ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने
काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो । उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको लागि बैंकले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ ।
ज्योति विकास बैंकले नुवाकोटको विद्यालयलाई दियो दुई थान स्मार्ट बोर्ड
काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त सहयोग गरेको हो । बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरूमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरु प्रदान गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्ट बोर्डहरु हस्तान्तरण गरेका हुन् । आधुनिक विज्ञान र प्रविधि, नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि सक्रिय रूपमा योगदान गरिरहेको उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरुको कक्षा संचालन समेत गर्ने भएकाले सो स्मार्ट बोर्डहरुद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
आर्थिक गतिविधि सबैभन्दा धेरै गर्ने प्रदेशमा बागमती पहिलो
काठमाडौं । सात प्रदेशमध्ये पछिल्लो दुई वर्षमा सबैभन्दा बढी आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो देखिएको छ । बिहीबार नेपाल नीति अनुसन्धान संस्थानले सार्वजनिक गरेको सातै प्रदेशको नेपाल प्रतिष्पर्धा सूचकांक २०२४ ले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । नेपाल प्रतिष्पर्धा सूचकांक २०२४ अनुसार प्रदेश भित्र भौतिक पूर्वाधार, सूचना प्रविधि, उद्योग व्यापार व्यवसाय लगायतका क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि गर्नेमा बागमती प्रदेश पहिलो, दोस्रोमा कोशी, तेस्रोमा गण्डकी, चौथोमा लुम्बिनी, पाँचौंमा मधेश त्यसपछि सुदूरपश्चिम र कर्णाली प्रदेश रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल नीति अनुसन्धान संस्थान अनुसन्धान निर्देशक जयजङ महतले नेपालमा राजनीतिक कुरा धेरै भएकाले अब प्रदेशगत रुपमा आर्थिक गतिविधिका विषय प्राथमिकतामा राखेर नीतिहरु बनाउन सहज गराउने उदेश्यले अनुसन्धान गरिएको बताए । उनले बागमती प्रदेशमा काठमाडौं उपत्यका पर्ने भएकाले आर्थिक गतिविधिका हरेक सूचकहरुमा अनुसन्धान गर्दा पहिलो नम्बरमा रहेको बताए । उनले सात प्रदेशमध्ये आर्थिक क्रियाकलापमा वागमती प्रदेश र अन्य ६ प्रदेशमा ठूलो अन्तर रहेको देखिएको बताए । नेपालमा प्रदेश संरचना बनेको सात वर्षमा पनि विगतको अन्तर र अहिलेसम्म कम नभएको देखिएको जानकारी दिए । ग्रामिण आर्थिक गतिविधि चलायमान बनाएर मुलुकको अर्थतन्त्रलाई थप मजबुत बनाउनको लागि वागमती प्रदेशसहित सातै प्रदेशमा वृद्धि गर्न आवश्यक देखिएको बताए । मधेश धेरै सम्भावना भएको क्षेत्र भएपनि कम आर्थिक गतिविधि,डिजिटल प्रविधिको प्रयोग लगायतका विषयमा धेरै पछाडि रहेको जानकारी दिए । संघीयतामा मुलुक गएसँगै स्थानीय तहहरुले आर्थिक गतिविधिहरु बढाउन नसक्दा प्रदेशहरुको आर्थिक क्रियाकलाप वृद्धि हुन नसकेको देखिएको बताए । सबै भन्दा बढी ७७ वटा स्थानीय तह भएको मधेस प्रदेशमा समेत त्यो खालको आर्थिक क्रियाकलाप र व्यवसायीक वातावरण नबनेको अनुसन्धानले देखाएको छ । पछिल्लो समय स्थानीय तहहरुले पनि राजश्व संकलनमा वृद्धि गर्दै गएकाले आगामी दिनमा उत्पादनशिल क्षेत्रमा लगानी गरी स्थानीय तहसहित प्रदेशगत रुपमा आर्थिक गतिविधीमा प्रतिस्पर्धी क्षमता राख्ने अवस्था आउने अपेक्षा रहेको छ ।
राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकका अध्यक्षको सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक राष्ट्र बैंकले साधारणसभाबाट निर्वाचित अध्यक्ष नेपाललाई अध्यक्षका लागि तत्काल आयेग्य भन्दै अहिले काम नगर्न निर्देशन दिएको हो । गत पुसमा सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभाबाट उनी सञ्चालकमा निर्वाचित भएका थिए । निर्वाचनपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकले बैंक तथा वित्तीय संस्था ऐन बमोजिम नयाँ सञ्चालक तथा अध्यक्षहरूको जानकारी राष्ट्र बैंकलाई गराएको थियो । तर, राष्ट्र बैंकले नेपाललाई तत्काल अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै नखुवाएको हो । बैंक तथा वित्तीय संस्था ऐनको दफा २५ अनुसार सञ्चालकले आफू नियुक्ति भएको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ । सोही व्यवस्था अनुसार उनले जानकारी गराए पनि नागरिक लगानी कोषबाट बाहिरिए लगत्तै अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै रोकेको हो । राष्ट्र बैंकले उनीमाथि कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको बताएको छ । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था विभाग प्रमुख गुरु पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने व्यवस्था भए पनि उनले नलिएको धारणा राखे । राष्ट्र बैंकको नीतिअनुसार नै कामकारवाही अगाडि बढाएको तर्क पौडेलको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् पनि नेपाल अध्यक्ष थिए । तर, नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट स्वतः बाहिरिएका थिए । त्यसपछि भएको बैंकको साधारणसभाले पनि उनलाई सञ्चालकमा नियुक्त गरेको थियो । तर, राष्ट्र बैंकले ६ महिनाको कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको हो । उनले अब सो अवधिसम्मका लागि बैंकको बैठकमा उपस्थित हुन पाउने छैनन् । कुलिङ पिरियड सकिएपछि भने उनी राष्ट्र बैंकबाट सपथ लिएर अध्यक्षकोरूपमा काम गर्न पाउनेछन् ।
सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न अनुमति दिएको छ । अदालतले बिहीबार बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।
स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ५९१.६८ रुपैयाँलाई आधार मानेर हुने छ ।
काठमाडौंमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिए । काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।’ भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरे । ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ’, मौसमविद् कँडेलले भने । पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’ काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।’ रासस
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस