विकासन्युज

अन्ततः नेरुडेको नेतृत्वमा बोहराको पुनरागमन, आन्दोलन चर्किएपछि अध्यक्षको राजीनामा

 काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेकबहादुर बोहरा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको असोज ५ गते शनिबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोहराकाे एक वर्षपछि लघुवित्त संस्थाको अध्यक्षमा पुनरागमन भएकाे हाे । साविक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्था मर्जर प्रक्रियामा थिए । मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष साविक मिर्मिरे लघुवित्तले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साविक नेरुडे लघुवित्तबाट बन्ने सहमति थियो । साविक मिर्मिरे लघुवित्तमा अध्यक्षको भूमिका टेकबहादुर बोहराले गरिरहेका थिए । प्रारम्भिक सम्झौतादेखि दुई संस्था मर्जर प्रक्रियाका अधिकांश सहमति बोहरासँग भएका थिए । तर, मर्जर प्रक्रिया चलिरहेकै बेला नेपाल राष्ट्र बैंकले साविक मिर्मिरे लघुवित्तका अध्यक्ष बोहरालाई कारबाही गर्‍याे । स्वार्थ बाझिनेगरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामग्री खरिद गराएको आरोप उनलाई लाग्याे । राष्ट्र बैंकले १५ दिनको समय दिएर बोहरालाई स्पष्टिकरण सोध्यो । तर, उनले पेस गरेको ७ पृष्ठको स्पष्टिकरण तत्कालीन लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाललाई चित्त बुझेन । त्यसपछि शक्ति प्रयोग गर्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म लघुवित्त संस्थाको सञ्चालकसमेत नबन्ने गरी कारबाही गर्‍याे । राष्ट्र बैंकले कारबाही गरेपश्चात बोहरा सञ्चालक समितिको अध्यक्षबाट स्वतः हटे । राष्ट्र बैंकको उक्त कदमप्रति बोहरा असन्तुष्ट बने । संस्थाको राम्रो ग्रोथ र वित्तीय सूचक सन्तोषजनक भएपनि साविक मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुश्करराज जोशी र कार्यकारी निर्देशक नेपालको मिलेमतोमा कारवाही गरेको आरोप लगाउँदै बाेहराले उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरे । उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले गत जेठमा राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । बोहरालाई कारबाही गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक निर्देशक रेवतिप्रसाद नेपाललाई अपरिपक्व निर्णय गरेको भन्दै लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखबाट सरुवा गराएर अर्काे विभागमा पठाएको थियो । राष्ट्र बैंकले विभिन्न आरोप लगाएर हटाइएका बोहरालाई अदालतले न्याय दिएको ५ महिनापछि लघुवित्तमा पुनरागमन भएका हुन् । बोहरा लघुवित्तको संस्थापक सेयरधनी पनि हुन् । आन्दोलन थेग्न नसकेपछि अध्यक्षकाे राजीनामा कर्मचारीको आन्दोलन थाम्न नसकेपछि नेरुडे मिर्मिरे लघुवित्त अध्यक्ष सन्ताेष फुयालले राजीनामा दिएका थिए । आन्दोलित कर्मचारीहरूले राखेका मागहरू सम्बोधन गर्न नसकेपछि उनले राजीनामा दिएकाे बुझिएको छ  । उनले राजीनामा दिएपछि बाेहरा अध्यक्षमा नियुक्त भएका हुन् । नेरुडे मिर्मिरे लघुवित्त स्रोतका अनुसार मर्जरपछि ६ महिनादेखि लघुवित्त संस्थामा आन्दोलनमात्रै भयो । संस्था बर्बाद हुने अवस्था बनेपछि फुयालले राजीनामा दिएका हुन् । उनी अध्यक्ष पदबाट हटेपनि सञ्चालक समिति सदस्य पद भने यथावत कायम रहेको लघुवित्तका कम्पनी सचिव तुलसी रामक पाठकले जानकारी दिए । फुयालले दिएको राजीनामा असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले असोज ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको कम्पनी सचिव पाठक बताउँछन् । विभिन्न माग राख्दै नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरू विगत ३ महिनादेखि आन्दोलित छन् । मनोबल खस्किनेगरी पद घटुवा गरेपछि कर्मचारीमा आन्दोलनमा उत्रिएका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्‍याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको आरोप कर्मचारीहरूकाे छ । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने माग उनीहरूको छ । नवनियुक्त अध्यक्ष बोहराले विकासन्यूजसँग कुरा गर्दै अब कर्मचारीकाे समस्या समाधानमा लाग्ने जानकारी दिए । उनले कर्मचारीहरूका माग सम्बोधन गर्दै आन्दोलन फिर्ता लिन लगाउने बताए । ‘मेरो पहिलो काम आन्दोलित कर्मचारीका माग पूरा गर्ने हो, माग पूरागरी कर्मचारीलाई काम गर्ने वातावरण बनाउने छु,’ अध्यक्ष बाेहराले भने, ‘कतिपय माग सम्बोधन गर्न नमिल्ने छन्, सम्बोधन गर्न मिल्ने माग पुसभित्र पुरा गर्नेगरी कर्मचारीको आन्दोलन तत्काल फिर्ता गर्न पहल गर्छु ।’ सम्बन्धित सामाग्री: राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो ! राष्ट्र बैंकविरुद्ध अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंकको हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित) नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा !  नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी नेरूडे मिर्मिरे प्रकरण : कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प नेरूडे मिर्मिरेका कर्मचारी फेरि आन्दोलित, लघुवित्तमा पुग्यो राष्ट्र बैंक

