विकासन्युज

दसैँ बिदामा सौराहाका होटल भरिभराउ, व्यवसायी खुसी

चितवन । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए। ‘दसैँअघि सौराहा सुनसान जस्तै थियो’, उनले भने, ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।’ देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए । उनले दसैँपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए । आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनःपुरानै लयमा फर्काउने राम्रो सङ्केत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गाना बताउँछन्। उनले दसैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए । दसैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ । शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो । सौराहाको ड्यामसाइटका रेष्टुरेन्ट तथा होटल भरिभराउ थिए । होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताए। उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साहा थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन् । पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । दसैँका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ । आन्तरिक पर्यटक मिता आचार्य दसैँ बिदाको समय पारेर सौराहा घुम्न आएको बताइन् । उनले सौराहामा रहँदा निकुञ्जमा जीप सफारी र राप्ती नदीमा ढुङ्गा सयर गरेको बताइन् । पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक पर्यटक मात्र होइन अहिले विदेशी पर्यटक पनि सौराहामा देखिन थालेका छन् । उनीहरु सौराहा र चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न पाउँदा खुसी छन् । अमेरिकाबाट घुम्न आएकी पर्यटक एन्जेला भन्छिन्, ‘चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरुङ्गीले मन लोभ्यायो । यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भयो ।’ पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाका पर्यटनमा स्तरीय होटलको अभाव खड्किदै गइरहेको छ । त्यही अभावलाई पूर्ति गर्न विदेशी पर्यटकलाई लक्षित गर्दै सिद्धार्थ भिलासा वनबासजस्ता रिसोर्ट पनि खुलेका छन् भन्ने अन्य खुल्ने तयारीमा छन् । सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल रहेका छन् भने ५० भन्दाबढी रेष्टुरेन्ट रहेका छन् । सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै डुङ्गा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन् ।

धेरैले सोध्छन्-इभी कस्तो छ ? म भन्छु-दामी छ

१८ महिना भयो मैले नेक्सन इभी ड्राइभ गर्न थालेको । बारम्बार धेरैले सोध्ने गरेका हुन्छन्, ‘इभी कस्तो छ ?’ सोध्नेलाई आफ्नो अनुभव सुनाउँदै आएको हुँ । नसोध्नेको लागि पनि आफ्नो अनुभव बाँड्न यो लेख लेख्दैछु । यहि दशैंमा सपरिवार धादिङको गजुरी जाँदा र फर्कर्दाको अनुभव पहिला सेयर गर्छु । त्यसपछि काठमाडौंको नियमित गुडाउदाको अनुभव सेयर गर्छु र अन्तिममा इभी किन्ने निणर्य लिँदाको अनुभव पनि लेख्दैछु । असोज ८ गते ११ बजेर ११ मिनेटमा घर (रामकोट)बाट गाडी निकालेको रहेछु । त्यतिबेला १४ हजार ६२० किलोमिटर गाडी गुडेको छ । ब्याट्री १०० प्रतिशत चार्ज छ । जम्मा ३१६ किलोमिटर गुड्न सक्छ भनेर गाडीले संकेत दिएको छ । कम्पनीले ३१२ किलोमिटर रेन्जको दाबी गर्दै आएको छ । रेगल सफ्टवेयर अपडेट भएर आएपछि रेगल लेबल ३ मा राख्दा ३१२ भन्दा केही बढी रेञ्ज देखाउँछ, अधिकतम ३२० सम्म देखिन्छ मेरो गाडीमा । यात्रा गर्नेहरुलाई थाहा छ कि नागढुंगा-नौविसे सडक खण्ड खत्तम छ । एकातिर धुलोले बाटो देखिदैन, अर्कोतिर खाल्टाखुल्डी अत्याधिक छ । यस्तो बाटोमा यात्रा गर्दा झ्याल खोल्न सकिदैन । एसी चलाउनै पर्यो । गाडीको गति सुस्त हुने नै भयो । रामकोटबाट गजुरी पुग्दा ६८ किलोमिटर यात्रा गरेछौं । १५ प्रतिशत व्याट्री खपत भएको देखियो । १५ प्रतिशत ब्याट्री खपत हुँदा ६८ किलोमिटर दुर पार हुनुको कारण अधिकांश क्षेत्रमा ओरालो बाटो भएकाले हो । ओरालो बाटोमा इभीको ब्याट्री चार्ज हुन्छ । रामकोटबाट थानकोट पुग्दा नै ८ प्रतिशत व्याट्री खपत भएको थियो । स्क्रीनमा देख्न सकिन्छ ८५ प्रतिशत व्याट्री बाँकी छ र अब २५४ किलोमिटर यात्रा गर्न सकिन्छ । यहाँनेर सचेत हुनुपर्ने विषय के छ भने यो रेञ्ज देखिएको पहिला गुडेको बाटोको अवस्थाको आधारमा हो । मलाई थाहा छ, काठमाडौं फर्कदा उकालो बाटो छ तर, यो गाडीले अबको बाटो उकालो छ वा ओरालो छ वा समथल छ, थाहा पाउँदैन । गाडीले पहिले गुडेको बाटोको आधारमा भविष्यप्रति संकेत गर्दछ । उकालोमा ब्याट्री खपत छिटो हुन्छ भन्ने विषयमा इभी चलाउनेले हेक्का राख्नैपर्छ । थानकोटको उकालो पार गरीसक्दा ब्याट्री ४१ प्रतिशतमा झर्यो । ५३ किलोमिटर यात्रा गर्दा ४७ प्रतिशत ब्याट्री खपत भएछ । गाडीले अब ९२ किलोमिटर मात्र यात्रा गर्न सक्ने जनाउ दिएको छ । थानकोटबाट गजुरी पुग्दा ७ प्रतिशत ब्याट्री घटेको थियो । फर्कदा सोही दुरीमा ४७ प्रतिशत ब्याट्री घट्यो । जाँदा पनि हामी ४ जना थियौं आउँदा पनि ४ जना । फर्कदा करिव ५० किलोग्राम कोसेली थपिएको थियो । जाँदा भन्दा फर्कदा केही बढी जाम थियो । घाम र जामले गाडी तातेपछि एसी चलाउनुको विकल्प भएन । धार्केबाट उकालो लाग्दासम्म ६५ प्रतिशत ब्याट्री भएकोले हामी ढुक्कसँग यात्रा गरिरहेका थियौँ । जुँगेखोलामा सिप्रदीको फाष्ट चार्जर छ । जुँगे खोलाबाट उभाेेलाग्दा ५० प्रतिशत भन्दा कम ब्याट्री छ भने चार्ज गरेर मात्र उभाे लाग्ने मेरो बानी छ । मेरो लागि नुवाकोटको विदुर र धादिङको गजुरी पटक-पटक गईरहने गन्तव्य हुन् । थानकोटबाट कलंकीसम्मको ९ किलोमिटर यात्रा गर्दा ब्याट्री ४१ प्रतिशतमा नै सीमित रह्यो । त्यस क्षेत्रमा मोटामोटी ओरालो बाटो भएकोले थप ब्याट्री खपत भएन । सितापाइला हुँदै रामकोट पुग्दा ब्याट्री ३७ प्रतिशतमा झर्यो । अब ८७ किलोमिटर यात्रा गर्न सकिने संकेत डिस्प्लेमा देखिएको छ । थप एक दिन गाडी चलाउन पुग्ने ब्याट्री संचित भएकोले ९ गते कार चार्जमा राखिन । १० गते अफिस पुग्दा १० किलोमिटर गुडाएछु । ब्याट्री ३५ प्रतिशतमा झरेको छ । डिस्प्लेमा अझै १०० किलोमिटर गुड्न सक्ने संकेत देख्न सकिन्छ । घर फर्कदा ११ किलोमिटर गुडेछ । ब्याट्री २८ प्रतिशतमा झरेको छ । १७० किमी यात्रा, हप्तामा एक पटक चार्ज ब्याट्री ३० प्रतिशतको आसपासमा गएपछि चार्जमा जोड्नुपर्छ । ब्याट्री २५ प्रतिशतमा झरेपछि पहेँलो संकेत देखिन्छ । १५ प्रतिशतमा झरेपछि रातो देखिन्छ रे । तर १८ महिना गाडी चलाउँदा ब्याट्री १६ प्रतिशत भन्दा तल झर्न दिएको छैन । गाडी किनेदेखि अहिलेसम्म एक पटक परिक्षणको लागि र २ पटक आवश्यकताले फास्र्ट चार्जरमा लैजानु परेको छ । नत्र घरमा चार्ज गरेर नै हुन्छ । फास्र्ट चार्रजमा करिब एक घण्टामा ९५ प्रतिशत चार्ज हुन्छ भने घरमा १०० प्रतिशत चार्ज गर्न करिव ८ घण्टा लाग्छ । बेलुका कनेन्ट गर्दा विहान फुल चार्ज भईराखेको हुन्छ । मेरो घर रामकोटमा र अफिस बागबजारमा छ । घरअफिस ओहोरदोहोर गर्दा २० किलोमिटर दुरी पार गर्नुपर्छ । दैनिक औसतमा २९ किलोमिटर यात्रा गरिदो रहेछ । एक पटक फूल चार्ज गरेपछि एक सातालाई पुग्छ । कम्पनीले फुलचार्जमा ३१२ किलोमिटर गुड्छ भन्ने दाबी गरेको छ । तर कम्पनीले के पनि सुझाव दिन्छ भने ब्याट्री २५ प्रतिशत भएपछि चार्जमा जोड्नुपर्छ । भनेको व्याट्रीको ७५ प्रतिशत मात्र उपयोग गर्नु । यस अर्थमा कम्पनीको दाबी अनुसार नै नेक्सन इभी २३४ किलोमिटर गुड्छ भन्ने हो । यो रेञ्ज पनि एसी (कुलर-हिटर) नचलाउँदाको अवस्थामा पाइने हो । त्यो पनि सामान्य अवस्थाको सडकमा विना जाममा चलाउँदाको अवस्थामा पाइने हो । एसी एलर्जी हुनेहरुले कार चलाउँदा झ्याल खोलेको पाइन्छ । सामान्यतया कार चलाउने तर एसी नचलाउने मान्छे हुँदैन । एसी चलाउने वित्तिकै इभीको रेञ्ज पनि घट्छ । जामले गर्दा पनि तोकिएको रेञ्ज पाउन कठिन हुन्छ । मेरो अनुभवमा काठमाडौंमा ड्राइभ गर्दा, एसी चलाउँदा, जाम पार गर्दा फुल चार्जमा दिने रेञ्ज १७० किलोमिटर हो । दैनिक घर अफिस बुढानिलकण्ठ-त्रिपुरेश्वर ओहोर दोहोर गर्ने शंकर श्रेष्ठले १९० किलोमिटर रेञ्ज दिएको अनुभव पनि सुनाएका छन् मसँग । पशुपति मुरारकाले १६५ मात्र हो नेक्सनको बास्तविक रेञ्ज भनेर मलाई सुनाएका छन् । उनी प्रतिस्पर्धी एमजी मोटरको लागि नेपालमा आधिकारिक बिक्रेता पनि हुन् । अटो पत्रकार सागर गजुरेलले भारत र चीनमा बनेका इभी गाडीले दाबी गरेको भन्दा ३५ प्रतिशत कम रेञ्ज दिने टिप्पणी हालै फेसबुकमा गरेका थिए । इभीमा मात्र यो समस्या होइन, पेट्रोल र डिजेलबाट चल्ने गाडीमा पनि कम्पनीले दाबी गरेको भन्दा करिव ३५ प्रतिशत कम माइलेज पाइन्छ काठमाडौंमा । पहिला म बोल्ट चढ्थे । कम्पनीले माइलेज १७.