सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष
काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन् । उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताए । कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पुर्याउने उनको भनाइ थियो । सोही कारण भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिनको लागि आम नागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई उनले कोेषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरे । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनु पर्ने उनको धारणा थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरूले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा प्रश्न राखेका थिए । त्यस्ता प्रश्नहरुको विशेष अतिथिको रूपमा कोषको का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्दै कोषले सञ्चालन गरिरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिएकी थिइन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष किन स्थापना भएको भन्ने प्रश्नमा यी तिनै वटा संस्था छुट्टाछुट्टै प्रकृतिको भएको र संस्था स्थापना गराउने कार्य नेपाल सरकराले गरेको हुँदा आवश्यकता देखेर नै संस्था स्थापना भएको उनले बताइन् । स्वास्थ्य बिमा कार्यक्रमको सम्बन्धमा राखिएको प्रश्नमा कोषले अहिले उक्त कार्यक्रम सञ्चालन नगरेको उनले स्प्ष्ट पारिन् । राष्ट्र सेवक कर्मचारीहरूको बिमा कार्यक्रम बारे कोषले २०७५ सालसम्म मात्रै बिमाको कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसपछि नेपाल सरकारको निर्णय अनुसार कोषले त्यस्ता कर्मचारीहरूको रकम संकलनको कार्य मात्रै गरिरहेको र त्यसको भुक्तानी राष्ट्रिय जीवन बिमा कम्पनीले गर्ने गरेको जानकारी उनले दिइन् । कोषले संकलन गरेको रकम प्रत्येक वर्षको साउन ७ गते भित्र राष्ट्रिय जीवन बिमा कम्पनीलाई पठाउने व्यवस्था गरेको उनको भनाइ थियो । उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले ५ प्रतिशत मात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि अदालतले ५ प्रतिशत मात्रै कर कट्टी गर्न दिएको आदेशको पालाना कोषले गरिरहेको जानकारी नायव कार्यकारी निर्देशक श्रेष्ठले दिइन् । शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतमले शाखाले सञ्चालन गरिररहेका सेवाहरूको बारेमा जानकारी दिएका थिए । उनले कोषले सेवाग्राहीलाई दिने ब्याजको अक्तिरिक्त प्रतिफल दिने एवं दूर्घटना बिमा समेत उपलब्ध गराउँदै आएको बताए । उनले सहभागीहरूलाई घर, जग्गा अपार्टमेन्ट खरिद गर्न र घर बनाउनको लागि कोषले लगानी गरिरहेको जानकारी दिएका थिए ।
आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता
काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको हो । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो । यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।
दसैंमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर सुविधा
काठमाडौं । दसैं, तिहार लगायत चाडलाई लक्षित गर्दै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ । यससँगै नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्ने कम्पनीले बताएको छ । नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस ९भिपिए०को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ। हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध छ ।
४ युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती, साँझ र बिहानको समयमा काम गर्ने
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् । प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए । ‘एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु गर्यौँ । अनलाइनका माध्यमबाट रु एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ’, उनले प्रारम्भिक योजनाबारे सुनाए । दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिए । उनले भने, ‘अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।’ उनीहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाएका छन् । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ । कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताए । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए । ‘हामीले खेती गरेको वरपरको ३०–३५ रोपनी जमिन खाली नै छ, त्यो जमिनवालाले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो कारोबार भएमा अर्को वर्ष ५० रोपनीभन्दा बढी जमिनमा खेती विस्तारको योजना छ’, द्वारियाले भने । बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०र८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । रासस
गोलभेडा ८५ रुपैयाँ पुग्यो, यस्तो छ आजको तरकारीको मूल्य
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४२ रुपैयाँ तोकिएको छ । रातो आलु औसत प्रतिकेजी ६५ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ११३.६७ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ । [pdf id=511545]
राष्ट्र बैंकको जागिरका लागि आवेदन दिएका १२४२ जनाको विवरण गलत
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका १ हजारर २४२ जना आवेदकको कागजात अपुग रहेको जनाएको छ । अनलाईनमार्फत् दरखास्त फाराम भरेका आवेदकहरूको अपुग कागजात पेश गर्ने तथा विवरण असोज १० गतेभित्र सच्याउन राष्ट्र बैंकले आग्रह गरेको छ । विवरण गलत हुनेमा सहायक निर्देशक पदका ३३५ जना, सहायक प्रशासन पदका ६६३ जना र सहायक सूचना प्रविधि पदका २२४ जना रहेको राष्ट्र बैंकले जनाएको छ । सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ । राष्ट्र बैंकले गत साउन ३२ गतेसहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ गरी कुल ५२ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । [pdf id=511538]
आज सेयरधनी बने यी दुई कम्पनीको लाभांश पाउने
काठमाडौं । आज असोज ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांश प्रापत गर्नेछन् । सीईडीबी हाइड्रो कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते बिहान १० बजे कालिमाटी ब्याङ्क्वेट काठमाडौंमा साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले बोनस सेयरपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै ओरियण्टल होटल्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औँ वार्षिक साधारण सभा डाकेको छ ।
हिमालय उर्जाको साढे १४ लाख कित्ता १ सय रुपैयाँमै जोकोहीले किन्न पाउने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज १४ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।