शरदयाममा मुस्ताङ घुम्ने पर्यटकको संख्या बढ्यो, अर्धनिषेधित क्षेत्रले विकासमा चुनौती

म्याग्दी । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरू । नीलो रङका मनमोहक ताल । पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्याङ्ग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड । लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए । ‘बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो,’ उनले भने, ‘अन्य समयमा भन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरू आउने गर्छन् ।’ जर्मनका पाँच जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरू खुसी भएका सुनाए । सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो । पर्यटक आगमन बढ्यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उनका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् । आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो । अन्नपूर्ण चक्रीय पदमार्गको साहासिक गन्तव्य थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताए । समुन्द्री सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ । आव २०७९/८० मा पाँच हजार छ सय ४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त सङ्ख्या बढेर १३ हजार पाँच सय सात पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धौलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गरे । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिए । बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा चार लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो । पूर्वाधार थपिँदै पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता विस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताए । उनका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा चार सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताए । उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । ‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने, ‘उपल्लो मुस्ताङमा दैनिक एक हजार पाँच सय पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक तीन हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्या छन् ।’

कृषि बीमाको अनुदानलाई ५० प्रतिशतसम्म झार्ने तयारी, पारित हुँदै कार्यविधि

काठमाडौं । सरकारले कृषि बीमाको अनुदानलाई ५० प्रतिशतमा झार्ने तयारी थालेको छ । जसका लागि साविकको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० पनि खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैंकले कृषि तथा पशुपंक्षीको बीमा अनुदानसम्बन्धी निर्देशिका खारेज गरेको हाे । मन्त्रिपरिषदले उक्त निर्देशिका असोज मसान्तदेखि लागू हुनेगरी खारेज गरेको हो । अर्थात असाेज मसान्तसम्म सोही निर्देशिकाअनुसार काम हुनेछ । निर्देशिकाअनुसार कृषि बीमाको प्रिमियममा किसानले ७५ प्रतिशत अनुदान पाउने छन् । तर, आर्थिक वर्ष २०७८/०७९ को बजेटमा अनुदान दिने प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको थियो । त्यसयता कृषि तथा पशुपक्षी बीमाको प्रिमियममा किसानले ८० प्रतिशत नै पाउँदै आएका थिए । तर, चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक एक गतेदेखि लागू हुनेगरी उक्त अनुदान प्रतिशत घटाउने तयारी सरकारले गरिरहेको छ । जसका लागि कृषि मन्त्रालयले कार्यविधि नै बनाइसकेको छ । विकासन्यूजलाई प्राप्त सूचनाअनुसार अनुदानलाई ३ वटा संरचनामा विभाजन गरिएको छ । जहाँ ठूला किसानलाई ६५ प्रतिशतसम्म र साना किसानलाई ८० प्रतिशत नै अनुदान दिनेगरी ड्राफ्ट भएको कार्यविधि विकासन्यूजलाई उपलब्ध भएको छ । ५० लाखसम्मको बीमांक रकम भएमा ८० प्रतिशत अनुदान, १ करोड रुपैयाँसम्मको बीमांक रकम भएमा ६५ प्रतिशत र त्योभन्दा धेरै बीमांक रकम भएमा ५० प्रतिशत अनुदान दिने उक्त कार्यविधिमा उल्लेख छ । उक्त कार्यविधि केही दिनमा नै कृषि तथा पशुपंक्षी मन्त्रालयले पारित गर्ने स्रोतले जनाएको छ । साना किसानलाई मर्का नपर्नेगरी अनुदान घटाइयो कृषि तथा