मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप २ दिन समय थपिएको थियो । मुस्ताङमा नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । मुस्ताङमा आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा तुवाँलो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरुमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
९.७७ अर्बको पेट्रोलियम पदार्थ आयात, ४.७४ अर्ब रुपैयाँ राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ४ अर्ब ७२ करोड ६ लाख रुपैयाँ पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, ६ महिनाको अवधिमा १ अर्ब २४ करोड ७ लाख रुपैयाँ पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ पर्ने ४ हजार ११२ किलोलिटर एटिएफ र ९ करोड ५ लाख रुपैयाँ पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।
आँखा उपचार केन्द्रलाई २.२० करोडको उपकरण हस्तान्तरण
काठमाडौं । आँखा उपचार केन्द्र लालबन्दी सर्लाहीलाई लायन्स क्लब इन्टरनेसनलले २ करोड रुपैयाँ भन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँको अत्याधुनिक उपकरण हस्तान्तरण गरे । स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए । क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौंस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उनले बताए ।
दलितको जनसङ्ख्या १३ प्रतिशत, निर्वाचनमा उम्मेदवार ६ जना मात्रै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया-२ बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा-२ बाट पदम विश्वकर्मा र कञ्चनपुर-३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके-३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैंक बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै आएको टिप्पणी गरे । ‘पार्टीभित्र दलित नेताको योगदान अरू समुदायको जत्तिकै हुन्छ, तर निर्वाचनको समयमा उनीहरूले टिकट पाउँदैनन् । टिकट दिँदा नै एक प्रकारको विभेद हुँदै आएको छ, दलितको जनसङ्ख्यालाई हेर्ने हो भने पनि १३ प्रतिशत छ,’ उनले भने । नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का अध्यक्ष विन्दु परियारले परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल कांग्रेस, मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेसी आदिको अधिकारका लागि सङ्घर्ष गरिरहेको दाबी गर्ने नेपाली कम्युनिष्ट पार्टी र एमाले नै दलितप्रति अनुदार देखिएको टिप्पणी गरिन् । यसरी दलित समुदायलाई प्रत्यक्षमा टिकट नदिनुले प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने देखिन्छ । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था जस्तै दलितको सवालमा पनि अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विसं २०७९ को प्रतिनिधिसभामा १५ जना (५.८१ प्रतिशत) को प्रतिनिधित्व रहेको थियो । विसं २०६४ को संविभानसभामा ५० जना दलित (८.३२ प्रतिशत) को उपस्थिति थियो । २०७० सालको संविधानसभामा ४० जना (६.६५ प्रतिशत) र २०७४ सालमा प्रतिनिधिसभामा २० जना (७.२७ प्रतिशत) रहेको थियो । यो सङ्ख्या हेर्ने हो भने संसद्मा दलितको प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिन्छ । ५९ जनाको राष्ट्रिय सभामा ८ जना मात्रै दलितको सहभागिता छ । संविधानको धारा, ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था हुनेछ भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।
निर्वाचनमा बढ्दो आकर्षण : तीन हजार बढी उम्मेदवार मैदानमा
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । २०७९ सालमा भने दुई हजार ४१२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए । यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५८३, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० र ६५ वर्षभन्दा माथिका २०१ जना छन् । सुशासनको मुख्य नारा लिएर भएको जेनजी आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित
काठमाडौं । पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ । बुधवार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको हो । यही माघ ९ गते बोलाइएको राष्ट्रिय सभा बैठकमा पेश गर्नेगरी सो मस्यौदा प्रतिवेदन पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले बताए । उनले भनिन्, ‘हामीले यो पर्यटनसम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथिको छलफल सकेर यसको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्यौं । राष्ट्रियसभाको नौ गते बस्ने बैठकमा यसलाई पेश गर्नुपर्ने भएकाले यसलाई पारित गरिएको घोषणा गर्दछु ।’ बैठकमा समितिका सदस्यहरूले नेपाल पर्वतारोहण संघलाई एकाधिकार दिन नहुने, युद्ध पर्यटनसम्बन्धि अवधारणामा जेन–जी आन्दोलनलाई पनि सम्बोधन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संघीयतामा कुनैपनि एउटा संस्थालाई मात्रै एकाधिकार दिने कुराको पक्षमा सरकार नभएको स्पष्ट पारेका थिए ।
मलेसियाको विस्टर्न कम्पनीले शून्य लागतमा ८०० नेपाली लैजाने
काठमाडौ । मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शून्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ । सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष गरी ४०० जना तथा लालधनुषबाट समेत ३०० महिला र १०० जना पुरुष गरी ४०० जना मलेसिया जाँदैछन् । श्रमिक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढिसकेको समेत उनले जानकारी दिए ।