गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए । छोरी जन्माएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उनको अत्यधिक रक्तश्राव हुँदा मृत्युवरण गर्नुपरेको बोहोरा गाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र साहीले बताए ।
उनका अनुसार ९ बजे सुत्केरी भएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो । दुई बजे पुगेकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पुर्याउन सल्लाह दिइन् । बोहोरा गाउँ स्वास्थ्यचौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइयो । ‘म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्’,स्वास्थ्यचौकीका प्रमुख शाहीले भने, ‘स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।’ बिहान ४ बजे उनलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माएकी रीताले छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्य भने सामान्य रहेको उनले बताए ।
‘पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ’, प्रमुख शाहीले भने, ‘आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो ।’
रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्थालगायत कारणले समयमा अस्पताल पुग्न नपाएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युबरण गर्नुपर्यो। रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् ।
पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । ‘पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।’ सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुर्याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाए । रासस