नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावरमा विलय हुने, स्वाप रेसियो कति ?
काठमाडौं । नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनीमा गाभिने तथा विलय हुने भएको छ । दुवै कम्पनीबची मर्जर सम्झौता भई नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनी समाहित हुने भएको हो । दुवै कम्पनीबीच सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् म्याग्दी हाइड्रोपावरको १ कित्ता सेयर बराबर मर्जरपश्चात् नागरिक उर्जा बुटवल कम्पनीको १ कित्ता सेयर कायम हुनेछ । मर्जरपश्चात् म्याग्दी हाइड्रोपावर कम्पनीको नामबार एकीकृत कारोबार सुरु हुनेछ । म्याग्दी हाइड्रोपावरमा समाहित हुने प्रस्ताव पारित गर्न नागरिक उर्जा बुटवलले वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले असोज ११ गते बिहान ११ बजे बुटवलमा साधारण सभा बोलाएको हो । सभाले नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनीमा समाहित गर्न लेखापरिक्षक नियुक्त गर्नेछ । यस्तै, दुवै कम्पनीबची भएको मर्जरको प्रारम्भिक सम्झौता लगायत सम्पूर्ण कामकारवाही अनुमोदन गर्नेछ ।
ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत
काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो । सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा तयार पारिएको नयाँ डिजाइन स्वीकृत भएको जानकारी दिए । डिजाइन अनुसारका उपकरण उपलब्ध हुन नसक्ने भन्दै माघको अन्तिम हप्ता काम सुरु गरिएको सो फ्लाइओभर निर्माण असारमा रोकिएको थियो । उनले भने, “नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार ‘फ्लाइओभर’ को पाइलको सङ्ख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर नयाँ डिजाइन अनुसार पाइलको सङ्ख्या दुवैतिर १२÷१२ वटा कायम गरिएको छ । त्यसै गरी प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ ।” उहाँका अनुसार ‘फ्लाइओभर’ को मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन । सो ‘फ्लाइओभर’ निर्माणका लागि भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको उनले स्पष्ट पारे । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो । गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको इन्जिनियर महर्जनले स्पष्ट पारे । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो ‘फ्लाइओभर’ को निर्माण सुरु गरिएको हो । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिकित्ता ५० रुपैयाँका दरले हाथवे इन्भेष्टमेन्टको आईपीओ बिक्री खुला
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
भारतका सराभनन मनीले जिते एशियन शारीरिक सुगठनको उपाधि, नेपाल तेस्रो
काठमाडाैं । भारतका सराभनन मनीले ५५ औँ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिस्टर एशियाको उपाधि उचालेका छन्। सराभननले अन्य दश प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फ विभिन्न दश तौल समूहका विजयीहरुबीच भएको मिस्टर एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन्। उनी ९० केजी तौल समूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए। एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय भएको छ। पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकमा दोस्रो भयो। महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधि जितेको छ। भियतनाम दोश्रो र हङ्गकङ्ग तेश्रो भयो। बुधबार सम्पन्न पुरुष एथलेट फिजिक् १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे। यो विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे। च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक,६ रजत र ५ कास्य पदक प्राप्त गर्यो। नेपालका विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण पदक जिते। सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरे। कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक हात पारे। च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले ४५ विधामा स्पर्धा गरेका थिए। शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा आयोजक नेपाल सहित भुटान, चीन, हङकङ चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको थियो।
इटालियन ब्राण्ड ‘एनर्जीका ईजीओ’ नेपाली बजारमा, ५८ लाख पर्ने के–के छन् विशेषता ?
काठमाडौं । एन्ड्युरो मोटर्स कम्पनीले इटालियन ब्राण्डको ‘एनर्जीका ईजीओ’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । एनर्जीका मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एन्ड्युरो मोटर्सले केही समयअघि इटालियन ब्राण्डको बाइक नेपाल ल्याएको हो । प्रतिघण्टा २४० किलोमिटरको स्पिडमा कुद्न सक्ने यो बाइक तीन भन्दा बढी रङमा उपलब्ध रहेको कम्पनीको मार्केटिङ प्रबन्धक सास्वत रिजालले बताए । बाइकको इन्जिन डीसी भोल्टेज ३०० क्षमताको छ भने बाइकमा लिथियम पोलिमर ब्याट्रीको जडान गरिएको छ । कम्पनीका अनुसार ब्याट्री अधिकतम क्षमता २१.५ किलोवाट र न्यूनतम क्षमता १८.