पशुपंक्षी बीमावापत सरकारले २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । ८० प्रतिशत अनुदान दिँदा हरेक वर्ष सरकारको दायित्व ३ अर्ब रुपैयाँ हुने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ । अनुदान रकम हरेक वर्ष बढ्दै गएको पनि छ । यसले सरकारलाई ठूलो आर्थिक भार थपिरहेको अर्थ मन्त्रालयले महसुस त गरेकै थियो तर अनुदान घटाउनतिर भने साेंचेकाे थिएन । यद्यपि चालु आवको बजेटमा यस वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ कृषि अनुदान रकम वापतका लागि छुट्याइएको छ । ८० प्रतिशतलाई नै निरन्तरता दिने हो भने २ अर्ब ६ करोडले अनुदान दिन पुग्ने स्थिति छैन । अर्थ मन्त्रालय र कृषि मन्त्रालयबीच यसबारे पटकपटक छलफल पनि भएको थियो । विगतका वर्षहरूमा पनि चाहिने अनुदानभन्दा धेरै कम रकम बजेटमा छुट्याइन्थ्यो । जसको नतिजा असार महिनामा रकमान्तर गरेर अनुदान वापतको दायित्व भुक्तानी गरिन्थ्यो । यस वर्ष भने सोही रकमबाट अनुदान कसरी पुर्‍याउने भन्नेबारे सबै सरकारवाला, अर्थ र कृषि मन्त्रालयबीच बारम्बार छलफल भएको थियो । सो छलफलले ५०, ६५ र ८० प्रतिशतको स्टक्चरमा जाने सहमति भएको हो । जसअनुसार कृषि मन्त्रालयले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० लाई संसोधनका लागि कानून मन्त्रालयलाई प्रस्ताव गरेको कृषि मन्त्रालयका सूचना अधिकारी महेन्द्र जोशीले विकासन्युजलाई । जहाँ वार्षिक कार्यक्रमअनुसार नै कृषि बीमाको अनुदानका लागि मन्त्रालयलाई आफै कार्यविधि बनाएर काम गर्न कानूनले सुझाव दिएको थियो । यता अर्थसँग पनि ५०, ६५ र ८० प्रतिशतको स्टक्चरबारे कृषिले सहमति पाइसकेको थियो । सोहीअनुसार निर्देशिकालाई खारेज गरेर कार्यविधिबाट नै अघि बढ्ने मन्त्रालयले तयारी गरेको सूचना अधिकारी जोशीले जानकारी गराए । साना किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले ५० लाख बीमांकसम्म ८० प्रतिशत अनुदानलाई कायम राखिएको पनि उनले बताए ।

सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित सहर बनाउन अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । आइतबाचर सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएक हुन् । उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए । सहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको उनले जानकारी दिए । सिंहले सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए । उनले सरकार र निजी क्षेत्रहरू सबै मिलेर व्यवस्थित र स्वच्छ सहर बनाउनेगरी, अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेकाेमा जाेड दिए । कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए । उनले २०६२ सालदेखि पटकपटक सहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भएपनि ऐन आउन नसकेको गुनासाे पाेखे । उनले जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिवद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङजस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको बताए । विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्टहरू खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरेपनि कार्यान्वयनमा नआएको भन्दै उनले कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए । अध्यक्ष लोहनीले हालसम्म ७२ वटा अपार्टमेण्ट रहेको उल्लेख गर्दै अपार्टमेण्टका कमन स्पेस र ल्याण्ड्ज डेभलपरहरूकै नाममा झुण्डिएर रहेको भन्दै आवास धनीहरुको नाममा ट्रान्सफर हुनुपर्ने माग गरे ।

बन्दीपुरमा सडक खाना महोत्सव आयाेजना हुने, पर्यटक लोभ्याउन विदेशी भाषाकै सामग्री तयार

तनहुँ । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो। बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनले भने, ‘पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।’ उनका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गरे । थापाले भने, ‘गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।’ गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ । खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

