तालबाराही मन्दिर पुनः निर्माण थालियो
पोखरा । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने छ भने । विसं २०७२ को गोरखा भूकम्पकै कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि रु एक करोड ४५ लाख लाग्ने जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताए । पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिए । हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिए । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उनले दिए । उनका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधाँरा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ । किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ। फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो। हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । रासस
यातायात नहुँदा आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन
ताप्लेजुङ । तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । निर्यातका लागि आवश्यक पर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्भावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यतीकै वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो । ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सामुदायिक वन क्षेत्र धेरै रहेको छ । दुई हजार ३५ वर्ग किमिमा फैलिएको यस क्षेत्रमा अधिकांश सामुदायिक वन क्षेत्रको हिस्सा रहेको छ । तत्कालीन चार गाविसहरू लेलेप, तापेथोक, याम्फुदिन र ओलाङचुङगोलालाई विसं २०५४ मा पृथ्वीको उपहारका रूपमा घोषणा गरिएदेखि नै यस क्षेत्रको जैविक विविधताको संरक्षण र संवद्र्धन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले गरेको थियो भने हाल यसको दायित्व स्थानीय समुदायबाट गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गरिरहेको छ । अहिले कञ्चनजङ्घा संरक्षण २५ वटा संरक्षण सामुदायिक वनहरू रहेका छन् । ३ दशमलव ५ हेक्टरदेखि २६ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलसम्मका सामुदायिक वनहरूको कूल क्षेत्रफल ६९ हजार चार सय २६ हेक्टर रहेको छ । यसअघि २६ वटा सामुदायिक वनहरू रहेकोमा फक्ताङलुङ गाउँपालिका–६ को लुङथुङमा रहेको नागथान संरक्षण सामुदायिक वनको जग्गा जिल्ला प्रशासन कार्यालयको नाममा रहेको प्रमाणित भएपछि खारेज गरिएको थियो । हाल फक्ताङलुङ–५ मा छवटा सामुदायिक वनहरू रहेका छन् । जसमा पताले संरक्षण सामुदायिक वन (१७ हजार दुई सय १७ हेक्टर), सातपत्रे महिला रानीवन (नौ हेक्टर), कापोलुङ (१४ दशमलव ३ हेक्टर), नाम्फुवा (चार सय ७७ दशमलव४ हेक्टर), निगीजम फुलबारी (एक हजार एक सय ३५ दशमलव ९ हेक्टर), लुकुम्बा फूलबारी (चार सय ४२ हेक्टर) रहेको छ । त्यस्तै फक्ताङलुङ गाउँपालिका—६ माउजेली पाखा(१४ दशमलव ३८ हेक्टर), वनपाला (८ दशमलव ३ हेक्टर), गुराँसे (२२ दशमलव ९ हेक्टर), दोरोङ्ग्याबु (छ सय ७५ हेक्टर), लुङथुङ (११ द्यशमलव ९ हेक्टर), दोबाटे (एक सय ८७ दशमलव ९ हेक्टर), लप्सीबोटे (३ दशमलव ५ हेक्टर), थाक्पाखोला (१७ दशमलव ७ हेक्टर), लावाजिन (एक हजार चार सय ६६ दशमलव ७ हेक्टर), बिगबारी (छ सय ७५ दशमलव ७ हेक्टर), कुम्भकर्ण (१० हजार पाँच सय २०), हिउँचुली(चार सय २५ हेक्टर) रहेको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुई वटा सामुदायिक वनहरू रहेका छन् । जसमा टिप्तला भञ्ज्याङ (२६ हजार पाँच सय आठ हेक्टर) र ओमीखाङ्गी (५ हेक्टर) रहेको छ । सिरीजङ्घा–८ याम्फु दिनमा कञ्चनजङ्घा (चार हजार नौ सय हेक्टर), पाथीभरा (चार सय सात दशमलव ३१ हेक्टर), तिम्बुङ पोखरी (३१ दशमलव ५), देउराली (५ हेक्टर) रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा रहेको छ । तर यी समुदायिक वनहरूले आम्दानीको स्रोत भने शून्य जस्तै छ । यी २५ वटा सामुदायिक वन क्षेत्र बाहेक पनि सरकारी वनहरू रहेको व्यवस्थापन परिषद्ले जनाएको छ । यी सामुदायिक वनमा समावेश हुन नसकेको हिमाली क्षेत्रहरू पनि वन क्षेत्रहरू रहेको पाइएको छ । त्यस्तै निजी वनहरू पनि संरक्षण क्षेत्रमा रहेका छन् । लेलेप, तापेथोक र याम्फुदिनमा निजी वनका रूपमा रहेका वनहरूको क्षेत्रफल कति रहेको छ भन्ने तथ्याङ्क छैन भने निजी तथा धार्मिकरूपमा रहेको वनहरू अहिलेसम्म परिषद्मा दर्ता पनि नभएको परिषद्ले जनाएको छ । अहिले यी २५ वटा सामुदायिक वन क्षेत्रको संरक्षण संवद्र्धन र उपयोग पनि स्थानीय समुदायबाट गठित संरक्षण सामुदायिक वन उपभोक्ता समूहबाट भइरहेको छ । परिषद्को गठनको पूर्वसन्ध्यामा गठन हुने यो उपभोक्ता समूहबाट पनि परिषद्मा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । सामुदायिक वनबाट घरायसी प्रयोजनका लागि प्रयोग हुने काठ, दाउरा, घाँस, जडीबुटी, सोत्तर समुदायले उपयोग गर्दै आएको छ । यो बाहेक व्यापारिक प्रयोजनको लागि सामुदायिक वनबाट कार्ययोजनाअनुसार परिषद्को स्वीकृती लिएर मात्र वन पैदावारको निकासी गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लालीगुराँस उपभोक्ता समितिका अध्यक्ष केसिङकुमार लिम्बूले बताए । उनका अनुसार अहिले सामुदायिक वनबाट स्थानीय समुदायले कार्ययोजनाअनुसार दैनिक घरायसी प्रयोजनको लागि मात्र वन पैदावारको उपयोग गर्दै आएको तर निकट भविष्यमा यस क्षेत्रमा सडक पुगेकाले सामुदायिक वनले आफ्नो कार्ययोजनामा समावेश गरेर सडेको, मक्केको, ढलेको वा निकासी गर्न मिल्ने काठहरू निकासीगरी समितिको सिफारिसमा परिषद्को स्वीकृत लिएर बेच्न पनि सक्नेछन् । लुङथुङ सामुदायिक वनका तत्कालीन अध्यक्ष फुपु शेर्पाकाअनुसार सामदायिक वनको कार्ययोजनाअनुसार मात्रै यसबाट निकासी हुने वनपैदावारको उपयोग गर्न मिल्छ । विगतमा विभिन्न सामुदायिक वनमा घरायसी काठ सङ्कल नगर्दा उजुरी पनि परेको थियो । जसबाट सामुदायिक वनमा सुसाशन कायम गर्न पनि समस्या रहेको छ । परिषद्बाट कर्मचारी र प्राविधिकहरू भनेको समयमा उपलब्ध हुँदैन । वनमा प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ तर परिषद्मा प्राविधिक कर्मचारी छैनन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको २ जना रेञ्जरले सबै सामुदायिक वनमा भौगोलिक विकटताका कारण पुगेर सेवा दिन सक्दैनन् । वन छ तर आम्दानी लिन नसकेको फक्ताङलुङ—६ अवस्थित टोबाटे सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तारादेवी लिम्बूले बताइन् । लिम्बूका अनुसार यस क्षेत्रका सामुदायिक वनहरूले अहिलेसम्म आम्दानी लिन सकिएको छैन । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतमा सामुदायिक वनहरूमा अक्षय कोष जम्मा गरिदिनु भएको छ । त्यसै कोषको ब्याजबाट आएको पैसाले बैठक, वन हेरालुलाई पारिश्रमिक दिँदै आएको लिम्बूले बताए । रासस
प्यालेस्टाइनमा रोकिएन सामूहिक नरसंहार, राष्ट्रसंघमा शक्ति राष्ट्रका आ-आफ्नै मत
काठमाडौं । प्यालेस्टाइनको सैन्य संगठन हमासले अक्टोबर ७ मा इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायलले प्यालेस्टाइनमाथि शुरु गरेको बर्बर सामूहिक सैन्य कारवाहीको श्रृंखला रोकिएको छैन । झण्डै तीन हप्ताको कारबाहीमा हजारौं निहत्था नागरिकको मृत्यु भएको छ भने हजारौं घाइते र लाखौं प्यालेस्टाइनी जनता घरबार बिहिन बन्न पुगेका छन् । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले इजरायल र हमास समूहबीचको युद्धमा अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको बताएका छन् । तर, इजरायलले भने राष्ट्रसंघका महासचिव गुट्रेसको भनाइको आलोचना गरेको छ । गाजा क्षेत्रमा इजरायलले बमबारी गरिरहँदा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा शक्ति राष्ट्रहरुले आ–आफ््ना विचारमा अडान राखेका छन् । बुधबार अमेरिका र रुसले राष्ट्रसंघमा दुई अलग–अलग प्रस्ताव गरेका थिए । तर, दुवै पक्षले राखेको प्रस्तावमा आम सहमति हुन सकेन । अमेरिकाले रुसी प्रस्तावको विरुद्धमा र चीन तथा रुसले अमेरिकाको प्रस्तावमा भिटो प्रयोग गरेर खारेज गर्ने काम गरे । अमेरिकाले प्यालेष्टाइनमा मानवीय विरामको प्रस्ताव गरेको थियो तर, युद्धबिरामलाई भने स्वीकार गरेन । त्यस्तै, रुसले भने प्यालेष्टाइनमा युद्धबिरामको प्रस्ताव गरेको थियो र अमेरिकाको मानवीय विरामलाई अस्वीकार गर्यो ।
तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार
दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिइएको हो । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो हाइड्रोपावरले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया सुरुआत गरेको छ । कम्पनीले निर्माण गर्न लागेको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन गत असोज २ गते विद्युत् विकास विभागमा बुझाएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ । प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ । उक्त आयोजनाको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको उनको भनाइ छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत नमूना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते नमूना पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको नमूना अनुुसार थप केही काम गर्ने तयारी गरिएको छ । ‘विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ,’ आयोजना प्रमुख भण्डारीले भने । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको उनले बताए । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३।५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजपत्र तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभिसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६।८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर –६, व्यास–१३, १४, देवघाट –२, ३ र ४, ऋषिङ –१ र ३, आँबुखैरेनी –५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । देवघाट –४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभि दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको अनुमानित लागि २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ । रासस
कवड्डीकी कलावती : ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिए । स्कूलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पु¥याइन् । शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन् । उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए । उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहेपनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन् । ‘विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन् ।’ उनी भन्छिन्–’ हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन् ।’ स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन् । त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो । केही बर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन् । हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन् । ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै विना बिभागीय खेलाडी थिए ।’ कलावती भन्छिन्,’राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो ।’ नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन् । सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन् । ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्याउनुभयो ।’ उनी भन्छिन्–’अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ ।’ तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती । उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाण्डौँमा प्रोत्साहन र सम्मान मिलेपनि गृह प्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन् । ‘विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालेँ ।’ कलावती भन्छिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला ।’ गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा बिमानस्थल पुगेको उनले जानकारी दिइन् । ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन ।’ कलावती भन्छिन्–’ स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन् ।’ त्यसैगरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउँछन् । ‘उनी स्कूलस्तरको खेलबाट यहाँसम्मआएकी हुन् ।’ उनी भन्छन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौँ राष्ट्रिय खेलकुँद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलता नै हो ।’ रासस
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट, दैनिक दुई हजार पर्यटक आउने
भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो । बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्’, अध्यक्ष मल्लले भने, ‘दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।’ विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् । मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् । रासस
मनकामना केबलकार सञ्चालनमा
मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ । राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढी निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो । अध्यक्ष खनालले भने, ‘यहाँ मनोरम ढुङ्गाका आकृति, बेलको रुखमा ग्लास हाउस, मानिसलाई विश्रामका लागि गोल घरपाटी छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौँ ।’ नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनले भने, ‘जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रमअनुसार यहाँ बाघको मूर्तिसहितको उद्यान निर्माण गरिएको हो ।’ उक्त कार्यालयको पाँच लाख रुपैयाँ र वाराही सामुदायिक वनको एक लाख २५ हजार रुपैयाँ गरी छ लाख २५ हजार रुपैयाँमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोजस्थल पनि बनाउने लक्ष्य छ । उक्त कार्यालयले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयको सहयोगमा भिमाद नगरपालिका–९ मोहोरिया र व्यास नगरपालिका–४ सिमलटारमा हरित पार्क निर्माण गरिएको छ । वडानं २ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि घरसहितको पार्क बनाइएको छ । पार्कलाई हरियाली बनाउन डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र सरसफाइ गरिएको छ । उक्त पार्क वरिपरि बहुवर्षीय पारिजात, म्याङ्गोस्टिक, कपुर र धुपीका करिब दुई सय बिरुवा रोपिएको छ । रासस