श्रुति तिवारी गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल’ उपाधिबाट सम्मानित
काठमाडौं। ग्लोकलद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा शनिबार अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द सोल्टी काठमाडौमा गरिएको थियो । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल तनहुँ, अतिथ अधिकारी, बाँके, माधव खनाल लमजुङ, निराजन रिमाल काठमाडौँ, प्रीति पन्थ गुल्मी र श्रुति तिवारी धनुषाबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो । श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन् । बालअधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् । उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्साउँछ । विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउन उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।
नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैँअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ । उनले भने ‘सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दसै अघि काम सम्पन्न हुन्छ ।’ आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए । पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो । आयोजना प्रमुख कार्कीले भने ‘जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दसैँपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो ।’ ती घर हटाउन ९७ लाख आवश्यक पर्नेमा ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् । आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ । रासस
पेप्सीकोला दुर्घटना : उपचारकाे क्रममा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो । दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् । असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्। असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरि बिस्तार गर्नुपर्ने बताएका छन्।
मझगाउँ विमानस्थल निर्माणले गति लिन सकेन, २५ प्रतिशतमात्र काम सम्पन्न
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ’, उनले भने, ‘त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ ।’ आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको हो । विमानस्थल पुनः निर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो । मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन् । रासस
साधना र सबैको लघुवित्तबीच मर्जर हुने
काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्थाबीच शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । उक्त सम्झौतामा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्षकृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल रहने सहमति भएको संस्थाले जनाएकाे छ । तनहुँ जिल्लाको बन्दिपुर १, डुम्रे स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।
पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको जानकारी दिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२-०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२-०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो । प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।