विकासन्युज

नेप्से ओर्लिने क्रम निरन्तर, १९३२ विन्दुमा झर्‍याे परिसूचक

काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २८.९२ अंकले घटेर बजार बन्द भएको छ । बिहीबारको कारोबारबाट नेप्से १९३२ विन्दुमा झरेको छ । पछिल्लो केही दिन यता सेयर बजार उच्च अंकले आरोला लागिरहेको छ । बिहीबार २७६ कम्पनीको ३२ हजार १३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । यो मंगलबारको बजारमा भएको कारोबार भन्दा बढी रकम हो । बुधबार भने सार्वजनिक विदा परेको कारण बजार बन्द थियो । बिहीबार शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । बिहीबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, सोल्टी होटलको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन

ताप्लेजुङ । यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट १८ लाख रुपैयाँ बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ । बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट सात लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए । प्रतियोगिताको पहिलो दिन एक लाख ७० हजार आठ सय रुपैयाँ, दोस्रो दिन एक लाख ३१ हजार सात सय रुपैयाँ, तेस्रो दिन एक लाख ७५ हजार छ सय रुपैयाँ, चौथो दिन एक लाख ७७ हजार सात सय रुपैयाँ र पाँचौँ दिन एक लाख ५८ हजार चार सय रुपैयाँ सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा तीन लाख ७४ हजार रुपैयाँ सङ्कलन भएको थियो । खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ । खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित आठ लाख रुपैयाँ बढी खर्च भएको बताइएको छ । यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उनको भनाइ छ । रासस

काठमाडौंमा शोक विदा दिने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि महानगरले शोक विदा दिएको हो । शुक्रबार महानगर र महानगर अन्तर्गतका कार्यालयहरु बन्द रहने महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार उपचारको क्रममा वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको थियो । महानगरले शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा बिदा दिएपछि महानगरभित्र लगातार दुई दिन शुक्रबार र शनिबार विदा हुने भएको छ ।

नेपाल-भारत व्यापारबारे चिनियाँ राजदूतको टिप्पणी फिर्ता हुनुपर्ने माग, के भनेका थिए राजदूत छन सोङले ?

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङको अभिव्यक्तिमाथि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीबार बसेकाे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले चिनियाँ राजदूतको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । समितिमा बोल्ने सबैजसो सांसदहरुले चिनियाँ राजदूतले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने बताएका छन् । गत शनिबार नेपाल चाइना हिमालय फ्रेन्डसिप नामक एक गैरसरकारी संस्थाले काठमाडौंको एभरेष्ट होटलमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपाल र भारतको व्यापारको सम्बन्धमा कुटनीतिक हिसाबले अमर्यादित अभिव्यक्ति दिएका थिए । सभामुख देवराज घिमिरे समेत उपस्थित भएको कार्यक्रममा राजदूत सोङले भनेका थिए, ‘दुर्भाग्यवश, तपाईंसँग भारतजस्तो छिमेकी छ । तर, भाग्यवश तपाईंसँग चीनजस्तो छिमेकी पनि छ, किनभने विशाल बजार छ, विशाल क्षमता छ जसमा तपाईंले प्रवेश गर्न सक्नुहुन्छ । तर, यही सन्दर्भमा भारतीय नीति नेपाल तथा अन्य छिमेकीका लागि भने त्यति मैत्रीपूर्ण छैन र नेपालको लागि फाइदाजनक छैन । यसलाई नै हामीले नीतिगत बाधा भन्ने गछौं ।’ राजदूतले चिनियाँ बजारको सम्भावना दर्शाउँदै भनेका थिए, ‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ, यसलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ । अब अहिले तपाईं देख्न सक्नुहुन्छ कि हरेक उत्पादन तपाईंले विश्वबाट, भारत र चीनबाट आयात गर्दै हुनुहुन्छ, आफैं उत्पादन गरिरहनुभएको छैन । त्यसैले मैले महशुस गरेको एउटा मुख्य समस्या नेपाली राजनीतिज्ञ, नेता र साथीहरूले, चीनसँगको व्यापारमा घाटा भएको बताउने गर्छन् । हामी भन्ने गर्छौँ चीनमा नेपालको उत्पादनलाई स्वागत छ ।’ राजदूतको सोही अभिव्यक्तिको विषयमा सांसदहरुले संसदीय समितिको बैठकमा प्रश्न उठाएका हुन् । बैंठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलशम्मशेर राणाले चिनियाँँ राजदूतले तेस्रो देशका विषयमा बोल्न नहुने भन्दै तत्काल माफि माग्नुपर्ने धारणा राखे । ‘नेपाल भारतबीचको सम्बन्धको बारेमा चिनियाँ राजदूतलाई बोल्नुपर्ने आवश्यकता नै थिएन, उनले बोलेको तत्काल फिर्ता लिएर माफि माग्नुपर्छ’, राणाले भने, ‘उनलाई यत्तिकै छाडियो भने यसको फाइदा अन्य देशका राजदूतले पनि लिन्छन्, परराष्ट्र मन्त्रालयले तत्काल यसमा एक्सन लिनुपर्याे ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिरिर ढकालले नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गर्न नहुने बताए । बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चिनियाँ राजदूतलाई माफी माग्न लगाएर भविष्यमा त्यस्तो अभिव्यक्ति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताए । यस्तैगरी, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले दुई देशबीको सम्बन्धमा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञलाई नभएको भन्दै त्यसको खण्ड्न गर्नुपर्ने बताए । उनले नेपालको आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्न नहुने भन्दै परराष्ट्र मन्त्रालयले तत्काल यस विषयमा स्पष्टीकरण लिनुपर्ने बताए । उनले चिनियाँ राष्ट्रपतिको नाम उल्ल्लेख नगरी यस्को कार्य गर्ने छुट कसैलाई नभएको भन्दै परराष्ट्र मन्त्रालयले सर्तक बनाउने काम गर्न नसके यसमा सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । परराष्ट्रमन्त्री एनपी साउदले चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे मन्त्रालयले छानविन सुरु गरेको जानकारी दिए । ‘म केही दिनदेखि काठमाडौंभन्दा बाहिर थिए, समितिको बैठकका लागि नै म बिहान मात्रै संखुवासभाबाट आएको हुँ, सामाजिक सञ्जालमा देखेर मैले यस विषयमा थप अध्ययन गर्न निर्देशन दिएको छु’, मन्त्री साउदले भने, ‘चीन र भारतसँग नेपालको मित्रवत् सम्बन्ध रहेको छ, नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छ ।’

वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको जानकारी दिए । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको बताए । उनले सरकारले बनाएको नीतिअनुसार सञ्चालन भएका संस्थाहरु कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको बताए । उनले भने ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन आएको छ, यो किन र यसको मक्सद के हो ? यसको सर्वोपरी मक्सद गुणस्तर कायम गर्न हो । दोस्रो सर्वसाधारण जनताको चिकित्सा शिक्षामा पहुँच भएन, पहुँच वृद्धि गर्ने हो र तेस्रो शुल्क नियन्त्रणमा आउनुपर्छ भनेर हो । नीतिहरु अनुसार संस्थाहरु पनि स्थापित छन् भन्नेकुराबारे प्रश्न भएको छ, त्यसरी नीतिअनुसार चलेका संस्थाहरु १० देखि १५ प्रतिशत मात्रै होलान् । ३० हजार नर्सहरु विदेश गएका छन्, ७० हजार दर्ता छ । विदेश जानेहरुले सबैले नर्सिङ काम गरेका छैनन्, तिनीहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा होलान् ।’ समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै विवादरहित नीति बनाएर चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार तोक्नुपर्ने बताए । उनले आयोग र सिटिइभिटीको क्षेत्राधिकारमा विवाद हुँदै आइरहेको भन्दै त्यसका लागि आयोग र सिटिइभिटीले समन्वय बढाउनुपर्ने बताए । उनले भने ‘ब्याचलर र प्यारामेडिकलको हकमा अहिलेदेखि नै एउटा नीति बनाएर यो यो क्षेत्राधिकार सिटिइभिटी र यो क्षेत्राधिकार चिकित्सा शिक्षा आयोगको र आफ्नो आफ्नो क्षेत्राधिकारअनुसार काम गर्नेगरी क्वालिटी मेण्टेनलाई तलमाथि नहुनेगरी यो अहिलेको बेथितिलाई नियमन गर्नुपर्छ । नियमन गर्न आउने बेलामा सिटिइभिटीले पढाउँदै गरेका विषयहरु उहाँहरुको सुझावमा निकास दिनेगरी, की निजीलाई लखेट्नु प¥यो, की नियमन गर्नुपर्छ, जेसुकै गर भनेर छोड्दा बेथिति हुन्छ, दुवैले समन्वय गरेर जानुपर्छ । ऐन निर्माणका लागि विवाद हुनुभन्दा क्षेत्राधिकार कायम हुनेगरी ऐन संशोधन गर्नुपर्छ ।’

नवलपुरमा ६ करोड खर्चेर सवारीसाधन स्क्यानर राखिने

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए। गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडान गर्ने तयारी भएको तिवारीले बताए । देशकै सबैभन्दा लामो राजमार्ग पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने जिल्लाका तीनवटै स्थानमा राखिने सवारीसाधन स्क्यान मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि स्वचालितरुपमा स्क्यानिङ गरी अभिलेख राख्ने उनले बताए। जिल्लामा जडान हुने स्क्यान मेसिनले जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ। राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले यसअघि नै नेपाल सरकारलाई आग्रह गरेको भन्दै जिल्लाका प्रहरी प्रमुख तिवारीले सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको बताए। सवारीसाधन स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडानका लागि झण्डै ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ । राजमार्गमा जडान गर्न लागिएको स्क्यान मेसिनसहित चेकपोष्ट र सिसी क्यामेरा जडानको सबै खर्च एशियाली विकास बैंकले व्यहोर्ने सहमति भएको तिवारीले जानकारी दिए । नारायणगढ-बुटवल सडकखण्ड विस्तारको कामले पूर्णता पाएसँगै तीनवटै स्थानमा सवारीसाधन स्क्यान मेसिन तथा सिसी क्यामेरा जडानको काम हुनेछ । रासस

उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्र्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताए ।

पशुपति क्षेत्र विकास कोषले गर्यो बनकाली पार्किङको ठेक्का रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङको ठेक्का रद्ध गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो । पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिसले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्ध गरेको हो । सम्झौता अनुसार माशिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उलंगन गरेको भन्दै कोषले एक महिना भित्र बक्यौता उठाउने संगै ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लि।को बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ । ठेक्काको सम्झौताको शर्त नं. ६ मा ‘बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नवुझाएमा सम्झौता रद्द गरी धरौट रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ’, भन्ने उल्लेख भएको । कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मिति सम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको ।