
काठमाडौं । पर्यटन व्यवसायी राममणि रिजाललाई अहिले ट्रेकिङको लागि विदेशीले गरेका बुकिङ लिन भ्याइनभ्याइ छ । गत वर्ष सोचे अनुसारको बुकिङ नआएर चिन्तित भएका उनी अहिले भने उत्साहित छन् ।
‘गत वर्ष सिजनमै न्यून संख्यामा मात्रै बुकिङ आएको थियो, कोभिड महामारीका कारण बुकिङ आएन भनेर चित्त बुझाएको थिएँ, तर अहिले सिजन सुरु नहुँदै धेरै बुकिङ आउँदा गत वर्षको तनाब भुलेको छु’, रिजालले भने ।
आउटडोर हिमालयन ट्रेकर्सका सञ्चालक रहेका रिजालकोसँग विशेषगरी पोल्याण्डका नागरिक ट्रेकिङका लागि सम्पर्कमा आउँछन् ।
‘मेरो कम्पनीमा आउने ८० प्रतिशतभन्दा बढी नागरिक पोल्यान्डका हुन्छन्, बाँकी २० प्रतिशत अमेरिका, क्यानडा लगायतका हुन्छन्’, उनले भने, ‘पोल्यान्डसँगै हाल अमेरिका, अष्ट्रेलिया लगायत देशका नागरिकले समेत चासो देखाउन थालेका छन् ।’
उनको कम्पनी मार्फत गत वर्षको सिजनमा २ सयको हाराहारीमा विदेशीहरु नेपाल आएका थिए, तर हाल सिजन सुरु हुनु अगाडी नै ३ सयभन्दा बढीको बुकिङ भैसकेको छ ।

‘गत वर्ष ट्राभल्स र ट्रेक्सका लागि थोरै संख्यामा विदेशीहरुले इच्छा देखाएका थिए, तर अहिले सिजन सुरु हुनु भन्दा अगाडि नै धेरै बुकिङ आइसकेको छ’, उनले भने ।
पर्यटन तथा होटल व्यवसायीहरु सेप्टेम्बर सुरु भएसँगै नेपालमा पर्यटकीय सिजन सुरु भएको बताउँछन् । उनीहरूले वर्षभरिमा हुने कारोबारभन्दा सेप्टेम्बर, अक्टुबर र नोभेम्बरका तीन महिनामा बढी कारोबार हुने बताउने गरेका छन् ।
८० प्रतिशत अकुपेन्सीको अपेक्षा
नेपालमा पर्यटकीय सिजन सुरु हुन लागेसँगै होटलमा बुकिङहरु आउन थालेका छन् । ट्रेकिङ र ट्राभल्सको सिजन सुरु हुन लागेसँगै काठमाडौं लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा बुकिङ आउन थालेको हो ।
होटल एसोसिएसन अफ नेपाल (हान)ले होटलमा बुकिङ आउन सुरु भएको बताएको छ । हानका महासचिव साजन शाक्य होटलहरुमा बुकिङ बढ्न थालेको बताउँछन् ।
उनले वर्षभरीमा भन्दा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बरसम्म सबैभन्दा धेरै पर्यटक आउने भन्दै होटलको अकुपेन्सी बढ्ने बताए । ‘सेप्टेम्बर मिडदेखि सिजन सुरू हुन्छ, विस्तारै बुकिङ आउन थालेको छ, अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिना वर्षकै धेरै पर्यटन आउने सिजन हो’, उनले भने ।
उनले काठमाडौं लगायत पर्यटकीय स्थलका होटलमा बुकिङ आउन थालेको भन्दै तीन महिनाको अबधिमा होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको बताए ।
‘ट्राभल, ट्रेकको सिजन हो, अहिले ट्रेकिङ तथा ट्राभल्सका लागि नेपाल आउने पर्यटकहरुले होटलहरु बुक गर्न थाालिसके’, उनले भने, ‘विस्तारै सिजन सुरु हुन लागेको छ, तीन महिनाको अबधिमा ८० प्रतिशतसम्म होटल बुक हुने हाम्रो अनुमान हो ।’
उनले अहिले ३५ प्रतिशत हाराहारीमा होटल अकुपेन्सी रहेको बताए । कोभिडपछि पर्यटक आगमनमा सुधार आए पनि कोभिड अघिका वर्षमा जस्तो होटलको अकुपेन्सी छैन ।

