विकासन्युज

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

काठमाडौं । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २०.५४ अङ्कले घटेर १ हजार ९९३.३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ इकाई सेयर कारोबार भएका थिए । त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५.०९ ले बढेर १ हजार ९९८.४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए । कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५.०५ अङ्कले घटेर १ हजार ९९३.४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा खुम्चिन पुगेको थियो । त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अङ्कले घटेर १ हजार ९९०.५९ अङ्कमा कायम भएको छ । कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार २९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

यस्तो छ आज र भोलिको मौसम

काठमाडौं । केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मौसम विज्ञान विभाग, हावापानी केन्द्रले जनाएको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिनए । उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । यी क्षेत्रबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै १८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

एक केजी सुनसहित महिला पक्राउ

काठमाडौं । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा १ केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हराएको यात्रु फेला जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन् । आफ्नी माताको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए । उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए । प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो । ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् । दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए ।

१५ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न १५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीसहित १५ कम्पनीले लाभांश घोषणा गरेका हुन् । जमसध्ये १० वटा म्युचुअल फण्ड, एउटा वाणिज्य बैंक र ३ वटा मर्चेन्ट बैंकर रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत वर्ष गरेको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । गत आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १० वटा सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड)हरूले लाभांश प्रस्ताव गरेका हुन् । हालसम्म सनराइज फर्ष्ट म्युचुअल फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड–२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, कुमारी धनवृद्धि योजना, सिद्धार्थ इक्विटी फण्ड र एनआईबिएल सहभागिता फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । गत आर्थिक वर्ष २०७९/८० मा म्युचुअल फण्डहरुमध्ये सबैभन्दा धेरै लाभांश सनराइज फर्ष्ट म्युचुअल फण्डले वितरण गर्ने प्रस्ताव गरेको छ । सो फण्डले १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो । त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड र कुमारी इक्विटी फण्डले समान १० प्रतिशत, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, लक्ष्मी इक्विटी फण्ड र सिटिजन्स म्युचुअल फण्ड २ ले समान ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस्तै, गत वर्षको नाफाबाट इकाईधनीहरुलाई सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६.५ प्रतिशत, कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत र एनआईबिएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । त्यस्तै, वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंकले सबैभन्दा पहिला लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । त्यस्तै, हाल सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरुमध्ये ३ वटा मर्चेन्ट कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म कुमारी क्यापिट, एनआईसी एशिया क्यापिटल र ज्योति क्यापिटलले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । ज्योति क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सनराइज क्यापिटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस्तै, एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित)का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेशनल फण्ड म्यानेजमेन्ट कम्पनी वि.सं. २०७९ मंसिर २० गते स्थापना भई चैत २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।

सिद्धार्थ बैंकको एकैपटक ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी ११ नगरपालिको भवन बज्रबाराहीमा सरेको हो । साविकको स्थानबाट ८ सय मिटर उत्तर/पूर्वतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । अत्यावश्यक जानकारीका लागि चापागाँउ शाखाका शाखा प्रबन्धक हिरा बहादुर तामाङको ९८०१९८२२९५ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

माथिल्लो मैलुङको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । गत साउन ४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज भदौ १७ गतेसम्म आवेदन भर्न सक्ने छन् । कम्पनीले यसअघि गत भदौ १ गतेसम्म आवेदन समय खुला गरेको थियो । तर, अविरल वर्षाले बाढी पहिरो लगायतले यातायात संचालन अवरुद्ध भएको थियो । त्यसैले आईपीओ संकलन केन्द्रमा आवेदन बुझाउन सहज नभएकाले भदौ १७ गतेसम्म आवेदन दिने समय थप गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

नबिल बैंकले काठमडौंमा घरजग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो । बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौं प्लाज स्थित २ वटा कित्ता घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले कित्ता नम्बर १५०६ र १०५९ को क्रमशः ६३.५८ र ५८६.२४ वर्गमीटर गरी कूल ६४९.८२ वर्गमीटर अर्थात् १–४–१–३ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने बताएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।