काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ;साना सवारी साधनको दर्ता प्रक्रिया खुला गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार बजेट प्रस्तुत गर्दै यस्ताे बताएका हुन् ।
सरकारले सवारी साधन अनुमति पत्र र ब्लूबुकसम्बन्धी सेवाका लागि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्ने घाेषणा पनि गरेकाे छ । अब यी सबै सेवा नागरिक एपमार्फत अनलाइन प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।
सार्वजनिक सेवा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यसहित सेवाग्राहीले आफ्ना कागजात तथा सेवा अवस्थाको जानकारी अनलाइनमै हेर्न सक्ने व्यवस्था गरिने बजेटमा घाेषणा गरिएकाे छ ।
सार्वजनिक यातायात क्षेत्रमा पनि सुधार गर्ने उद्देश्यले नियमित यान्त्रिकीकरण गर्ने र त्यसमा निजी क्षेत्रसँग समन्वय गर्ने नीति लिइएको छ । साथै आवश्यकताका आधारमा साना सार्वजनिक सवारी साधनको दर्ता खुला गर्ने घोषणा गरिएको छ ।
सडक सुरक्षा सुधार गर्न चालकको क्षमता विकास तथा सडक सचेतना अभियान सञ्चालन गरिनेछ । यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने प्रक्रियालाई सहज बनाउन आवश्यक सहजीकरण गरिने सरकारले जनाएको छ ।
श्रम व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेशका सबै स्थानीय तहमा श्रमिक दर्ता केन्द्र स्थापना गरिनेछ। यसबाट श्रमिकको तथ्यांक संकलन र सेवा पहुँचमा सुधार हुने अपेक्षा गरिएको छ ।
युवालाई रोजगारी र उद्यमशीलतामा जोड्न बजारको मागअनुसार सीप विकास तालिम सञ्चालन गरिनेछ । विभिन्न तालिम संस्थासँगको समन्वयमा युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ उन्मुख गराइने बजेटमा उल्लेख छ ।