विकासन्युज

लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो हावा चल्ने, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

काठमाडौं । निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार सबै पेसाकर्मीले सङ्गठित हुने र रोजेको सङ्गठनको सदस्य हुन पाउने गरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्तिमार्फत् सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा मजबुत बनाउन समेत आग्रह गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ११ गते शुक्रबार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन, २०८१ बमोजिम आवश्यक सुझावका लागि सार्वजनिक गरेको छ । संयुक्त रूपमा माग गर्नेहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन् । 

वन्यजन्तुमैत्री नहुँदा सिक्टाको मूल नहरमा फस्छन् सयौं वन्यजन्तु

काठमाडौं । बाँके जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै हरेक दिन जसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लो पटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चारवटा चित्तल फसेका थिए । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका-२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागवण्डा गरेर घरतिर जाँदै गर्दा स्थानीय ३ जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए । डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।  ‘सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ,’ वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, ‘नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौं वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँ पटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।’ वन्यजन्तुलाई पानी पिउनका लागि वन जङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् । सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका-२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।

सडक पुल बनेपछि एक सय बढी झोलुङ्गे पुल प्रयोग विहीन

काठमाडौं । बागलुङको काठे खोला गाउँपालिका-२ भीमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा ७ वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए । तर, बर्खामा खोला ठूलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा ३ करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चे गरेर मोटर चल्ने पुल निर्माण गरेपछि सँगैको झोलुङ्गे पुल प्रयोग विहीन बनेको छ ।  डुडियाघाटमा जस्तै जिल्लाभर एक सय बढी झोलुङ्गे पुल प्रयोग विहीन बनेका छन् । सडक सञ्जाल विस्तारका कारण गोरेटो बाटो प्रयोग हुन छाड्दा र पक्की पुल बनेपछि ती झोलुङ्गे पुल प्रयोगमा आउन छाडेका हुन् ।   प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठे खोलामा मात्रै हालै तीनवटा पक्की पुल बनाइसकेको छ । गाउँपालिका-६ बिँहु र वडा नं २ भीमपोखरा जोड्ने गरी लामाबगरमा तीन वर्षअघि निर्माण भएको ३ करोड ३१ लाख रुपैयाँ लागत पक्की पुल बनेपछि सँगैको झोलुङ्गे पुल प्रयोगमा आउन छाडिसकेको छ । काठे खोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगमा आउन छाडेको बताए । ‘काठे खोला गाउँपालिकामा मात्र पछिल्लो तीन वर्षमा तीनवटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेका झोलुङ्गे प्रयोगमा आउन छाड्यो,’ थापाले भने, ‘पक्की पुल नबन्दासम्म त यात्री झोलुङ्गे पुलबाट र सवारीसाधन खोलाबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने सम्भावित क्षेत्रमा झोलुङ्गे पुल स्थानान्तरण गर्न योजना बनाएको छ ।’ सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोक मार्गको बागलुङ खण्डका दर्जन बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन् । गलकोट नगरपालिका-११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दी खोलामा पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट मानिस वारपार गर्ने छाडे । त्यसपछि सो पुलको लठ्ठामा खिया लागेको छ ।  स्थानीय नवीन रानाका अनुसार जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन पक्की पुलका कारण १० वटा झोलुङ्गे पुल विस्थापित भएका छन् । जिल्लामा ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको छ । 

जुम्लामा इ–पेन्सन सेवा सुरु, काठमाडौं जाने बाध्यता हट्यो

काठमाडौं । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ-पेन्सन सुरु गरिएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।  सो सेवा अन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिएका छन् । कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताए ।  इ-पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौं जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ । 

दुई दिनमा बागमती र मनोहरा किनारका १ हजार २७२ संरचना हटाइए, बाँकी घरटहरा सोमबार भत्काइने

काठमाडौं । काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौं महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौंको थापाथली, गैरीगाउँ-बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो ।  ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर र मनोहरा बस्ती (भक्तपुर) मा ३६५ घरटहरा भत्काउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।  शनिबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका १४३ घरटहरा भत्काइएको थियो । जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका ती संरचना भत्काइएपछि घरबारविहीन बनेका ३४ परिवारका ११५ सदस्यलाई काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग भवन कीर्तिपुरमा राखिएको छ  ।  यस्तै गैरीगाउँ-बानेश्वर क्षेत्रमा रहेका ५७८ मध्ये शनिबार ५६० घरटहरा भत्काइएको थियो । सुरक्षाकर्मीको टोलीले आज (आइतबार) थप पाँच वटा घर टहरा भत्काएको छ । सो क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी छ । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रका अतिक्रमित संचरना हटाउन सुरक्षाकर्मी खटिइएको थियो ।  आइतबार मनोहरा जडिबुटी (काठमाडौं) तर्फ ११४ घरटहरा भत्काइएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्दाजी ६०० जना बसोबास गर्दै आएका थिए । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै मनोहरा बस्ती (भक्तपुर) तर्फका ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा भत्काइएको छ ।  मनोहरा नदी किनारामा आज (आइतबार) बिहान १०ः०० बजेदेखि काठमाडौं महानगरपालिकाका सात वटा डोजरको सहायताले अतिक्रमित संरचना भत्काउन थालिएको थियो । वर्षाका कारण आजको संरचना भत्काउने कार्यलाई स्थगित गरिएको र बाँकी संरचना सोमबार हटाउने तयारी गरिएको छ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकताअनुसार व्यवस्थापन सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाको प्रबन्ध मिलाएको छ ।  ‘सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ ’, सहरी विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पु¥याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ । ’ काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन  नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । यसैबीच, अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा लगिएका बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर न्यूनीकरण गर्न (सोमबार) भोलिदेखि काठमाडौं महानगरपालिकाले उनीहरूका लागि खेल तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । महानगरको सामाजिक विकास विभागअन्तर्गत सो कार्यक्रम सञ्चालन हुनेछ ।

चट्याङका कारण एक घर खरानी, ६ सदस्यीय परिवार घरवारविहीन

काठमाडौं ।  गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।      घटनाको जानकारी पाएपछि प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको छ ।  घटनास्थल प्रहरी चौकी धुर्कोटबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।   

असिनापानीले बिथोल्यो मनोहराको डोजर अभियान: ७० प्रतिशत अनधिकृत संरचना भत्काइयो, बाँकी सोमबार भत्काइने

काठमाडौं ।  भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ । आज (आइतबार) बिहान १०ः०० बजेदेखि काठमाडौं महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो । पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।  आज भत्काउन बाँकी भएका संरचनालाई भोलि (सोमबार) भत्काइने जानकारी दिँदै उहॉँले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गरे । आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।  सोमबारसम्म सबै संरचना भत्काइने उनले बताए । यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै उनले त्यहाँबाट उनीहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गरे ।