
काठमाडौं । केन्द्रीय बैंकको कार्यवाहक गभर्नर डा. निलम ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाहरुको लागि राष्ट्र बैंकको निर्देशन औषधीसरह भएको बताएकी छिन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार काठमाडौंमा आयोजना गरेको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले औषधी तितो भए पनि त्यसले फाइदा गर्ने बताइन् ।
राष्ट्र बैंकको निर्देशन पनि बैंक वित्तीय संस्थाको लागि तितो हुने तर, त्यसले फाइदा नै गर्ने उनको भनाई छ ।
‘दबाइ खाँदा तितो हुन्छ । तितो भए पनि त्यसले रोग निको हुन्छ । त्यसैले रास्ट्र बैंकका निर्देशन तितो हुनु स्वभाविक हो’, ढुङ्गानाले भनिन् ।
बैंक तथा वित्तीय संस्थाले वर्किङ क्यापिटल मार्ग दर्शन पालना गर्ने हो भने अहिलेका सबै समस्या समाधान हुने उनको भनाई छ ।
बैंक वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो त्यसमा लगानी लगानी नहुने गरेका कारण समस्या देखिने गरेको र त्यसलाई समाधान गर्ने एउटै उपाय वर्किङ क्यापिटल मार्ग दर्शन भएको ढुङ्गानाको भनाई छ ।
कार्यक्रममा ढुङ्गानाले मुद्रा स्फितिलाई सीमामा ल्याउन चुनौती रहेको बताएकी थिइन् ।
राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व कायम गर्न चनाखो भएर काम गरिरहेको उनको भनाई छ ।
सबैतिरबाट ब्याजदर घटाउनुपर्ने आवाज उठिरहेको भए पनि मूल्यवृद्धिदरभन्दा कम हुने गरी ब्याज घटाउन नसकिने उनले बताइन् ।
त्यसैगरी, राष्ट्र बैंकले ग्रीन फाइनान्सका लागि आवश्यक काम गरिरहेको उनले बताइन् । वातावरण जोगाउनका लागि कर्जा प्रवाह गर्नेगरी व्यवस्था मिलाउन लागिएको ढुङ्गानाले जानकारी दिइन् ।