विकासन्युज

सन नेपाल लाइफले कैलालीमा गर्यो १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कैलालीको धनगढी शाखाले मृत्युदावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी आज बीमित स्वर्गिय सागर महतौको ईच्छाएको व्यक्ती उनका बुवा विष्णु प्रसाद महतौलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी खर्च गरी जम्मा १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन् । साथै, उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेका थियो । कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

ढोरपाटन । अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन् । पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी र थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन् । कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा आउने छन् । दुई वर्ष अगाडिसम्म बुर्तिबाङबजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो, ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन् । अहिले पालिकाको केन्द्रदेखि वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा याताया सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ बुर्तिबाङदेखि खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । बोेङ्गाभोदानदेखि सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँचवटा मोटरेबल पुलको आवश्यक पर्छ भने, खुङ्खानी तीन, पहिरा तीनवटा, स्याउला र हिजा पुग्न एउटा पुल तर्नु पर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । बोङ्गानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको तमानखोलाका अध्यक्ष जोकलला बुढा मगरले बताए । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरि पाँच स्थानमा मोटरेल पुल निर्माण परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन् । वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ । ’बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्न सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, हिले खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरुले सबै गाउँ र बस्तीमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ’, अध्यक्ष बुढा मगरले भने, ’पुल निर्माणका लागि गाउँपालिकाको पूरै बजेटले पनि पुल बनाउन सकिँदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरि रहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउने छौँ, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।’ तमानखोला–५ का भीमबहादुर सिर्पालीले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गरे । पहिले–पहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नुपर्ने उनी बताउँछन् । गाउँमा नुन, चामल ल्याउनु परे घोडाखच्चडको प्रयोग गर्नुपर्ने स्थिति आएको सिर्पालीको भनाइ छ । उनले भने, ’उतिबेला अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटोबाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे, अहिले गाडीका लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, बर्खामा त निकैको काम हुँदो रैछ ।’ स्थानीयवासी वीरबहादुर नेपालीले यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु¥याउनुको विकल्प नभएको बताए । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीलाई बारम्बार पुल आवश्यक पर्ने ठाउँ बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनले गुनासो पोखे । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उनको भनाइ छ । ’दुई साता भयो, खोलामा गाडी तर्न छाडे, वारिका मान्छे वारि, पारिका मान्छे पारि भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छन्, पानीमा रुज्दै भिज्दै काम गरेर होला अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ’, उनले भने, ’खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।’ रासस

सवारी लाइसेन्सको राजश्व अनलाइनबाटै भुक्तानी, विचौलिया राजको अन्त्य हुने अपेक्षा

काठमाडौं । सवारी लाइसेन्सको राजश्व भुक्तानी अब अनलाइन बाटै हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रालयले बुधबारदेखि पोखराको यातायात कार्यालयमा अनलाइन बाटै राजश्व भुक्तानी सुरुवात गरिएको हो । भौतिक योजनता तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले तयार पारेको पोर्टलमा क्लिक गरेर सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा सुरुवात गरेका हुन् । अनलाइनबाटै राजश्व भुक्तानी सुरू भएसँगै यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । मन्त्री ज्वालाले यातायात कार्यालयमा लाग्ने भीडलाइ कम गर्न अनलाइन सेवाको शुभारम्भ गरिएको बताए । ‘अहिले सबै यातायात कार्यालयमा लाग्ने लामो भीडले हामीलाइ गिज्याइरहेको छ, त्यो भीडलाई कम गर्न हामीले अनलाइनबाट राजश्व भुक्तानी सेवाको सुरू गरेका हौं । विचौलियाको अन्त्य गर्न पनि यो जरुरी थियो’, मन्त्री ज्वालाले भने । उनले मन्त्रालयले सकेसम्म कार्यालय उपस्थित हुनुपर्नै बाध्यताको अब बिस्तारै अन्त्य गर्दै जाने बताए । अब १० वर्षमा मात्रै लाइसेन्सको नविकरण गर्ने तयारि गरिएको पनि उनले बताए । यातायात विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले पहिलो पटक पोखराको कार्यालयमा अनलाइन प्रणाली लागू गरिएको र एक महानाभित्र सबै कार्यालयमा लागू गरिने बताए । ‘आजबाट परिक्षणकारूपमा हामीले पोखरा कार्यालयमा अनलाइन प्रणाली लागू गरेका छौं, १५ दिनको अवधि हेरेर आगामी एक महिनामा सबै कार्यलयमा यस्तो सेवा विस्तार गर्छौं’, उनले भने । नयाँ लाइसेन्सको राजश्व, नविकरण तथा स्तर थप (कोटा थप)को राजश्व भुक्तानी पेमेन्ट गेटवे मार्फत गर्न सकिने भएको छ ।

