सानिमा क्यापिटलको लाभांश घोषणा
काठमाडौं । सानिमा क्यापिटलले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई करसहित १८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । उक्त प्रतिफल सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि म्युचुअल फण्ड अन्तर्गत सानिमा इक्विटी नामक योजनाको आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण हुने छ । हाल उक्त योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँ छ ।
रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट चार संस्था सम्मानित हुने
काठमाडौं । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत हुने भएका छन् । कोषको आज यहाँ सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका अध्यक्ष धु्रव नेपालले कोषको बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरिएको बताए । उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न पाँच जना संलग्न एक छनोट समिति गठन गरेर छनोट गरिएको बताए । कोषका अध्यक्ष नेपालका अनुसार रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्र नगर नगरपालिका– ३, सुर्खेतलाई दिइने भएको छ । यो पुरस्कारको राशि दुई लाख र सम्मानपत्र रहेको छ । कोषका अनुसार सो संस्थाले वृद्धवृद्धालाई आश्रय, भोजन प्रदान गर्नाका साथै स्वास्थ्य उपचार सेवा दिँंदै आएको छ । कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, काठमाडौँको तारकेश्वर नगरपालिका–७ अवस्थित संस्थालाई दिने निर्णय गरेको हो । रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट दृष्टि फाउण्डेशन, नेपाल धनगढी उपमहानगरपालिका–१, कैलालीलाई दिने निर्णय गरिएको छ । त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग सङ्घद्वारा सञ्चालित तारकेश्वर नगरपालिका– ३ सिथत बालगृह ठुलागाउँ लाई दिने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रहेको छ ।
सिजन सुरु नहुँदै बुकिङको चटारोले पर्यटन व्यवसायी उत्साहित, ८० प्रतिशत अकुपेन्सीको अपेक्षा
काठमाडौं । पर्यटन व्यवसायी राममणि रिजाललाई अहिले ट्रेकिङको लागि विदेशीले गरेका बुकिङ लिन भ्याइनभ्याइ छ । गत वर्ष सोचे अनुसारको बुकिङ नआएर चिन्तित भएका उनी अहिले भने उत्साहित छन् । ‘गत वर्ष सिजनमै न्यून संख्यामा मात्रै बुकिङ आएको थियो, कोभिड महामारीका कारण बुकिङ आएन भनेर चित्त बुझाएको थिएँ, तर अहिले सिजन सुरु नहुँदै धेरै बुकिङ आउँदा गत वर्षको तनाब भुलेको छु’, रिजालले भने । आउटडोर हिमालयन ट्रेकर्सका सञ्चालक रहेका रिजालकोसँग विशेषगरी पोल्याण्डका नागरिक ट्रेकिङका लागि सम्पर्कमा आउँछन् । ‘मेरो कम्पनीमा आउने ८० प्रतिशतभन्दा बढी नागरिक पोल्यान्डका हुन्छन्, बाँकी २० प्रतिशत अमेरिका, क्यानडा लगायतका हुन्छन्’, उनले भने, ‘पोल्यान्डसँगै हाल अमेरिका, अष्ट्रेलिया लगायत देशका नागरिकले समेत चासो देखाउन थालेका छन् ।’ उनको कम्पनी मार्फत गत वर्षको सिजनमा २ सयको हाराहारीमा विदेशीहरु नेपाल आएका थिए, तर हाल सिजन सुरु हुनु अगाडी नै ३ सयभन्दा बढीको बुकिङ भैसकेको छ । ‘गत वर्ष ट्राभल्स र ट्रेक्सका लागि थोरै संख्यामा विदेशीहरुले इच्छा देखाएका थिए, तर अहिले सिजन सुरु हुनु भन्दा अगाडि नै धेरै बुकिङ आइसकेको छ’, उनले भने । पर्यटन तथा होटल व्यवसायीहरु सेप्टेम्बर सुरु भएसँगै नेपालमा पर्यटकीय सिजन सुरु भएको बताउँछन् । उनीहरूले वर्षभरिमा हुने कारोबारभन्दा सेप्टेम्बर, अक्टुबर र नोभेम्बरका तीन महिनामा बढी कारोबार हुने बताउने गरेका छन् । ८० प्रतिशत अकुपेन्सीको अपेक्षा नेपालमा पर्यटकीय सिजन सुरु हुन लागेसँगै होटलमा बुकिङहरु आउन थालेका छन् । ट्रेकिङ र ट्राभल्सको सिजन सुरु हुन लागेसँगै काठमाडौं लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा बुकिङ आउन थालेको हो । होटल एसोसिएसन अफ नेपाल (हान)ले होटलमा बुकिङ आउन सुरु भएको बताएको छ । हानका महासचिव साजन शाक्य होटलहरुमा बुकिङ बढ्न थालेको बताउँछन् । उनले वर्षभरीमा भन्दा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बरसम्म सबैभन्दा धेरै पर्यटक आउने भन्दै होटलको अकुपेन्सी बढ्ने बताए । ‘सेप्टेम्बर मिडदेखि सिजन सुरू हुन्छ, विस्तारै बुकिङ आउन थालेको छ, अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिना वर्षकै धेरै पर्यटन आउने सिजन हो’, उनले भने । उनले काठमाडौं लगायत पर्यटकीय स्थलका होटलमा बुकिङ आउन थालेको भन्दै तीन महिनाको अबधिमा होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको बताए । ‘ट्राभल, ट्रेकको सिजन हो, अहिले ट्रेकिङ तथा ट्राभल्सका लागि नेपाल आउने पर्यटकहरुले होटलहरु बुक गर्न थाालिसके’, उनले भने, ‘विस्तारै सिजन सुरु हुन लागेको छ, तीन महिनाको अबधिमा ८० प्रतिशतसम्म होटल बुक हुने हाम्रो अनुमान हो ।’ उनले अहिले ३५ प्रतिशत हाराहारीमा होटल अकुपेन्सी रहेको बताए । कोभिडपछि पर्यटक आगमनमा सुधार आए पनि कोभिड अघिका वर्षमा जस्तो होटलको अकुपेन्सी छैन । उनले कोरोना संक्रमणभन्दा अघिसम्म सिजनमा होटल अकुपेन्सी फूल हुने गरेकोमा पछिल्लो समय बढ्न सकेको छैन् । ‘कोरोना अघिको तुलनामा अहिले झन्डै दोब्बरको संख्यामा होटल छन् । नयाँ होटलहरु थपिदा पूर्ण रुपमा सञ्चालनमा ल्याउनै सकिएको छैन’, उनले भने । विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा विदेशी ल्याउन सकिएन ।’ हानका अध्यक्ष विनायक शाह होटल व्यवासायीहरु पूर्ण रुपमा तयार भएर पर्यटकको स्वागतका लागि तम्तयार रहेको बताउँछन् । व्यवसायीहरु तयारी अवस्थामा रहे पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नु तथा बाटाघाटाहरु अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आउनसक्ने शंका व्यवसायीमा रहेको बताउँछन् । उनले सञ्चालनमा आएका नयाँ दुई विमानस्थल सञ्चालन गर्न नसक्दा नेपाल आउन खोज्ने विदेशीलाई समेत ल्याउन नसकिएको गुनासो गरे । ‘होटलमा बुकिङ आउन थालेको छ्, तर पर्यटकलाई कसरी ल्याउने, भएका एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन, बाटोको समस्या झन बढ्दो छ’, शाहले भने । नेपालको पूर्वाधारकै कारण होटलहरु एक तिहाइ क्षमतामा पनि सञ्चालन हुन नसकेको भन्दै उनले नेपालमा पर्यटक भित्र्याउन कुनै सिजन नै आवश्यक नपर्ने उनले बताए । ‘नेपाल फर अल सिजन, होटलमा कुनै सिजन आवश्यक पर्दैन, हाम्रो पूर्वाधारकै कारण हामीलाई समस्या भैरहेको छ’, उनले भने । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १७३ पुगेको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष प्रदीप पण्डित ट्राभल्स र ट्रेक्सका विदेशीहरु नेपाल आउने योजनामा रहेको बताए । ‘अहिले धेरै देशका पर्यटकले नेपाल आउनका लागि बुकिङ गरिसकेका छन्, गत वर्षको तुलनामा सिजन सुरु हुनु अगाडि नै बुकिङ आउन थालिसक्यो’, उनले भने । उनले डिसेम्बरसम्म १० लाख पर्यटक नेपाल भित्रने अनुमान गरिएको भन्दै नेपालको पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्कन थालेको बताए । विदेशीको गुनासो : एयर फेयर महङ्गो टानका उपाध्यक्ष पण्डित विदेशी पर्यटकले नेपालको एयर फेयर मँहगो भएको गुनासो गर्न थालेको बताउँछन् । ‘सरकारले बजेट मार्फत आन्तरिक हवाई टिकमा १३ प्रतिशत भ्याट लागू गरेको छ, टिकटमा भ्याट लागू भएपछि विदेशीहरुले उडान महँगो भयो भनेर गुनासो गर्न थालेका छन्’, उनले भने । यस्तै, उनले नेपाल नागरिक उडड्यन प्राधिकरणले लुक्का उडान रामेछाप सारेपछि विदेशी पर्यटकलाई असहज हुने गरेको गुनासो गरे । ‘सिजनको समयमा क्यानले लुक्लाको उडान रामेछापको मन्थली विमानस्थलबाट गर्न अनुमति दिन्छ, रामेछापमा पर्यटकका लागि सुविधा नभएपछि काठमाडौंबाट रातारात लैजानुपर्ने बाध्यता छ’ उनले भने । उनले रामेछापमा पर्यटक लक्षित पूर्वाधार तयार नहुँदा काठमाडौंमा बसेका विदेशीलाई रातको १ बजे नै उठाएर विमानस्थल लैजानुपर्ने बाध्यता रहेको बताए ।
लिट्मस केबलले ल्यायो ह्यालोजनमुक्त तार ‘ईकोवायर–जेटएच’, के के छ फाइदा ?
काठमाडौं । लिट्मस केबलले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोबायर–जेटएच सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक भव्य समारोह बिच कम्पनीले ईकोवायर– जेटएचको सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको हो । ह्यालोजनमुक्त ईकोवायर–जेटएच नेपालको विद्युतीय उद्योगमा एक महत्त्वपूर्ण कोसे ढुङ्गाको रूपमा रहने कम्पनीले विश्वास लिएको छ ।आवासीय भवनहरू, व्यावसायिक स्थलहरू जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्यधिक रूपमा बिजुलीका तारहरू प्रयोग रहेको हुँदा नवीनतम प्रविधियुक्त ईकोवायर–जेटएचले आगलागीका जोखिमलाई कम गर्न र जीवन तथा धनमालको सुरक्षामा महत्त्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ । लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले लिट्मस ईकोवायर–जेटएच नेपालमै पहिलो ह्यालोजन मुक्त एक मात्र तार रहेको दाबी गरे । नवीनतम प्रविधिमा आफ्नो विश्वास र उत्साह प्रकट गर्दै उनले भने,–‘ग्राहक वर्गको माग, सुरक्षालाई आत्मसाथ गरी नयाँ नयाँ प्रविधि तथा नवीनतम उत्पादनहरू बजारमा ल्याउने ल्याउँदै आएका छौ । सोही क्रममा हामीले ईकोवायर–जेटएच ल्याएका छौ।’ कार्यक्रममा लिट्मस इन्डस्ट्रीजका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिटमस ईकोवायर–जेटएचको विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए । कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले सबै सर्वसाधारण प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको उनको भनाई छ । उनका अनुसार यसको खिया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रूपरेखा बढाउन विशेषताहरू छन् । उपाध्यक्ष सरोज मिश्रले भने,–‘विशेष रूपमा, उत्पादनको पर्यावरणमैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखाङ्कित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।’ ईकोवायर–जेटएच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खिया नलाग्ने, र पर्यावरण मैत्री शून्य स्थालोजन भएको तार हो । आगलागी हुँदा ईकोवायर–जेटएचले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जन–मैत्री, पर्यावरण मैत्री, र ओजोन मैत्री पनि छ। ह्यालोजन–फ्री फायर रेडिएसनको अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्दछ परम्परागत तारहरू भन्दा ईकोवायर–जेटएच ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुनेछ आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ ।शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा,ईकोवायर–जेटएच ले सुरक्षित वातावरणमा योगदान पुराउँछ र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । ईकोवायर–जेटएच सार्वजनिक गरेको उक्त कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङ्गमा आबद्ध टेक्निसियनहरु, परामर्शदाताहरू, ग्राहकवर्गहरु तथा मिडियाका प्रतिनिधिहरू उपस्थित थिए ।
मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेसको पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । सेप्टेम्बर ७ र ८ तारिख भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएको अस्पतालले जनाएको छ । एमआरसिपी युके पेसेस परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाईन गरिएको हो । फेडेरेशन अफ द रोयल कलेज अफ फिजिसिएन्स, युकेले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार त्यहाँ पाँच स्टेशनहरु थिए, जसको माध्यमबाट परिक्षार्थीहरुलाई उनीहरुको ज्ञान, क्लिनिकल सीप, बिरामीहरुको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग् मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए । उनले भने,’उक्तस्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन मात्र गर्दैन । तर, यसले बिरामी सुरक्षाका मुद्दाहरु र सञ्चारलगायत सफ्ट स्किलहरु पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुर्याउँदछ । यस परीषा सञ्चालन गर्नु देशको लागि एक उपलब्धि हो । रोयल कलेज अफ फिजिसिएन्स जस्तो ५ शताब्दीभन्दा लामो इहिास बोकेको अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पतालाई गरेको विश्वासलाई निकै ठूलो उपलब्धिको रुपमा हेरेको छु ।’ फेडेरेशन अफ द रोयल कलेजज अफ फिजिसिएन्स अफ द युनाइडेट किंगडमका प्रतिनिधिहरु डा. तञ्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीकाअनुसार उक्त पूर्वअभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ । मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकटभविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ । यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरुको आवश्यकत्ता मात्र नभई छिमेकी दक्षिण एशियाली देशका उम्मेदवारहरुलाई पनि फाइदा पुर्याउनेछ भन्ने अस्पतालको विश्वास छ । एमआरसिपी युके चिकित्सकहरुको लागि विश्वव्यापी रुपमा मान्यताप्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकहले आफ्ना बिरामीहरुलाई उत्कृष्ट योग्य चिकित्सकको रुपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हाँसिल गरेको प्रमाािण्त गर्छ । हाल धेरै चिकित्सकहरुले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नका लागि बेलायतको यात्रा गर्नुपर्नेछ । नेपालमा यस परीक्षाको लागि केन्द्र खोल्दा त्यस्ता सबै चिकित्सकहरुलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बन्नेछ । बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरुले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरु र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिँदै यसले एमआरसिपी युकेसँगको दीर्घकालिन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पेसेस केन्द्रहरुले पेसेस केन्द्रको दर्जा दिनुअघि निश्चित् शैक्षिक मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् । नेपाल मेडिसिटीमा एमआरसिपी पेसेस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरु खुल्नेपनि उनको भनाई छ । उनले भने,’यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।’
आजको मौसम : देशभर सामान्य बदली
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा पानी परिरहेको छ । उक्त वर्षा हल्कादेखि मध्यम खालको रहेको छ । यसैगरी आज रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँमा आज दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताए । रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य रहेको निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले बताए । “यो लक्ष्यअन्तर्गत पेट्रोल र मट्टितेल भण्डारण ट्याङ्क अपुग हुने भएकाले अहिले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको छ”, उनले भने । डिपोमा पेट्रोल भण्डारणका लागि ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताका २ वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका २ वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत २ वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक÷एक वटा ट्याङ्कको लागत व्यहोर्ने छन् । मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुनेछ । आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ । निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्नेछ । निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान छ । सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ । परियोजनाको हालसम्मको प्रगति करिब ४० प्रतिशत रहेको प्रमुख उपाध्यायले जानकारी दिए । “अहिले बर्खाको समय भएका कारण काम सुस्त भएको हो, तर केही समयपश्चात् निर्माणकर्ताले जनशक्ति थप गरेर काम गर्ने जनाएको छ । दोस्रो चरणका काम निर्धारित समयमै सम्पन्न गर्ने योजना छ”, उनले भने । परियोजनाको काम तोकिएका समयमै सम्पन्न गर्न रात्रि सयममा पनि काम गर्ने ठेकेदार पक्षले जनाएको छ । निर्माण सुरु भएको करिब ५५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दोस्रो चरणको परियोजनाको सम्पूर्ण खर्च करिब २ अर्ब १५ करोड भारतीय रुपैयाँ रहेको छ । दोस्रो चरणको परियोजना निर्माण भएपछि समग्ररुपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ । अहिले बरौनीदेखि काठमाडौँसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर करिब ६ रुपैयाँ ढुवानी खर्च थपिएको छ । अमलेखगञ्जसम्म पाइपलाइनमा पेट्रोल ल्याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने अनुमान गरिएको छ । बरौनी वीरञ्गजबाट करिब ३ सय किलोमिटर टाढा छ । “अहिले बरौनीबाट नै पेट्रोल र मट्टितेल आयात भइरहेको छ । पाइपलाइनबाट पेट्रोल र मट्टितेल आउन थालेपछि बरौनीबाट काठमाडौँसम्मको ढुवानी भाडा आधा बचत हुने अवस्था छ । निगमको बचत हुनु भनेको समग्रमा मुलुककै बचत हुनु हो”, उनले भने । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालमा सम्पन्न भएको हो । त्यसयता पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरुपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनुपथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हड्ताल लगायतले समस्या पार्दे आएको थियो । “अब ती समस्या सधैँका लागि समाधान भएका छन्, पाइपलाइन निर्माण सम्पन्न भएपछि सहजरुपमा आफ्नै देशमा निगमको डिपोमा पेट्रोलिमय पदार्थ आयात भइरहेको छ”, प्रमुख उपाध्यायले भने । पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेस प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ । मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगञ्ज डिपोले आपूर्ति गरिरहेको छ । पाइपलाइनबाट पछिल्लो ४ वर्षमा ३८ लाख ११ हजार ४५१ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ । एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेलसमेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता कम हुँदा अहिले ट्याङ्रबाटै पेट्रोल र मट्टितेल आयात भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले जनाएको छ । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको सुनिश्चित आपूर्ति संयन्त्रको व्यवस्था हुनेछ । यसका साथै ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चिता र समयको बचतलगायत फाइदा हुनेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा प्राविधिक क्षति शून्य हुने गरेको निगमको भनाइ छ । यसबाट वार्षिक करिब १५ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ । पाइप लाइनबाट डिजेल आयात हुन थालेपछि ढुवानी भाडाबापतको बर्सेनि २ अर्ब रुपैयाँ जोगिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । सरकारले कम्तीमा ३ महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्ने नीति लिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कूल लम्बाइ ६९.२ किलोमिटर छ । त्यसमध्ये ३३ किलोमिटर भारत र ३६.२ किलोमिटर नेपाली भूमिमा पर्छ । पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर रहेको छ । सन् २०१५ मा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१८ मा नेपाल र भारतको प्राधनमन्त्रीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गर्नुभएको थियो । रासस
सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।