
रुकुम पश्चिम । भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए।
उनका अनुसार घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा हालसम्म ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको उनको भनाइ छ ।
सुर्खेतबाट आएको एक जना डाक्टरसहित तीन जनाको स्वास्थ्यकर्मीको समूहले नगर अस्पताल उपचार गरिरहेको शाहले जानकारी दिए ।
शुक्रबार राति जाजरकोटको केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ ।
क्षतिको विवरण संकलन भइरहेको र उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार सानीभेरी गाउँपालिका–२ मा नौ जनाको मृत्यु भएको छ ।