५७ देखि २२.९५ किलोमिटर प्रतिलिटर दाबी गरेको छ । तर बास्तवमा ११ देखि १२ किलोमिटरभन्दा बढी माइलेज दिदैनथ्यो । हुण्डाइको क्रेटाको माइलेज १६.८ देखि २१.४ किलोमिटर प्रति लिटर दावी गर्छ । तर मेरो मित्र रेशम बगालेको अनुभवमा प्रतिलिटर ९/१० किलोमिटर मात्र क्रेटाको बास्तविक माइलेज हो काठमाडौंमा । कति फाइदा ? फाइदाको कुरा गर्नु भन्दा अघि एउटा वास्तविक तथ्यमा जानुपर्छ । हिसाब गर्दै जाँदा खाको र लाएको पनि घाटा मान्ने मानिस पनि हुन्छन् समाजमा । काँठका बुढापाकाले भन्छन्-जग्गा किन्ने राजा बन्छ, गाडी किन्ने गधा बन्छ दीर्घकालमा । मान्छे अनुसार फरक विचार हुन्छ । मैले इभी किन्नुपूर्व पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको थियो । मासिक १५ हजार रुपैयाँ भन्दा बढी पेट्रोलमा खर्च हुन्थ्यो । इभीमा चार्जमा मासिक एक हजार भन्दा कम विल उठ्छ । पेट्रोलबाट चल्ने नेक्सन फुल अप्सन गाडीको मूल्य ५२ लाख ९९ हजार छ, इभी फुल अप्सनमा ४२ लाख ९९ हजार रुपैयाँ । पेट्रोल गाडी भन्दा इभी गाडी शुरुमै १० लाख कम पर्ने र मासिक खर्च पनि कम हुने भएकोले इभी सस्तो पर्ने देखिन्छ । ब्याट्रीको आयु र मूल्यबारे धेरै अड्कलबाजी हुने गरेको छ । रामेश्वर खनालले कियाको इभी लिएको ८ वर्ष भयो । ब्याट्रीको वारेन्टी ६ वर्ष थियो रे । अहिलेसम्म कुनै समस्या आएको छैन । सामान्यतया मोवाइलमा व्याट्रीको वारेन्टी एक वर्षकाे हुन्छ । धेरैले २ वर्षभन्दा बढी नै चलाएका हुन्छन् । मैले आईफोन चलाउन थालेको ४ वर्ष वित्यो तर, अहिलेसम्म ब्याट्रीमा समस्या देखिएको छैन । इभी किन्ने निर्णय  २०७८ जेठ १५ गते संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी (इभी)मा न्यूनतम कर लाग्ने घोषणा गरे । समाचार बनाउँदै गर्दा मैले सोचेँ -‘अर्को वर्षको बजेट आउनुपूर्व मैले इभी किन्नुपर्छ ।’ मैले नयाँ कार किनेको ३ वर्ष मात्र भएको थियो । उक्त कारमा कुनै समस्या थिएन । तैपनि त्यसलाई बेचेर नयाँ कार किन्ने सोच बनाएँ । कारण एउटै थियो-सरकार यो कर नीतिमा टिक्न सक्दैन । अर्को वर्ष करका दर वृद्धि हुन्छ । यो नै उपयुक्त अवसर हो । मैले २०७८ कात्तिकमा नेक्सन इभी बुक गरे । २०७९ बैशाख ५ गते सिप्रदीले गाडी दियो । २०७९ जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दै गर्दा इभीमा करका दर बढाए । मैले ठिक समयमा गाडी किनेछु । ३९ लाख ९९ हजारमा किनेको नेक्सन इभी लक्सको मूल्य अहिले ४२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अरु ब्राण्डका गाडीमा त झनै धेरै मूल्य वृद्धि भएको छ । इभी नकिन्न सुझाव सिप्रदीको शोरुममा कार्यरत अर्जुन उप्रेति पारिवारिक सम्बन्ध जोडिएका मित्र हुन् । उनले मलाई इभी नकिन्न नै सुझाव दिएका थिए । उनले दुईटा कारण सुझाए-पहिलो, पेट्रोल वा डिजेल गाडी पहिले नै भएका परिवारमा दोस्रो कारको रुपमा इभी किन्नेहरु बढी छन् । एउटा मात्र कार हुने परिवारले इभी किनेको कम मात्रामा पाइन्छ । दोस्रो-इभी नयाँ गाडी हो । भविष्यमा आउने समस्याबारे कसैले केही भन्न सक्दैन । डिजेल पेट्रोल गाडीको इतिहास ४०० वर्षभन्दा लामो छ । ढुक्कले चढ्न पाइन्छ । अर्जुन जस्तै इभीको भविष्यप्रति शंका व्यक्त गर्दै यस्तो गाडी नकिन्न सुझाव दिनेहरु धेरै थिए । तर, म पूर्व अर्थसचिव रामेश्वर खनालको अनुभव र सुझावबाट बढी प्रभावित भएको थिए । उनीसँग ७ वर्ष इभी चढेको अनुभव थियो । उनको पनि परिवारमा एउटा मात्र कार हो । काठमाडौं र काँठ क्षेत्रमा चलाउनको लागि इभी उत्कृष्ट गाडी भएको अनुभव सुनाएका थिए । पहिला पेट्रोल कार हुँदा साढे ३ वर्षको बीचमा म पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, कर्णालीका विभिन्न जिल्लामा पुगेँ । ती क्षेत्रमा यात्रा गर्दा मैले कि प्लेन चढेँ, कि बस । कर लिएर निस्केको लामो दुरीको यात्रा