विकासन्युज

मधेशमा कर्मचारीको तलब बढ्यो, नयाँ गाडी किन्न नपाइने

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने नीति लिँदै सरकारी निकायलाई नयाँ सवारी साधन खरिदमा रोक लगाएको छ । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अत्यावश्यक अवस्थाबाहेक सरकारी कार्यालयहरूले नयाँ सवारी साधन खरिद गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए । उनले भ्रमण खर्चमा समेत कटौती गरिने उनले बताए । प्रशासनिक खर्च नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि पदमा थप दरबन्दी सिर्जना नगर्ने नीति लिएको छ। कर्मचारी बढुवा प्रक्रिया पनि तत्कालका लागि रोकिएको छ भने करार सेवामा कार्यरत कर्मचारीलाई हटाउने व्यवस्था गरिएको छ। यद्यपि कर्मचारीको मनोबल बढाउन तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। महँगी भत्ता भने यथावत राखिएको छ। साथै कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता १० प्रतिशतले बढाइएको अर्थमन्त्री भट्टराईले बताए । कर्मचारी प्रशासनलाई स्थिर र प्रभावकारी बनाउन एकपटक सरुवा भएका कर्मचारीलाई कम्तीमा दुई वर्षसम्म सरुवा नगर्ने व्यवस्था लागू गरिने भएको छ । विकास आयोजनाको निरन्तरतामा असर नपरोस् भनेर आयोजना प्रमुखहरूको सरुवा पनि रोक लगाइएको छ । प्रदेश सरकारले यी व्यवस्थाहरू दुई महिनाभित्र कार्यान्वयनमा ल्याउने जनाएको छ । 

सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  सोमबार (आज) जिल्ला अदालत काठमाडौंले साहलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा धनुषाबाट पक्राउ गरेको थियो ।  काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो । प्रहरीले सन्तोषसँगै सोही रेष्टुरेण्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । उनलाई पनि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । दुवै मुद्दा गैरीधारामा उनले चलाउन खोजेको रेष्टुरेण्टसँग सम्बन्धित रहेको छ ।  सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टर सेफ बनेका थिए । सकुन्तलालाई सन्तोषले धोका दिएपछि...  

मधेशमा अब ९ सदस्यीय मन्त्रिमण्डल रहने, भीआईपीको सुविधा पनि घट्यो

काठमाडौं । मधेश प्रदेश सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यसहित मन्त्रिपरिषद्को आकार घटाउने, नयाँ सवारी साधन खरिदमा रोक लगाउने तथा भीआईपीहरूको सेवा-सुविधा पुनरावलोकन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेश मन्त्रिपरिषद्को संख्या घटाएर ९ सदस्यीय बनाइने जानकारी दिए । साथै सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन दोहोरो कार्यक्षेत्र भएका संरचनाहरू आगामी भदौ महिनाभित्र खारेज गरिने घोषणा गरिएको छ ।  सरकारले अत्यावश्यक अवस्थाबाहेक नयाँ सवारी साधन खरिद नगर्ने तथा भ्रमण खर्चमा कटौती गर्ने नीति लिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाउन भीआईपीहरूको सेवा-सुविधा तथा पारिश्रमिकको समेत पुनरावलोकन गरिने बजेटमा उल्लेख छ । प्रशासनिक खर्च नियन्त्रणका लागि कुनै पनि निकायमा थप दरबन्दी सिर्जना नगर्ने, कर्मचारी बढुवा रोक्ने तथा करार सेवामा कार्यरत कर्मचारीलाई क्रमशः हटाउने नीति पनि सरकारले अघि सारेको छ । यद्यपि कर्मचारीको मनोबल कायम राख्न तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। महँगी भत्ता यथावत राखिएको छ भने प्रोत्साहन भत्ता पनि १० प्रतिशतले बढाइएको छ । कर्मचारी प्रशासनलाई स्थिर र उत्तरदायी बनाउन एकपटक सरुवा भएका कर्मचारीलाई कम्तीमा दुई वर्षसम्म सरुवा नगर्ने व्यवस्था गरिने भएको छ । विकास आयोजनाको निरन्तरता प्रभावित नहोस् भन्ने उद्देश्यले आयोजना प्रमुखहरूको सरुवामा समेत रोक लगाइएको छ । सरकारले यो व्यवस्था दुई महिनाभित्र कार्यान्वयनमा ल्याउने जनाएको छ । विकास निर्माणका काममा पारदर्शिता र प्रतिस्पर्धा सुनिश्चित गर्न सबै विकास आयोजनाहरू खुला प्रतिस्पर्धामार्फत कार्यान्वयन गरिने नीति पनि बजेटमा समावेश गरिएको छ । मधेश प्रदेश सरकारले यस वर्षको बजेटमार्फत प्रशासनिक संरचना सानो बनाउने, अनावश्यक खर्च नियन्त्रण गर्ने र विकास खर्चलाई प्राथमिकता दिने रणनीति अघि सारेको छ ।

