायत पर्यटकीय पुर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको ढकालको भनाइ छ । कुल ५ अर्ब लागतको २।६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन छ । टप स्टेशनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दी लगायतका धार्मिक संरचनाहरु छन् । लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भुगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरुमा भारतीयसंग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औंल्याए । भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे । सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसंगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए । लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पांचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

नबिल बैंक ३९ औँ वर्षमा प्रवेश, साढे ४ खर्ब पुग्यो कूल सम्पत्ति

काठमाडौं । नबिल बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा ३८ वर्षअघि स्थापना भएको बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको बैंकले जनाएको छ । वि.सं. २०४१ सालमा स्थापना भएको बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व उद्योगी विनोद चौधरीले खरिद गरेका हुन् । नबिल बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा छ । यस बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना कार्यरत छन् भने अध्यक्ष उपेन्द्र पौड्याल छन् । भरोसा आर्थिक विकास र राष्ट्र निर्माणको नारासहित आफ्नो वार्षिकोत्सव मनाउने बैंकले जनाएको छ । बैंकका अनुसार २६४ वटा शाखा कार्यालयमार्फत् २० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको कूल सम्पत्ति ४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । साथै, ३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ३९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको बैंकले जनाएको छ ।

असार ३० देखिदेखि एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । मर्जपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । दुवै लघुवित्तले गत असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । दुबै लघुवित्तको सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएको थियो ।