विकासन्युज

घोराही सिमेन्टको आईपीओ ७ दिनसम्म बिक्री खुला !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ पुनः निष्काशन गर्न दिने भएको छ । यसअघि आवेदन दिएका लगानीकर्ताहरुलाई रकम झिक्न वा थपघट गर्न दिएर पुनः आवेदन खुला गर्न ३ दिनको समय दिएको बोर्डले जनाएको छ । घोराही सिमेन्टको आईपीओमा सर्वसाधारण लगानीकर्ताको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएकाे छ । त्यसैगरी,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको सेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार २५० रुपैयाँ कम्पनीको खातामा रकमान्तर समेत भैसेकेको छ ।  बाेर्डले सर्वसाधारणकाे पैसा हाेल्ड भएकाे र आर्थिक वर्ष २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी उक्त प्रकरणमा थप छानविन जारी राखेर हाललाई स्थगन भएको निष्काशन खुला गर्न दिएकाे प्रवक्ता मुक्ति श्रेष्ठले बताए । उनकाअनुसार सिआस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिइएको उनले बताए । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार बाेर्डले धिताे पत्र निष्काशनकाे लागि ७ दिनकाे समय  दिएकाे श्रेष्ठले बताए । बाेर्डले दिएकाे समयमध्ये ५ दिन यसअघि नै समाप्त भइसकेकाे छ ।

६ महिनाभित्र सुकुम्वासी बस्ती हटाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका ससुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा बागमती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौं उपत्यकाभित्रका बागमती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा शहरी विकास मन्त्री सीता गुरुङले पशुपति क्षेत्रसम्मको बागमती सफा गर्ने जिम्मेवारी अधिकार सम्पन्न बागमतीको कि पशुपति क्षेत्र विकास कोषको भन्ने द्विविधा भइरहेकाले एकीकृत रुपमा काम गर्ने गरी एकै संस्थालाई जिम्मेवारी दिनुपर्ने बताइन् । गुरुयोजना बनाएर बागमती सुधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले अव्यवस्थित बसोवासी हटाउन सरोकार भएका सबै निकायको सहयोग हुनुपर्नेमा जोड दिइन् । ’अव्यवस्थित बसोवासीलाई राख्न इचङ्गुनारायणमा दुई सय ३० परिवार बस्न सक्ने गरी पाँच वटा भवन बनाइएको छ, त्यहाँ लगेर स्थापित गरिनुपर्छ, नदी किनारका अव्यवस्थित बसोवासीलाई हटाउने विषय सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएकाले अब यसलाई कार्यान्वयन हुन्छ’–मन्त्री गुरुङले भनिन् । सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकाका सामाखुसी, सपनतीर्थ, इच्छुमती सबै ढल बगाउने ठाउँ बनेकाले नदीका रुपमा स्थापित गर्न काम गरिनुपर्ने बताए । अधिकार सम्पन्न वाग्मतीलाई काठमाडौं उपत्यकाका सबै नदीको जिम्मेवारी दिनेगरी वैधानिक व्यवस्था गर्न उनले माग गरे । सांसद ठाकुर गैरेले ऐन र पैसा नभई गठन आदेशका भरमा चलाइने संस्थाको नामको अघि अधिकार सम्पन्न राखिनुको अर्थ नहुने बताए । २९ वर्षमा १४ अर्ब के केमा खर्च भयो भनी देखाउनुपर्ने उनको भनाइ थियो । बैठकमा सांसदहरू डा. चन्द्रकान्त राउत, प्रेमबहादुर महर्जन, बिना लामा, निशा डाँगी, निर्मला कोइराला, दीपकबहादुर सिंह, शङ्कर भण्डारीलगायतले २९ वर्ष आयोजनाले काम गर्दा पनि बागमती सफा हुन नसकेको भन्दै आयोजनाका काम पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । शहरी विकास मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासीमध्ये २० प्रतिशत मात्र वास्तविक रहेको बताए । हिउँदमा बागमती सफाइका लागि नदीका बहाव छोड्न बनाइएको धाप ड्यामको पानी खानेपानीका लागि प्रयोग गर्न माग भएको भनाइ उनले राखे। अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले काठमाडौं उपत्यकामा विच्छ्इएको ढल पुरानो भई जुनसुकै बेला समस्या आउन सक्ने भएकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । समितिका आयोजना प्रमुख रवीन्द्र बोहराले गुह्येश्वरीमाथिको नदी किनारमा नदीको क्षेत्र मिची बनेका २७ वटा घर–टहरा भत्काइएको जानकारी गराए । नदी किनारको जग्गा कब्जा गरी बसेकामध्ये ८० प्रतिशत नक्कली भएको पनि उनले बताए ।

