
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले कुल जडित क्षमताको ५० प्रतिशत उर्जा शौर्य र वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
नेपालमा जलविद्युत मात्रै नभएर शौर्य ऊर्जा उत्पादनको पनि प्रचुर सम्भावना रहेको भन्दै कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा शौर्य तथा वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
शुक्रवार इप्पानले नेपालमा शौर्य ऊर्जाको नीति र अवस्था विषय अन्तरक्रिया कार्यक्रममा सरकारसँग यस्तो माग गरेको हो । इप्पानले अफ ग्रिड मोड अफ अपरेशनको व्यवस्था हटाउन पर्ने बताएको छ । नेपालमा १०.३० प्रतिशत हेक्टर खेतीयोग्य निजी जमिन बाँझो रहेको भन्दै बाँझो जमिनको १.२ प्रतिशत जग्गा शौर्य ऊर्जा उत्पादनको लागि काफी हुने इप्पानले जनाएको छ ।
पछिल्लो समय नेपालमा सबै जलविद्युतमा मात्रै प्राथमिकता दिइएको भन्दै खोला र नहर क्षेत्रको माथिल्लो भागको जग्गा सौर्य ऊर्जा उत्पादनको लागि उपलब्ध गराउने नीति लिन आवश्यक रहेको बताएको छ ।
सरकारले वैकल्पिक ऊर्जाको उत्पादन वृद्धिको लागि विद्युत खरिद मूल्यमा पुनवरालोकन, घरायसी नेट मिटरिगलाई प्राथमिकता र जलविद्युत आयोजना अनुमति प्राप्त कम्पनीको सोही प्रशारण लाइन उपयोग गरी शौर्य आयोजना उत्पादन गर्नेलाई विद्युत खरिद बिक्री सम्झौताको मासिक ऊर्जा संशोधन गर्नुपर्ने बताएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकाससँगै वैकल्पिक शौर्य ऊर्जालाई पनिसँगै लैजान आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्र दुवैले अहिलेसम्म जलविद्युतको विकासको विषयमा धेरै कुरा गरेको भन्दै अब वैकल्पिक शौर्य ऊर्जाको विकासलाई पनि सँगै लैजाने सोचका साथ अघि बढेको बताए ।

नेपालमा सोलारको उत्पादन घाम लागे मात्रै हुन्छ नत्र हुँदैन भन्ने सोच भएपनि अहिले शौर्य ऊर्जा उत्पादनमा धेरै नयाँ टेक्नोलोजीहरु आइसकेको उनले बताए ।
नेपालमा करिव ४३ हजार मेगावट शौर्य ऊर्जा उत्पादन गर्नसक्ने अवस्था रहेको कार्कीले बताए । जलविद्युतमा मात्रै नभएर सरकार र निजी क्षेत्र सोलारको विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
पछिल्लो समय भारत र चीन समेत सोलारको उत्पादनमा लागि रहेको भन्दै नेपालमा पनि त्यो सम्भावना राम्रो रहेको उल्लेख उनले बताए । अबका १० वर्षमा देशभित्रै १० हजार विद्युत खपत गर्नुपर्ने कार्कीले बताए ।
नेपालले अबको १० वर्षमा बंलादेशमा ५ हजार विद्युत निर्यात गर्ने अपेक्षाका साथ अगाडि बढेको उनको भनाई छ । भारत, बंलादेश र चीनमा विद्युत निर्यातको विषय आएकाले अबको १० वर्षमा ३० हजार विद्युत निर्यात गर्न सक्नेगरी योजना बनाएर जानुपर्ने आवश्यकता रहेको कार्कीले बताए ।
त्यस्तै, विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले दिउँसो उत्पादन हुने सोलारलाई स्टोर गरेर बेलुकाको पिक समयमा विद्युत प्राधिकरणलाई दिनको लागि ठाउँ–ठाउँमा सोलार स्टोरेज प्रणाली राख्न सकिने बताएका छन् ।
सोलारको ब्याट्रि स्टोरेज गर्दा महँगो भएपनि विद्युत प्रवद्र्धक र सरकार दुवैलाई फाइदा गर्ने सिंहले बताए । नेपालमा जलविद्युतमा स्टोरेज आयोजना बन्नको लागि ३० वर्ष लागिरहेको सिंहको भनाई छ ।
अहिलेसम्म कुलेखानी भन्दा बाहेक नेपालमा विद्युत स्टोरेज आयोजना नबनेको उनले बताए ।
इप्पानले नेपालमा प्रतिमेगावट ग्रिड जडित शौर्य आयोजनबाट न्युनतम १ करोड २४ लाख देखि १ करोड ५३ लाख आम्दानी गर्नसक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
तर, नेपालमा नीतिगत स्थिरता नहुँदा शौर्य ऊर्जा उत्पादनमा पनि समस्या रहेको भन्दै उत्पादन अनुमतिपत्रको समयावधि बढाउने पर्ने आवश्यकता रहेको छ । सोलार उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकल सरकारले नीतिहरु परिमार्जन गर्न माग गरेको छ ।