अटोमोबाइल क्षेत्रको समस्या सुल्झाउन गएका नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई सुनाए राष्ट्र बैंकप्रतिको गुनासो
काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ । छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा सरोकारवाला निकायहरुसंग सल्लाह गरेर ययार्थपरक बनाउन अनुरोध गरेका छन् । सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने, बैकहरुबाट निजी सवारी साधनको लोन प्रवाह गर्ने प्रकियाको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने बताएका छन् । त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा बर्गीकरण गरिने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्ने बताएका छन् । कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि थापाले आग्रह गरेका छन् । त्यसैगरी, छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन थापाले आग्रह गरेका छन् । छलफलमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।
आठ महिनामा भित्रिए ६ लाख पर्यटक
काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री
काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए । ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन’, मन्त्री डा महतले भने । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ’, उनले भने । मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।’ उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो । मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए । यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे । सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस
स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?
काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ । ‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने सबैको छनोट बन्नेछ’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । यो कार टोनार्डो रेड र क्यान्डी ह्वाइट गरी दुई रङमा उपलब्ध छन् । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने बताइएको छ । नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को मूल्य ७१ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ७९ लाख ९० हजार राखिएको कम्पनीले बताएको छ । नयाँ कारमा स्कोडा अक्टाभिया आरएस २४५ को जस्तो डिजाइन, १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को फिनिस दिइएको छ । स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ । सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध छन् । यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ । स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।
पृथ्वीबाट गिद्ध लोप भइसकेको भन्दै संरक्षणमा लाग्न सरोकारवालाको जोड
नवलपुर । मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै यिनीहरुको संरक्षण गर्नुपर्नेमा बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले बताए । ‘नब्बे प्रतिशत गिद्ध हामीबाट लोप भइसकेको भन्ने तथ्याङ्क सार्वजनिक भइरहेको छ’, गिरीले भने, ‘हामीले गिद्धलाई बचाउनुपर्छ, हामीलाई आवश्यकता छ, गिद्धका कारण प्रकृति स्वच्छ भएको हुन्छ ।’ मानवीय दृष्टिकोणबाट गिद्धलाई नराम्रो प्रजातिको रुपमा हेर्ने गरिएको भन्दै गिरीले गिद्धले मानवीय जीवनमा धेरै विषय सहज बनाइदिएको बताए । ‘गिद्ध कुल्चिकार र फोहरमैला सफा गर्ने मात्रै भन्दा पनि प्राकृतिमा हुने दूषित कुरालाई गिद्धले नियन्त्रण गरिरहेको हुन्छ’, उनले भने, ‘वातावरणबाट गिद्धमात्रै नभएर अन्य जीव पनि मानवीय गतिविधिका कारण विस्तारै लोप हुने अवस्थामा पुगेका छन्, अब हामी सचेत हुनुपर्छ ।’ चार दशक अगाडिसम्म गिद्धलाई सहजै देख्न पाइने गरेको भन्दै गिरीले अहिले गिद्ध सीमित ठाउँमा मात्रै देखा पर्ने बताए । ‘मानिसले जथाभावी प्रयोग गर्ने विषादीका कारण गिद्धहरु लोप हुँदै गइरहेका छन्’, उनले भने, ‘डाइक्लोफिन्याक औषधि मानव र घरपालुवा जन्तुलाई प्रयोग गरिने कारण यसको असरले गिद्ध लोप भइरहेका हुन् ।’ गिद्ध प्रजनन केन्द्र तथा गिद्ध संरक्षणका लागि खोलिएका रेष्टुराँका कारण अहिले गिद्ध संरक्षित भइरहेका भन्दै गिरीले गिद्ध सबै ठाउँमा पाउने गरी संरक्षणको काम हुनुपर्ने बताए । अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पिठौलीमा जटायु रेष्टुराँ खोलेर गिद्ध संरक्षणको काम भइरहेको छ । जटायु रेष्टुराँ वरिपरी गिद्धको उपस्थिति राम्रो तथा प्रकृतिमा गुँड लगाएर प्रजनन गर्ने गरेको देखिएको संरक्षणकर्मी डीबी चौधरीले बताए । केही समयअघि पिठौलीनजिकै कावासोतीमा सिनो खाएर मरेको स्याल खाएका कारण गिद्ध मरेका थिए । समुदायलाई वातावरण स्वच्छ र सफा राख्न प्रेरित गर्दै डाइक्लोफिन्याकजस्ता औषधिको हानिबारे बुझाउन सकेमा गिद्ध संरक्षण गर्न सकिने चौधरीले बताए । गिद्धसँग अन्य पन्क्षी संरक्षण गर्नका लागि हानिकारक विषादीको प्रतिबन्ध लगाउनुपर्ने संरक्षणकर्मी चौधरीको भनाइ छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले संरक्षणकर्मीको पहलमा गिद्ध संरक्षणलाई सप्ताहव्यापी कार्यक्रम गर्दै थालिएको हो । आजदेखि सुरु भएको गिद्ध संरक्षण सप्ताहको कार्यक्रम उद्घाटन गर्दै चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख शान्तबहादुर मगरले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त राना मगरले वातावरण संरक्षणको हिसाबले गिद्ध अति आवश्यक पन्क्षी भएकाले संरक्षणमा एकजुट हुनुपर्ने बताए । गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गीसरह नै महत्वपूर्ण पक्षी रहेकाले संरक्षण सरकारी तथा गैरसरकारी संस्था र समुदाय गम्भीर हुनुपर्ने अवस्था आएको मगरले बताए । गिद्ध संरक्षण सप्ताहको उद्घाटनको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहासागैको राप्ती ड्याकमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमा संरक्षणकर्मी, नेचर गाइड, नेपाल प्रहरी, नेपाली सेना तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस
परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए । ‘घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।’ उनले १२/१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए । विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो । आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।
इलेक्ट्रिक स्कूटरमा एक्स्पो अफर, कुन ब्राण्डको स्कूटर कतिमा पाइन्छ ?
काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको इभी प्रदर्शनीमा राखिएको इलेक्ट्रिक स्कूटरमा प्रशस्त छुटको अफर दिइएको छ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेस तथा नेपाल ईभी प्रदर्शनी भृकुटी मण्डपमा चलिरहेको छ । प्रदर्शनीमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कूटर र मोटरसाइकल प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीका अवसर पारेर इलेक्ट्रिक स्कूटरहरुका विभिन्न छुट र अफरहरु राखिएका छन् । एमभी दुगड ग्रुपको ईभीमा २० हजारसम्म छुट एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स कम्पनीले जेस्टिस् ब्राण्डको स्कूटरको खरिदमा २० हजार रुपैयाँ छुट दिइएको विवेक अटोमोबाइल्स कम्पनीका सहायक मार्केटिङ अफिसर सौगत न्यौपानेले बताए । एक्स्पो अवधिभर स्कूटर खरिदमा यस्तो अफर रहने छ । बजारमा जेस्टिस् स्कुटर सिङगल र डबल ब्याट्रीमा उपलब्ध छन् । कम्पनीले सिङगल ब्याट्री जडान भएको ईभी स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेका छ भने डबल ब्याट्री भएको ईभी स्कुटरलाई ४ लाख १० हजार रुपैयाँ पर्ने न्यौपानेले बताए । कम्पनीले केही समय अगाडि मात्रै राय–जी नामक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याएको छ । यसमा पनि एउटा र दुई वटा ब्याट्री जडान गर्न मिल्ने स्कूटर छन् । एउटा ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख २० हजार रुपैयाँ र दुई वटा ब्याट्रीको भएको राय–जी स्कूटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको न्यौपानले बताए । पिनाकल स्कुटरमा पनि नगद छुट पिनाकल मोटरराड कम्पनीले पनि इलेक्टिक स्कूटरको खरिदमा नगद छुटको अफर ल्याएको छ । कम्पनीका अनुसार, यो ब्राण्डको स्कूटर नेपाली बजारमा चारवटा मोडलमा उपलब्ध छन् । कम्पनीले ई ३ वान ब्याट्री मोडलको स्कुटरको मूल्य दुई लाख ४९ हजार, ई ३ टू ब्याट्री मोडलको स्कुटरको मूल्य ३ लाख ३४ हजार, ई ४ वान ब्याट्री भएको मोडललाई ३ लाख १४ हजार र ई ४ ब्रिङ मोडलको मूल्य ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । यी सबै मोडलको स्कूटर खरिद गर्दा १० देखि २० हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले बताएको छ । कम्पनीले बीमा तथा बैंक फाइनान्सको पनि सुविधा उपलब्ध गराएको बताएको छ । रिसिङको एनिग्मा स्कुटरमा पनि छुट रिसिङ ट्रडिङ कम्पनीले इलेक्ट्रिक स्कूटरमा २० देखि ३० हजार रुपैयाँसम्मको छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले एनिग्मा नामक विभिन्न मोडलका स्कूटर विक्री गरिरहेको छ । यस्तो अफर एक्स्पो अवधिभर मात्रै लागू हुने बताइएको छ । कम्पनीले क्रिन्क–प्रो मोडलको स्कूटर ३ लाख २० हजार रुपैयाँमा नेपालमा बेच्दै आएको छ । यसमा ३० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले बताएको छ । यस्तै, क्रिन्क भी १ मोडलको ईभी स्कुटरमा खरिदमा पनि ३० हजार छुटको अफर रहेको कम्पनीले बताएको छ । उक्त स्कूटरको मूल्य २ लाख ८५ हजार तोकिएको भए पनि एक्स्पो अफरमा २ लाख ५५ हजार रूपैयाँमै उपलब्ध गराउने कम्पनीले बताएको छ । यसैगरी, एन ८ मोडलको स्कुटर २ लाख ४५ हजारमा दिइने कम्पनीले बताइएको छ । यो मूल्य छुट पछिको हो । एक्स्पो अवधिभरको खरिदमा जीटी ४५० प्रो मोडलको स्कुटर २ लाख २५ हजार रूपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
प्रभु क्यापिटल र होस्टे हैंसेबीचको सम्झौता नवीकरण
काठमाडौं । प्रभु क्यापिटल र होस्ते हैंसेबीच सम्झौता भएको छ । प्रभु क्यापिटलले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसे संगको सम्झौता नविकरण गरेको छ । उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि प्रभु लिटल च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) लिए बापत १ जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ । ‘छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारा सहित संचालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो । प्रभु लिटल च्याम्स नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि संचालन गरिएको पीएमएस सेवा हो । यस पियमएस सेवाको लगानी अवधि ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क: २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात र गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्ने लगायत यस योजनाका मुख्य विषेशता हुन् । क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।