हेवाखोलामा ३ हप्तासम्म जडान भएन बेलिब्रिज

फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन । यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ । तीन साता भइसक्दा पनि पुनः सञ्चालन आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालीकासँग सडक सम्पर्कविच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता वितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ । केही पटक ‘ड्राइबर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुदैँ छ । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् । राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउनुहुँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थिए । संघीय सरकारलेनै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन् । अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जानएको छ । सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन वित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौंको सङ्ख्यामा यात्रलाई सास्ती खेप्नु परेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पु¥याएका थियौँ । फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो’ उनले भने । जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ । सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ । फड्के पुल बनेपछि यात्रुलाई सहज मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही सहज भएको छ । तत्कालका लागि यात्रु आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारबाट सञ्चालनमा आएको हो । गत आसर २ गते बाढीपहिरोले मोटरेबल पुल बगाएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालले टुटेको छ । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएसँगै हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रियतामा फड्के पुल बनेको हो । मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो । बाँसका साथै बिजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा सङ्घ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ । फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् । हेवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् । यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलिब्रिज निर्माण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरिदिने विश्वास गरिएको छ । बेलिब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ । रासस

प्रभु महालक्ष्मी लाइफमा ७ जना सञ्चालक मनोनित

काठमाडौं ।  एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। दुबै कम्पनीबाट प्रतिनिधित्व हुनेगरी ७ जना सञ्चालक चयन भएका हुन् । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका हुन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । २०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकीकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ। संचालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको  कम्पनीले जनाएको छ ।

घोराहीको सेयर आवेदन गर्ने १२ जनामाथि जालसाजी मुद्दा लाग्ने, बैंक पनि तानियो विवादमा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा रकम नभएको खाताबाट आवेदन दिने आवेदकहरुलाई जालसाजी मुद्धा लगाइने भएको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई भ्रमित पार्ने गरी आवेदन दिएका ब्यक्तिहरुमाथि जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनका लागि सिफारिस गरेको हो । साथै, सर्वसाधारणलाइए भ्रमित पार्ने कार्यमा निष्काशनकर्ता कम्पनी र बिक्री प्रबन्धकका कर्मचारी तथा सञ्चालकहरुको कुनै संलग्नता नदेखिएको अनुसन्धानबाट खुलेको बोर्डले जनाएको छ । ‘केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदकहरुरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने छ,’ बोर्डले भनेको छ । यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने बोडृले जनाएको छ । बोर्डका अनुसार आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाइने छ ।

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिए । नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था-फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् । यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

सीजी डिजिटलको नयाँ सोरुम गट्ठाघरमा

काठमाडौं । मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स सोरूम सीजी डिजिटलको नयाँ सोरूम भक्तपुरको गट्ठाघरमा संचालनमा आएको छ । बुधबार भक्तपुरका समाजसेवी तथा भूतपूर्व मन्त्रि महेश बस्नेतले सोरुमको उद्घाटन गरेका थिए । उक्त सोरुममा सीजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल। सेन्सी केन्ट, पिजन, एलिका, ब्ल्याक डेकोर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहक वर्गलाई मध्यनजर गर्दै सोरुमले फ्री डेलिभोर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लासरडेमो, ० प्रतिशत ब्याज दरमा किस्ताबन्दि, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध गराएको छ । यो कम्पनीको २३औं सोरुम हो ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज  विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय नौ दशमलव ७६ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय १० दशमलव ८५ अङ्कले घटेको छ । बैंकिङ समूह १० दशमलव ९९, विकास बैंक ६३ दशमलव २९, वित्त समूह २० दशमलव ०४, होटल तथा पर्यटन समूह ८८ दशमलव २८, जलविद्युत् समूह ५६ दशमलव ३६ अङ्कले घटेको छ । त्यस्तै, लगानी एक दशमलव ६०, उत्पादन तथा प्रशोधन एक सय पाँच दशमलव ८०, लघुवित्त ८६, म्युचअल फन्ड शून्य दशमलव ०३, व्यापार समूह ३२ दशमलव १५ र अन्य समूह ३६ दशमलव ६९ अङ्कले घटेको छ । आज सिटी होटल लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४९ लाख १२ हजार पाँच सय ९६ बराबरको दुई लाख ७६ हजार तीन सय २० रुपैयाँ कित्ता सेयर किनबेच भएको छ ।