विकासन्युज

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए । नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ । स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ । रासस

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो । प्रदेश सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ । धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित १ करोड ७२ लाख ४१ हजार २ सय ४४ रुपैयाँमा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ–१५ गते १ करोड ६ लाख ९७ हजार ६ सय २३ रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिएका छन् । उक्त सडकखण्डमा २ हजार ५ सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, ६ सय ८४ घनमिटर ग्याविन वाल, १ सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ । ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए । ‘ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्,’ उनले भने, ‘समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।’ यस्तै, सङ्घीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित ७७ लाख ११ हजार ९ सय ४० रुपैयाँमा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो । विसं २०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताएका छन् । धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ । विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो । भ्याटबाहेक २२ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापारबाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिएका छन् । रासस

रवि लामिछाने र जिबी राई सम्पत्ति शुद्धीकरणको छानबिनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर (जिबी) राई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र राईमाथि छानबिन थालेको हो । यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण माग गरेकाे छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकसँग लामिछाने र राईको विवरण मागिएकाे छ। चिठीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई रवि र जिबी राईको खाता विवरण उपलब्ध गराइदिन भनेको छ । राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन, ९४ देशका ४० हजार सहभागी हुने

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६औं संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम संगठन महासंघ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता निश्चित भएको जानकारी दिइयो । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ । नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले मञ्चले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिए । सम्मेलनमा वल्र्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ । मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र स् ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुँदैछन् । अरविक र पोर्तुगिज गरी छ भाषामा पोडकास्टबाट अनुवाद हुने जनाइएको छ ।

चिनी उद्योगलाई उखु अभाव

नवलपरासी । पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् । जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिए । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उनले बताए । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ । लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् । सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।

उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा परीक्षा फागुन ७ गतेदेखि हुने

काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) का लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलोपटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

आजको मौसम : पूर्वी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । बिहीबार राती कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

उपत्यका बाहिर सात मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

उदयपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । बुधबार यहाँस्थित त्रिवेणी माविको ५६औं वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए । साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । ‘डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ,’ उनले भने, ‘मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।’ सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गरे । विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो ।