दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल
काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनको काम धमाधम, पुससम्म सम्पन्न हुँदै
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २ सय ८८ किलोमिटर छ । प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौंडा–ढल्केबर खण्डतर्फ ४ किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रीत गरिएको छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७ सय ५७ वटा टावरको जग हालिएको छ । ७ सय ५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम नै सुरु हुन सकेको छ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले ठाउँ ठाउँमा अवरोध गर्दा तार तान्ने कामसमेत प्रभावित छ । ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ । यसका लागि पाँच वटा टोली परिचालन गरिएको छ । उक्त काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस वर्षको हिउँदका केही महिना मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वको विद्युत् माग धान्नका लागि भारतबाट थप विद्युत् आयात र वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दवावमा नेपाल विद्युत प्राधिकरण रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गरेको छ । टोलीमा अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसकिएमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा आउनसक्ने सम्भावित विद्युत् आपूर्तिको समस्या अवगत गराउन र भइरहेका कामबारे जानकारी दिन उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत सहभागी गराइएको थियो । कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउनसक्ने बताए । ‘प्रसारण लाइन निर्माणमा ठाउँ ठाउँमा अवरोध छ, अहिले पाँच टोलीले तार तान्ने काम गरिरहेको छ, थप टोली थपेर कामलाई तिब्रता दिन स्थानीयको अवरोधले समस्या छ, खुलाउनका लागि भइरहेका प्रयास असफल बनिरहेका छन्’, घिसिङले भने । ‘४०० केभी लाइन अति नै जरुरी छ, ४००/२२० केभी क्षमताका तीन वटै सबस्टेसन तयार छन्, यो लाइन बनाउन सकेनौं भने पूर्व क्षेत्रको विद्युत् माग धान्न थप आपूर्ति कठिन छ भने देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गर्न सक्दैनौं जसले गर्दा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्छ ।’ उनले यस्तो अवस्था आउन नदिन स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दासहित सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । हेटौंडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौडा–११ स्थित थानाभर्याङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभर्याङ मास सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुने छन् । स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । प्रसारण लाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो । हेटौंडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्ययमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ बायाँ २३/२३ मिटर हुने छ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुखहरु काट्नु पर्ने र ३० हेक्टर निजी कृषि योग्य जमिम अधिग्रहण गर्नु पर्ने छ । मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचनाहरु प्रभावित हुने छन् । १७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैंकको ऋण बन्द भएपछि बाँकी काम नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।
दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान
काठमाडौं । दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । शुक्रवार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ । शनिवार पूर्णिमाका दिनबाट मात्रै दशैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरु बढ्ने अनुमान गर्न सकिन्छ ।
बजारीकरणले सिद्धार्थ राजमार्ग आसपासका किसान व्यवसायिक कृषि खेतीमा
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुुर्याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘महानगरपालिकाको सहयोगमा चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।’ महानगरपालिकाले उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको बताउँदै प्रमुख कडरियाले यसबाट स्थानीय उत्पादन प्रवर्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पुर्याउन सकिने विश्वास व्यक्त गरे । ‘केन्द्रमार्फत सङ्कलित कृषिउपजलाई कृषि एम्बुलेन्समा राखेर बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउँछ’, उनले भने । विगत ११ वर्षदेखि ठूलढुङ्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका विष्णुुप्रसाद पौडेलले तरकारी खेतीबाटै सबै खर्च कटाएर वार्षिक छ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । उनका फार्ममा मौसमी तथा बेमौसमी सबै किसिमका तरकारी उत्पादन हुने गरेको छ । राजमार्ग क्षेत्र भएका कारण उत्पादित समानको बजारीकरणमा समस्या नभएको बताउँदै पौडेलले महानगरपालिकाले सञ्चालनमा ल्याएको राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रले आफूहरूको उत्पादनको सहज बजारीकरणमा थप सहयोग पुग्ने बताए । ‘यस केन्द्रसँग यहाँका १६ कृषक समेटिएका छन्’, केन्द्रका अध्यक्षसमेत रहेका पौडेलले भने, ‘केन्द्रको दायरालाई फराकिलो बनाउँदै उपल्लो खाल्सेलाई पनि जोड्ने हाम्रो लक्ष्य छ ।’ यहाँको उपल्लो खाल्सेमा ठूलो सङ्ख्यामा स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उनले ठूलढुङ्गाको १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै र्आएका छन् । पौडेलको फार्मबाट प्रत्येक महिना १०/१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्का कृषक कुुमार खड्काले आफ्नो फार्ममा काँक्रो, घिरौँला, लौका, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर आदि लगाउँदै आएका छन् । उनले सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । सुरुमा सिमी खेतीबाट व्यावसायिक कृषि थालेको बताउँदै खड्काले पछिल्ला समयमा मौसमी तथा बेमौसमी सबै किसिमका खेती गर्दै आएको जानकारी दिए । अर्का कृषक भीमप्रसाद पौडेल करिब साढे पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । केन्द्रका उपाध्यक्षसमेत रहेका उनले तरकारी खेतीका साथै कुखुरापालन, बाख्रापालन पनि गर्दै आएका छन् । तरकारीसहित कुखुरा तथा बाख्रा पालनबाट पौडेलले वार्षिक पाँच/छ लाख रुपैयाँसम्म बचत गर्दै आएको बताए । ठूलढुङ्गामा नै दुईवटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आएकी मनकुमारी गुरुङ यस क्षेत्रमा पानीको समस्या रहेको गुनासो गरिन् । बत्ती र पानीको उचित प्रबन्धसँगै बाँदरको व्यवस्थापन हुनसके उत्पादनमा समस्या नरहेको उनको भनाइ थियोे । उक्त केन्द्र सञ्चालनले आफूहरूका उत्पादनले सहजरुपमा बजार पाएपनि पानी, बत्तीजस्ता आधारभूत आवश्यकतामा राज्यका तर्फबाट सहयोग आवश्यक भएको गुरुङले बताइन् । ठूलढुङ्गा क्षेत्रमा मात्रै ४० वटा टनेलमा तरकारीजन्य उत्पादन भइरहेको छ । पोखरा महानगरपालिका–२२ अन्तर्गत सिद्धार्थ राजमार्ग आसपास क्षेत्रमा पछिल्लो समयमा व्यावसायिक कृषिप्रति आकर्षण बढिरहेको वडा कृषि सञ्जालका अध्यक्ष देवीलाल बरालले बताए । ‘वडाभित्र एक सय ५० भन्दा बढी सङ्ख्यामा कृषक व्यावसायिक कृषिमा लागेका छन्’, उनले भने, ‘यहाँ १५ भन्दा बढी समूहगतरुपमा कृषक आबद्ध छन् ।’ कृषिप्रतिको व्यावसायिक आकर्षणलाई लक्ष्य गरी राज्यका तर्फबाट निरन्तर साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । पोखरा महानगरपालिकाले उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणसँगै उनीहरूलाई यसतर्फ प्रोत्साहित गर्न विभिन्न ३५ वटा कृषिजन्य वस्तुको न्युनतम समर्थन मूल्य समेत तोकिसकेको महाशाखा प्रमुख कडरियाले बताए । उनका अनुसार महानगरभित्रका विभिन्न स्थानमा उत्पादित कृषिजन्य वस्तुका लागि २५ वटा सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालनमा आइसकेका छन् । रासस
समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान
बलेवा । तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुगिरहेकी थिइन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उनको सक्रियता अरु महिलाका भन्दा धेरै हुन्थ्यो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो। बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया उनको सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएकै कारण मृत्यु भएको हो, त्यो पनि नेपालीको महान् चाड दसैँकै बेलामा । गर्भजाँचका लागि स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा पाउनुभर्एमकी रीतालाई सुत्केरी गराउन भने स्वास्थ्यचौकी पुर्याइएन । कात्तिक ७ गते राति ९ बजे गोठमा सुत्केरी भएकी उनको भोलिपल्ट बिहान ४ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो । निसीखोलाका केही गाउँमा अझै पनि गोठमै सुत्केरी हुनुपर्ने प्रचलन छ । गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए । छोरी जन्माएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उनको अत्यधिक रक्तश्राव हुँदा मृत्युवरण गर्नुपरेको बोहोरा गाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र साहीले बताए । उनका अनुसार ९ बजे सुत्केरी भएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो । दुई बजे पुगेकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पुर्याउन सल्लाह दिइन् । बोहोरा गाउँ स्वास्थ्यचौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइयो । ‘म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्’,स्वास्थ्यचौकीका प्रमुख शाहीले भने, ‘स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।’ बिहान ४ बजे उनलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माएकी रीताले छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्य भने सामान्य रहेको उनले बताए । ‘पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ’, प्रमुख शाहीले भने, ‘आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो ।’ रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्थालगायत कारणले समयमा अस्पताल पुग्न नपाएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युबरण गर्नुपर्यो। रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् । पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । ‘पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।’ सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुर्याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाए । रासस
ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने खालका हुने गरेको जानकारी दिए । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको जानकारी दिए । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । आफू वार्डहरूको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए । डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरू मर्कामा परेको बताए । स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरू अप्रेसन गरिसकेपछि पुनः स्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने उनले बताए । उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।
दशैँमा किसानलाई धान भित्र्याउने चटारो
काठमाडौं । ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । धानबाली भित्र्याउन काममा खटिनुभएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि दशैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताए । पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताए । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।
वातावरणीय स्वास्थ्य प्रक्षेपण : वातावरणीय प्रदुषणका कारण छोरीहरु चाँडै जवानी हुँदै
एआईबाट निर्माण गरिएको कृत्रिम तस्बिर । काठमाडौं । जुन बालिकामा छिटो रजस्वला देखिएको छ ती बालिकामा स्वास्थ्यमा समस्याहरु देखिने गरेको अध्ययनले देखाएको छ । जसका कारण ती बालिकामा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ । पछिल्लो समयमा बालिकाहरुमा शारीरिक अवस्था परिपक्क नहुँदै जवान हुँदै गएको लक्षण देखा पर्न थालेको छ, जुन निकै चिन्ताजनक विषय हो । एमोरी र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको अध्ययनले यो विषयलाई अगाडि ल्याएको हो । १० देखि १७ वर्ष उमेरका ५२०० बालिकाहरुबाट प्राप्त जानकारीका आधारमा गरिएको अध्ययनले वायु प्रदुषणको मात्रा उच्च रहेको क्षेत्रका बालिकाहरु कम उमेरमा नै रजस्वला हुने गरेको देखिएको छ । प्रतिष्ठित जर्नल ‘इन्भारमेन्टल हेल्थ प्रस्पेक्टिभ’मा प्रकाशित अध्ययन अनुसार बालिकाहरुले १२ वर्ष ३ महिनाको उमेरमा रजस्वला भएको अनुभव गरेका थिए । जुन बालिकाहरु जन्मनु अगाडि वा बाल्यअवस्थामा चार माइक्रोग्राम प्रति घनमिटर भन्दा अतिरिक्त बढी २.५ कणको सम्पर्कमा रहे उनीहरुमा समयभन्दा अगाडि नै रजस्वला हुने गरेको अनुसन्धानले देखाएको छ । अध्ययनको क्रममा ती बालिकाहरु ४.८ देखि ३२.२ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को सम्पर्कमा रहेका थिए । त्यसैगरी पिएम १० को औसत स्तर २१.९ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । उमेरको वृद्धि सँगै थप स्वास्थ्य समस्या देखिन सक्ने अध्ययनले यो पनि देखाएको छ की चाँडो रजस्वला हुने बालिकाहरुमा उमेरको वृद्धिसँगै स्वास्थ्य सम्बन्धी थप समस्याहरु देखिने सम्भावना बढी हुन्छ । भविष्यमा ती बालिकाहरुमा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ । पेट्रोल, ग्यास, डिजेल इन्धन, र काठजस्ता वस्तुहरुको प्रयोग गर्दा निस्कने कणयुक्त पदार्थ सहितको वायु प्रदुषणलाई कम गर्ने नीति निर्माण गरेर बालिकाहरुको प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्न सकिन्छ । बालिकाहरु शारीरिक रुपमा परिपक्क नहुँदै किन रजस्वला हुन्छन् भन्ने विषयमा अध्ययन गर्न आवश्यक भएको भन्दै मेडिकल एक्सप्रेसले त्यसको लागि थप अध्ययनको आवश्यक भएको उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।