विकासन्युज

नागरिक लगानी कोषसहित तीन लघुवित्तको एक अर्ब बढीको बोनस सेयर दर्ता, कुनको कति ?

काठमाडौं । साउन महिनामा मात्रै एक अर्ब २१ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्ष लागेयता तीन लघुवित्त र एक इन्भेष्टमेन्ट क्षेत्रको सो मात्राको सेयर दर्ता भएको हो । जसमा सूर्योदय वोमी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सामूदायिक लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोष रहेका छन् । समीक्षा अवधिमा यी कम्पनीको १ करोड २१ लाख ७५ हजार ४७७ कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता भएको हो । सबैभन्दा बढी बोनस सेयर सूचीकृत हुनेमा नागरिक लगानी कोष छ । कोषको २५ प्रतिशत अर्थात १ करोड ६ लाख २७ हजार ५ सय कित्ता सेयर दर्ता भएको छ । जुन रकमको आधारमा एक अर्ब ६ करोड २७ लाख ५० हजार रुपैयाँ हो । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ११ करोड ८७ लाख रुपैयाँ बराबरको १५ प्रतिशत अर्थात ११ लाख ८७ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । जाल्पा सामुदायिक लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ । संस्थाको २ करोड २८ लाख रुपैयाँ बराबरको २ लाख २८ हजार कित्ता सेयर दर्ता भएको छ । त्यसैगरी, सामूदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत सेयर दर्ता भएको छ । बोर्डमा संस्थाको १ करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर दर्ता भएको हो । बोर्डका अनुसार यी चार वटै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बोनस सेयर दर्ता भएको हो । यी कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा दुई वर्ष अघिको बोनस सेयर दर्ता गरेका हुन् ।

जुम्लाका किसान स्याउ टिप्न व्यस्त, किलोको ५० रुपैयाँ

जुम्ला । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् । ‘पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ’, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी ५० रुपैयाँमा स्याउ खरिद गर्ने गरिएको छ । करिब ७० क्विन्टल स्याउ खरिद गरी सुर्खेत बिक्री गर्न लगिएको तिरुवाको भनाइ थियो । ‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी ५० मा बिक्री सुरु गरेका छौँ’, किसान गोरीकला रोकायाले भने, ‘गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर बिक्री गर्ने गरेका छन् ।’ जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् । जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने छ । गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुगे गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको हो । न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश भाबाट विश्वासको मत लिएका थिए ।

शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस छनौट गरी फण्ड ट्रान्सफर गर्दा मोबाइल फोन उपहार जित्न सकिने बैंकले बताएको हो । यस्तो स्किम भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने बताइएको छ । विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोगलाई थप प्रर्वद्धन गर्न यस्तो स्किम ल्याइएको बैंकले बताएको छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध छ । कनेक्ट आइपिएसमार्फत प्रति दिन तीन लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा छ । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको बताएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेको बैंकले बताएको छ । त्यसैगरी, बैंकले ८८ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताएको छ ।

सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

मलेखु । धादिङको धुनिबेसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छन्, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’ सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् । जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाडौँको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताउँछन्। ‘अस्पताल पुग्ने बित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, सुरुमा दुई जनालाई सिधै भित्र छिराउनुभयो, रिपोर्टमा चाही केही देखिएन, सामान्य छ भन्यो,’ उनले भने । रिपोर्ट हामीलाई दिनुभएन,’ राईले भने, ‘पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनुस्भन्दा माथि देखाउनुपर्छ, तपाइको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिइ लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।’ उनका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । ‘हामीलाई रोग नै नलागेको हो की उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइदिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ,’ स्थानीय शोभा राइले भने । शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहनुभएको छ । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइदिने गरेको उनको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच÷छ वर्षसम्म खासै समस्या नभए पनि विस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताए । उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनी फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो,’ राईले भने । अहिले उनीहरुले समूहगत रुपमै सिमेन्ट उद्योगविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनेको छ । स्थानीयले उद्योग र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका पनि छन् । ‘वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन माग गर्दा उद्योगले नदिएपछि सूचनाको हक प्रयोग गरेर राष्ट्रिय सूचना आयोगमार्फत प्रतिवेदन प्राप्त गरेका छन्, गत पुसमा वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय समुदाय र उद्योग व्यवस्थापन पक्षसँग छलफल पनि भयो, त्यतिबेला उद्योग आउजाउ गर्ने सडक बाटो ढलान/पिच गर्ने र पुराना प्रतिबद्धता लागू गर्ने आश्वासन दिलायो,’ उन भन्छन्, ‘अहिले नगरपालिकाको न्यायिक समितिमार्फत छलफलका लागि उद्योगको व्यवस्थापन पक्षलाई बोलाउँदा पनि अटेर गरेको छ ।’ धुनिबेँसीका वडा नम्बर २, ५ र ९ का बस्ती पनि प्रदूषणको मारमा छ । पशु वस्तुमा पनि मानिसमा जस्तै समस्या देखिएको बताइएको छ । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि उद्योग सञ्चालकले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए । उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उनको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको जनाइएको छ । उनले भने, “प्लान्टको एउटा एरियाबाट धुलो बढी निस्किएकाले भारतबाट विज्ञ ल्याएर प्राविधिक जाँच गर्दैछौँ, हाल १० दिनदेखि प्लान्ट बन्द गरेर उद्योगको ‘इक्वीकमेन्ट’ मर्मतको काम भइरहेको छ ।’ वातावरण मन्त्रालयको मापदण्ड पूरा गरेर नै काम गरिरहेको उनको भनाइ छ । रासस

तस्वीरमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय साइकलदेखि मिनी ट्रकसम्म

काठमाडौं । भृकुटीमण्डपमा आजबाट नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लाइन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्ति बहादुर बस्नेतले गरेका छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो । मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलिकरण गर्ने उद्देश्य सहित प्रदर्शनीको आयोजना गरिएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहको बताइएको छ । उएक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो । प्रर्दशनीमा विद्युतीय साइकलदेखि मिनि ट्रकसम्म राखिएका छन् । उद्घाटनको क्रममा मन्त्री बस्नेतले विद्युती सामान र ईभीका सवारीको प्रयोगलाई सरकारले पनि प्राथमिकता दिएको बताए । ‘हामीले जलविद्युतको उत्पादन पनि गुणात्मक तरीकाले गरी रहेका छौं, आन्तरिक खपत बढाउने योजना र कार्यक्रमका साथ अगाडी बढेका छौं, यसलाई विस्तार गर्नको लागि आवश्यक पर्ने नीतिगत विषयलाई लिएर पूर्वाधारका काम अगाडी बढाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने ।  

नेपाल बैंकको वित्तीय क्षमतामा एडिबिको सहायता, साना व्यवसायमा बैंकको लगानी बढ्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत यस्तो सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए । यो सम्झौताले वित्तीय व्यापारको आवश्यकतालाई सम्बोधन गरी व्यापारिक ऋण र आवश्यक सहयोग मार्फत अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु¥याउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा एडीबीले १० हजारभन्दा बढी व्यवसायीक कारोबार मार्फत ७.७ विलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारको व्यवसायहरु रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो सम्झौतापछि दुई सयभन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘एसीयाली विकसा बैंकसँग भएको व्यापार वित्तीय सम्झौताले साना तथा मध्यम प्रकृतिका व्यवसायबीच हाम्रो उपस्थिति अझ बढाउँदै ग्राहकको व्यापारिक गतिविधिमा सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं ।’ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा एडिबिका नेपाल रेसिडेन्ट मिसन प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।

विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्नेमा उर्जामन्त्रीको जोड

काठमाडौं । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको उद्घाटन गरेका हुन् । उनले मेलाको उद्घाटन गर्दै नेपाल विस्तारै ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको बताए । उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताएका छन् । ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाई छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ । सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् । वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताए। विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ । प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, यहाँस्थित भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो । आजदेखि तीन दिनसम्म चल्ने नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा विद्युतीय सामग्रीका बारेमा जानकारी लिन सकिनेछ । तीन दिने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजना रहेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष रहेका छन् । प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको उद्घाटनका क्रममा जानकारी दिइयो । प्रदर्शनीको सहयोगी संस्थामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरणलगायत रहेका छन् ।