भनेको नुवाकोटको विदुर र धादिङको गजुरी मात्र रहेछ । आफ्नै अनुभव र रामेश्वर खनालको अनुभवका आधारमा म इभी नै लिने सोचमा पुगेको थिए । नेक्सन इभी भर्खरै नेपाल भित्रिएको थियो । बुक गरेको ६ महिनासम्म गाडी दिन नसक्ने अवस्थामा कम्पनी थियो । माग धेरै भएकोले मूल्य बढ्न सक्छ भन्ने आँकलन पनि थियो । गाडी लिन्न भन्दा बैना फिर्ता पनि सुविधा भएकोले २५ हजार तिरेर नेक्सन इभी बुक गरिहालेँ । पछि बजारमा अरु गाडीहरु बारेमा पनि बुझेँ । हुण्डाइको आयोनिक फाइव मलाई असाध्यै मन पर्यो । त्यतिबेला उक्त कारको मूल्य करिव ८४ लाख रुपैयाँ थियो । उक्त कार किन्न मेरो आर्थिक क्षमताले भ्याएन । सिप्रदीले गाडी लिन आउन कल गरेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग डिस्काउन्टको माग गरेँ। नो डिस्काउन्टमा उनी अडिक रहे । पुरानो सम्बन्धमा रहेका र पहिलो बोल्ट किन्दा राम्रो छुट पनि दिएका सावजंग सिजापति कार डिपार्टमेन्ट हेड थिए । अन्तिम घडीमा उनीसँग भेट्न पुगेँ । उनले बढो मित्रवत व्यवहार देखाए । ‘रामकृष्णजी तपाईको घर नुवाकोट होइन ?’ उनले थाहा पाएरै पनि सोधँ । ‘हो’-मैले भने । ‘तपाई नेक्सन इभी नकिन्नुहोस् । नुवाकोट पुगेर काठमाडौं फर्कदै गर्दा नागढुंगाको उकालोमा ब्याट्री चार्ज स्वाटै घट्छ । तपाईलाई चाँडै एङ्जाईटी हुन सक्छ’ उनले थप सुझाए-‘गाडी शो रुमबाट ननिकाल्दासम्म गाडी कम्पनीकै हो । समस्या केही हुन्न । शो रुमबाट वाहिर निकाल्ने वित्तीकै गाडी अब सेकेण्डह्याण्ड भयो । ५/७ लाख रुपैयाँ मूल्य घटी हाल्छ ।’ मैले मेरो वास्तविकता पनि सुनाउँ । ‘मेरो गाउँको घरमा कार जाँदैन । बोल्ट हुँदा पनि मैले गाउँमा कार लगिन । दोस्रो, गाउँ जाने बाटो पीच भयो भने घर जान आउन ५० किलोमिटर पनि पर्दैन । तेस्रो म गाउँको घरमा वर्षमा १/२ पटक मात्र पुग्छु ।’ ‘त्यसो भए ठिक छ, काठमाडौंको लागि यो गाडी पर्फेक्ट छ । तपाईको निणर्य सहि छ’ उनले भने । छुट चाँही एक रुपैयाँ पनि गरेनन् । चलाउन दामी गियर विनाको इभी चलाउन सजिलो छ । नयाँ मोडलको इभीहरुमा ह्याण्ड ब्रेक पनि बटमबेसमा आएका छन् । गाडी भित्र आवाज शुन्य हुन्छ । वाहिर पनि गाडीको चाल बिरालोको जस्तो शान्त हुन्छ । फूल चार्जपछि गाडी चलाउँदा गाडीको स्पीड नर्मल भन्दा बढी हुँदोरहेछ । ब्याट्री ९७ प्रतिशतमा झरेपछि नर्मल हुन्छ । २५ प्रतिशतभन्दा तल झरेपछि गाडी स्र्पोट मोडमा जाँदैन । ७ जना मान्छे राखेर शान्ति धाम जाने उकालोमा गाडी लगेको, मजाले पार गर्यो । पेट्रोल/डिजेल गाडीमा जस्तो उकालो आएपछि एसी बन्द गर्नुपर्दैन । मेरो अनुभवमा इभी गाडी दामी छन् । अनलाइन खवरका सम्पादक शिव गाउँले पनि नेक्सन इभी चढ्दा रहेछन् । पेट्रोल गाडी भन्दा इभी धेरै राम्रो भएको अनुभव उनले सुनाएका थिए । पेट्रोल वा इभी जुन मन लाग्यो त्यहि गाडी चढ्ने छनौटको अवसर पाएका पशुपति मुरारकाको छोराले सधैं एमजी (इभी) नै रोज्ने गरेका छन् । उद्यमी मोतिलाल दुगड टेस्ला चढ्छन् । अरु गाडीमा आफ्नो मन जान छोडेको उनले सुनाए । फियट बेचेर विवाइडी चढ्न थालेको भाई ईश्वर थपलिया पनि इभी गाडी प्रति निकै रोमाञ्चित देखेको छु मैले ।

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

गण्डकी । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ । विजयादशमी पछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए। ‘शुक्रबार मात्रै झण्डै चार सयको सङ्ख्याका आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा आएका छन्’, उनले भने, ‘पदमार्ग क्षेत्रका अन्य स्थानका होटेल भरिभराउ बनेका छन् ।’ पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरी पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म सवारीसाधनबाट पुुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा गरेपछि अन्नपूर्ण आधार शिविर पुुग्दछन् । थप लामो समय पदयात्रा गर्न चाहनेहरू पोखरा–बागलुुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलबाट पनि पदयात्रा गर्ने गर्दछन् । नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेको सचिव गुुरुङले बताए । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । उनका अनुसार विदेशी पर्यटकका साथै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण पदयात्रा पर्यटनमा बढिरहेको छ । अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् । जथाभावी बाटो खन्नेक्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको वास्तविकतामा अन्नपूर्ण आधार शिविरसहित मर्दी हिमाल, पुन हिल, मिलेनियम ट्रेकलगायतका पदमार्ग पर्यटकको आकर्षक गन्तव्यमा पर्दै गएका छन् । जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिँदै जानु पदयात्रा पर्यटनका लागि चुनौतीको विषय भएको जनाउँदै अध्यक्ष पन्थीले भएका पदमार्गको संरक्षणसँगै वैकल्पिक पदमार्गको खोजी गरिनुु अपरिहार्य भएको बताए। फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गरेको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए । हालसम्म तीन  संस्करणसम्मको अन्नपूर्ण म्याराथन सम्पन्न भइसकेको जनाउँदै उनले त्यसबाट अन्नपूर्ण आधार शिविरिको पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको थप आकर्षण बढिरहेको बताए । आजभन्दा साढे चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटलले पर्यटकको स्वागत गरिरहेका छन् । अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका थिए । पछिल्ला वर्षमा थप आठ  होटल थपिएको बताउँदै सचिव गुुरुङले होटेलको सङ्ख्या थपसँगै भएका होटेलमा पनि पर्यटकस्तरीय पूर्वाधार थपिएको जानकारी दिए । धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । आइतबारदेखि नेपालको औपचारिक भ्रमण गर्न लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरमा पनि आउने कुराले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको सचिव गुरुङले बताए । ‘संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट पाहुना अन्नपूर्ण आधार शिविरमा आउनुुहुने कुरा हाम्रा लागि ठूलो गौरवको विषय हो’, उनले भने, ‘उहाँको आगमनले विश्वमाझ फैलिएको अन्नपूर्ण हिमाल र अन्नपूर्ण आधार शिविरका साथै समग्र यस क्षेत्रको महत्व आगामी दिनमा अझै चुलिएर जाने विश्वास लिएका छौँ ।’

१२ अर्ब बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण

काठमाडौं । विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ । विगतमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् लिएका उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने महसुलबाहेक अन्य उपभोक्ताबाट गत भदौ मसान्तसम्म करिब ११ अर्ब १८ करोड ६८ लाख बराबर रहेको छ । विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क लाग्नेछ । यस्तै, ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा रहेको छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा रहेको छ । अब प्राधिकरणले विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्ध रुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुल उपर गर्ने नीति तय गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । विद्युत् महसुल बाँकी रहेका सरकारी कार्यालयहरुको विद्युत् लाइन काट्ने काम हुन्छ हुँदैन भन्ने एक प्रश्नको जवाफमा त्यस्ता सरकारी कार्यालयहरुको पनि अन्य उपभोक्तासरह नै विद्युत् लाइन विच्छेद गरी बक्यौता महसुल असुली अभियान अघि बढाइने प्राधिकरणले जनाएको छ । विद्युत् महसुल बुझाउने विषयमा सरकारी कार्यालय अझ सजक र जिम्मेवार बन्नुपर्ने प्राधिकरणले बताए । यसअघि डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका उपभोक्ताबाट असुलउपर गर्नुपर्ने बक्यौता महसुल करिब २१ अर्ब ८७ करोड ८५ लाख र सडक बत्तीबापत स्थानीय निकायहरुले तिर्नुपर्ने बक्यौता महसुल करिब छ अर्ब आठ करोड ९४ लाख रहेको छ । यस्तै, शीतभण्डार तथा दुग्ध चिस्यान केन्द्रलाई नेपाल सरकारको निर्णयअनुसार विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको रकम करिब रु ६६ करोड १६ लाख सरकारबाट प्राप्त हुन बाँकी रहेको छ । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका उपभोक्तासँगको बक्यौता महसुल बुझाउने समयसीमा तोकी प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो समयसीमाभित्र महसुल नबुझाउने उपभोक्ताहरुको विद्युत् लाइन काट्ने प्राधिकरणको तयारी छ । सडक बत्तीबापतको विद्युत् महसुल नतिर्ने स्थानीय निकायको नामसहित प्राधिकरणले बक्यौता महसुल विवरणसहित ४५ दिनको समय तोकी मिति गत असोज २१ गते सूचना प्रकाशित गरेको छ । सूचनामा तोकिएको समयमा महसुल नबुझाउने स्थानीय निकायहरुको विद्युत् लाइन काट्ने सम्बन्धमा प्राधिकरणले सम्बन्धित स्थानीय विद्युत् वितरण केन्द्रलाई निर्देशन दिइसकिएको छ ।

खरिद जलविद्युतलाई नविकरणीय ऊर्जामा राख्न पाउने भारतीय व्यवस्था, नेपाली जलविद्युतले बजार पाउनसक्ने

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३०सम्मका लागि नविकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत, वितरित र अन्य नविकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताहरुका लागि अनिवार्य जलविद्युत खरिद (एचपिओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि नविकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो एचपिओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्मा मात्र व्यवस्था थियो । भारतले नविकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४–२५मा २९.९१ प्रतिशत र २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्ने छ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५मा ०.३८ र सन् २०२९–३०सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्ने छ । यसका लागि ३१ मार्च २०२४पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पुर्याउनै पर्ने र नपुर्याउने वितरण कम्पनीहरु तथा विद्युत् खरिदकर्ताहरुलाई जरिवाना हुने व्यवस्था गरिएको छ । अन्य नविकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाईसमेत गणना गर्न सकिने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत खरिदको नयाँ व्यवस्था व्यवहारिक रुपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताए । ‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि एचपिओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ,यसले भारतका विद्युत् वितरण कम्पनीहरु तथा खरिदकर्ताहरुलाई जलविद्युत आयोजनाहरुको विद्युत् खरिद गर्न सजिलो हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो व्यवस्था व्यवाहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउने छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ । शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो । यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ । आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरुवात गरिएको हो । पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरु गरिएको बताए । उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरु गरिएको बताए । उनले भने, ‘यो परापूर्वकालद्खि चलिरहेको थियो । २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो । २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो । यो दुर्लभ पर्व हो । यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ । आज शुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ ।’ त्यस्तै पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताए । उनले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताए । २५ वर्ष अघिदेखि तानेको भन्ने छ । महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम शुरु गरिएको महिलालाई जागरुक बनाउन यो कार्यक्रम गरेको स्थानीय रञ्जु कपालीले बताइन् । उनले महिलाहरु पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताइन् ।

धमाधम खाली हुन थाले घर, घरधनीलाई बैंकको किस्ता तिर्नै गाह्रो

