१५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलका अनुसार आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता सेयर माग गरेका छन् । प्रिमियममा निष्काशन भएको उक्त आईपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आईपीओ आगामी साता बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले विकासन्युजलाई जानकारी गराएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
कामना सेवा विकास बैंकले दियो श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर
काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । बैंकको सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमकोबीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो । कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्र नाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने छ ।
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति भएको बताएका छन् । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ । उनले भने, ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।’ सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए । सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गरे ।
बीमालाई बैंकसँग दाँज्दा सरेन्डरदर बढ्यो, प्राधिकरणका अध्यक्ष भन्छन् : बीमितले नै पत्याएनन्
काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिना अर्थात साउनमा मात्रै ९ हजार ७९८ जनाले बीमा पोलिसी सरेन्डर गरेका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६.३४ प्रतिशतले बढी हो । २०७९ साउनमा ८ हजार ४२२ जनाले बीमितले जीवन बीमा पोलिसी सरेन्डर गरेका थिए । यो तथ्यांकले जीवन बीमा कम्पनीहरुले गर्ने बिजनेसमा प्रश्न उठेको छ । उनीहरुले बिजनेश ल्याउँदा गर्ने अन्डरराइटिङमा ध्यान नदिएको र उक्त अन्डरराइटिङ स्ट्याण्डर्ड नभएको बुझिने जानकारहरु बताउँछन् । पछिल्लो समय देशमा आर्थिक मन्दी छाएसँगै त्यसको नकारात्मक प्रभाव जीवन बीमा क्षेत्रमा पनि परेको तथ्यांकले देखाएको छ । त्यस्तै, बैंकको व्याजदर बढ्दा बीमा गर्नेहरुले बैंकमा पैसा डिपोजिट गर्न थाल्ने भएकाले बीमा सरेन्डर बढ्ने गरेको जानकारहरु बताउँछन् । तर बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भने मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाल्दा समस्या बढ्दै गएको बताउँछन् । ‘नेपालमा सबैभन्दा ठूलो समस्या मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाले, बीमा र बैंकमा धेरै फरक छ, बीमाले यति प्रतिशत ब्याज दिन्छु भन्ने होइन, बीमाले त बीमा अवधिभर तपाईंलाई कुनै घटना घटेमा त्यसको क्षतिपूर्ति दिन्छु भन्छ, यदि कुनै घटना घटेन भने अन्तिममा गएर बोनससहित दिन्छु भनेको हो, यो विषय बीमा कम्पनीहरुले बुझाउँनै सकेनन्,’ अध्यक्ष सिलवालले प्रष्टाउँदै भने । साथै, सरेन्डर दर बढ्नुले बीमा कम्पनीमाथि मान्छेको विश्वास घट्दै गएको बुझिने अध्यक्ष सिलवालको भनाई छ । इन्स्योरेन्सप्रति विश्वास बढाउन कम्पनीहरुले बीमा गर्ने व्यक्तिले कुन उद्देश्यले बीमा गरेको थियो र कुन उद्देश्यले सरेन्डर गर्दै छ भनेर बुझ्नु पर्ने र आजको मात्रै होइन भोलिसम्मको बजार हेर्नु पर्ने उनी बताउँछन् । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । त्यस्तै, सरेन्डर किन बढ्यो ? यसलाई कसरी रोक्ने ? भन्ने विषयमा कम्पनीहरुले आफै रणनीति बनाउन आवश्यक देखिएको प्राधिकरणका अध्यक्ष सिलवालको भनाइ छ । बीमामा हुने सरेन्डरले बीमितलाई नै घाटा हुने कम्पनीलाई घाटा नपर्ने जानकारहरु बताउँछन् । बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था रहेको र कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गरेकोले बीमितलाई घाटा हुने जानकारहरुको भनाई छ । सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ । तर बीमा प्राधिकरणका अध्यक्ष भने बीमा सरेन्डरले कम्पनीलाई पनि घाटा पर्ने बताउँछन् । ‘बीमितले बीमा गरेबापत आएको रकम एउटा क्षेत्र तथा प्रपोजमा लगानी गर्छु भनेर छुट्याएको रकम सरेन्डर मार्फत धमाधम बाहिरन थालेपछि कसलाई घाटा हुन्छ ?’ प्रश्न गर्दै उनले भने- ‘घाटा कम्पनीलाई नै हुन्छ, कम्पनीले आफ्नो प्रपोज मीट गर्न नसक्नुको कारण यो पनि हो ।’ सरेन्डरमार्फत कुन कम्पनीबाट कति रकम बाहिरियो ? २०७९ साउनको तुलनामा २०८० साउनमा सरेन्डर गर्नेको संख्या बढेको छ भने सरेन्डर रकम भने घटेको छ । २०७९ साउनमा एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । जुन २०८० साउनमा १५.१७ प्रतिशतले घटेर एक अर्ब २८ करोड ३३ लाख रुपैयाँमा झरेको छ । गत साउनमा नेपाल लाइफको सबैभन्दा बढी र प्रभु महालक्ष्मीको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल लाइफको ४७ करोड २३ लाख रुपैयाँ बाहिरँदा प्रभु महालक्ष्मीबाट ३५ लाख रुपैयाँ एक महिनामा बाहिरिएको छ । यता प्रतिशतको आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डरदर बढ्दो छ । २०७० को साउनको तुलनामा २०८० साउनमा हिमालयन लाइफको पोलिसी सरेन्डरदर २९८.५८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफको सरेन्डर रकम सबैभन्दा कम अर्थात ९.१० प्रतिशतले बढेको छ । नेशनल लाइफको भने ८३.७५ प्रतिशतले सरेन्डर रकम घटेको छ । कुन कम्पनीको कति वटा पोलिसी सरेन्डर ? संख्याको आधारमा पनि नेपाल लाइफकै सबैभन्दा बढी अर्थात ३ हजार ३२४ वटा पोलिसी सरेन्डर भएका छन् । तर २०७९ साउनको तुलनामा भने उक्त संख्या ८.२८ प्रतिशतले घटी हो । सन नेपाल लाइफको सबैभन्दा कम संख्याको पोलिसी सरेन्डर भएका छन् । दुबै वर्षमा कम्पनीको बराबर अर्थात प्रति वर्ष १३ वटा पोलिसी सरेन्डर भएका छन् । प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । अघिल्लो साउनको तुलनामा कम्पनीको पोलिसी सरेन्डर दर ३२९.०३ प्रतिशतले बढेको छ । यता नेशनल लाइफको पोलिसी सरेन्डर गर्नेको संख्या ५२.७६ प्रतिशतले घटेको छ ।
फोनपे र भारतको एनआईपीएलले गरे क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात
काठमाडौं । भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड (एनआईपीएल)ले क्रस बोर्डर भुक्तानी सुरु गर्ने भएका छन् । ग्लोबल फिनटेक फेस्ट २०२३ मा क्रस बोर्डर भुक्तानी सुरुवात गर्ने समझदारी बनेको फोनपेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर भुक्तानीले नेपाल र भारतका नागरिकलाई मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत भुक्तानी गर्न सहज हुने बताइएको छ । क्रस बोर्डर भुक्तानी सञ्चालनको लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेले बताएको छ । भुक्तानी प्रणाली सञ्चालनको लागि प्राविधिक एकीकरणको काम अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ । फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले क्रस बोर्डर भुक्तानी व्यवस्थाले दुवै देशको नागरिकलाई सजिलो बनाउने बताए । ‘नेपाल र भारतबीच वित्तीय सम्पर्क अभिवृद्धिका लागि यो सहकार्य महत्वपूर्ण कदम हो । यसले दुई देश बीचको ब्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ’, ढकालले भने ।
एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई सहयोग
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । आश्रमले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बीच मानव सेवा आश्रम गोरखालाई रु ५ लाख आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे । आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन् । सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो । यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी
काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगति प्रतिको अटल समर्पणलाई दर्शाउँछ । यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने । नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभावपार्ने विश्वास दुवै समुहले लिएका छन् । प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्वदिई भूमिका खेलेकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे । हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा परेको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरे । अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासतबोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्सलगायतका क्षेत्रहरुमा बलियो उपस्थितिको साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहदै आएको छ ।
प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोड बराबरको बजेट
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको क्यान बोर्ड सञ्चालकको बैठकले चालू आर्थिक वर्षको बजेट पास गरेको हो । बोर्ड सञ्चालक समितिले पास गरेको बजेट गत आर्थिक वर्षभन्दा कम हो । प्राधिकरणले गत आर्थिक वर्ष ४१ अर्ब ६५ करोड बराबरको बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस वर्षको बजेट ५ अर्ब १९ करोडले घटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माण सम्पन्न भएकाले बजेट घटेको बताए । ‘अघिल्लो वर्ष भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा थिए, अहिले दुई विमानस्थल निर्माण सम्पन्न भएकाले बजेट घटेको हो’, उनले भने । प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ । यस्तै, प्राधिकरणसँग बैंकमा मौज्दात रहेको ६ अर्ब ६४ करोड, सरकारबाट पाउनु पर्ने मूल्य अभिबृद्धि करवापत् २ अर्ब ३४ करोड र साउन १ को पेश्कीबापतको मौज्दात ४ अर्ब ८५ करोड रुपैयाँ गरी ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ चालु वर्षको स्रोत भनेको छ । यस्तै, प्राधिकरणले पुँजीगत खर्च तर्फ १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी सम्बन्धी खर्चमा २ अर्ब ११ करोड ७१ लाख, कर्मचारी अवकाश भुक्तानीमा ५३ करोड ३० लाख र अन्य कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब ३४ करोड ७१ लाख गरी २६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । मुअक कर भुक्तानीमा ८२ करोड १८ लाख, कर्मचारी अवकाश कोष तथा अन्य भुक्तानीका लागि २० करोड ३० लाख, नेपाल सरकारलाई लाभाशं भुक्तानीमा २९ करोड ९२ लाख, नेपाल सरकारको ऋणको साँवा २ अर्ब ९३ करोड ६७ लाख, सरकारको ऋणकोे व्याज भुक्तानीमा १ अर्ब ७१ करोड, कर्मचारीलाई बोनसवापत ५ करोड ८९ लाख वितरण गर्ने उल्लेख छ । वायुयान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड गरी ३६ अर्ब ६६ करोड २ लाख उपयोग (व्यय) तर्फ विनियोजन गरेको छ । प्रवक्ता निरौलाले बजेटका उद्देश्यहरु नागरिक उडड्यनको विकास तथा विस्थार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने रहेको जानकारी दिए । यस्तै, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुमा थप पूर्वाधारको विकास, विस्तार तथा स्तरोन्तति गर्ने, आय वृद्धि तथा वित्तीय अनुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने तथा मानव संशाधनको विकास गर्ने मुख्य उद्देश्य रहेको जनाईएको छ । प्राधिकरणले उडड्यन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य, यात्रु सेवा सुविधामा अभिवृद्धि, आयवृद्धि तथा आर्थिक अनुशासन र मानव संशाधन विकास मुख्य लाई बजेटमा प्राथमिकतामा राखिएको जनाएको छ ।