प्रदेशको पञ्चवर्षीय योजनामा समावेश गर्न पर्यटन र कृषिमा मनाङवासीको जोड

<p>मनाङ । हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् । आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) [&hellip;]</p>

मनाङ । हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् ।

आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार विगत ६ महिनामा ९ हजार ७ सय २८ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै सङ्ख्यामा आउने गर्दछन् । तर, पूर्वाधार विकास नहुँदा यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यवसायीले सरकारसँग माग गरिरहेका छन् । उनीहरुले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्छन्। शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा मनाङवासीको यही गुनासो थियो ।

गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको छ । सोही विषयमा छलफल गर्न आयोगको टोली मनाङ आएको हो ।

अन्तरक्रियामा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताए । ‘मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महत्व पाउनुपर्छ,’ उनले भने, ‘यहाँ अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो ताल, एक हजार वर्ष पुराना गुम्बा छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।’ सांसद गुरुङले मनाङमा पर्यटनसँगै कृषि र जलविद्युत्मा पनि सम्भावना रहेको बताए।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताए। ‘विसं २०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पर्यटकीय क्षेत्रको पूर्वाधार बगाएको छ । यहाँ पदमार्ग पनि छैन । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ पर्यटनसँगै कृषि, पशु र जडीबुटी पनि मुख्य सम्भावना भएको क्षेत्र रहेकाले यसतर्फ ध्यान पुग्नुपर्छ । त्यसैले प्रदेशको पञ्चवर्षीय योजनामा जडीबुटी खेती र प्रशोधन केन्द्र समेट्न जरुरी छ ।’

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको सङ्ख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्दे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए। नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले अन्तरक्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषय दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने बताए । रासस

Share News