त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो । योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारस्थित समितिको कार्यालयमा दरखास्त पेस गर्न आह्वान गरिएको हो । इच्छुक आवेदकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण ३ प्रति, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । यसैगरी विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पनि बुझाउनु पर्ने छ । यसैगरी बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धी सोचपत्र तीन प्रति र बढीमा ५ हजार शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि पेश गर्न भनिएको छ । गत कात्तिक १६ गते प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।
सिटिजन लाइफले लाभांश पारित गर्न डाक्यो साधारणसभा, २ सञ्चालकको निर्वाचन गर्ने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा माघ १४ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । यस्तै, बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख पुग्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २९ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेको इन्स्योरेन्सले माघ १२ गते बोलायो २८औँ वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा
काठमाडौं । नेको इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८औँ वार्षिक साधारणसभा माघ १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । जसको लागि वर्तमान लेखापरीक्षक एम.आर.यु. एसोसिएट्स, चार्टर्ड एकाउण्टेण्ट्स् पुनः नियुक्तिको लागि योग्य रहेको कम्पनीले जनाएको छ । आगामी ४ बर्षको लागि १ जना महिला सहित संस्थापक समूह कबाट २ जना र सर्वसाधारण समूह खबाट ३ जना गरी ५ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।
हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण गर्दै
काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो । बैंकका अनुसार नेपालगञ्ज, चावहिल, न्यूरोड, जावलाखेल, स्वयम्भु, भैरहवा, बनेपा र नारायणगढ शाखाको सेफ डिपोजिट लकर स्थानान्तरण गरिने बैंकले जनाएको छ । सेफ डिपोजिट लकर स्थानान्तरणको क्रममा सामाग्रीहरु टुटफुट हुनसक्ने भएकाले आफ्नो लकरमा रहेका सामाग्रीहरू स्थानान्तरण अवधिभरका लागि निकाली सहयोग गर्न बैंकले अनुरोध गरेको छ । उक्त समयमा ननिकालेको सामाग्री स्थानान्तरणको क्रममा टुटफुट भई हानी नोक्सानी भएमा बैंक जवाफदेही नहुने बैंकको भनाइ छ ।
३ प्रसारण लाइन एकैपटक सञ्चालन, १५ हजार मेगावाट बिजुली निर्यात गर्ने
काठमाडौं । नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका ३ वटा प्रसारण लाइनको उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमनत्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि बिहीबारदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा व्यापारका निम्ति उपलब्धिपूर्ण भएको बताए । उनले दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा महत्वपूर्ण काम भएको बताए । ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन् । परवानीपुर–रक्सौल, कुशाहा कटैया प्रसारण लाइनको एक÷एक वटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरेर डबल सर्किट गरिएको छ । बिहीबारदेखि सञ्चालन भएका प्रसारण लाइनको क्षमता १३२ किलोभोल्ट छ । ती प्रसारण लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली प्रवाह हुँदै आएको थियो । दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली प्रवाह गर्न सहज भएको छ । यसैगरी, न्यू नौतनवा मैनाहिया १३२ केभी प्रसारण लाइनको पनि बिहीबारनै उद्घाटन भएको छ । डबल सर्किट क्षमताको सो प्रसारण लाइनबाट दुई सय मेगावाट बिजुली प्रवाह हुनेछ । मन्त्री बस्नेतले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्बन्धमा भएको सहमतिलाई ‘ब्रेकथ्रु’को संज्ञा दिए । नेपाली बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाएको र यसले लगानीको थप वातावरण बनेको राससलाई बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणमा क्रममा व्यक्त प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गर्दै मन्त्री बस्नेतले थप विद्युत् भारत निर्यात गर्न योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । सम्झौता बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै क्षेत्रले सहज रुपमा अब विद्युत् व्यापार गर्न बाटो खुलेको छ । सम्झौताको अवधि २५ वर्षको रहेको छ । प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । क्षेत्रीय व्यापारलाई अझै वृद्धि गर्दै, दुई मुलुकबीच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनलाई प्रयोग गरिने भएको छ । हाल ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ । सो प्रसारण लाइनबाट हाल ८ सय मेगावाट बिजुली आयातनिर्यात गर्न सकिनेछ । सो प्रसारण लाइनको क्षमता वृद्धि गरेर १ हजार मेगावाट बराबर बनाउने सम्बन्धमा सहमति भइसकेको छ । सन् २०२५ को मे सम्ममा न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सो प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावमा नानपारा–कोहलपुर १३२ केभी प्रसारण लाइनको विषय पनि समावेश छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको क्षमता उपयोगका बारेमा पनि सहमति भएको छ । नेपालले सो प्रसारण लाइनको उपभोग गरेर थप बिजुली भारत निर्यात गर्न सकिने बताउँदै आएको छ । अरुण तेस्रोको हाल भौतिक प्रगति ६५ प्रतिशतमाथि छ । यसअघि नै प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेका चार सय केभी क्षमताको दोदोधारा– बरेली र इनरुवा– पूर्णीया प्रसारण लाइन निर्माण हुनेछ । सन् २०२८ सम्म ती प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले सन् २०३५ सम्म कूल २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना तयार पारिसकेको छ । सो कार्ययोजनामा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखको छ । सोही लक्ष्यअनुसार सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने लक्ष्य लिएको मन्त्री बस्नेतले बताए । चालु आवको अन्त्यसम्म भारतबाट आयात गरिने बिजुली र नेपालबाट निर्यात हुने बिजुलीको मात्रामा गुणात्मक बदलाव आउने मन्त्री बस्नेतको भनाइ छ । “यसवर्षदेखि हामी आयातभन्दा बढी निर्यात गर्ने स्थानमा पुग्नेछौ ” उनले भने, “एकाध वर्षपछि हामी पूर्ण रुपमा बिजुली निर्यातक देशका रुपमा परिवर्तन हुनेछौँ ।” नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षमा १५ अर्ब २७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । यो आफैँमा महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, “हामीले निर्यातलाई मात्रै जोड दिएका छैनौँ । आन्तरिक खपतलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ ।” प्रधानमन्त्रीले आगामी डेढ वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा बिजुली पु¥याउने लक्ष्य सार्वजनिक गरेका छन् । सोही आधारमा मन्त्रालयले योजना बनाएर कार्यान्वयन गरिरहेको मन्त्री बस्नेत बताउनुहुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतसँग आज भएको सम्झौता र प्रसारण लाइन सञ्चालनबाट द्विदेशीय बिजुलीको व्यापारका लागि ‘बजार’ सुनिश्चित भएको प्रतिक्रियालाई दिए । उनले बजार सुनिश्चित भएकाले ऊर्जा उत्पादनमा लगानी विस्तार हुने विश्वास व्यक्त गरे ।
होटल व्यवसायलाई उद्योग सरहको सुविधा माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ । महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए । कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए ।
नेपाल-भारत सम्झौता : १० हजार मेगावाट विद्युत् व्यापारदेखि नवीकरणीय उर्जा क्षमता विकाससम्म
काठमाडौं । नेपालको विद्युत् भारतमा व्यापार गर्नेदेखि नवीकरणीय उर्जाको विकासमा एकआपसमा सहकार्य गर्ने लगायतका विभिन्न विषयमा नेपाल भारत स्तरीय सम्झौता भएको छ । बिहीबार उर्जा जलश्रोत तथा सिंचाई सचिव गोपाल प्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल बीच नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरे भने नवीकरणीय उर्जाको विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सहकार्य गर्न नेपाल विद्युत् प्रधिकरण र एनटिपीसी भारत बीच एमओयु सम्झौता भयो । नेपालका परराष्ट्र मन्त्री एनपी साउद, भारतीय समकक्षी विदेश मन्त्री एस जयशंकर र नेपालका उर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा भएको सम्झौता समारोहमा तीनवटा प्रसारण लाइनको उद्घाटन र नवीकरणीय उर्जा को विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सम्झौता भएका हुन् । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता नविनराज सिंहका अनुसार सम्झौता बमोजिम आपसी हित हुने गरी नेपाल भारत बीच दीर्घकालिन विद्युत् व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई अझ वृद्धि गर्ने र दुई मुलुक बीच विद्यमान, कार्यन्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रशारणलाई महतम उपयोग गरिने छ । दुवै पक्ष बीच विद्युत् निर्यातको परिमाण १० बर्षमा १० हजार मेगावाटसम्म पु¥याउने तथा यसको लागि आवशयक विद्युत् उत्पादन तथा प्रशारण संरचनाहरुको निर्माण र विकास गर्ने विषयमा सम्झौता भएको प्रवक्ता सिंहले बताए । सम्झौताको अवधि २५ वर्ष हुने र सम्झौता प्रत्येक १० वर्षमा स्वतः नविकरण हुने उनको भनाइ छ । ‘यस सम्झौता बमोजिम सम्झौताको अवधि वा द्वीपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा प्रशारण लाइनको क्षमताको आधारमा कुनै पक्षले पेश गरेको प्रस्तावको आधारमा नेपाल भारत विद्युत् क्षेत्रको सहकार्यको लागि गठित जोइन्ट स्टेरिङ कमिटि÷जोइन्ट वर्किङ ग्रुपले गरे बमोजिम हुने छ’, प्रवक्ता सिंहले बताए । नवीकरणीय उर्जाको विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सहकार्य गर्न नेपाल विद्युत् प्रधिकरण र एनटिपीसी भारत बीच एमओयु सम्झौतामा नेपाल विद्युत् प्रधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक प्रदिप थिके र एनटिपीसी भारतको तर्फबाट अन्तर्राष्ट्रिय व्यापार जनरल मेनेजर डा. जतिंदर सिंह चाँडोकले हस्ताक्षर गरेका छन् । साथै, बिहीबार नै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार कुशाहा–कटैया, परवानीपुर–रक्सौल र मैनहिया–न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा गरे । कुशाहा (नेपाल) कटैया (भारत) १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर (नेपाल) रक्सौल (भारत) १३२ केभी सेकेण्ड सर्किट र मैनहिया (नेपाल)–न्यू नौतनवा (भारत) १३२ केभी प्रसारण लाइन रहेका छन् ।
विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त
काठमाडौं । रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो । अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्ने छन्। विदुषी राणा किरण सुज (गोल्डस्टार शूज)का कार्यकारी निर्देशक हुन् । उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । राणाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ । साथै उनको नियुक्तिसँगै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।