विकासन्युज

आईएमई लाइफको प्रिमियिम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज बिहीबार (असार २१ गते)देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।

घोराही सिमेन्टको रेटिङ अनुसन्धान प्रतिवेदन गोप्य !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको रेटिङ सम्बन्धी अनुसन्धान गरेको प्रतिवेदन गोप्य राखेको छ । केयर रेटिङ नेपालले गैरकानुनी रुपमा गरेको घोराही सिमेन्टको रेटिङ सम्बन्धि अनुसन्धानको प्रतिवेदनलाई बोर्डले गोप्य राखेको हो । विवादास्पद कम्पनीको आईपीओ निष्काशन प्रक्रियालाई बिक्री खुला गर्न अनुमति दिएको बोर्डले कम्पनीको रेटिङको अनुसन्धान प्रतिवेदन भने गुपचुप राखेको हो । कम्पनीको आईपीओ प्रक्रियालाई अनुसन्धान गर्न बनेको समितिले बुधबार कम्पनीको आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउनका लागि ढोका खुल्ला गरेको छ । समितिले आईपीओ निश्कासनको ढोका खुल्ला गरेपनि रेटिङको विषयमा गरेको अनुसन्धान गुपचुप राख्दा संशय पैदा भएको हो । यसअघि घोराही सिमेन्टको रेटिङ गैरकानुनी भएको भन्दै आवाज उठेपछि नै समिति बनेको थियो । तर, सो समितिले प्रतिवेदन नै सार्वजनिक नगरी आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउँदा धेरैले यसको विश्वसनियतामाथि पनि प्रश्न गरेका छन् । विशाल ग्रुपको स्वामित्व रहेको केयर रेटिङ नेपालले गैरकानुनी रुपमा घोराही सिमेन्टको रेटिङ गरेको विषय यसअघि नै आइसकेको छ । घोराही सिमेन्टमा मुख्य लगानीकर्ता त्रिवेणी ग्रुपसँगै विशाल ग्रुपको पनि लगानी छ । रेटिङ एजेन्सी केयर नेपालले आफ्नै कम्पनीको रेटिङ गरेपछि बदमासी भएको हुन सक्ने शंका गरिएको छ । शंका गरेर नै धितोपत्र बोर्डले केयर रेटिङ नेपाललाई स्पष्टिकरण सोधेको थियो । तर, केयर रेटिङ नेपाल कम्पनीले त्यसको जवाफ नदिई समय मागेको थियो । केयर रेटिङ नेपाललाई घोराही सिमेन्टको रेटिङका विषयमा स्पष्टीकरण सोधेको भएपनि चित्तबुझ्दो जवाफ नआएपछि आईपीओ निष्काशन प्रक्रिया रोकिएको थियो । बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ कम्पनीको रेटिङमा उठेको विषयमा अनुसन्धान सम्पन्न भएपनि हाललाई प्रतिवेदन सार्वजनिक नगरिएको बताउँछन् । उनले कम्पनीको रेटिङको अनुसन्धान गरेको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए । ‘रेटिङको विषयमा अनुसन्धान भइसकेको छ तर प्रतिवेदन सार्वजनिक भएको छैन, रेटिङको मुद्धा पेण्डिङमा नै छ,’ उनले भने, ‘रेटिङको विषयमा छुट्टै प्रतिवेदन आउँछ ।’ प्रवक्ता श्रेष्ठका अनुसार प्रतिवेदन आएपछि मात्रै रेटिङको विषयमा के भएको हो भनेर खुलस्त हुनेछ । यदि कम्पनीको रेटिङ गैरकानुनी रुपमा गरेको प्रमाणित भएमा केयर रेटिङ नेपाललाई कारवाही गरिने उनको भनाइ छ । निष्काशनकर्ता घोराही सिमेन्टको रेटिङमा कुनै गल्ति नभएको प्रवक्ता श्रेष्ठले बताए । ‘यदि प्रमाणित भएमा क्रेडिट रेटिङ कम्पनीलाई कानुन बमोजिम कारवाही हुन्छ, रेटिङ गर्न नमिल्ने गरी भएको छ भने रेटिङ कम्पनीलाई कारवाही हुन्छ, त्यो भन्दा अरु हामीले केही पनि गर्न सक्दैनौं,’ उनले भने, ‘यसमा निष्काशनकर्ता कम्पनीको के गल्ति छ र ? उसले रेटिङ गर्न दियो । गर्न नहुनेले रेटिङ गर्याे । रेटिङ गर्न नमिल्ने हो भने रेटिङ कम्पनीले जिम्मा लिनु पर्याे नी ।’ कम्पनीको रेटिङ्गका विषयमा बोर्डमा उजुरी परेपछि क्रेडिट रेटिङ्ग नियमावली विपरित भए÷नभएको बारेमा गत जेठ ३० गते केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको थियो । तर, केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेपछि आईपीओ निष्काशन प्रक्रिया रोकिएको थियो । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ्ग संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्ने विषयमा उल्लेख गरेको छ । उपनियम १ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्न नहुने व्यवस्था छ । यस्तै, उपनियम २ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नोे मुख्य सेयरधनी वा मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ्ग गर्न नपाउने व्यवस्था छ । आधारभूत सेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत सेयरधनीलाई जनाउँछ । एउटा रेटिङ कम्पनीले गरेको रेटिङ अर्काे कम्पनीले गर्दा धेरै अन्तर नआउने उनको भनाइ छ । रेटिङमा ब्यापक तलमाथि हुने हो भने रेटिङ कम्पनीको मतलब नै नहुने उनको भनाइ । ‘कुनै कम्पनीको रेटिङ गर्दा एउटाले रेटिङ गर्दा ‘ए’ आउने र अर्काे कम्पनीले गर्दा ‘बि’ आउने हो भने रेटिङ गर्ने कम्पनी सबै बन्द गरे भैगो नी,’ उनले भने ।

कामना सेवा विकास बैंकले विद्यालयलाई दियाे डस्टबिन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डस्टविन उपलब्ध गराएको बताएको छ । बैंकले आफ्नो शाखा कार्यालय पद्सरिमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा रहेको बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन दिएको हो । बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयकातर्फबाट विद्यार्थी तथा शिक्षकहरु र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै

काठमाडौँ । रियलमी ब्राण्डको ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध हुने भएको छ । यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन दावी गरिएको रियलमी ११ प्रो सिरिज ५ जी फोटोग्राफीमा रुची राख्नेहरुको लागि उपयोगी हुने बताइएको छ । नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै उत्कृष्ट र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जीको डिजाइन गरिएको हो । डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् । १०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी बजारमा आएको छ । २० हजार लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले रहेको छ । यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टर नेतृत्वमा सुबिन श्रेष्ठ

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमबार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिकोरूपमा सहभागीता रहेको साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् । साधारण सभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको छ ।

एनएमबि क्यापिटलको एसआईपी प्लानमा अनलाइनबाटै पेमेन्ट सेड्युल गर्न सकिने

काठमाडौं– एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)अन्तर्गत इकाईधनीहरुले भुक्तानी सेड्युल गरेर लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएले सम्झौता गरेर एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआइपीमा मासिक वा त्रैमासिक लगानी गर्दा अनलाइन प्रणालीबाट लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालितरुपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो । एनएमबि क्यापिटलको एसआयपी अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । एनएमबि क्यापिटललले स–सानो रकमको लगानीमा समेत कम्पाउण्डिङ्ग रिटर्नको फाइदा लिन मिल्ने गरी एसआइपीमा लगानी गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ । आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा एसआइपीमार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको एनएमबी क्यापिटलले बताएको छ ।

श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी

काठमाडौं । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो । गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् । यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो । स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ । श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए । रासस

नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको लागी पेश गरेको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । ऋणपत्र निष्कासन गर्न बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मको लागी बार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कूल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागी र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।