कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : राजश्व उठाउन जिम्मेवार र कर्तव्यनिष्ट हुनु
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह उनले निर्देशन दिएका हुन । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला, यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ,’ उनले भने, ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्नु, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’ उनले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नगर्न समेत निर्देशन दिएका छन् । ‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं, त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ’, उनले भने, ‘अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ, हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं, यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’ उनले पछिल्लो समय भ्याटको दर खुम्चिदा समस्या पर्न थालेको भन्दै करको दरलाई फराकिलो बनाउने तर्फ जोड दिए । ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं, नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो, पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो, यसले पनि समस्या ल्याउँदै गयो, कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन, राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो, करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौँ’, उनले भने
दुईभन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार भत्ता
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ। गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको हो। आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा पाँच हजार रुपैयाँ प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। ‘गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने खेतीयोग्य जमिन बाझिँदै गएका छन्’, उनले भने, ‘गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने, आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरुप भत्ता दिने नीति ल्याएका छौँ ।’ ‘गाउँमा जनसङ्ख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन् । कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाझिएका छन् । गाउँमा जनसङ्ख्या सन्तुलित बनाउँदै काम गर्ने जनशक्तिलाई गाउँमै टिकाइ राख्न ‘दुईभन्दा बढी सन्तान जन्माउनेलाई रु पाँच हजार भत्ता’को नीति ल्याइएको हो’, वडा कार्यालयले उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा राज्यले लगानी गरिदियो भने गाउँमा बसेका नागरिकले खेतीयोग्य जमिनमा खेती गरेर जीविकोपार्जन गर्न सक्छन् । पठनपाठन, स्वास्थ्योपचारमा राज्यले लगानी गरिदियो भने गाउँको जनशक्ति बाहिर जाने स्थिति आउँदैन’, वडाध्यक्ष पोखरेलले भने । वडाले ल्याएको उक्त कार्यक्रम गाउँसभामा पारित भएको छ । उनका अनुसार दुईभन्दा माथि जति सन्तान जन्माए पनि जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ। यस वडामा विसं २०७८ को जनसङ्ख्या अनुसार छ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार नागरिक बसोबास गर्छन् । विसं २०६८ को जनगणनाअनुसार वडामा दुई हजार तीन सय ३४ नागरिक रहेको वडा कार्यालयले जनाएको छ। पालिकाभरिमा विसं २०७८ को जनगणनाअनुसार १५ हजार जनसङ्ख्या थियो भने विसं २०६८ मा १८ हजार जनाको बसोबास थियो । एक दशकको अवधिमा तीन हजार जनसङ्ख्या घटेको पालिकाले जनाएको छ । गाउँबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले सहर जाने क्रम बढेकाले पनि गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । गाउँमा ज्येष्ठ नागरिक र अधिकांश महिला मात्रै छन् । आव २०८०/८१ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यमा राज्यको लगानी हुनुपर्नेमा जोड दिँदै गाउँमै बसेर अध्ययन गर्ने, विभिन्न पेसा, व्यवसाय तथा उद्यम गर्नेलगायत कुरा समेटिएकाले स्थानीयमा थप आकर्षण बढ्ने वडाको अपेक्षा छ । रासस
एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
फाइल फाेटाे काठमाडौं । प्रमुख पतिपक्षको रुपमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले विरोध गरेको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको बताए । उनले प्रधानमन्त्रीले तुरुन्दै राजीनामा दिनुपर्नै भन्दै राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताए । एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे। सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुने नसक्ने उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।’
प्रधानमन्त्रीले भने- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन् । बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ, खासमा यसको अर्थ अर्कै छ’, उनले भने, ‘मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे, कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ, भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन, यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’ उनले नेकपा माओवादी केन्द्र सुशासन, भ्रष्टाचार विरुद्धको लडाइँ रहेको भन्दै सो लडाईमा जित्ने दाबी गरे । ‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ’, उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ, माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ, २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’
धमिलो पानी बग्ने बेलासम्म मेलम्चीबाट काठमाडौं आउने पानी बन्द हुने
फाइल तस्बिर काठमाडौं । मेलम्ची आयोजनाबाट काठमाडौं आउने पानी बन्द भएको छ । वर्षायामको शुरुवातसँगै पानी धमिलो आउन थालेपछि पानी ३/४ दिनदेखि पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले विकासन्युजलाई बताए । समितिले अहिलेको वर्षायाममा पानी बन्द नगर्ने सोच बनाएको भएपनि खानेपानी मन्त्रालय, परामर्शदाता र एशियाली विकास बैंकको सुझावको आधारमा बन्द गरेको अधिकारी पन्तले बताए । पन्तका अनुसार पानी कहिलेसम्म बन्द गर्ने भनेर निर्णय भने समितिले गरेको छैन् । मौसम अनुकुल भएको अवस्थामा पानी सूचारु हुनसक्ने उनले बताए । ‘हेडबक्स माथि पर्ने पानीको अवस्था र धमिलो पानीको मात्रालाई हेरेर काम गर्छौं’, उनले भने, ‘तर पानी यो बेलासम्म नै बन्द गर्ने भनेर निर्णय भने भएको छैन ।’ धमिलो पानी पसेर पछि सफा गर्न गाह्रो हुनसक्ने कुरालाई ध्यानमा राखेर पानी बन्द गरिएको उनको भनाइ छ ।
अर्थमन्त्रीले भने : औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर हुन्छ
विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई आगामी मौद्रिक नीतिमा संगठनको सुझाव बुझाएका छन् । यस्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई विद्युतसंग सम्बन्धित समस्याका बारेमा जानकारी गराएका छन् । उनीहरुले विद्युतको दीर्घकालिन समाधानका लागि आग्रह गरेका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतसंगको भेटमा अध्यक्ष राकेश सुरानाले दीर्घकालीन आर्थिक एवं औद्योगिक विकासका लागी निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सिमित हुने गरी ल्याउनु पर्नेमा जोड दिए । अर्थमन्त्री महतले उद्योग व्यवासय संचालनका लागि आवश्यक आधारभूत आवश्यकताका रुपमा रहेका वित्तीय व्यवस्थापन, विद्युतको उपलब्धता, पूर्वाधार विकास जस्ता कुरा सरकारको प्राथमिकताको क्षेत्र रहेको बताए । उनले निजी क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर उन्मुख हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । यस्तै भेटमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसाय क्षेत्रले व्यवहारिक रुपमा भोग्दै आएका चालुपुँजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा संगठनको सुझाव अनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको बताए । उद्योग व्यवसायको गुनासो सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने स्पष्ट पारे ।
भ्रष्टाचारका अरू फाइल पनि खुल्दै जान्छन् : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाईंमा सतिसालझैं उभिने बताएका छन् । बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए । ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।’ सरकारविरुद्ध घेरा हाल्ने र भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेको प्रधानमन्त्रीको जिकीर छ । ‘भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परेसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं’, प्रधानमन्त्री दाहालले भने ।