विकासन्युज

चिनी उद्योगलाई उखु अभाव

नवलपरासी । पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् । जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिए । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उनले बताए । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ । लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् । सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।

उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा परीक्षा फागुन ७ गतेदेखि हुने

काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन मितिभन्दा १ दिन अगावै आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन (फिङ्गर प्रिन्ट दर्ता) का लागि उपस्थित हुनुपर्नेछ । परीक्षाको दिन सो बायोमेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएको थियो । जसमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलोपटक आह्वान गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

आजको मौसम : पूर्वी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । बिहीबार राती कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

उपत्यका बाहिर सात मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

उदयपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । बुधबार यहाँस्थित त्रिवेणी माविको ५६औं वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए । साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । ‘डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ,’ उनले भने, ‘मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।’ सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गरे । विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो ।

प्रेम दिवसमा पनि सौराहामा बढेन रौनकता, सफल भएन मेला महोत्सव

चितवन । बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन । विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भने- ‘प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।’ नारायणगढ-मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौंसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ-बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ । घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ । आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उनले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताए । उनले भने ‘गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।’ सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उनी बताउँछन् । उनले थपे- ‘मेला महोत्सब खासै सफल हुन सकेनन् ।’ मेला महोत्सबको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उनको ठम्याइ छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्नुहुन्छ । उनले भने- ‘गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।’ यद्यपि आफूहरु आशावादी रहेको उनले बताए । सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उनले बताए । सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।

भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्ट : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशः उत्कृष्ट आउन थालको बताएकी छिन् । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गरिन् । ‘विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ,’ प्रमुख दाहालले भनिन्,’भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।’ प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रलाई विनियोजन गर्दै आएकाले अब निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा सामुदायिक विद्यालय पुगेको बताइन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षको अहम भूमिका रहने भएकाले महानगरले एक कक्षा एक शिक्षकको नीति पनि अंगिकार गरेको उनको भनाई थियो । ‘सबैले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौं’, उनले भनिन्, ‘सुरुवात आफैबाट गर्नुपर्छ । भरतपुरका सामुदायिक विद्यालय निजीभन्दा कम चाहिँ छैनन् ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि व्यवहारिक शुक्रबार, मेयरसँग विद्यार्थी, छात्रावृत्ति, साईकल वितरण, न्यानो कपडा, बसका कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिइन् । महानगरले एक विद्यालय एक खेल मैदान, एक कक्षा कोठा एक शिक्षक, एक वडा एक नमुना विद्यालय, शुक्रबार बुक फ्रि, जस्तापाता भएका ठाँउमा फल सिलिङ, आईसिटी ल्याब र प्रविधियुक्त कक्षा कोठालाई प्राथामिकता दिँदै आएको बताइन् । संघीय गणतन्त्रको स्थापनापछि सामुदायिक विद्यालयको अवस्था गुणात्मक सुधार भई भरतपुरमा विगत ५ वर्षको अवधिमा ८ हजार विद्यार्थी थप भएको जानकारी दिइन् । महानगरपालिकाले अब भौतिक पूर्वाधारमा भन्दा अतिरिक्त क्रियाकलापमा जोड दिने गरी विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन् । समापन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि काफ्लेले भरतपुरले गतिशील र दुरदर्शी नेतृत्व महानगर प्रमुख पाउँनु गर्वको विषय भएको बताए । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा महानगरले विनियोजन गरेको बजेटको उच्च सम्मान पनि गरे ।

अब कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने, वडाको सिफारिसमा निःशुल्क उपचार हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताएका छन् । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उनले उल्लेख गरे । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कुपण्डोल परिसरमा नवनिर्मित ‘सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन’को उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवा नागरिकको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरे । “शिक्षा र स्वास्थ्य संविधानमा मौलिक हकको रुपमा स्थापित भइसकेको छ”, मन्त्री बस्नेतले भने, “सो मौलिक हक कार्यान्वयन गर्न सरकार लागिपरेको छ ।” स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको समन्वयमा चार प्रदेशमा प्रादेशिक अस्पतालमा ‘जनरलवार्ड’ सबै निःशुल्क गरिएको उनले बताए । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले ४० श्ययाबाट सुरु भएको अस्पतालले अहिले चार सय ८९ श्ययाबाट सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयको सहयोगमा ‘जनरलवार्ड’मा निःशुल्क उपचारको व्यवस्था गरिएको बताए । रासस

हेटिचको एप्लिकेसन सेन्टर अब नेपालमा, व्यावसायिक डिजाइन सेवा निःशुल्क पाइने

काठमाडौं । नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले नेपालको ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ । उक्त सेन्टरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपलिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशीले गरेका हुन् । उक्त कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उपस्थिति थियो । तीन हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा टच-एन्ड-फिल प्रदान गर्दछ । यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ । उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले भने, ‘हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं । नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।’ कम्पनीको बारेमा हेटिच, १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो । १.५ बिलियन यूरोभन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो। अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८००० भन्दा बढी कामदारहरू आवद्ध छन् । हेटिचले भारत लगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैका लागि उच्च स्तरका सामानहरू उत्पादन गर्दै आएको छ। नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिच केही समय यता बजारकै अग्रणी बन्न सफल भएको छ । हेटिचको उत्पादन पोर्टफोलियोमा अत्याधुनिक जर्मन गुणस्तरबाट निर्मित फर्नीचर फिटिंग तथा हार्डवेयरको एक भण्डार समावेश छ, जसले सबै आवासीय र व्यावसायिक स्थानहरुको लागी समग्र फिटिंग समाधान प्रदान गर्दछ ।