विकासन्युज

सुकुम्बासीकाे स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयले थाल्याे पहल

काठमाडौं । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ । 'सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ,' सहरी विकासमन्त्री सुनील लम्सालको सचिवालयले भनेको छ, 'सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहज रूपमा पुर्‍याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ ।' उनीहरूकाे सामानको सुरक्षित व्यवस्थापन गरिने पनि मन्त्रालयले जनाएकाे छ । रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको छ । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले जानकारी दिए । योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म ५ विदेशी पर्यटकसहित आठ जनाको हाइअल्टिच्युडका कारण लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।  प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।

कांग्रेसले सोमबारलाई बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

मुलुकको पछिल्लो अवस्था र पार्टीबारे डा. शेखर कोइरालाको बुद्धिजीवीहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरुसँग छलफल गरेका छन् ।  नेता कोइरालाले आज (शनिबार) आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गरेका डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।  छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायतको सहभागिता रहेको थियो । उक्त छलफलमा कांग्रेस नेताहरु डा. शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेललगायत सहभागी थिए । 

हस्तकला प्रवर्द्धन र महिला उद्यमशीलताका लागि नेपाल महिला चेम्बर र हस्तकला महासंघबीच सम्झौता

काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समौता गरिएको छ । सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तरराष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।  विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने र नयाँ पुस्ताका हस्तकलाकर्मीलाई दक्ष बनाउने कार्यक्रम सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ । दुवै पक्षबीच प्रदर्शनी, व्यापार मेला, बि-टु-बी कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा तालिममार्फत बजार विस्तार गर्ने सहमति भएको छ । साथै उच्चस्तरीय प्रदर्शनी, प्रवर्द्धन परियोजना र तालिमसम्बन्धी सूचनाहरू आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइनेछ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र महासंघका अध्यक्ष रवीन्द्र शाक्यले आज सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा दीर्घकालीन साझेदारी विकास गर्दै नेपाल तथा विदेशमा नियमित प्रदर्शनी र ‘रोड(सो’ आयोजना गरी प्रत्यक्ष बजार पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ ।  सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल हस्तकलाको क्षेत्रमा विश्वमै अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालको हस्तकला व्यवसाय व्यापारसँगै सिर्जनात्मक शिल्प तथा कला कौशलतासँग पनि जोडिएको बताए । महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले यस सहकार्यले नेपाली हस्तकला क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताइन् । महासङ्घका अध्यक्ष शाक्यले नेपाल महिला चेम्बरसँगको सम्झौताले हस्तकला उद्योगको प्रवर्द्धन र महिला उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर(चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।  स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो । उनले भने, “बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले नयाँ ट्रयाक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौं । ठूला सवारीसाधन सञ्चालनका लागि भने अझै केही समय लाग्ने छ ।”  यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो । दैनिक उपभोग्य सामग्री ढुवानी, कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउने, बिरामी ओसारपसार तथा विद्यार्थीको आवतजावतका लागि यही सडक मुख्य आधार बनेको छ । सडक अवरुद्ध हुँदा केही समय स्थानीयले सास्ती खेप्नुपरेको थियो । विशेष गरी बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन, विद्यालय जाने विद्यार्थी तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो । हाल एकतर्फी सञ्चालन सुरु भएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको छ ।

टोखामा ‘बच्चाको खातामा पाँच हजार’ योजना अलपत्र

काठमाडौं । टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो । बालबालिकाको जन्मेपछि नगरपालिकाले पाँच हजार रुपैयाँ ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकार भएकाहरू बताउँछन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकोले थोरै मात्र बच्चाको बैंक खातामा रकम जम्मा भएको बताए । ‘हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस् भनेर पाँच हजार दिने भनेका थियौं’, उनले भने, ‘तर त्यो कार्यक्रमअनुसार न्यून बच्चाको बैंक खाता खोलिएको छ ।’ उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली पाँच हजार रुपैयाँ जम्मा गरिएको छ। नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए। उनका अनुसार बच्चालाई पाँच हजार रुपैयाँ उपलब्ध गराउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था छ। ‘हामीले तोकेको अस्पतालमा नगई अन्यन्त्र गएर सुत्केरी गराएका हुनसक्दछन्’, उनले भने, ‘त्यसैले होला एक वर्ष हुन लाग्दा एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ ।’ नगरपालिकाले टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, वीर अस्पताललगायतमा सुत्केरी गराउनुपर्ने भनी तोकेको छ। कतिपयले तोकेकाबाहेक अस्पतालमा सुत्केरी गराउँदा आमाबाट जन्मेका बच्चाको खातामा पाँच हजार रुपैयाँ जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए ।