विकासन्युज

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउछन् । उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो । समुद्री सतहदेखि दुई सय सय मिटरदेखि एक हजार छ सय मिटर उचाइमा खेती गर्न सकिने छ । उक्त खेतीका लागि  सुहाउँदो हावापानी तनहुँमा छ । गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गर्नाका साथै बाहिरबाट थप दुई हजार बिरुवा ल्याएर चार हजार बिरुवा कृषकहरूलाई वितरण गरेको केन्द्रका सूचना अधिकारी किरण परियार जानकारी दिन्छन् । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ । बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउछन्। स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनले भनाइ छ । एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रुपमा लिइन्छ । उक्त फल बजारमा थोक प्रतिकिलो रु दुई सय र खुद्रा प्रतिकिलो तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेका छन् । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने उक्त केन्द्रले जनाएको छ । रासस

टर्कीको केन्द्रिय बैंकले नीतिगत ब्याजदर बढाएर ३५ प्रतिशत पुर्यायो

काठमाडौं । टर्कीको केन्द्रिय बैंकले बिहीबार नीतिगत ब्याजदर ५०० आधार बिन्दुले ३० प्रतिशतबाट ३५ प्रतिशतमा बढाएको छ । केन्द्रिय बैंकको मौद्रिक नीति समितिले विज्ञप्ति जारी गर्दै मुद्रास्फीतिलाई यथाशिघ्र स्थापना गर्न, मुद्रास्फीतिको अपेक्षालाई एङ्कर गर्न र मूल्य निर्धारण व्यवहारमा आएको ह्रासलाई नियन्त्रण गर्न मौद्रिक कडाई प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ । तेस्रो त्रैमासिकमा मुद्रास्फीतिको परिसूचक अपेक्षाभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । घरेलु मागको बलियो पाठ्यक्रम, सेवा मुद्रास्फीतिको चिपचिपाहट, र मुद्रास्फीति अपेक्षाहरूमा गिरावटले मुद्रास्फीतिमा माथिल्लो दबाब जारी राख्ने बताइएको छ । साथै, भूराजनीतिक विकासले मुद्रास्फीतिको दृष्टिकोणमा जोखिम खडा गरेको बैंकले जनाएको छ । यद्यपि, प्रत्यक्ष वैदेशिक लगानी, स्थिर वाह्य वित्तीय अवस्था, विदेशी मुद्रा सञ्चितिमा निरन्तर वृद्धि र टर्की लिरा नामित सम्पतीको स्वदेशी तथा विदेशी मागमा भएको बृद्धिले मूल्य स्थायित्वमा महत्वपूर्ण योगदान दिने विज्ञप्तिमा उल्लेख छ । मुद्रास्फीतिको अन्तरनिहित प्रवृतिलाई घटाउन र ५ प्रतिशतको मध्यकालीन मुद्रास्फीति लक्ष्य हासिल गर्न आवश्यक मौद्रिक र वित्तीय अवस्था सिर्जना गर्नेगरी नीतिगत दर निर्धारण गरिने बैंकले जोड दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पूर्व बैंकर हाफिज गे एरकानलाई केन्द्रिय बैंक गभर्नर र मेहमेट सिमसेकलाई ट्रेजरी र वित्त मन्त्रालयको प्रमुखको रूपमा नियुक्त गरेपछि केन्द्रिय बैंकले कडा नियम शुरु गरेको छ । निरन्तर मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकले जुन–सेप्टेम्बर अवधिमा ब्याजदर ८.५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको थियो । तर, सरकारले गरेको कर वृद्धि, फेब्रुअरीमा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण लागतमा वृद्धि र अन्य कारणले विगत तीन महिनामा मुद्रास्फीति फेरि बढेको छ ।

ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

दमौली । वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको  बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर  बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ । दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी खुसी छन् । ‘पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भयो,’ स्थानीयवासी इमानबहादुर थापाले भने । ‘खोला तर्न बनाइएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको थियो,’ उनले भने, ‘खोला उर्लिदा सवारीसाधन चल्दैन थियो । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउँला भन्दैमा दिन बित्छ । अब त पुल बनेपछि सहज भयो ।’ विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प नभएकाले जोखिम मोलेरै भएपनि खोला तर्नुपर्ने समस्यामा स्थानीयवासीमा रहँदै आएको थियो । स्थानीयवासी शिवकुमार आलेले पुल निर्माण भएपछि आफूहरुलाई राहत मिलेको बताए । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको बजेटमा शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा तीन करोड ९८ लाख ६३ हजार दुई सय ७७ को लागतमा  सो पुल मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर कम्पनीले  निर्माण  गरेको शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए। विसं २०७७ कात्तिक २६ गते शिलान्यास भइ निर्माणगरिएको सो पुल ३२ दशमलव चार  मिटर लामो छ । विसं २०७८ असार २२ गतेसम्म पुल निर्माण गरिनुपर्नेमा विविध कारणले एक वर्ष ढिला हुन पुगेको उनको भनाइ थियो । खोलाले वर्षामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न दायाँ बायाँ एक हजार तीन सय घनमिटरको ग्याबिन भरिएको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पक्की पुलले शुक्लागण्डकी र भिमाद मात्र नभई स्याङ्जाका केही भागका सर्वसाधारण पनि लाभान्वित हुने बताए । रासस

