भूकम्प अपडेट : १३७ जनाको निधन
कर्णाली । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको जिसीले जानकारी दिए । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । रासस
सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच/पाँच करोड रुपैयाँ सहायता उपलब्ध गराउने
काठमाडौं । सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । ‘जिल्ला विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रबाट आवश्यक सम्पूर्ण जनशक्ति खटिइएका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पीडितको खोजी, उद्धार र राहतका काम अगाडि बढाइरहेका छौं, ‘उनले भने, ‘भूकम्पका कारण अवरुद्ध सडकलाई केही घन्टाभित्रै खुलाउने गरी सडक विभागलाई निर्देशन दिइएको छ ।’ भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचारका निम्ति चिकित्सक प्रभावित क्षेत्रमा पुगिसेकेको, स्वास्थ्य सामग्रीका साथै औषधि प्रभावित क्षेत्रमा पुगिसकेको उनको भनाइ छ । ‘थप सामग्री आवश्यक परेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्कालै व्यवस्था गर्ने निर्णय भएको छ,’ उनले भने । मृतकको शव व्यवस्थापनका लागि विशेष टोली खटिइएको जानकारी दिँदै उनले सो टोलीले मुचुल्कासहित आवश्यक सदगत्को व्यवस्था गर्ने पनि बताए । उद्धारका लागि सबै सुरक्षा निकाय खटिइएको, थप सुरक्षा बल त्यसतर्फ पठाइने उनले जानकारी दिए । एक सय ३६ को मृत्यु, एक सय ६१ घाइते उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय ३६ जनाको मृत्यु तथा एक सय ६१ जना घाइते भएको जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा ठूलो सङ्ख्याका घाइते रहेको उनको भनाइ छ । दैलेख, रोल्पा र जुम्लामा सात जना घाइते भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले घाइतेको शीघ्र उपचारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् घटनालाई चासोका साथ लिएर प्रभावित क्षेत्रमा खट्नुभएको छ । उहाँकै निर्देशनमा घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएको छ,’ उनले भने । सामान्य घाइतेको स्थानीय अस्पताल तथा गम्भीर घाइतेको सुर्खेत र नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए । ट्रमा सेन्टर र अन्य ठूला अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनको भनाइ छ । सुर्खेतलाई मुल ‘बेस’ बनाएर भूकम्पपीडितको उद्धार तथा राहत वितरणको कार्य सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालगञ्जलाई सहायक बेस बनाएर आवश्यक जनशक्ति र सरसामग्रीको व्यवस्था गरिएको बताइएको छ । रासस
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापनलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट भएको धनजनको क्षतिका बारेमा जानकारी लिँदै उद्धार, राहत तथा तथा घाइतेको शीघ्र उपचारको प्रबन्ध मिलाउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका छन् । उनले यसअघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै विपद्को घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आमनागरिकलाई अपिल गरेका थिए । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुमपश्चिममा जिल्लामा गरी कम्तीमा एक सय ३६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका छन् । रासस
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको निःशुल्क सेवा
काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने छ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ । रासस
तिहारमा फूलको मूल्य बढ्ने, कुन मालाको कति मूल्य ?
काठमाडौं । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो । यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य एक सय २५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार सोही माला गत वर्ष उपभोक्ताले एक सयसम्म तिरेर प्रयोग गरेका थिए । त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने तामाङले बताए । उनका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रुपैयाँसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने एक हजारदेखि तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ । गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै २५ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । यस वर्ष ३१ करोड २८ लाख रुपैयाँ कारोबार हुने अनुमान गरिएको छ । पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ । यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ । पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस
अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताएका हुन् । महतले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए । ‘देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा. महतले भने, ‘सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।’ उनले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पु¥याइनुपर्ने खाँचो औँल्याए । ‘विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ,’ उनले भने । अर्थमन्त्री डा महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रनेमा विश्वास व्यक्त गरे । नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिए । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताए । उनले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गरे । ‘फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ,’ उनले भने । अर्थतन्त्रलाई थप चलायमान बनाइनुपर्छ– निजी क्षेत्र कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक दिशामा रहेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रले समन्वय र सहकार्य फराकिलो बनाउन जरुरी भएको उल्लेख गरेका छन् । ‘अर्थतन्त्र सहज अवस्थामा छ, यसको प्रभावकारी सुधारका लागि नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशी पर्यटक बढेको अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ,’ उनले भने । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रललाई सुधारको दिशामा अघि बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउन सबै सरोकारवालाबीच बहज र पैरबी आवश्यक भएको बताए । यस्तै नाफिजका अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र अर्थतन्त्रको श्रीवृद्धिमा संस्थाले भूमिका खेल्दै आएको बताए । तीन पत्रकार पुरस्कृत नाफिजको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नगद एक लाख रुपैयाँ सहित शारदा–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै जनही ५० हजार रुपैयाँ राशिको बैंकिङ पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय क्रमशः आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्य र विकासन्युज डटकमका पत्रकार सन्तोष रोकायालाई प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा एक करोड उपलब्ध गराउने
सुदूरपश्चिम । सुदुरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ । भूकम्पबाट प्रभावितलाई सुुरक्षित स्थानमा स्थानान्तरण गर्न, भूकम्पमा परी बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार तथा राहतमा सक्रियताका साथ लाग्न पनि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय, सङ्घसंस्था र नागरिक समाजलाई आग्रह गरेको छ । रासस
भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको विद्युत् आपूर्तिमा अवरोध पैदा भएको थियो । सूचना तथा सञ्चारका लागि बिजुली अत्यावश्यक भएकाले तत्काल साधन र स्रोत परिचालन गर्न प्राधिकरणलाई मन्त्री बस्नेतले निर्देशन दिएका हुन् । भूकम्पका कारण प्राधिकरणको संरचनामा के कति क्षति भयो भन्नेबारेमा समेत आवश्यक विवरण सङ्कलन तथा सहज बिजुली आपूर्तिका लागि मन्त्री बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ । रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिव साहले स्थानीय राडीबजार अस्पतालमा बिजुली उपलब्ध भइसकेको जानकारी दिए । भूकम्पका कारण खम्बा ढलेर अवरुद्ध भएका प्रसारण तथा वितरण लाइन मर्मतसम्भारमा सम्पूर्ण जनशक्ति परिचालित भएको उनको भनाइ छ । आज साँझसम्म भूकम्प प्रभावित सबै स्थानमा बिजुली उपलब्ध गराउने र नजिकका कार्यालयबाट समेत जनशक्ति परिचालित गरिएको साहले जानकारी दिए । भूकम्पबाट क्षतिग्रस्त भएका घर तथा अन्य संरचनाको लाइन काटेर अवस्थाको मूल्याङ्कन गरेर जोडनका लागि विभिन्न समूह नै बनाएर टोली परिचालन गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाको यथार्थ विवरण नलिइ लाइन जोड्दा थप दुर्घटना हुने भएकाले त्यसलाई विशेष ख्याल गरिएको कार्यालयको भनाइ छ । प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकप्रसाद कलवारका अनुसार रुकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको पुलमा ११ केभी क्षमताको प्रसारण लाइन र खम्बामा क्षति पुगेको छ । सो स्थानमा प्राविधिकसहितको कर्मचारी, खम्बा र तारसहित जनशक्ति परिचालन गरिएको छ । बिजुलीको अभावमा टेलिफोनको टावरसमेत नचल्ने तथा स्वास्थ्योपचारमा समेत समस्या हुने भएकाले आवश्यक व्यवस्थाका लागि प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयलेसमेत आवश्यक सहजीकरण गरिरहेको छ । प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालमा विद्युत आपूर्ति गरिएको बताए । यादवले घर भत्किएको ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । उनले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमितरुपमा आपूर्ति भइरहेको पनि बताए । रासस