एआईद्वारा निर्मित तस्बिर बुढोपाकाले भन्थे, ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ मुलुकमा आएको आर्थिक मन्दी तथा व्यापारव्यवसाय ठप्प भएपछि अधिंकाशले कोठा र सटर छोड्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर पनि कोठा, फ्रल्याट र सटर छोड्नेको संख्या हवात्तै बढेको छ । बजारमा सुन्दा र बुझ्रदा ७० प्रतिशत मानिस भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा समेत घरधनीहरु भाडा बढाइरहेका छन् । त्यसकारण अब घरधनीहरुको आँखा नखुले सबै कोठा, सटर र फ्ल्याट खाली हुने छन् । व्यापार व्यवसाय गर्नेहरु दिनहुँ घाटामा गइरहेका छन् । अनि विभिन्न संघसंस्था तथा पसलहरुमा काम गर्नेहरुले वर्षेदेखि तलब पाएका छैनन् । दुई वर्षअघि एउटा खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । एउटा कोठा १० हजारदेखि २० हजार र एक फ्रल्याट १५ हजारदेखि ३० हजारसम्म जान्थ्यो । एउटा सटरको मासिक २० हजारदेखि १२ लाखसमम लिइन्थ्यो । घरधनीहरुले अझै पनि विगतमा यत्रो पैसा लिएको सम्झिने र भाडा नघटाउने हो भने सबै कोठा, सटर र फ्ल्याट खाली रहनेछ । कतिपय घरधनीले त आफ्नो घरको कोठा, फ्रल्याट र सटर खाली हुन नदिन आधा भाडा अहिले र आधा पछि तिर्नु भन्नुका साथै भाडा घटाइदिने भनेर समेत डेराबहाललाई फकाईरहेको पाइन्छ । यता, एउटाले छोडेमा अर्को आइहाल्छ भन्ने घमण्डी घरधनीहरुको घर महिनौं दिनदेखि खाली छ । अहिले सरकारी कर्मचारीले मात्र हो मिठो खान पाएको र भाडा तिर्न सकेको । आम सर्वसाधारणलाई त बिहानबेलुकाको छाक टार्न समेत हम्मेहम्मे परेको छ । यसले उपत्यकाभित्र होस् या बाहिर अब झन् कोठा, फ्रल्याट र सटर खाली हुने छ । कतिपय व्यापारीले दशैंअघि नै सटर छोडे भने कतिपय दशैंमा व्यापार हुन्छ भनेर कुरेर बसे । तर, दशैंमा समेत सोचेअनुरुप व्यापार नभएपछि उनीहरु पनि सटर भाडा तिर्न नसकेर सटर खाली गर्ने सोचमा छन् । काठमाडौं उपत्यकाभित्र ७७ ओटै जिल्लाका मानिसहरु शिक्षा, स्वास्थ्य, रोजगार, अवसरलगायतका कारण बसोबास गर्दै आएका छन् । यहाँ अस्थायी बसोबास गर्दै आइरहेकाहरु हरेक वर्ष दशैं मान्न भने आफ्नै गाउँघर फर्किन्थे । वर्षेनी उपत्यकाबाट दशैं मान्न २० लाखदेखि ३० लाखको हाराहारीमा सर्वसाधारण गाउँघर फर्किने गर्थे । तर, यो वर्ष जम्मा १३ लाख मात्र आफ्नो गाउँघर गए । दशैंमा भन्दा पनि दशैं अघि नै मानिसहरु आफ्नो गाउँघर फर्किए । अहिले धेरै मानिसहरु आफ्नो जन्मथलो फर्किएका छन् । अहिले अधिंकाश जिल्लामा शिक्षा, स्वास्थ्य, सडक र बत्तीको विकास भइसकेको छ । यसरी आफ्नो जन्मथलो छोडेर अवसरको खोजीमा उपत्यका वा सदरमुकाममा बस्दै आएकाहरु अहिले भाडा तिर्न नसकेर आफ्नै गाउँघर फर्किएका छन् । उनीहरु अब उपत्यका आउन चाहदैँनन् । पहिला पो व्यापारव्यवसाय हुन्थ्यो । काम गरेको ठाउँबाट पनि मासिक रुपमा तलब पाइन्थ्यो । तर, अहिले व्यापार व्यवसाय पनि नचलेपछि र काम गरेको ठाउँबाट पनि तलब नपाएपछि अधिंकाश विदेश पलायन भएका छन् । दिनमा हजारौं नेपाली युवा खाडी मुलुक गएका छन् । पैसा हुनेहरु अमेरिका, अस्ट्रेलिया गएका छन् । अहिले अर्थविदहरु भन्छन्, ‘खाडी मुलुक गएकाले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । अमेरिका, अष्ट्रेलिया गएकाले त देश खोक्रो बनाएका छन् ।’ २०५० सालमा दुई सयमा पाइने कोठा अहिले १२ हजार पर्छ । ०४५ सालमा तीन हजारमा पाइने सटर अहिले १२ लाख पर्छ । यति महंगो भाडा पाइने भएपछि पैसा हुने र नहुने दुवैले जग्गा किनेर घर बनाए । आखिर बैंक तथा वित्तीय संस्था वा व्यक्तिबाट मिटरब्याज कर्जा लिएर नै किन नहोस् । सबैमा घर बनाउने रहर चल्यो । विदेश गएकादेखि व्यापार व्यवसाय गर्ने, सरकारी जागिर खाने र राजनीति गर्ने समेतले जग्गा किनेर घर बनाई भाडामा लगाएको पाइन्छ । अहिले एउटै घरमा पाँच वटा सटर बनाइएको देखिन्छ । त्यस्तै, एउटै घर पाँच तल्लेदेखि १८ तल्लेसम्म छ । पाँच सटरमध्ये एउटा सटर भाडामा भएपनि चार वटामा टु–लेट लेखिएको भेटिन्छ । कोठा, फ्ल्याट पनि खाली छन् । अहिले घरधनीहरुलाई रातभर निन्द्रा लाग्दैन । भाडामा लगाउन बैंकबाट ऋण लिइलिइ बनाएको घर पूरै खाली भएपछि उनीहरुको भोक, निन्द्रा र तिर्खा नै मेटिएको छ । दुई वर्षअघि एउटै घरधनीले आफ्नो घर भाडामा लगाएर मासिक लाखदेखि करोडसम्म उठाउँछन् तर, राज्यलाई घरबहाल अनुसार कर तिर्दैनन् । घरधनीको जिब्रोमा कोठा, फ्ल्याट र सटरको मूल्य हुन्छ । महिनाको शुरुवातमा नै भाडा माग्छन् । पैसा लिन्छन् तर बिल दिँदैनन् । मागेजति भाडा नदिए पुरानोलाई निकालेर नयाँ डेराबहाललाई पहिलाभन्दा दोब्बर भाडामा लगाउँछन् । दुई तल्लाको नक्सा पास गरी पाँच तल्लाको घर बनाएका छन् । घरका कोठा, फ्ल्याट र सटर सबै भाडामा लगाउँछन् तर, वडा र नगरपालिकामा गएर घरमा सबै आफन्त बसेको भन्दै ढाँट्छन् । डेराबहालकोमा पाहुना आएमा जुत्ता गन्न आइपुग्थे घरधनीहरु । बच्चा भएको, बुढाबुढी, एक्लो महिला, विद्यार्थी, अपांग र तल्लो जातको मानिसलाई कोठा दिदैँनन् घरधनीहरु । उपत्यकाभित्र एउटा कोठा पाउन छ महिना लाग्ने गथ्र्यो । आफुले खोज्न नसकेर कोठा खोज्ने अफिसलाई पाँच हजारदेखि २० हजारसम्म दिनुपर्छ । अहिले त जताततै ‘कोठा खाली छ’, ‘फ्ल्याट खाली छ’, ‘सटर खाली छ’ भनेर लेखिएको पोस्टरहरु देखिन्छ । घर धमाधम खाली हुन थालेपछि घरधनीहरुले एकातिर मासिक भाडा उठाउन पाएका छैनन्, अर्कोतिर घर पूरै खाली भएपछि त्यँही घरले तर्साएको छ । फेरि घर पनि बैंकको नाममा छ । बैंकबाट लिएको कर्जाको महिनामहिनामा किस्ता तिर्नुपर्छ । भाडामा बस्ने मान्छे नभएपछि बैंकलाई कसरी किस्ता तिर्ने ? मुलुकभर ९५ प्रतिशत मानिसहरुको घर र सवारीसाधन बैंकको नाममा छ । हिजो घरजग्गाको मूल्य बढिरहन्छ भनेर मानिसहरुले बैंकबाट लोन लिएर जग्गा किनी घर बनाए । दुई वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले लाखौंमा बिक्री नभएको पनि सुनिन्छ । एकतर्फ, घरजग्गाको मूल्य घटेको घटयै छ, अर्कोतर्फ बैंकले किस्ता तिर्न दबाब दिएको दियै छ । फेरि घर बेच्यौं बिक्री हुन्न, बैंकको ऋण तिरौं त पैसा छैन । ८०/८५ वर्षका वृद्धाहरुले सार्वजनिक स्थलमा बसेर कुरा गरिरहेका हुन्छन् कि २०३५ सालमा काठमाडौंको बगरमहलदेखि तीनकुनेसम्मको जग्गा रोपनीको ५० हजारमा पाइन्थ्यो । त्यतिबेला यो जमिन पूरै खेत रहेको उनीहरु बताउँछन् । एक रोपनी जमिनमा १६ आना हुन्छ । यँही ठाउँको जग्गा तीन वर्षअघि आनाको छ करोडमा बिक्री भएको स्थानीयबासिन्दाहरु बताउँछन् । ०३५ सालमा ५० हजारमा किनेको जग्गा तीन वर्षअघि ९६ करोडमा बेचियो । ५० हजारमा बेच्नेलाई ९६ करोड घाटा भयो त ५० हजारमा किन्नेलाई ९६ करोड नाफा भयो । तर, यँहीको ठाउँको जग्गा तीन वर्षअघि ६ करोडमा किनिएकोमा अहिले बेच्छुभन्दा ४० देखि ४५ लाखसम्ममा किन्ने मान्छे समेत नभेटिने बताइन्छ । ०३१/०३२ सालमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्ने गथ्र्यो । यति मात्र नभई अनुदानमा समेत खाद्य दिने गथ्र्यो । ०४१/०४२ सालदेखि जग्गा दलाली तथा भूमाफियाहरुले जग्गाको खण्डीकरण गर्न सुरु गरे । त्यसअघि उपत्यकाभित्र तथा बाहिर सबै खेतीयोग्य जमिन थिए । बारीका पाटा थिए । जग्गा दलालीहरुले आनाको हजार रुपैयाँमा खेतीयोग्य जमिन किनी खण्डीकरण गरेर आनाकै लाखदेखि करोडसम्ममा बेचे । अहिले ९० प्रतिशत खेतीयोग्य जमिन खण्डीकरण गरेर घर बनाएर मासिसकेको छ । पाँच प्रतिशत जमिन बाँझो छ अनि बाँकीमा खेतीपाती गरिएको छ । मुलुकमा भोकमारीको संकट देखा परिसकेको छ । खाद्य संकट निम्तिन चिन्ता बढ्दो छ । व्यक्ति वा बैंक तथा वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा छ । दलालीहरुले बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा बेचे । भारतले एक लाखमा बनाएको गाडी नेपालमा २० लाखमा बेचियो । अहिले सेयरको कारोबारमा दिनहुँ गिरावट आएको छ । सवारीसाधन किनबेचमा पनि मन्दी छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । घरजग्गा, गाडी र सेयरमा गरेको लगानीकै कारण सहकारीहरु रातारात भाग्नुपरेको थियो । बैंकको पनि त्यँही हालत हुने देखिन्छ । अहिले बजारमा घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । न त भाडामा बस्ने नै कोही छ ।

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारले छुन करिव दुई हप्ता अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । दशैँ सकिनै अझै एक दिन बाँकी छ । तर काठमाडौंमा दशैँको रौनक नसकिँदै तिहारको झल्को देखिन थालिसकेको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ । दीपावलीमा गाउँ शहर झिलीमिली हुने कुरा त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरुको अवसर पारेर बजार रंगीन बनाइन्छ । तस्बिर स्रोत : न्यूज एजेन्सी नेपाल ।