उनले कोरोना संक्रमणभन्दा अघिसम्म सिजनमा होटल अकुपेन्सी फूल हुने गरेकोमा पछिल्लो समय बढ्न सकेको छैन् ।
‘कोरोना अघिको तुलनामा अहिले झन्डै दोब्बरको संख्यामा होटल छन् । नयाँ होटलहरु थपिदा पूर्ण रुपमा सञ्चालनमा ल्याउनै सकिएको छैन’, उनले भने । विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा विदेशी ल्याउन सकिएन ।’
हानका अध्यक्ष विनायक शाह होटल व्यवासायीहरु पूर्ण रुपमा तयार भएर पर्यटकको स्वागतका लागि तम्तयार रहेको बताउँछन् ।
व्यवसायीहरु तयारी अवस्थामा रहे पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नु तथा बाटाघाटाहरु अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आउनसक्ने शंका व्यवसायीमा रहेको बताउँछन् ।
उनले सञ्चालनमा आएका नयाँ दुई विमानस्थल सञ्चालन गर्न नसक्दा नेपाल आउन खोज्ने विदेशीलाई समेत ल्याउन नसकिएको गुनासो गरे । ‘होटलमा बुकिङ आउन थालेको छ्, तर पर्यटकलाई कसरी ल्याउने, भएका एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन, बाटोको समस्या झन बढ्दो छ’, शाहले भने ।
नेपालको पूर्वाधारकै कारण होटलहरु एक तिहाइ क्षमतामा पनि सञ्चालन हुन नसकेको भन्दै उनले नेपालमा पर्यटक भित्र्याउन कुनै सिजन नै आवश्यक नपर्ने उनले बताए ।
‘नेपाल फर अल सिजन, होटलमा कुनै सिजन आवश्यक पर्दैन, हाम्रो पूर्वाधारकै कारण हामीलाई समस्या भैरहेको छ’, उनले भने ।
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १७३ पुगेको छ ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष प्रदीप पण्डित ट्राभल्स र ट्रेक्सका विदेशीहरु नेपाल आउने योजनामा रहेको बताए ।
‘अहिले धेरै देशका पर्यटकले नेपाल आउनका लागि बुकिङ गरिसकेका छन्, गत वर्षको तुलनामा सिजन सुरु हुनु अगाडि नै बुकिङ आउन थालिसक्यो’, उनले भने ।
उनले डिसेम्बरसम्म १० लाख पर्यटक नेपाल भित्रने अनुमान गरिएको भन्दै नेपालको पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्कन थालेको बताए ।
विदेशीको गुनासो : एयर फेयर महङ्गो
टानका उपाध्यक्ष पण्डित विदेशी पर्यटकले नेपालको एयर फेयर मँहगो भएको गुनासो गर्न थालेको बताउँछन् ।
‘सरकारले बजेट मार्फत आन्तरिक हवाई टिकमा १३ प्रतिशत भ्याट लागू गरेको छ, टिकटमा भ्याट लागू भएपछि विदेशीहरुले उडान महँगो भयो भनेर गुनासो गर्न थालेका छन्’, उनले भने ।
यस्तै, उनले नेपाल नागरिक उडड्यन प्राधिकरणले लुक्का उडान रामेछाप सारेपछि विदेशी पर्यटकलाई असहज हुने गरेको गुनासो गरे ।
‘सिजनको समयमा क्यानले लुक्लाको उडान रामेछापको मन्थली विमानस्थलबाट गर्न अनुमति दिन्छ, रामेछापमा पर्यटकका लागि सुविधा नभएपछि काठमाडौंबाट रातारात लैजानुपर्ने बाध्यता छ’ उनले भने ।
उनले रामेछापमा पर्यटक लक्षित पूर्वाधार तयार नहुँदा काठमाडौंमा बसेका विदेशीलाई रातको १ बजे नै उठाएर विमानस्थल लैजानुपर्ने बाध्यता रहेको बताए ।