कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने
काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत (बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरु अनलाईन माध्यमद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह-सचिव विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
रोजीरोटीका लागि ७ महिनामा सयभन्दा धेरै देश पुगे ४ लाख बढी नेपाली
काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ७ महिनामा ४ लाख बढी नेपाली रोजीरोटीका लागि विश्वका एक सय बढी मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको ७ महिनामा अर्थात् माघ मसान्तसम्म ४ लाख २ हजार ४७७ जना नेपाली रोजीरोटीका लागि विश्वका १०७ भन्दा धेरै मुलुकमा पुगेका छन् । चालु आर्थिक वर्षको शुरुको महिना साउनमा ५५ हजार ५७५ जना ९३ वटा देशमा र भदौमा ५० हजार ८ सय ८४ जना १०२ वटा मुलुकमा रोजगारीका लागि नेपालीले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, असोजमा ५६ हजार २३५ जना ९९ वटा देशमा, कात्तिकमा ४३ हजार ६२२ जना १०४ वटा देशमा, मंसिरमा ६८ हजार २०१ जना १०७ वटा देशमा, पुसमा ६५ हजार ८ सय १३ जना विश्वका १०५ वटा देशमा र माघ महिनामा ६२ हजार १ सय ४७ जना नेपालीले विश्वका विभिन्न ९९ देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।
बिहीबारदेखि मौसममा सुधार हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको छ । आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । रासस
जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यूएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको आह्वान गरेका हुन् । उनले जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन निम्तो दिए । उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकोछ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरिएका थिए ।
कलेजोको टुक्रा जोड्ने डा. रमेशको संगीत मोह
काठमाडौं । एक पटक सोच्नुहोस् त, कलेजोको टुक्रा कसरी जोडिँदो हो ? एउटा मान्छेको शरीर चिरेर भित्री भाग कलेजो काटेर अर्को मान्छेको कलेजोमा कसरी राखिदो हो ? सोचे अचम्म । तर, चिकित्सकीय भाषामा नर्मल । किनकी स्वास्थ्य क्षेत्रको विश्व बजारमा अनेक किसिमका उपचार र प्रत्यारोपण सम्भव भइसकेका छन् । नेपालजस्तो विकासोन्मुख देशमा कलेजोको सफल प्रत्यारोपण गरिनु पनि ठूलो कुरा हो । आफ्नै अठोटले कलेजो प्रत्यारोपणको सुरुवात गरेका उनी अहिले नेपालमा आफ्नै नेतृत्वमा कलेजो प्रत्यारोपण गर्न सफल समेत भएका छन् । वि.सं २०७३ सालदेखि विदेशी विज्ञ डाक्टरहरूको सहयोगमा सुरु गरेको कलेजो प्रत्यारोपण ११औं प्रत्यारोपणमा पुगेर नेपाली डाक्टरको टीमले कलेजो प्रत्यारोपण गर्न सफल भयो । यसअघि गरिएका १० औं प्रत्यारोपण विदेशी चिकित्सकको नेतृत्वमा हुने गर्थे । यही माघ १८ गते नेपाली चिकित्सक नेतृत्वको टोली नै कलेजो प्रत्यारोपणमा सफल भयो । यसरी शरीरको अंग त्यसमा पनि महत्वपूर्ण कलेजोसँग खेलिरहने डाक्टरको मोह भने फरक पेशामा पनि उत्तिकै छ । पेशा डाक्टर, रहर अनेक । सबै रहर सबैको पुरा हुँदैनन् । तर, चटक्क रहर भुल्न पनि कहाँ सकिँदो रहेछ ? उनलाई दिनहुँ बिरामी र विद्यार्थीसँग व्यस्त रहनुपर्छ । बिरामीलाई उपचार गर्न र विद्यार्थीलाई सिकाउँदै उनका दिन बित्छन् । तर, बचेको समयमा उनी आफ्नै मोह तिर फर्कन्छन् । र, गाउँछन् कहिल्यै लय मिलाएर गीत त कहिले हान्छन् गोल । उनी अर्थात डाक्टर रमेशसिंह भण्डारी । भण्डारी त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा कलेजो प्रत्यारोपण सर्जन हुन् । भण्डारीको तपाईं फेसबुक वा ट्विटर (एक्स)मा साथी हुनुहुन्छ भने उनको संगीतमोह पक्कै थाहा होला । कहिले गिटारमा गीत गुनगुनाउँदै गरेको त कहिले फुटबल हानिरहेको फोटो/भीडीओ देख्न सकिन्छ । कलेजो काट्दै जोड्दै गर्ने डाक्टरमा संगीत मोह कसरी छायो ? डाक्टर भण्डारीलाई प्रश्न गर्दा उनी भन्छन्, ‘संगीत मेरो प्यासन हो ।’ डा.रमेशलाई सानैदेखि गीत गाउन खुब मन पर्थ्याे । फुटबलमा पनि उत्तिकै रुची । उनी दुई कक्षा पढ्दा म्युजिकमा पनि सहभागी हुन्थे । ‘मैले गाउँदा सरहरूले राम्रो छ भन्नुहुन्थ्यो, सबैले राम्रो भन्दा झन मिहिनेत गर्न मन लाग्थ्यो,’ उनी संगीत सिक्दाका दिनहरू स्मरण गर्दै सुनाउँछन्, ‘त्यो यात्रा अहिले पनि चलिरहेको छ ।’ उनले राम्रो गाएको सुन्दा एकजना संगीत शिक्षकले गीत रेकर्डको लागि रेडियो नेपाल लिएर गए । तर, विविध कारणवस् गीत रेकर्ड भएन । ‘गाउने र सुन्ने रहर सानैमा थियो । विद्यालयमा हुने हरेक कार्यक्रममा उनी गीत गाउँथे । कलेजमा पढ्दा उनको संगीत मोह झन बढ्दै गयो । कहिलेकाहीँ त कार्यक्रममा गाउन नदिँदा झगडा गरेरै भएपनि गीत गाउने गरेको अनुभव उनीसँग प्रशस्त छन् । २०५३ सालमा एमबीबीएस पढ्दा उनी र साथीहरू मिलेर एउटा गीत बनाएर रेकर्ड गरे । गीत थियो ‘चिसो चिसो हावा चल्छ, मनै रमाउने, मायाले मन पोल्न थाल्छ कसरी बुझाउने ।’ साथीहरूसँग मिलेर गीत रेकर्ड भएपछि काठमाडौंका विभिन्न रेडियोबाट गीत बज्यो । तर, समय उही रहेन । संगीतमा लाग्न पैसा र समय दुवै चाहिन्थ्यो । दुवै उनीसँग भएन किनकी उनी एमबीबीएस पढ्न तर्फ लागे । ‘एकातिर एमबीबीएस पढ्नु पर्ने गीततिर लाग्दा समय नै पुगेन । अर्को, पढ्ने बेलामा पैसा नहुँदा उनी गीत संगीतबाट टाढा भएँ,’ उनले भने । ‘पढ्नको लागि घरमा बुबाले पठाएको पैसा पढाइमा खर्च गर्ने कि गीतमा खर्च गर्ने समस्या भयो,’ उनी भन्छन्, ‘समय पनि भएन, पैसा पनि भएन, त्यो भन्दा यो क्षेत्रबाट टाढै रहुँ भन्ने लाग्यो पढाइमा ध्यान दिएँ ।’ फुटबलमा पनि प्यासन उनलाई गीत गाउन मात्र होइन, खेलकुदमा पनि उत्तिकै रहर छ । खेल खेल्न र हेर्न पनि उत्तिकै रुचि लाग्छ उनलाई । यो रुची बच्चैदेखि थियो । उनी स्कुलमा साथीसँग पनि किक्रेट, फुटबल, बास्केट बल खेल्थे । ‘मलाई सबै खेल्न मनपथ्र्यो,’ उनी भन्छन्, ‘खेलमा पनि अझै सजिलो फुटबल लाग्थ्यो, एउटा फुटबल भए साथीलाई जम्मा पार्दै मैदानमा कुदिहाल्थ्यौँ ।’ गीतजस्तै स्कुल पढ्दा मन पर्ने खेल खेलिए पनि कलेज पढ्दा भने खेल्न पाइएन । ‘कलेज पढ्दा पढाइतिर बढी ध्यान दिनुपर्थ्याे, त्यसैले पनि खेल खेल्न पाइएन,’ डाक्टरले भण्डारीले भने, ‘बीबीएस पढ्नुपर्यो , मास्टर्स गर्नुपर्यो , पढिसकेपछि जागिर गर्नै पर्यो , त्यसैले पनि टाढा हुनुपर्यो , अहिले भने बेला-बेला हामी फुटबल पनि खेल्छौँ ।’ उनी अहिले डाक्टरहरूकै टीम बनाएर फुटबल पनि खेल्ने गरेका छन् । ओलीको कविताका गायक चार वर्ष अगाडि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिस्क भएर शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा डाक्टर भण्डारीले अप्रेसन गर्नुप¥यो । सल्यक्रिया गर्दा आइसीयूमा ओलीसँगै डाक्टर रमेश पनि बस्नुपथ्र्यो । गफगाफ गर्दा उनले आफुले गाएको गीत ओलीलाई सुनाए । ओलीले डाक्टरको स्वर सुनेपछि भने, ‘आहा ! डाक्टरसाब त गीत पनि गाउनु हुँदो रहेछ, ल अभ्यास गर्नुहोस्, रेकर्डपनि गर्नुपर्यो भन्दै प्रोत्साहन पनि गर्नुभयो, मलाई फेरि गीत गाउनुपर्यो कि भन्ने लाग्यो,’ उनले सुनाए । ओलीको कुराले डाक्टरभित्र मर्न लागेको प्रतिभा ब्युतियो । आफ्नो स्वर परीक्षण गर्न डाक्टरले ‘कुन मन्दिरमा’ भन्ने गीतको कभर गाए । कभर गीत सुन्दा सबैले राम्रो छ भन्ने प्रतिक्रिया दिए । त्यसपछि केपी शर्मा ओलीले लेखेको ‘बन्छ नमुना नेपाल’ शिर्षकको गीत उनै डा. भण्डारीले गाए । बैतडीमा जन्म, अष्ट्रेलियामा पढाइ डा. रमेशसिंह भण्डारीको घर सुदूरपश्चिमको बैतडी जिल्लाको रोडीदेवल हो । बैतडीबाट पनि दूरमा रहेको रोडिदेवलमा जन्मेका उनी गाउँमा भने धेरै बसेनन् । गाउँको सम्झना उनलाई मधुरो मात्र छ । उनी पाँच वर्षको हुँदा काठमाडौं आए । उनी नर्सरीदेखि १० कक्षासम्म भिएस निकेतनमा पढे । उनलाई बैतडीको त्यति सम्झना छैन । तर, उनी जाडो बिदामा गाउँ जाँदाको भने केही याद छ । ‘काठमाडौँबाट गाउँ जाँदा सहरबाट आएको भन्दै छुट्टै फुर्ती लाइन्थ्यो’ उनी मुस्कुराउँदै भन्छन्, ‘साथीमाई जम्मा हुने, खेतमा उफ्रिने, खोलामा जाने, पौडी खेल्ने, माछा मार्न जाने गरेको याद खुब आउँछ ।’ आजभोली भने उनका बुबाआमा पनि कञ्चनपुर झरिसकेका छन् । उनी सुदूरपश्चिम गएपनि महेन्द्रनगरबाटै फर्केर आउनुपर्छ । गाउँलाई सम्झदै उनी भन्छन्, ‘धेरै वर्ष भयो जान पाएको छैन, अब मलाई म जन्मेको गाउँमा सानो भएपनि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी जान मन छ ।’ ‘म बैतडी नगए पनि शिक्षण अस्पतालमा जिल्लाको कोही बिरामी देख्दा मलाई गाउँ गएजस्तै अनुभव हुन्छ’ उनी भन्छन्, ‘मलाई उनीहरूको सेवा गर्न पाउँदा नै खुसी लाग्छ ।’ धरानबाट चिकित्सकीय पढाइ डा.भण्डारीले एमबीबीएस बिपी कोइराला मेमोरियल अस्पताल धरानबाट गरे । मास्टर सल्यचिकित्सबाट टिचिङ अस्पतालबाटै गरे । सर्जिकल ग्याष्ट्रो तीन वर्षको कोर्ष पनि टिचिङ अस्पतालबाटै गरे । सन् २०१० मा उनी अस्ट्रेलियाको रोयल अस्ट्रेलियन कलेज अफ सर्जनबाट छात्रवृत्ति पाएर अध्ययन गर्न गए । त्यहाँ उनले कलेजो प्रत्यारोपण सम्बन्धी थप सिक्ने अवसर पाए । त्यसपछि उनलाई लाग्यो- ‘म अब नेपाल फर्कदा स्वदेशमै कलेजो प्रत्यारोपण गर्न सक्ने गरी फर्कनुपर्छ ।’ अष्ट्रेलियामा पढाइ सके । र, नेपाल आइसकेपछि उनले किन नेपालमै कलेजो प्रत्यारोपण सुरु नगर्ने भन्ने सोचे र त्यही अनुसार अध्ययन गर्न थाले । उनले शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गर्ने कुरा गर्दा धेरे साथीहरूले कुरा पनि काटे । त्यो पल स्मरण गर्दै उनी भन्छन्, ‘धेरै साथीहरूले मेरो कुरा सुनेर हाँसे । तर, केहीले सम्भव छ भन्दै आत्मबल थपे । र, सबैभन्दा पहिले म आफू तयार भएँ ।’ उनले कसरी नेपालमै काम गर्न सकिन्छ र त्यसका लागि कति जनशक्ति चाहिन्छ ? उपकरणहरू के चाहिन्छ ? भन्ने विषयमा अध्ययन गरे । उनले यो विषयमा आफू पढेको अस्ट्रेलियाका प्रोफेसरहरूसँग पनि सल्लाह लिए । उनीहरूले रमेशलाई अस्ट्रेलिया बोलाए । उनी सन् २०१४ मा फेरि अस्ट्रेलेलिया गए । उनले एक वर्ष त्यहाँ कलेजो प्रत्यारोपणबारे अध्ययन गरे । एक वर्षपछि नेपाल फर्केर उनले टिम बनाउन सुरु गरे । त्यसपछि सुरु भयो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण । ‘जुनदिन पहिलो प्रत्यारोपण सफल भयो, त्यो दिन सबैभन्दा खुसी भएँ’ उनी भन्छन्, ‘मैले कलेजो प्रत्यारोपण सम्भव छ, मैले गर्छु, साथ दिनुस् भन्नेहरूपनि त्यो दिन बधाइ दिन आए, त्यसले थप ढाडस दियो, फेरि मिहिनेत गर्नुपर्छ भन्ने आत्मविश्वास आयो ।’ ६ वर्षमा उनले ११ जनाको कलेजो प्रत्यारोपण गरेका छन् । कलेजो प्रत्यारोपण सबैन्दा जटिल मानिन्छ । नेपालमा सबैभन्दा पहिले कलेजो प्रत्यारोपण मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सुरु भएको थियो । त्यसपछि भरतपुरको एउटा मेडिकल कलेजमा सुरु भएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो पत्यारोपण भइरहेको छ । एमबीबीएसपछि उनले सल्यचिकित्सा पढे । सल्यचिकित्सा भित्र धेरै विषय हुन्छन् । उनले त्यसमध्ये ग्याष्ट्रो सर्जरीमा अध्ययन गरे । ग्याष्ट्रो सर्जरी भित्र पनि पेट, आन्द्रा र कलेजो लगायत विभिन्न अंगको छुट्टाछुट्टै अध्ययन गरिन्छ । रमेशलाई सबैभन्दा कलेजोमा रुचि लाग्यो । त्यसपछि उनी पढ्न विदेश तिर लागे । सल्यचिकित्सा सर्जरीमा सबैभन्दा ठूलो काम भनेको कलेजो पत्यारोपण हो । कुनैपनि काम गर्दा चुनौतीका पहाड हुन्छन् । तर, ती चुनौतीलाई चिर्न सक्नुपर्छ । यसो गर्न सक्नु नै सफलता हो । उनले सरकारबाट सुप्रवल जनसेवा श्री पदक पनि पाएका छन् । डाक्टर रमेशले पनि धेरै चुनौतीसँग सामाना गर्नुपर्यो । उनी २००६ मा उनी सर्जन बने । सर्जन बनेको १८ वर्षमा उनलाई कहिल्यै पछुतो लागेन । तर, कहिलेकाँही दुःखी पनि हुनु परेको छ । आफूले गर्न लागेको काम सफल नहुँदा, बिरामीलाई सञ्चो बनाउन नसक्दा मनमा चिसो पस्छ । उनी अहिले गरिरहेको कामलाई निरन्तर अगाडि बढाउने सोचमा छन् । ग्याष्ट्रो सर्जनमा पनि कलेजो सर्जरीलाई अझ राम्रो बनाएर जाने योजनामा उनी छन् । पहिले त्यति धेरै कलेजोको सर्जरी हुँदैन थियो । अहिले कलेजोको ठूला सर्जरी पनि गरिन्छ । अब उनको लक्ष्य अस्पतालमा सुरु गरेको कलेजो प्रत्यारोपणलाई स्थापित गर्नुछ ।
१ अर्बको म्युचुअल फन्ड ल्याउँदै गरिमा क्यापिटल
काठमाडौं । गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउने भएको छ । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ । यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ ।
द्वारीकाज, बसेरा र ले हिमालयनले बेच्छन् म्याद गुज्रेका खानेकुरा, विभागले तिरायो जरिवाना
काठमाडौं । काठमाडौंका प्रतिष्ठित होटेलहरु होटेल द्वारीकाज, होटेल बसेरा र ले हिमालयनले ग्राहकहरुलाई म्याद गुज्रेका खानेकुरा बेच्ने गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार, मंगलबार र बुधबार गरेको अनुगमनको क्रममा ती होटेलले म्याद गुज्रेका खानेकुराहरु किचन र स्टोरमा राखेर ग्राहकलाई बेच्ने गरेको पाइएको हो । होटेल बसेराको केशरमहलमा रहेको रेष्टुरेन्टले ग्राहकलाई गुणस्तरहीन खानेकुरा भान्छामा भण्डारण गरेर ग्राहकलाई बेच्ने गरेको पाइएको विभागले जनाएको छ । त्यस्तै, होटेल द्वारीकाज र ले हिमालयन होटेलले पनि म्याद गुज्रेका खानेकुरा किचन र स्टोरमा राखेर बेच्ने गरेको पाइएपछि ती तीनै होटेलहरुलाई कारबाही गरिएको जनाएको छ । विभागले तिनै होटेलहरुलाई जनही ३ लाखको दरले जरिवाना गरेर म्याद गुज्रेका खानेकुरा जफत गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै
जाजरकोट । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उनले बताए । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । उनका अनुसार भेरी नगरपालिका–१ पिपेमा १०, नलगाड–३, ७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ । अन्य ठाउँमासमेत तालिमको व्यवस्था गरी जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन, पुनर्निर्माण गर्दा आउने समस्या समाधानका लागि उपभोक्ता हित संरक्षण कार्यालयले गाउँगाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिए । दश कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा हुने निर्माणमा सहयोग पुग्ने कार्यालयले अपेक्षा गरिएको छ । नलगाडमा तीन, भेरीमा दुई कलस्टरमा तालिममा दिइएको छ । अन्य पालिकामा पनि यही तालिका अनुसार सीप सिकाउने तथा तालिम दिने भडेलले बताए । दक्षजनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनु भन्दा स्थानीय युवालाई तालिम दिएर सीप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । बयालीस हजार पाँच सय २४ भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुनेछन् । छ हजार छ सय ३४ भेरीमा, नलगाडमा आठ हजार ९७, छेडागाडमा चार हजार दुई सय ५६, बारेकोटमा पाँच हजार पाँच सय ८६, कुशेमा पाँच हजार आठ सय ८७, जुनिचाँदेमा तीन हजार दुई सय ११ र शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ वटा घर निर्माण हुनेछन् । सोही सङ्ख्यामा अस्थायी आवास निर्माणको काम चलिरहेको छ । जिल्लामा १९ हजार सात सय एक मात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस