काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाईंमा सतिसालझैं उभिने बताएका छन् ।
बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए ।
‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।’
सरकारविरुद्ध घेरा हाल्ने र भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेको प्रधानमन्त्रीको जिकीर छ ।
‘भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परेसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं’, प्रधानमन्त्री दाहालले भने ।