एक वर्षमा ५२ लाख बराबरको दूध विक्री

काठमाडौं । नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख बराबरको दूध बिक्री गरेका छन् । नारायण–११ विन्ध्यवासिनी, नारायण – ६ बिजौरा र नारायण –३ कालीमाटीका किसानले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन् । किसानले यसवर्षको गत जेठसम्म मात्रै ५२ लाख पैसा बुझेका छन् । ‘ल्याक्टोमिटर’का आधारमा जाँच गरेर राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाले दूध घरबाटै खरिद गरेको थियो । स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत भएको किसानले जनाएका छन् । नारायण – ३ का दूध उत्पादक किसान मनिषा कठायतले कालीमाटीबाट सदरमुकाम दूध बिक्री गर्न जाँदा–आउँदा तीन घण्टा बचत हुने र उक्त समयमा भैँसीलाई घाँस काट्न सक्ने बताए । डेरीले प्रतिलिटर ६० रुपैयाँका दरले किसानलाई पैसा प्रदान गर्ने गरेको छ । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तीन वर्षदेखि किसानलाई अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएका बताए । उनले भने, ‘डेरीमा मात्र बिक्री गर्ने किसानले ५२ लाख पाए । ‘ नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब एक करोड रुपैयाँ बढी रकमको दूध किसानले बिक्री गर्ने गरेका उनको भनाइ छ । नगरपालिकाले यस वर्ष मात्रै किसानलाई १४ भैँसी अनुदानमा वितरण गरेको छ । दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रदेश सरकार, नारायण नगरपालिका र पशुसेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेका थिए । केही स्थानमा वितरण गरेका भैँसीबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानले दूध बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएका पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर विष्टले बताए । किसानले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गरेका पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए । कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रुपैयाँ थप अनुदान प्रदान गरेको छ । दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको दूधको विवरणलाई आधार मानेर ८० हजार लिटर दूधको प्रतिलिटर ५ रुपैयाँका दरले चार लाख रुपैयाँ थप अनुदान रकम वितरण गरिएको हो । किसानको घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए । किसानहरूलाई थप उत्साह प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानको घरमै पुगेका छन् । सरकारले प्रदान गरेको उत्पादनमा आधारित अनुदान पैसा वितरण गर्न उनी नारायण –३ कालीमाटीका किसानको घरमा पुगे । सो अवसरमा उनले अब हरेक क्षेत्रमा उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने बताए । रासस

आइआइएमएस कलेजका विद्यार्थीद्वारा सामाजिक क्षेत्रमा सहयोग पुर्याउन नवीन खोज प्रदर्शन

काठमाडौं । आइआइएमएस कलेजका विद्यार्थीद्वारा सामाजिक क्षेत्रमा सहयोग पुर्याउन अनुसन्धानको माध्यमबाट नवीन विषयहरुको प्रस्तुती गरेका छन् । कलेजमा बिआइटी र बिएचएम अध्ययन गरिरहेका चौथो सेमेस्टरका विद्यार्थीहरुले टेलर्स विश्वविद्यालयले तोकेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो प्रदर्शन गरेका हुन् । वर्तमान समाजमा नयाँ ढंगले कसरी योगदान पुर्याउन सकिन्छ भन्ने खोजमा आधारित रहेर विद्यार्थीहरुले सामूहिक रुपमा नवीन खोज गरेर आफ्ना खोजहरुलाई प्रदर्शन गरेका थिए । जसमध्ये एउटा समूहले खानाको कमी भएका अथवा आवश्यक भएकाहरुलाई इच्छा भएकाहरुले जहाँसुकै बसेर खाना दिन सहयोग पुर्याउने वेबसाइट निर्माण गरेको छ । अर्को समूहले हटाउन चाहेका पुराना कपडाहरु भएका मानिसहरु र कपडाको आवश्यकता भएका मानिसहरुबीचमा पुलको काम गर्ने वेबसाइटको निर्माण गरेको छ । त्यस्तै, विद्यार्थीको अन्य समूहले रेष्टुरेन्टमा बचेको ताजा खाना खानाको आवश्यकता भएका मानिसहरुसम्म पुर्याउने पुलको काम गर्ने वेबसाइट, काम नलाग्ने कागजहरुलाई पुर्नप्रयोग गर्ने तरिका, शिक्षकहरुलाई आधारभूत रुपमा प्रदान गर्ने कम्प्युटर तथा उपकरण सम्बन्धी तालिम, युवतीहरुलाई लक्षित गरेर रजस्वला सम्बन्धी सचेतना कार्यक्रम विधि, योगा तथा ध्यानको लागि सहयोग पुर्याउने वेबसाइट लगायतका नवीनतम खोजहरुको प्रदर्शन गरेका थिए । कलेजका प्रोफेसनल अफ वर्कप्लेस तथा सामाजिक इनोभेसन प्रोजेक्टका रोजल जोशीका अनुसार विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउने उद्देश्यले विश्वविद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत सो विषयलाई कोर्षकै रुपमा राखेको हो । सो विषय अन्तर्गत विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघको दिगो विकास कार्यक्रम अन्तर्गत जोडिने आफ्नो अध्ययनकै प्रकृयामा समाजमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेबारेमा अभ्यास गर्ने गर्छन । विद्यार्थीहरुको खोज र प्रदर्शन क्षमताका आधारमा उनीहरुले विश्वविद्यालयबाट नम्बर समेत प्राप्त गर्ने जोशीले बताए ।

सेबोनले मार्केट सेक्युरिटिजलाई तिरायो १० लाख जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई कारवाही गरेको छ । मार्केट सेक्युरिटिज एक्सचेन्जले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै कारवाही गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजलाई कारबाही गरिएको हो । साथै, कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फको उपदफा (१) को खण्ड (ख) बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको हो ।

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ती वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले छात्रवृत्ती वितरण गरेको छ । बैंकले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ती प्रदान गरेको हो । बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न ईच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । बैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले वागीश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत इश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्याण्ड एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत सृष्टी शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलमा अध्ययनरत सृष्टी कुमारी शाहीलाई प्रति विद्यार्थी पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको छ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

काठमाडौंको सिडिओ बने जितेन्द्र बस्नेत, ३ जिल्लाको प्रशासन हाँकेकाे अनुभव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेतले पाएका छन् । यसअघि गोरखा, चितवन, र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका बस्नेत अहिले गृहमन्त्रालयको सुरक्षा तथा समन्वयमहाशाखा प्रमुख थिए । उनी गृहमन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा समेत थिए । बस्नेतले राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशक भएर पनि काम गरेका थिए । काठमाडौंका यसअघिका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएको थियो ।