९ किलोवाट छ । कम्पनीले ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी दिएको र ब्याट्री ४० मिनेटमा फूल चार्ज भइसक्ने रिजालले बताए । ‘ईभी बाइकको मोटो इ–रेसिङ विश्वकै एउटा ठूलो इभेन्ट हो, त्यसमा सन् २०२२ सम्म कम्पनीले एनर्जीका ईजीओ बाइक उपलब्ध गराइरहेको छ’, रिजालले भने । ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै ल्याइएको यो बाइक नेपालमा लोकप्रिय हुने विश्वास लिएको कम्पनीले बताएको छ । रिजालका अनुसार यो मोटर साइकलमा विश्वका उत्कृष्ट सामाग्रीहरु प्रयोग भएका छन् । एनर्जीका ईजीओ मोटरसाइलको नेपाली बजारमा ५८ लाख रुपैयाँ मूल्य तोकिएको छ । ‘यो आफैमा महँगो ब्राण्ड हो, जसले सुविधायुक्त र गुणस्तरीय मोटरसाइकल किन्ने सोच्नु भएको छ, उनीहरुको लागि उपयुक्त छ’, रिजालले भने । उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याएसँगै गुणस्तरीय र सुविधायुक्त मोटरसाइकल चाहनेको लागि बुकिङ खुल्ला भएको उनले बताए ।
कार्यकक्षको अश्लिल भिडियो बाहिरिएपछि सम्पर्कमा छैनन् रेश्मा, कारबाहीको तयारीमा गाउँपालिका
काठमाडौं । गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसँगको अश्लिल भिडियो सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेश्मा राई कार्यालयको सम्पर्कमा नरहेको पाइएको छ । माईजोगमाई गाउँपालिकाको लेखा अधिकृतको जिम्मेवारीमा रहेकी राईले प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि निमित्तको जिम्मेवारी पनि सम्हालेकी थिइन् । उनकै कार्यकक्षमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहितको अश्लिल क्रियाकलाप भएको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत रेश्मा राईको अश्लिल भिडियो गत असारमै सीसीटिभीमा रेकर्ड भएको र अहिले बाहिरिएको पाइएको छ । उक्त भिडियो मंगलबार साँझ इन्टरनेटमा सार्वजनिक भएको थियो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भिडियो केही महिना अघिकै हुनसक्ने बताए । काजीमान राईको भने गत असारमा नै मुख्यमन्त्रीको कार्यालय विराटनगरमा सरूवा भइसकेको थेबेले बताए । उनको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि रेश्मा राइले नै सम्हालेकी थिइन् । गाउँपालिकको बेभसाइटमा भने प्रमुख प्रशासकीय अधिकृत भनेर काजीमान राईकै नाम राखिएको छ । ‘काजीमान राई गाउँपालिकामा अधिकृत भएर ५/६ महिना मात्रै काम गर्नुभयो । गएको असारमै उहाँको सरुवा मुख्यमन्त्रीको कार्यालयमा भएको छ’, अध्यक्ष थेबेले भने । तत्कालिन प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षमै गरेको हर्कतको विषयमा बिहीबार कार्यपालिकाको बैठकमा छलफल हुने थेबेले बताए । इलाम जिल्लाका कजीमान विवाहित हुन् भने ओखलढुङ्गाकी रेश्मा अविवाहित महिला हुन् । ‘गाउँपालिकाको सबै कार्यकक्षमा सीसीटिभी जडान गरिएको छ, यो अहिलेको भिडियो होइन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको नै दुई महिना हुन लागिसक्यो । पहिलेकै भिडियो अहिले बाहिरिएको हुनसक्छ । कार्यपालिकाको बैठकले उहाँहरूलाई कारबाहीको माग गरेर मुख्यमन्त्रीको कार्यालयमा पत्र पठाउने निर्णय गर्छ’, थेबेले भने । भिडियो बाहिरिएपछि लेखा अधिकृतलाई पनि तत्काल काम गर्न नदिने उनले बताए । भिडियो बाहिरिएपछि लेखा अधिकृत पनि कार्यालयको सम्पर्कमा नरहेको आफूले जानकारी पाएको थेबेले बताए । ‘उहाँहरुबीच बाक्लो उठबस रहेको कुरा कार्यालयका कर्मचारीहरुले गर्ने गर्नुहुन्थ्यो । तर, हामीले धेरै चासो राखेका थिएनौ । कार्यालयबाट उहाँहरु सबैभन्दा अन्तिममा निस्कनुहुन्थ्यो’, अध्यक्ष थेबेले भने, ‘उहाँहरुको कामको चापले गर्दा नै अन्तिममा निस्कनु भएको होला भन्ने ठानेका थियौं ।’
डिशहोम फाइबरनेटको सेवा पोखराको दोधारा चाँदनीमा
पोखरा । कास्कीको पोखरास्थित दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । डिशहोमले पछिल्लो समय उपत्यका लगायतका आसपासका जिल्लाहरुमा आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बनिरहेको कम्पनीको दावी छ । पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले बताएको छ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइबरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले लिएको विज्ञप्तिमा उल्लेख छ ।
वात्सल्य सातौं वर्षमा प्रवेश, ३ हजार दम्पत्तीलाई आइभीएफबाट सन्तान
काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ सातौं वर्षमा प्रवेश गरेको छ । नक्साल नारायणचौरमा रहेको वात्सल्य संचालनमा आएको सातौं वर्ष प्रवेश गरेको हो । वात्यल्यले यस अवधिमा आइभीएफ र प्राकृतिक पद्दतीबाट झण्डै सात हजार दम्पतीलाई सन्तान सुख उपलब्ध गराएको वात्सल्यका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए । आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको वात्सल्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुवेदीका अनुसार वात्सल्यबाट आईभीएफ पद्धतिमार्फत उपचार गरेका झण्डै ३ हजार दम्पत्तीले सन्तान सुख प्राप्त गरेका छन् । यो उच्च सफलता दर भएको उनले बताए । सन्तान नभएकै कारण समस्यामा परेको यति ठूलो जनसंख्यालाई यो छोटो अवधिमै सन्तान प्राप्तिका लागि सहयोगी बन्न पाएकोमा हामी गौरवान्वित छौं,’ उनले थपे । प्रजनन उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले क्रमसः नवीन प्रविधी, जनशक्ति सेवा र सुविधाहरु थप्दैं लगेको बताएको छ ।