चिनियाँ पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन हृदयाघात भएको र अक्टुबर २७ मा निधन भएको जनाएको छ । ६८ वर्षीय नेता लीले गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख समेत रहेका थिए ।

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बाग्लुङ । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् । दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए । उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

युद्धमा मृत्यु हुनेको सङ्ख्या सात हजारभन्दा बढी पुगेको प्यालेष्टिनी दावी

एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् । अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन् ।

लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ : आचार्य बालकृष्ण

बुटवल । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् । पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग कुरा गर्दै उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए । ‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट,विना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्,’ उनले भने, ‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ ।’ नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिए । उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए । ‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहां पुग्नभन्दा बुटवल आउन धेरै नजिक छ,’ उनले भने । भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए । भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उनको भनाइ छ । नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए । रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने उनले बताए । ४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुशी लागेको आचार्य बालकृष्णले बताए । सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर पांचतारे होटेल सहित केबलकारमा ५ अर्ब लगानी हुने बताए । सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए । केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको उनले बताए । आयुर्वेद शिरोमणि बालकृष्णसँगै उनका नेपाल र भारतका करिब दुई सयजना अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए ।

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ

गण्डकी । गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ६१ हजार आठ सय ५९ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेकामा पछिल्ला पाँच वर्षमा थप चार हजार सात सय आठ हेक्टरमा सिँचाइ विस्तार भएको हो । गत आवमा मात्रै आठ सय ९५ हेक्टर सिञ्चित क्षेत्र थपिएको मन्त्रालयको योजना महाशाखा प्रमुख हरिदत्त पौडेलले जानकारी दिए । आव २०७४÷७५ सम्ममा कुल खेतीयोग्य जमिनमध्ये १२ दशमलव ६९ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रैमास सिँचाइ सुविधा पुगेको थियो । मनाङको नौ सय ४४, मुस्ताङको तीन हजार ६१, म्याग्दीको एक हजार आठ सय ६४, बागलुङको दुई हजार सात सय ८९, पर्वतको छ हजार पाँच सय २५ र कास्कीको १२ हजार दुई सय २५ हेक्टर जमिन बाह्रैमास सिँञ्चित रहेको मन्त्रालयले जनाएको छ । यस्तै स्याङ्जामा एघार हजार ५३, नवलपुरमा १२ हजार पाँच सय १५, तनहुँमा छ सय ५७, लमजुङमा पाँच हजार दुई सय ९७ र गोरखामा तीन हजार छ सय ३७ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको महाशाखा प्रमुख पौडेलले बताए। ‘कूल एक लाख ३२ हजार सिँञ्चित क्षेत्रमध्ये ६६ हजार हेक्टरमा बाह्रैमास र ६६ हजार हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको छ’, उनले भने, ‘ठूलो क्षेत्रफल ओगटेको पाखो जग्गामा भने सिँचाइको अभाव छ ।’ सतह, भूमिगत र लिफ्टिङ प्रविधिबाट सिँचाइ सुविधा पु¥याउने गरिएको महाशाखा प्रमुख पौडेलले उल्लेख गरे । उनका अनुसार लिफ्टिङ प्रविधिको सिँचाइका लागिप्रति हेक्टरमा १२ लाखसम्म खर्च हुने गरेको छ । भूमिगत सिँचाइका लागि तराईमाप्रति हेक्टर १० देखि १२ लाख र पहाडी क्षेत्रमा पाँचदेखि छ लाखसम्म खर्च हुने महाशाखा प्रमुख पौडेलको भनाइ छ । पाखो जग्गामा सिँचाइ सुविधा पु¥याउन पछिल्लो समय लिफ्टिङ प्रविधि प्रभावभारी देखिएको उनले बताए । ‘लिफ्टिङ प्रविधि खर्चिलो हुने भएकाले सबै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन राज्यले ठूलो स्रोतसाधन जुटाउनुपर्ने अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारले लिफ्टिङ आयोजनाका लागि विद्युत् महसुल छुटदेखि अरु अनुदानका कार्यक्रम पनि ल्याएको छ ।’ आठ सय ५० हेक्टरको लमजुङको राइनासटार, आठ सय ८५ हेक्टर क्षेत्रफल ओगट्ने स्याङ्जाको चापाकोटटारलगायत गरी गण्डकी प्रदेशमा ठूला–साना सिँचाइ आयोजना सञ्चालनमा छन् । सन् २०२५ भित्रमा थप दुई हजार हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पु¥याउने मन्त्रालयको लक्ष्य छ । किसान कुलो स्तरोन्नत्ति तथा पुनःस्थापना सुधारबाटसमेत वर्सेनि सिँचाइ क्षेत्र विस्तार हुने गरेको छ । बाह्रैमास सिँचाइ भएपछि तीन बालीसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् ।