आईओईका सबै तहका आजबाट हुने परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित
काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या देखिएको छ । क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्ने मामलामा त्रिवि चुकेको छ । आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने अन्योल देखिएको छ । आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ । आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताए । उनले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताए । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो । आयोगले राजनीतिक प्रतिबद्धता नभएसम्म पूर्ण रूपमा क्यालेन्डरले तोेकेको मिति कार्यान्वयन हुन नसक्ने जनाएको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले विश्वविद्यालयका पदाधिकारी, स्ववियु, विद्यार्थी संघ संगठन र राजनीतिक पार्टीको प्रतिबद्धता नआएसम्म क्यालेन्डर कार्यान्वयन हुन कठिन हुने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
कृषि अनुसन्धान परिषदको जग्गा नै बाँझो
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेका विभिन्न कार्यालयमा रहेको बाँझो जमिनबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको निर्देशनमा नार्कले वैज्ञानिक विवेक सापकोटाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलले आफ्नो काम सुरु गरिसकेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताए । नार्क अन्तर्गत देशभर रहेको कार्यालयमातहत कति बाँझो जमिन छ, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, कहाँको जमिनमा के बाली लगाउन सकिन्छ जस्ता विषयको अध्ययन गरी कृषिमन्त्री भुसाललाई बुझाउने उनले बताए । नार्क अन्तर्गत एक हजार २७२ हेक्टर जमिन छ, त्यसमध्ये ५९ प्रतिशत मात्र प्रयोगमा आएको र बाँकी बाँझो अवस्थामा रहेको वैज्ञानिक सापकोटाले बताए । नौ प्रतिशत जमिनमा कार्यालय र बाटो रहेको छ भने ५० प्रतिशत जमिन अनुसन्धानका लागि प्रयोग भइरहेको छ । यता ४१ प्रतिशत जमिन बाँझो रहेको प्रारम्भिक अध्ययनले देखाएको उनले बताए । इटहरीमा दुई हेक्टर, पारपाथरेमा सात हेक्टर, बन्दीपुरमा ६२ हेक्टर, रसुवामा एक हेक्टर, पाख्रेबासमा ६३ हेक्टर, बेगनासमा एक हेक्टरलगायत यसरी विभिन्न ठाउँमा बाँझो जमिन देखिएको छ । त्यसका बारेमा थप अध्ययन गर्ने काम भइरहेको उनले बताए । उनले भने, “प्रारम्भिक अनुसन्धान अनुसार ३२८ हेक्टर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिन्छ ।” नार्कका कार्यकारी निर्देशक भट्टराई भने, “सकेसम्म बाँझो रहेका जमिनलाई अनुसन्धानकै लागि प्रयोगमा ल्याउने, नभए अन्य बाली उत्पादन प्रयोगमा ल्याउँछौँ । धान, मकै, गहुँ, तरकारी, फलफूललगायत जहाँ जुन बाली उत्पादन हुन्छ, त्यहाँ त्यही बाली उत्पादन गर्छौं, त्यसलाई बिक्रीवितरण गरी राजस्वमा दाखिला गर्ने छौँ ।” नेपालमा ५९.९ लाख हेक्टर कुल कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर जमिन बाँझो रहेको छ । त्यो जमिनलाई कसरी प्रयोगमा ल्याएर कृषि उत्पादकत्व र उत्पादनलाई वृद्धि गर्ने, त्यसका बारेमा विस्तृत अध्ययन भएको छ । वास्तविक किसानसँग जमिनको स्वामित्व नहुनु, अनुपस्थित भूस्वामित्वको स्थिति कायमै रहनु, कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रूपमा सम्मानित पेसाका रूपमा विकसित हुन नसक्नुलगायतका कारणले गर्दा जमिन बाँझो रहन गएको छ । यो समाचार गोरखपत्र दैनिकमा छ ।
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित, नयाँ कार्यसमितिमा को-को आए ?
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी सिरोमनि ढुंगानाले ९६ मत ल्याएका छन् । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । निर्वाचित बन्जराले १३५ मत ल्याए भने उनका प्रतिद्वन्दी भागवत भट्टराईले ११५ मत ल्याए । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलियाले १०६ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी मुना कुवँरले ७९ मत ल्याइन् । यस्तै, कोषाध्यक्षमा अच्युत पुरी १६० मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी कमला अर्यालले ८५ मत ल्याइन् । सदस्यहरुमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् । निर्वाचनमा कुल २७१ मतमध्ये २५२ मत खसेको थियो ।
मेयर बालेनले भने – सिंहदरबारमा आगो लगाइ दिन्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइ दिने बताएका छन् । उनले महानगरका गाडी सरकारबाट रोकियो भने आगो लगाइदिने बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।’ उनले याद राख चोर सरकार भन्दै आक्रोस समेत पोखेका छन् ।
५० प्रतिशत ऊर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले कुल जडित क्षमताको ५० प्रतिशत उर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपालमा जलविद्युत मात्रै नभएर शौर्य ऊर्जा उत्पादनको पनि प्रचुर सम्भावना रहेको भन्दै कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा शौर्य तथा वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो । शुक्रवार इप्पानले नेपालमा शौर्य ऊर्जाको नीति र अवस्था विषय अन्तरक्रिया कार्यक्रममा सरकारसँग यस्तो माग गरेको हो । इप्पानले अफ ग्रिड मोड अफ अपरेशनको व्यवस्था हटाउन पर्ने बताएको छ । नेपालमा १०.३० प्रतिशत हेक्टर खेतीयोग्य निजी जमिन बाँझो रहेको भन्दै बाँझो जमिनको १.२ प्रतिशत जग्गा शौर्य ऊर्जा उत्पादनको लागि काफी हुने इप्पानले जनाएको छ । पछिल्लो समय नेपालमा सबै जलविद्युतमा मात्रै प्राथमिकता दिइएको भन्दै खोला र नहर क्षेत्रको माथिल्लो भागको जग्गा सौर्य ऊर्जा उत्पादनको लागि उपलब्ध गराउने नीति लिन आवश्यक रहेको बताएको छ । सरकारले वैकल्पिक ऊर्जाको उत्पादन वृद्धिको लागि विद्युत खरिद मूल्यमा पुनवरालोकन, घरायसी नेट मिटरिगलाई प्राथमिकता र जलविद्युत आयोजना अनुमति प्राप्त कम्पनीको सोही प्रशारण लाइन उपयोग गरी शौर्य आयोजना उत्पादन गर्नेलाई विद्युत खरिद बिक्री सम्झौताको मासिक ऊर्जा संशोधन गर्नुपर्ने बताएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकाससँगै वैकल्पिक शौर्य ऊर्जालाई पनिसँगै लैजान आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्र दुवैले अहिलेसम्म जलविद्युतको विकासको विषयमा धेरै कुरा गरेको भन्दै अब वैकल्पिक शौर्य ऊर्जाको विकासलाई पनि सँगै लैजाने सोचका साथ अघि बढेको बताए । नेपालमा सोलारको उत्पादन घाम लागे मात्रै हुन्छ नत्र हुँदैन भन्ने सोच भएपनि अहिले शौर्य ऊर्जा उत्पादनमा धेरै नयाँ टेक्नोलोजीहरु आइसकेको उनले बताए । नेपालमा करिव ४३ हजार मेगावट शौर्य ऊर्जा उत्पादन गर्नसक्ने अवस्था रहेको कार्कीले बताए । जलविद्युतमा मात्रै नभएर सरकार र निजी क्षेत्र सोलारको विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । पछिल्लो समय भारत र चीन समेत सोलारको उत्पादनमा लागि रहेको भन्दै नेपालमा पनि त्यो सम्भावना राम्रो रहेको उल्लेख उनले बताए । अबका १० वर्षमा देशभित्रै १० हजार विद्युत खपत गर्नुपर्ने कार्कीले बताए । नेपालले अबको १० वर्षमा बंलादेशमा ५ हजार विद्युत निर्यात गर्ने अपेक्षाका साथ अगाडि बढेको उनको भनाई छ । भारत, बंलादेश र चीनमा विद्युत निर्यातको विषय आएकाले अबको १० वर्षमा ३० हजार विद्युत निर्यात गर्न सक्नेगरी योजना बनाएर जानुपर्ने आवश्यकता रहेको कार्कीले बताए । त्यस्तै, विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले दिउँसो उत्पादन हुने सोलारलाई स्टोर गरेर बेलुकाको पिक समयमा विद्युत प्राधिकरणलाई दिनको लागि ठाउँ–ठाउँमा सोलार स्टोरेज प्रणाली राख्न सकिने बताएका छन् । सोलारको ब्याट्रि स्टोरेज गर्दा महँगो भएपनि विद्युत प्रवद्र्धक र सरकार दुवैलाई फाइदा गर्ने सिंहले बताए । नेपालमा जलविद्युतमा स्टोरेज आयोजना बन्नको लागि ३० वर्ष लागिरहेको सिंहको भनाई छ । अहिलेसम्म कुलेखानी भन्दा बाहेक नेपालमा विद्युत स्टोरेज आयोजना नबनेको उनले बताए । इप्पानले नेपालमा प्रतिमेगावट ग्रिड जडित शौर्य आयोजनबाट न्युनतम १ करोड २४ लाख देखि १ करोड ५३ लाख आम्दानी गर्नसक्ने सम्भावना रहेको उल्लेख गरेको छ । तर, नेपालमा नीतिगत स्थिरता नहुँदा शौर्य ऊर्जा उत्पादनमा पनि समस्या रहेको भन्दै उत्पादन अनुमतिपत्रको समयावधि बढाउने पर्ने आवश्यकता रहेको छ । सोलार उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकल सरकारले नीतिहरु परिमार्जन गर्न माग गरेको छ ।
एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न
काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीता भएको बैंकले जनाएको छ । सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो । खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । त्यसैगरी, उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस खालको प्रतियोगित नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहित कुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ । प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो । कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एन आई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो । प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए । यो नेपालका नाम चलेका ब्राण्डहरुले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरु उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । जसमा स्टिङ्ग, जि स्पोटर््स, झापा एफसी, एन आई सी एशिया बैंक कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआद थाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लब हाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५९१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
केटिएम एक्स्चेञ्ज क्याम्पमा पुरानो मोटरसाइकललाई थप १५ हजार मूल्य
काठमाडौं । केटिएम एक्स्चेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । यस्तो एक्सचेञ्ज क्याम्प भदौ १७ देखि २२ सम्म सञ्चालन हुने बताइएको छ । केटिएमको नक्सालस्थित शोरुममा एक्स्चेञ्ज क्याम्प सञ्चालन हुने छ । पुरानो बाईकको मूल्यांकनमा थप १५ हजार अतिरिक्त प्रदान गरेर नयाँ मोटरसाइकल उपलब्ध गराइने आयोजकले बताएको छ । त्यसबाहेक, नयाँ बाईक किन्नेका लागि ५० प्रतिशत डाउनपेमेण्ट गर्ने सुविधा रहेको कम्पनीले बताएको छ । नगदमै बाईक किन्नेहरुले पनि १० हजार छुट सुविधा पाउने र फाइनान्स सुबिधा लिनेका लागि पाँच हजार छुटको व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।
जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा–३ नेपाली बजारमा
काठमाडौं । जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपालमा इलेक्ट्रिक–क्रसओभर ओरा–३ बिक्री सुरु गरेको छ । ओरा–३ को लागि गत जेठ बाट नै बुकिङ खुला गरेको थियो । त्यसैबेलादेखि रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले बताएको छ । प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर जस्ता आधुनिक सुविधाहरूले ओरा–३ लाई आकर्षक बनाएको कम्पनीले बताएको छ । ओरा–३ मा ४८ किलोवाटको ब्याट्रीको साथै ४०० किलोमिटर ड्राइभिङ्ग रेन्ज रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो कारमा सीक्स ओमनी डायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू रहेको कम्पनीले बताएको छ ।