विकासन्युज

‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ २१ बाट सुरू गरेर ३० गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । आनन्दनगर स्थित आफ्नो टोयोटा शोरूममा यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’लाई सहयोग गर्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको बताएको छ । बडा दशैँ २०८० लाई बिशेष लक्षित गरि आयोजना गरिएको यो उत्सवमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बीमा लगायतका उपहार पाउने कम्पनीले विज्ञप्ति जारी गरेर बताएको छ । त्यसैगरी, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकले ‘लक्की ड्र’मार्फत उपहारहरु जित्न सक्ने कम्पनीले बताएको छ । कम्पनीसँग प्रशस्त गाडीको स्टक रहेको हुँदा ग्राहक निर्धक्कले टेस्ट ड्राइभका लागि आउँदा हुने कम्पनीले बताएको छ । त्यसैगरी, ग्राहकको सजिलोका लागि नबिल बैंक र एभेरेष्ट बैंकमा बैंकिङ फाइनान्सको व्यवस्था मिलाइएको कम्पनीले बताए । यस पटकको नाडा अटो–शोमा भने टोयोटाको उपस्थिति नरहने कम्पनीले बताएको छ ।

१० वर्षमा कृषि गर्नेको संख्या साढे ७ प्रतिशतले बढ्यो, ३ लाख हेक्टर कृषियोग्य जग्गा घडेरीमा परिणत

काठमाडौं । १० वर्षको अवधिमा खेति गर्नेको संख्या ७.६१ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणनाको नतिजा अनुसार १० वर्षको अवधिमा खेतिपाती गर्नेको संख्या सो अनुपातले बढेको हो । कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार परिवार खेतीपाती आवद्ध छन् भने १ लाख ३२ हजारले पशुपंक्षी मात्र पाल्ने गरेका छन् । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए । हरेक १० वर्षमा हुने गणनाको नतिजा कार्यालयले बिहीबार सार्वजनिक भएको हो । राष्ट्रिय कृषि गणना २०७८ अनुसार मुलकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको तथ्यांकले देखाएको छ । राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो छ ।

हुन्डाईले ल्यायो कार जित्ने योजना, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म छुट

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दशैं – तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८० योजना’ सार्वजनिक गरेको छ । ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको कम्पनीले जनाएको छ । याे याेजना अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार २१ भाद देखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरुले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको बि५ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रभु बैंकबाट डेढ सय जना कर्मचारी बाहिरिए, चौथो र पाँचौं वरियताका श्रेष्ठ र पाठकले पनि रोजे भीआरएस

काठमाडौं । प्रभु बैंक ल्याएको स्वेच्छिक अवकास सुविधा (भीआरएस)मा १४८ जना कर्मचारीले रोजेका छन् । बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा रोजेको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानले जानकारी दिए । बैंकका प्रमखु कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वरिष्ठ डीसीई मनोज न्यौपाने र डीसीईओ मनीराम पोखरेलपछि वरियताका आधारमा डीजीएम श्रेष्ठ चौथो स्थान र एजिएम पाठक पाँचौं स्थानमा थिए । श्रेष्ठ साविक सेञ्चुरी बैंक र पाठक साविक प्रभु बैंकमा थिए । बैंकमा कर्मचारीको संख्या उच्च भएपछि भीआरएस सुविधा ल्याउनु परेको डीसीईओ न्यौपाने बताउँछन् । बैंकको भीआरएस सुविधा लिनेमा उच्च तहका १४ जना कर्मचारी रहेका छन् । जसमध्ये केही कर्मचारीहरु विभागी प्रमुख पनि रहेका छन् । सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले पनि भिआरएस सुविधा ल्याएको हो । हाल बैंकमा ३ हजार ५ सय कर्मचारी कार्यरत छन् । वरिष्ठ डीसीईओ न्यौपानेका अनुसार ५ वर्षभन्दा कम अवधि भएका कर्मचारीलाई २० महिनाको तलब र ५ वर्षभन्दा बढी समय भएका कर्मचारीलाई २४ महिनाको तलब सुविधा सहित बिदा गरिएको छ । स्रोतका अनुसार बैंकमा कार्यरत कर्मचारीको संख्या अनुसारको प्रतिफल बैंकलाई नदिएका कारण कर्मचारी कटौति गर्नु परेको हो । गत पुस २६ गते सेञ्चुरी बैंकलाई गाभेको प्रभुले सो समयमा भिआरएस सुविधा ल्याएको थिएन ।

परराष्ट्रमन्त्रीले भने : चुच्चे नक्साको बारेमा जानकारी गराएको भेटिएन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालले चुच्चे नक्साको बारेमा चीनलाई कुनै पनि जानकारी नगराएको पाईएको बताएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई कुनै पनि जानकारी दिएको रेकर्ड नभेटिएको बताएका हुन् । उनले बीस २०७७ जेठ ७ मा जारि भएको नयाँ नक्सा जेठ ३१ गते संसदबाट पारित गरेको भएपनि अहिलेसम्म कुनै जानकारी गराएको प्रमाण नभेटिएको बताए । बिहिवारको समितिको बैठकमा प्रभु शाहले चुच्चे नक्शाको जानकारी नगराउनेलाइ दण्ड दिनुपर्ने बताए ।उनले संवेदनशिव वस्तुमा वेवास्ता गर्नेलाई यत्तिकै छोड्दा पछि यस्तै घटना दोहोरिने भन्दै तत्काल कानुनि दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यश विषयमा परराष्ट्र मन्त्रालयलाइ जिम्मा दिनुभन्दा समितिले नै यसको छानविन गर्नुपर्ने बताए । यस्तै समितिका सदस्य शिशिर खनाल, डा.धवल शम्शेर राणा, माधवकुमार नेपाल, वर्षमान पुन लगायतले चुच्चे नक्शाको वारेमा जानकारी नगराएर गम्भीर गल्ति गरिएको बताएका छन्।

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा : बराहताल पुरियो, मन्दिरमा क्षति

पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पुर्याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो । विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ आइपुगेका हुन् । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिए । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उनको भनाइ छ । ‘विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ’, उनले भने, ‘भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।’ टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पुर्याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयाससमेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए । टोलीको प्रतिवेदनको आधरामा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ । कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा लेदोसहितको पहिरो आउन थालेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । ‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात परिवार घर छाडेर अन्यत्र गएका छन्’, उनले भने । स्थानीय नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबहादुर कार्कीको परिवार अन्यत्र बसाइँ सरेका छन् । उनीहरुको विचल्ली भएको छ । पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा बस्न बाध्य छन् । पहाड चिराचिरा परेका कारण पानी परेको समयमा त्यस क्षेत्रको बस्ती जोखिममा छ । कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले ५० रोपनी जमिन बगर बनेको विस्थापित पदम कार्कीले बताए । पहिरोले खेतबारीमा लगाएको मकै, सिमी, कोदो र धान नष्ट गरेको छ । पहिरोकै कारण पुर्णगाउँमा रहेको बराहताल पूर्णरुपमा लेदोले पुरेको छ । त्यहाँ रहेका मन्दिरमा पनि क्षति पुगेको छ । यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडकमा पूर्णरुपमा क्षति पुर्याएको छ । रासस

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती, ९ जनालाई रोजगारी

मलेखु । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख रुपैयाँ कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए । ‘अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो’, पौडेल भन्छन्, ‘चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।’ विसं २०७६ मा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ । पौडेल भन्छन्, ‘१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक ७५ हजार भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।’ अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ । सदर प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री गर्दा वार्षिक एक करोड ४४ लाख रुपैयाँको करोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाखमा गाडी किनेका छन् । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् । पौडेल भन्छन्, ‘हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।’ उनले दुईवटा ग्रिन हाउस बनाउन रु छ लाख अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक एक लाख २० हजार रुपैयाँ बराबर कमाई हुने उनको भनाइ छ । ‘कमाएको हिसाबले विदेशमा मासिक ७५ हजार रुपैयाँ आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी एक करोडमध्ये ५० लाख रुपैयाँमा ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु’, उनले भने । जाडो मौसममा तीन किलो र गर्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका ३२ रुपैयाँ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर एक हजार रुपैयाँ दैनिक पाँउछन् । रासस