१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाउने विद्युत प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाहरुसँग जहिले र जतिपनि पीपीए गर्ने निर्णय गरेको हो । १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश : रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरुको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरुमा उत्पादन सम्मिश्रणका आधामा तय गरिएको पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए । ‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरुलाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने ‘अब ग्रिड आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए जति र जहिलेपनि गर्ने छौं ।’ १० मेगावाटसम्मका ८९ वटा आयोजनाहरुले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरुको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आवद्ध सम्झौता सम्पन्न भइसकेको छ । दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो । आरओआर आयोजनाहरुका लागि तय गरिएको अर्थात ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजनाहरु आरओआर छन् । प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पीपीए गरिसकेको छ । बढेको क्षमताको विद्युत् किन्ने प्राधिकरण सञ्चालक समितिले पीपीए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म बृद्धि भएमा पीपीएको सीमा लागू नहुने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पीपीए संसोधन गरिने बताउनुभयो । ‘२५ प्रतिशतसम्म क्षमता अभिबृद्धि भएमा ‘लिऊ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लिऊ र तिर’को व्यवस्था लागू हुन्छ, हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिबृद्धि हुनुका साथै आयोजनाहरुलाई लगानी जुटाउनसमेत थप सहज बनाउने छ ।’ सौर्य ऊर्जाको सीमा बढ्यो प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाहरुको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ । प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पीपीए भइसकेका आयोजनाहरुलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिश्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्ने छ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरुको पीपीए हुँदै आएको थियो । सौर्य आयोजनाको विद्युत् प्रतिश्पर्धाबाट खरिद गर्न प्रति युनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ । प्रतिश्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पीपीए गरिने छ । ‘नयाँ व्यवस्था बमोजिम करिब ८ सय मेगावाटका सौर्य आयोजनाहरुको पीपीए गर्न सकिने छ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरुको पीपीए गर्ने गरी प्रतिश्पर्धा गराउने छौं, जलविद्युत आयोजनाहरु निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरु एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ’,कार्यकारी निर्देशक घिसिङले भने ‘यसबाट सबस्टेसन वरिपरी रहेका जग्गाको पनि प्रयोग हुने छ ।’ प्राधिकरणले प्रतिश्पर्धाबाट हालसम्म १७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य आयोजनाहरु पीपीए गर्ने प्रक्रियामा रहेका छन् ।
२०८१ मा हुने बिदाको सूची प्रकाशन, कुन पर्वका लागि पाइनेछ बिदा ?
काठमाडौं । नेपाल सरकारले २०८१ सालको लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ । सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा सहिद दिवस र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । योसँगै सरकारले २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ । कहिले-कहिले छ बिदा ? [pdf id=463993]
११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाईदै
स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवन ज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवन ज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई विद्यालयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने गरिएको विद्यालयका प्रधानाध्यापक सामबहादुर गुरुङले बताए । ‘यस विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्यालयमै हुन्छन्’ उनले भने, ‘शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको छलफलबाट अतिरिक्त समयमा पनि विद्यार्थी विद्यालयमै रहने निर्णय गरेको हो ।’ अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई घरमा किताब पढाउन तथा सोधेका कुराहरू सिकाउन नसक्ने भएकाले विद्यालयमै राखेर सिकाउने गरिएको हो । बिहानदेखि साँझसम्म विद्यार्थीले सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान लिने गरेका छन् । अतिरिक्त समयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आयमूलक तरकारी, मौरी, च्याउ, फलफूल, सिलाइबुनाइलगायत सीप सिक्ने गरेका छन् । ‘बिहान ७ बजे विद्यालय आएका विद्यार्थी एकैचोटी साँझ साढे ६ बजे विद्यालयबाट घर जान्छन्’ उनले भने, ‘गृहकार्य पनि विद्यालयमै गर्छन्, जसले गर्दा नजानेका केही कुरा भए विषयसँग सम्बन्धित शिक्षकलाई प्रत्यक्षरुपमा सोध्न पाउँछन् ।’ जीवन ज्योतिमा विद्यालय समय १०–४ भन्ने छैन । बिहानदेखि साँझ अबेरसम्म दैनिक कक्षा सञ्चालन हुने गरेको छ । शिक्षकले बिहानैदेखि साँझसम्म तालिका मिलाएर अध्यापन गराउँदै आएका छन् । शनिबारको दिनमासमेत ‘सामाजिक आन्दोलन’ नाम दिई खेलकुद, नयाँ नयाँ खोज तथा रचनात्मक कार्य, नयाँ प्रतिभाको खोजी हुँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थी आफैँले आफ्ना लागि शैक्षिक सामग्री किन्न सक्ने बनाउन पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको उनले बताए। विद्यालयले च्याउ खेती, सिलाइबुनाइ, वेल्डिङ, मौरीपालन जस्ता काम गरिसकेका छन् । अब केही दिनमा नै ह्याचरीबाट कुखुराका चल्ला उत्पादन गरी विद्यार्थीलाई उपलब्ध गराउने तयारीमा विद्यालय रहेको छ । बिहानैदेखि साँझ अबेरसम्म विद्यालय सञ्चालन हुने भएपछि विद्यालयले एउटा सवारी साधन खरिद गरी सञ्चालनमा ल्याएको छ । स्याङ्जाको विकट ग्रामीण भेगमा रहेको जीवनज्योतिले शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । ग्रामीण भेगबाट बसाई सरी शहरी क्षेत्रमा जाने क्रमलाई रोक्न गाउँमै गुणस्तरीय शिक्षा दिने अभियान थालिएको उनले बताए । गण्डकी प्रदेश सरकारले दश लाख, बिरुवा गाउँपालिकाले रु। पाँच लाखको सहयोग र स्थानीय समुदाय, अभिभावक, शिक्षकले दिएको चन्दाबाट तीस लाखमा बस खरिद गरेको छ । विद्यालयमा दैनिक प्रधानाध्यापक फेर्ने गरिएको छ । शिक्षकभित्रैबाट दैनिक प्रधानाध्यापक फेरी आलोपालोमा प्रशासन चलाउने अभ्यास पनि जीवनज्योतिले गरेको छ । रासस
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो । आयोजनाका व्यवस्थापक राज विष्टले राहुघाटको ६ हजार २०० मिटरमध्ये हालसम्म ९४ प्रतिशत काम पूरा भएको राससलाई जानकारी दिए । अब ३८० मिटर सुरुङ खन्न बाँकी छ । ‘अडिट २ र ३ जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङमध्ये ३ हजार ८२२ मिटर खनिएको छ,’ उनले भने ‘सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु (वारपार)गर्ने तयारीमा छौ ।’ सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘आगामी वर्षको मार्चदेखि विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भैरहेको छ,’ उनले भने ‘सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ अघि बढाएको छ ।’ इलेक्ट्रोमेकानीकलसम्बन्धी काम गर्न २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद यस वर्षको नोभेम्बरसम्म थपिएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट निर्माण भइरहेको छ । २०७४ मंसिरमा ६ अर्बमा रुपैयाँ ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । आयोजनाले वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ रुपैयाँ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । सर्वोच्च अदालतको २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव परियोजनाका निम्ति चुनौती बनेको छ । रासस
६ बैंकका सीईओ र सञ्चालकलाई राष्ट्र बैंकको कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकका नीति निर्देशन पालना नगरेको भन्दै मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सकालाई कारबाही तथा जरिवाना तिराएको हो । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको, उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न सचेत गराइएको छ । साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाउन निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ । यस्तै, आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई सीईओले निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममा गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकमा पेश हुँदै आएको विवरण समेत यथार्थ नभएकोले सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकले २०८० साउनदेखि असोजसम्मको अवधिमा पहिलो पटक, दोश्रो पटक र तेस्रो पटकमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८४६ रुपैयाँ जरिवाना तिराएको छ । साथै, साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, प्रोगे्रसिभ फाइनान्स र गुडविल फाइनान्सले महर्जन विजनेश एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गर्दा कर्जा पूर्ण रुपले सुरक्षित हुने सुनिश्चित गर्नु पर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न सञ्चालक समिति र सीईओलाई नसिहत दिइएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको निर्देशन विपरित आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सका सीईओलाई सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन दिएको हो । [pdf id=463977]
सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड, कसलाई कति पर्यो ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । आइपीओमा स्थानीय बासिन्दाहरु १ हजार २२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता सेयरको लागि जम्मा आवेदन प्राप्त भएको थियो । कम्पनीका अनुसार ५ जना आवेदकहरुले १० अंकले भाग नजाने गरी सेयर आवेदन गरेको देखिएकाले निज आवेदकहरुले आवेदन गरेको जम्मा सेयर संख्या ६८३ मध्येबाट १० अंकले भाग नजाने गरी प्राप्त भएको ३३ कित्ता सेयर रद्द गरी गरीएको छ । रीतपुर्वक प्राप्त भएको जम्मा २ लाख ४८ हजार ४७० कित्ता शेयर बाँडफाँडमा समावेश गरिएको हो । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आइपीओ बाँडफाँड भएको हो । जसमा सम्पुर्ण आवेदकले ५० कित्तामा हात पारेका हुन् । साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ । उक्त बाँडफाँडको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटलको वेभसाइट, सह निष्कासन तथा बिक्री प्रबन्धकहरु क्रमशः एनआइएमबी एस क्यापिटलको वेभसाइट, प्रभु क्यापिटलको वेभसाइट, निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइटबाट हेर्न सकिने ।
सीता रामको नयाँ प्रोडक्ट स्पेसल मिल्क फर टि एन्ड कफी
काठमाडाैं । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रालिले मिति २०८० फाल्गुण १ गतेबाट बजारमा ‘सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी’ भित्राएको छ । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् । सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा. लिको भनाई छ । चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो । सीताराम गोकुल मिल्क्स प्रा. लिले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ्मा पनि उपलब्ध गराइन्छन् ।
विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीआई वानले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडीआई वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्ने छ । सबै खेल बिहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।