सिटिजन्स सदाबहार योजनामा अनलाइन दर्ता र कारोबार सेवा सुरु

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले खुलामुखी म्युचुअल फन्ड ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरीको भूमिका निर्वाह गरिरहेको कम्पनीले लगानीकर्तालाई थप सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रणाली सुरु गरेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यममार्फत योजनासम्बन्धी विभिन्न सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ प्रणालीले लगानी प्रक्रियालाई सरल, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट (लम्पसम) लगानीका लागि आवेदन तथा भुक्तानी, व्यवस्थित लगानी योजना (एसआईपी) मा दर्ता, किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) मा आबद्धता तथा अनलाइन साइन–अप र लगइन सुविधा उपयोग गर्न सक्नेछन् । कम्पनीले यस प्रणालीमार्फत लगानीकर्ताले चौबीसै घण्टा, सातै दिन सेवा उपयोग गर्न सक्ने जनाएको छ । यसबाट कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँबाट पनि सेवा लिन सकिने विश्वास कम्पनीको छ । सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुसार यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । आगामी दिनमा पनि प्रविधिको प्रयोगमार्फत थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित एसआईपीमार्फत लगानी संस्कृतिलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने योजना अघि बढाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न औद्योगिक–व्यावसायिक समूहको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविरबाबु श्रेष्ठ रहेका छन् ।

मधेश प्रदेशले प्रदेश प्रहरी नियुक्त गर्ने, खेलाडीका लागि जीवन निर्वाह भत्ता

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रदेश प्रहरी गठनको प्रक्रिया अघि बढाउने घाेषणा गरेकाे छ ।  सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका कानुनलाई थप जनमुखी र प्रभावकारी बनाउने नीति लिइएको बताए । प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन ६८ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय संरचनाको मर्मअनुसार प्रदेश प्रहरी गठन तथा परिचालनका लागि आवश्यक तयारी अगाडि बढाइने बजेटमा उल्लेख छ । प्रदेश सरकारले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउँदै नागरिकको सुरक्षामा जोड दिने जनाएको छ । खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक स्थानीय तहमा ‘एक पालिका, एक खेल मैदान’ कार्यक्रम सञ्चालन गरिने र खेलाडीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने उनले घोषणा गरे । साथै प्रदेशका खेलाडीलाई प्रोत्साहन र संरक्षणका लागि जीवन निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘नवप्रवर्तन स्टार्टअप कार्यक्रम’ सञ्चालन गरिने उनले बताए । युवाहरूमा नवीन सोच, सिर्जनशीलता र उद्यम विकासको वातावरण तयार गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको सरकारले जनाएको छ । त्यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका बेरोजगार युवालाई लक्षित गरी १०० दिने सीप तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले घाेषणा गरे । तालिममार्फत युवालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य बजेटले लिएको छ । मधेश प्रदेश सरकारले यसअघि नै युवालाई बिनाधितो ऋण, डिजिटल उद्यमी उत्पादन, औद्योगिक करिडोर निर्माण, स्वास्थ्य बीमा कार्यान्वयन र शिक्षा सुधारका कार्यक्रम घोषणा गरिसकेको छ ।

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ ।        बेइजिङमा स्थानीय समयानुसार सोमबार (आज) अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा उनीहरूबीच नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।      मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।  उनी चीनको विदेश मामिला मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् ।        परराष्ट्रमन्त्री खनाल आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको मन्त्रालयले जनाएको छ ।  कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकताहरू सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभएको दूतावासले जनाएको छ । साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरेको थियो ।        त्यसअघि उनले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।        मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

युवालाई बिनाधितो ऋण, करमा छुट

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत युवा उद्यमशीलता, औद्योगिकीकरण, स्वास्थ्य सेवा विस्तार र शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै युवालाई उद्यममा आकर्षित गर्न बिनाधितो ऋण, कर छुट र विभिन्न सहुलियतका कार्यक्रम घोषणा गरेका हुन् । सरकारले युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्न बिनाधितो ऋण उपलब्ध गराउने, उद्यम सञ्चालनका लागि आवश्यक उपकरणमा सहुलियत दिने तथा कर छुटको व्यवस्था गर्ने जनाएको छ । साथै, प्रदेशमा नयाँ एक हजार डिजिटल उद्यमी तयार पार्ने लक्ष्यसहित विशेष बजेट विनियोजन गरिएको छ । लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण निर्माण गरिने र त्यसका लागि आवश्यक कानुनी संशोधन गरिने अर्थमन्त्री भट्टराईले बताए । मधेश प्रदेशलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुविधासम्पन्न मधेश ट्रेड हब निर्माण गरिने तथा मधेश-विहार औद्योगिक करिडोर स्थापना गर्ने कार्यक्रम बजेटमा समेटिएको छ । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको समन्वयमा आवश्यक जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएकाे छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्न विशेष सहुलियत तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रतर्फ विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ । शिक्षक अभाव भएका विद्यालयमा प्रदेश स्वयंसेवक शिक्षक परिचालन गरिने तथा प्रत्येक विद्यालयलाई क्रमशः ‘स्मार्ट मुख्यमन्त्री विद्यालय’का रूपमा विकास गर्ने नीति लिइएको छ । स्वास्थ्य क्षेत्रलाई समेत बजेटले विशेष प्राथमिकता दिएको छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रमलाई प्रभावकारी बनाउँदै उपचारका लागि मधेशका नागरिक अन्य प्रदेश वा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सर्पदंश उपचारलाई सर्वसुलभ बनाइने, संघीय सरकारसँगको समन्वयमा मिर्गौला र ट्रमा उपचार सेवाको विस्तार गरिने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बजेटमा उल्लेख छ । आपत्कालीन स्वास्थ्य सेवाको पहुँच सुधार गर्न प्रदेशभरका सरकारी तथा निजी एम्बुलेन्सलाई जीपीएस प्रणालीमा आबद्ध घाेषणाा गरिएकाे छ । जसबाट बिरामीले समयमै सेवा पाउने अपेक्षा गरिएको छ। यस्तै, गर्भवती महिलाका लागि पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा उपचारका लागि घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने घोषणा गरिएको छ ।

पावरहाउस नेदरल्यान्डलाई कडा टक्कर दिने जापानका ‘मास्टरमाइन्ड’ मोरियासु

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा नेदरल्याण्ड्सविरुद्धको रोमाञ्चक २–२ को बराबरी खेलअघि जापानको राष्ट्रिय गान बज्दा उनी भावुक भएर आँसु खसाल्दै गरेका देखिन्थे । उनी एउटा वाइटबोर्डमा ठूला–ठूला अंकहरू कोरेर आफ्ना खेलाडीहरूसँग संवाद गरिरहेका थिए । उनले आफ्नो नोटप्याडमा पनि लगातार केही टिपोट गरिरहेका थिए, जसले गर्दा मानिसहरूबीच उक्त नोटप्याड कतै प्रसिद्ध जापानी मङ्गा (कार्टुन) को पौराणिक ‘डेथ नोट’ त होइन भन्ने आशंकासमेत उब्जायो । २०२६ को फिफा विश्वकप सुरु भएको भर्खरै चार दिन मात्र भएको छ, तर सामाजिक सञ्जालको दुनियाँमा भाइरल भएका घटनाहरूको सूची निकै लामो भइसकेको छ । जापानका प्रशिक्षक हाजिमे मोरियासु अब यस सूचीमा थपिने नयाँ व्यक्ति बनेका छन् ।    हाजिमे मोरियासु । दोस्रो पटक विश्वकपमा मुख्य प्रशिक्षकको रूपमा जापानको नेतृत्व गरिरहेका ५७ वर्षीय मोरियासुका स्क्रिनसट र भिडियो क्लिपहरू इन्टरनेटभरि छ्यापछ्याप्ती भेटिन्छन् । जसमा उनी र उनका सहयोगी प्रशिक्षकहरूले ठूला अंकहरू लेखिएको ह्वाइट बोर्ड समातिरहेको देखिन्छ । धेरैले यो मोरियासुले आफ्ना खेलाडीहरूलाई हाफ टाइम सकिन कति समय बाँकी छ भनी जानकारी दिने तरिका भएको अनुमान गरे भने कतिपयले यो रणनीतिक परिवर्तनका लागि प्रयोग गरिएको कुनै गुप्त कोड हुन सक्ने बताए ।  ग्यारी नेभिललाई सोधिएको थियो कि उनी भ्यालेन्सियाको प्रशिक्षक हुँदा आफ्ना खेलाडीहरूलाई खेलको कति औं मिनेट चलिरहेको छ भनेर बताउने इच्छा कहिल्यै भएको थियो ? फुटबल पण्डित नेभिलले ठट्टा गर्दै भने, ‘छैन, त्यो मैले अपनाएको रणनीति थिएन । जब मैले ‘६’ लेखिएको बोर्ड देख्थेँ, त्यो हामीले खाएको गोलको संख्या हुन्थ्यो ।’ डलास काउब्वाइज स्टेडियममा भएको खेलमा जापानले दुई पटक सम्हालिँदै नेदरल्याण्ड्सविरुद्ध एक अंक खोस्न सफल भयो, जुन सम्भवतः यस विश्वकपको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल हो । खेलपछि जापानी टोली निकै खुसी देखिए पनि मोरियासुले भने जित हासिल गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा मोरियासुले भने, ‘नेदरल्याण्ड्स वास्तवमै एक बलियो प्रतिद्वन्द्वी थियो । हामीले मात्र एक अंक पाए पनि खेलाडीहरूले अन्त्यसम्म एकजुट भएर लडे र दुई पटक खेलमा फर्कन सफल भए । मलाई विश्वास छ कि यो खेलले हामीलाई आत्मविश्वास दिएको छ कि यदि हामीले आफ्नो प्रदर्शनलाई कायम राख्यौं भने अंक र जित सुनिश्चित गर्न सक्छौं ।’ यो बराबरीसँगै स्वीडेन र ट्युनिसियासमेत रहेको यस समूहमा दुवै टोली बलियो स्थितिमा रहेका छन् । यस खेलले यी दुवै टोली किन नकआउट चरणमा पुग्ने मात्र नभई त्योभन्दा माथिको महत्त्वाकांक्षा बोकेर उत्तर अमेरिका आएका हुन् भन्ने कुराको झलक दिएको छ ।  खेलको लामो समयसम्म डच टोली बढी परिष्कृत देखिएको थियो । टोलीले बलमाथि नियन्त्रण राख्ने, स्पष्ट अवसरहरू सिर्जना गर्ने र दुई पटक खेल जितिसकेको जस्तो स्थितिमा पुग्ने काम गरे । तैपनि जापानले आफ्नो आत्मविश्वास, संगठन र दृढताका साथ उनीहरूलाई कडा टक्कर दियो । सन् २०१८ को अगस्टमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेका मोरियासुको नेतृत्वमा जापानी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।  सन् १९८० को दशकको अन्त्यतिरबाट व्यावसायिक फुटबल सुरु गरेका मोरियासुले आफ्नो खेल जीवनको लामो समय जापानी क्लब ‘सानफ्रेसे हिरोसिमा’ मा बिताए । उनले सन् १९९२ देखि १९९६ सम्म जापानको राष्ट्रिय टोलीबाट ३५ खेल खेल्दै देशका लागि महत्वपूर्ण योगदान दिएका थिए । सन् १९९२ मा जापानले एएफसी एसियन कप जित्दा उनी टोलीका मुख्य सदस्य थिए । सन् २००३ मा खेलाडी जीवनबाट सन्यास लिएपछि उनले प्रशिक्षकको रूपमा आफ्नो दोस्रो इनिङ सुरु गरे । उनले सुरुमा जापानको युथ टोली र आफ्नै पुरानो क्लब सानफ्रेसे हिरोसिमाको सहायक प्रशिक्षक भएर काम गरे। सन् २०१२ मा सानफ्रेसे हिरोसिमाको मुख्य प्रशिक्षक बनेपछि उनको चर्चा एकाएक चुलियो। उनले आफ्नो रणनीति र कुशल नेतृत्वको बलमा क्लबलाई चार वर्षभित्र तीन पटक (२०१२, २०१३ र २०१५) जापानी लिग (जे–लिग) को च्याम्पियन बनाए । घरेलु फुटबलमा देखाएको यही जादुमयी प्रदर्शनका कारण उनलाई सन् २०१७ मा जापानको ओलम्पिक (यु–२३) टोलीको जिम्मेवारी सुम्पियो । त्यसको लगत्तै सन् २०१८ को रसिया विश्वकपमा उनी सिनियर टोलीको सहायक प्रशिक्षक रहे । रसिया विश्वकप सकिएलगत्तै सन् २०१८ को अगस्टमा उनलाई आधिकारिक रूपमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो ।