विकासन्युज

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा, राष्ट्रिय आविष्कार केन्द्रलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डा. महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि सो रकम बराबरको सहयोग गरेको हो । बैंक १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश छ । सो अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ । यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आश्रम तथा बृद्धा आश्रममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकालले सधैं गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र कैलाली टिकापुरको ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच भएको हो । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले उक्त अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट पाउने छन् । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको फस्यो ४९ करोड रुपैयाँ कर्जा

काठमाठौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेको ४९ करोड रुपैयाँ कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नु परेको छ । बैंकको गत असारसम्मको तथ्याङ्क अनुसार ४८ करोड ९२ लाख ६९ हजार रुपैयाँ खराब कर्जा छ । बैंकको उक्त कर्जा वापत शतप्रतिशत कर्जा नोक्सानी (प्रोभिजनिङ) गर्नु परेको हो । सो वापत बैंकले ४६ करोड २२ लाख ५३ हजार रुपैयाँ कर्जा नोक्सानीमा छुट्याएको हो । २०८० असारसम्म बैंकले ९५ अर्ब ७ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा कर्जा नोक्सानी वापत २ अर्ब २० करोड ९२ लाख रुपैयाँ छुट्याएको बैंकले जनाएको छ । ९० अर्ब ३८ करोड ७८ लाख रुपैयाँ कर्जामा १.३ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा राखेको छ । यस्तै, ३ अर्ब ५० करोड ७४ लाख रुपैयाँ कर्जा वाच लिष्टमा छ । सो कर्जामा बैंकले ५ प्रतिशत अर्थात् १७ करोड ४९ लाख १९ हजार रुपैयाँ कर्जा नोन्सानीको व्यवस्था गरेको छ । यस्तै, पुनरसंरचना गरेको ५ करोड ७१ लाख रुपैयाँ कर्जामा १२.५ प्रतिशत अर्थात् ७१ लाख ४९ हजार रुपैयाँ नोक्सानी राखेको छ । बैंकको ४५ करोड ६ लाख १४ हजार रुपैयाँ कमसल छ । सो कर्जामा २५ प्रतिशत अर्थात् ११ करोड २६ लाख ५३ हजार रुपैयाँ नोक्सानी राखेको बैंकको भनाइ छ । यस्तै, बैंकको शंकास्पद कर्जा १ करोड ७७ लाख ९६ हजार रुपैयाँ छ । सो कर्जामा बैंकले ५० प्रतिशत अर्थात् ८ करोड ८९ लाख ६३ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो । लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु-महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने

काठमाडौं । अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने भएको छ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिपप्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरेको हो । साथै, उक्त स्थानमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रायोजनका लागि राखिएको पाइएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने बुढासुब्बा डिजिटलले एक सूचनामार्फत जानकारी गराएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको उर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए । उनले दुई देशका उर्जा सचिवहरुका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए । त्यस्तै नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ । त्यसैगरी काठमाडौंस्थित भारतीय दुतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमती भएको उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीनवटा प्रशारण लाइनको उद्घाटन भएको बताए । उनले भैरहवा, रक्सौल-परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा-कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल-भारतका बीचमा उर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए । घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा उर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए ।

डा. मनिष थापा नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । कोस्टारिका सरकारले डा.मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको छ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै कोस्टारिका सरकारले डा.थापालाई उक्त पदमा नियुक्त गरेको हो । यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने बताइएको छ । नेपाल र कोस्टारिकाबीच अगस्ट १६, १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । डा. थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिनेछ । नेपाल र कोस्टारिकाबीचको सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ, जहाँ दुवै राष्ट्रले विकास र पारस्परिक लाभका लागि पर्याप्त सम्भावना देख्छन् । अवैतनिक वाणिज्यदूतको हैसियतमा डा. मनिष थापाले नेपाल र कोस्टारिकाबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढाव उनले प्रयास गर्नेछन् । कोस्टारिका सरकारले डा. थापालाई बधाई दिँदै नेपालसँग समृद्ध साझेदारीको अपेक्षा गरेको छ । यसले डा. थापाको पहल र द्विपक्षीय सम्बन्धलाई अटल समर्थन देखाउँछ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन डा. मनिष थापाले महत्वपूर्ण भूमिका खेलेको इतिहास छ । उनको प्रयासमा कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रूपमा सेवारत रहँदा अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई सहजीकरण गरेका थिए । यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत कार्यालय ग्लोबल इक्विटी फण्डको कार्यालय सानेपामा अवस्थित छ । जसले कोस्टारिका र नेपाली नागरिक दुवैलाई आवश्यक कन्सुलर सेवाहरू उपलब्ध गराउने छ, जसले दुई राष्ट्रहरू बीचको महत्वपूर्ण पुलको रूपमा काम गर्नेछ । डा. थापाले सरकारी अधिकारीहरू, व्यवसायी नेताहरू र सांस्कृतिक संस्थाहरूसँग सहकार्य र वृद्धिका नयाँ मार्गहरू खोज्न सक्रिय रूपमा संलग्न हुने अपेक्षा गरिएको छ । नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतका रूपमा डा. मनिष थापाको नियुक्ति दुवै देशको कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई विस्तार र सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ ।

तारे होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्ने अन्तिम तयारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह गरेका छन् । होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिने भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकता दिँदै उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको हो । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई उड्यन समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै महत्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रायले मन्त्रीस्तरिय निर्णय गर्दै पर्यटन मुलक क्षेत्रमा रहेको ठूला तारे होटललाई औद्योगिक व्यवसाय ऐन २०७६ अनुरुप राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा वर्गिकरण गरिने भन्दै कानुन मन्त्रालय, अर्थ र उद्योग मन्त्रालयसँग राय माग गरेको थियो । सोही अनुरुप उद्योग मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सहमति प्रदान गरिसकेको छ भने अर्थले पनि राय पठाउने तयारी गरेको छ । यस्तै, महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजिकरण गरिदिन समेत माग गरेको छ । हाल ऐनमा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको भन्दै सो सम्बन्धमा तत्काल सहजिकरण गरिदिन माग गरेको छ । साथै, अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने र हाल संचालनमा रहेका होटलहरुबाट पनि बाहिरिने अवस्था सिर्जना भएको महासंघले जानकारी दिएको छ । होटल व्यवसायको सम्बन्धमा उक्त समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले होटल व्यवसाय सम्बन्धी विभिन्न संघ, संस्थाहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार परेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए । सोही अनुरुप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरी निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । साथै उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै होटल व्यवसायलाई पर्यटनमूलक उद्योगको वर्गमा पर्ने तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ । सोही अनुरुप महासंघले यस अघि अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलुकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा भन्दै सरकारको तर्फतबाट नीतिगत तहमा सहजिकरण गरिदिनुपर्ने बताएका थिए । भेटमा कानुनमन्त्री गुरुङले विदेशी पर्यटक भित्र्याउने ठूला तारे होटलाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफुले पहल गर्ने बताएका छन् । साथै उद्योग व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफु सकारात्म रहेको समेत उनले जानकारी दिए । अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति वस्नेत, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, पर्यटन बार्डका प्रमखु कार्यकारी अघिकृत धनन्जय रेग्मीलगायतका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।