सुधीरलाई २६ प्रश्न: घरजग्गामा लगानीदेखि बचत ठगीको श्रृङ्खला, यस्तो छ बचत फिर्ताको योजना

काठमाडौं । ओरियन्टल को-अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतको विभिन्न ९ वटा सहरमा आफ्नो नाममा जग्गा रहेको  पाइएकाे छ । उनले सहकारी बचत रकम हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग भक्तपुर, पोखरा, दमौली, चितवन, हेटौडा, पर्सा, दाङ, बाँके र बर्दियामा जग्गा रहेको जानकारी दिएका हुन् । बस्नेतले सहकारीको रकमबाट नै भक्तपुरको गुन्डुमा २७६ रोपनी जग्गा खरीद गरेको पनि जानकारी दिएका छन् । उनले समितिसमक्ष सहकारीको बचतकर्ताको बचत फिर्ताको लागि जग्गा बिक्री गर्ने योजना पनि सुनाएका छन् । यस्तै, उनले पछिल्लो १२ वर्षको अवधिमा आफूले धेरै मुद्दा खेप्नु परेको बताएका छन् । उनले आफू अब सहकारीका बचतकर्ताको बचत फिर्तामा केन्द्रित हुने बयान दिएका छन् । यस्तो छ उनको बयानको पूर्णपाठः आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्य हाल कहाँकहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो नाम सुधिर बस्नेत हो । बाजे गेहेन्द्र बहादुर बस्नेत, बुवा सुशिल बस्नेत, आमा सुनिता बस्नेत हो । म हाल काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा बस्छु । मेरो ना.प्र.नं. ८०४७ मिति २०४७-०४८ र मोबाइल नं ९८२७४३५४९० हो । तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? मेरो शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको छ । सोधिएको प्रश्नको जवाफ दिन सक्छु । तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । म काठमाडौं महानगरपालिका मैतीदेवीस्थित प्रधान कार्यालय भएको ओरियन्टल को–अपरेटिभ लि.मा अध्यक्ष, ओरियन्टलको अपरेटिभ लि. ले माइन्युटिङ गरी खोलिएको काठमाडौं न्यूरोडमा प्रधान कार्यालय भएको भेगास बचत तथा ऋण सहकारी लि. काठमाडौं हात्तिसार प्रधान कार्यालय भएको कन्जुमर वचत तथा ऋण सहकारी, काठमाडौं न्यूरोडमा प्रधान कार्यालय भएको कोहीनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.मा संरक्षकको रूपमा र ओरियन्टल कोअपरेटिभ लि.को सञ्चालकले सञ्चालन गरेको काठमाडौं पुतलीसडकस्थित प्रधान कार्यालय भएको प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ जुन पछिल्लो समय अप्रत्यक्ष रूपमा ओरियन्टल कोअपरेटिभ लि.का सञ्चालकहरूद्वारा नै सञ्चालन गरिएको थियो । स्ट्याण्डर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कुबेर वचत तथा ऋण सहकारी संस्था, चार्टड सेभिङ एण्ड क्रेडीट को–अपरेटिभ र स्ट्याण्डर्ड मल्टिप्रपोज को अपरेटिभ लिमिटेडसँग मेरो कुनै संलग्नता छैन । सहकारी ऐन र प्रचलित कानूनबमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/ थियो ? सहकारी ऐन २०४८ र प्रचलित कानून बमोजिम नै सहकारी सञ्चालन गरिएको थियो । २०६८ सालमा नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त निरीक्षणमा जग्गा जमिनमा बढी लगानी गरिएको र यसलाई हटाउनु पर्ने निर्देशन पनि थियो । सहकारी संस्था सञ्चालनबाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ? म सुरुमा गाडीसम्बन्धि र सप्लायर्ससम्बन्धी कार्य गर्दथें । म हाउजिङ व्यवसायी हाे । पहिले अग्नि वायु सेवा सञ्चालन गर्दथें । तपाईं अध्यक्ष रहेको ओरियन्टियल को अपरेटिभ लि. र तपाई आवद्ध अन्य सहकारीको सञ्चालक समितिमा को को हुनुहुन्छ/हुनुहुन्थ्यो ? उक्त सहकारीमा अध्यक्षमा म, उपाध्यक्ष धिरेन्द्रप्रसाद प्रधान, सदस्यहरू यवजंग रायमाझी, रिजेश थापा, कुमार के.सी., कालिन्द्रवहादुर जि.सी. र लक्ष्मण थापा हुन्। उक्त सहकारीमा स्थापनाकालदेखि नै म अध्यक्षको रूपमा रहेको थिएँ। हाल उक्त संस्थाहरू सञ्चालनमा छ छैन ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ? हाल उक्त संस्थाहरू सञ्चालनमा छैनन् । सुरुमा उक्त संस्थाबाट प्रवाह भएको कर्जाहरू उठाउन गाह्रो भएको हुनाले संस्थाको नाममा जग्गा जमिन खरीद गर्न थालियो र पछि सहकारी विभागबाट सहकारीको नाममा सीमित मात्रामा जग्गा खरीद गर्ने निर्देशन भएकोले सहकारीको नाममा भएको जग्गाहरू विभिन्न व्यक्तिहरूको नाममा ऋण खडा गरियो । पछिल्लो समय नेपाल राष्ट्र बैंककाे नीतिमा भएको परिवर्तनले जग्गा जमिन बिक्री गर्न गाह्रो भयो र बचतकर्तालाई बचत फिर्ता गर्न सकिएन र संस्था धराशायी हुन गएको हो । हाल ती ऋणीहरूले जग्गा संस्था के सम्पत्ति हो उक्त जग्गाहरू संस्थाको नाममा फिर्ता गर्न मन्जुर भएको भनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा लिखित रूपमा कागजसमेत पेस गरिसकेका छन् । यी जग्गाहरूमध्ये केही जग्गा र बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्नको लागि विभिन्न फाइनान्स कम्पनीहरूमा सहकारीद्वारा धितो राखी रकम निकाली बचतकर्ताहरूलाई बाँडिएको थियो । उक्त फाइनान्स कम्पनीहरूलाई समयमै ऋण भुक्तान गर्न सकिएन। मैले प्रहरी तथा विभागमा दिएको बयानको क्रममा सम्पत्ति विवरण उपलब्ध गराई रोक्का राख्न निवेदन दिएको थिएँ । तर, विभागबाट जग्गा रोक्का भएको र केही फाइनान्स कम्पनीहरूले उक्त रोक्का विरुद्धमा मुद्दा दायर गरी मुद्दा जिती केही जग्गाहरू लिलाम बिक्री गरिसकेका छन् । हाल हामीसँग लिलाम बाँकी भएको जग्गा जमिनबाट बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्न हामी सक्षम छौं । सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ? सञ्चालक समितिमा रहेका मध्ये यवजंग रायमाझी नाताले मेरो मामा हुनुहुन्छ । अन्य कोही हुनुहुन्न । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं अध्यक्ष सहकारीक सञ्चालक समितिमा पनि छन् वा छैनन् ? थिए वा थिएनन् ? यदि थिए भने उक्त कुरा कानूनसम्म हो, होइन ? खुलाइदिनुहोस्। प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्टकोअपरेटिभका अध्यक्ष हाम्रो ओरियन्टल सहकारीको उपाध्यक्ष हुनुहुन्थ्यो । अन्य कोही पनि हुनुहुन्न । तत्कालीन समयमा प्रचलिन सहकारी ऐनअनुसार एउटा सहकारीमा सञ्चालक भएको व्यक्ति अरू सहकारीमा सञ्चालक समितिमा बस्न नमिल्ने भन्ने कानुन थिएन । पछिल्लो समयमा हामीले उक्त प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभलाई ओरियन्टियल कोअपरेटिभ लि.मा मर्ज गर्ने तयारीमा थियो । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के–कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ? सञ्चालकहरू कर्मचारी थिएनन् । ओरियन्टियलको अपरेटिभ लिमिटेडबाहेक अरू सहकारीमा सञ्चालकहरू कर्मचारी थिए । व्यवस्थापक र कर्मचारी छनौट गर्दा सहकारीको आफ्नै कर्मचारी नियमावलीअनुसार गर्ने गरिएको थियो । सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/ थियो या थिएन ? सहकारी संस्थाका सदस्य बाहेकका व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थिएन । सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ? सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाइएको थियो। यस सहकारीको नेपालभर नै कार्यक्षेत्र रहेको छ । सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाणसमेत पेस गर्नुहोस् । २०७१ सालमा सहकारी छानविनको लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले तत्कालीन समयमा सम्पूर्ण विवरणहरू लगेको थियो । हाल उक्त विवरणहरू समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा रहेको छ । मलाई हाल याद भएअनुसार पोखरा, दमौली, चितवन, हेटौडा, पर्सा, दाङ, बाँके र बर्दियामा जग्गाहरू रहेका छन् । साथै संस्थाको रकमबाट भक्तपुर गुन्डुमा २७६ रोपनी जग्गा खरीद गरिएको छ । अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग ? खुलाउनुहोस् । हाम्रो संरक्षकत्वमा भएको सहकारीबाहेक अन्य सहकारीहरूसँग अन्तर सहकारी कारोबार गरिएको छैन । तपाईं अध्यक्ष रहेको ओरियन्टल को-अपरेटिभ लि. सहकारी संस्था र तपाईं आवद्ध भएका अन्य सहकारी संस्थाहरूको बचत रकम ऋण लगानी, बैकिङ तथा गैरदायित्य के कति छ ? खुसाइदिनुहोस् । उक्त सहकारीहरूको कुल दायित्व करीब २ अर्ब ९४ करोड रहेको छ । हाम्रा सहकारीहरूका नाममा रहेको माथि उल्लेखित जग्गा जमिनको हालको बजार मूल्य चार अर्ब रहेको छ । सहकारीको सम्पत्तिको विवरण यस समितिमा पेस गरेको कार्ययोजनामा उल्लेख गरिएको छ । तपाईं अध्यक्ष रहेको सहकारी संस्थासँग बचतकर्ताको कूल निक्षेप रु ४ अर्ब २१ करोड बराबर रहेको तर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट बचतकर्ताहरूले मागदाबी गर्दा जम्मा रकम रु. ३ अर्व ६७ करोड लेखाउन हुन आएको छ ? किन फरक पर्न गयो ? खुलाइदिनुहोस् । यस सहकारी समस्यामा आएको समयदेखि समस्याग्रस्त सहकारी व्यवस्थान समितिमा बचतकर्ताहरूले मागदाबी लिएको समयसम्ममा केही बचतकर्ताहरूको बचत रकम बराबरको जग्गा उपलब्ध गराई फिर्ता गरिएको हुनाले दाबी रकम कम हुन गएको हो। हाल मागदावी रु २ अर्व ९४ करोड रहेको छ। बचतकर्तालाई करकट्टा गरी ब्याज दिने तर कट्टा गरेको कर रकम जम्मा रु. ५३ करोड १० लाख बराबरको कर दायित्व सरकारलाई किन नतिरेको हो ? ओरियन्टल को अपरेटिभसमेत बन्द हुँदाको समयसम्म सम्पूर्ण करचुक्ता गरी करचुक्ता प्रमाणपत्र समेत लिइएको थियो । यो सिस्टममा देखिएको कर रकम मेरो अन्य व्यापार व्यवसायसँग सम्बन्धित हो र यी सहकारीहरूसँग कुनै सम्बन्ध रहेको छैन। उक्त करको विषयमा कर कार्यालयले एकतर्फी रूपमा कर निर्धारण गरेको हुँदा पुनः निरीक्षण गरी कर निर्धारण गरी पाऊँ भनी सम्मानित सर्वोच्च अदालतमा निवेदन दायर गरेको छु र हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको व्यहोरा अनुरोध गर्दछु । संस्थाले विभिन्न बैंब तथा वित्तीय संस्थाबाट के कुन प्रयोजनको लागि रु. १ अर्ब ७ करोड ८४ लाख बराबरको कूल ऋण रकम लिएको हो ? ओरियन्टल को-अपरेटिभ लि. समेतले कुनै पनि बैंकबाट कर्जा लिएको छैन। यो ऋण रकम मेरो व्यक्तिगत व्यापार व्यवसायसँग सम्बन्धित ऋण रकम हो । अन्य साहु शीर्षकमा रु. १९ करोड ७० लाख कसलाई र केका निम्ति तिर्नुपर्ने हो ? खुलाइदिनुहोस् । सिस्टममा देखिएको साहु मेरो व्यक्तिगत व्यापार व्यवसायका साहुहरू हुन् सहकारीसँग, सम्बन्धित छैन । जुन सम्पतिलाई बैंकमा धितो राखी ऋण लिएको त्यही सम्पत्तिको नाममा अपार्टमेन्टको एडमान्स बुकिङ भनी अधिकतम रकम किन लिएको हो ? जुन सम्पत्ति बैंकमा राखिएको हुन्छ उक्त सम्पतिको ऋण कम निस्किन्छ र अपार्टमेन्टको निर्माण कार्य गर्नको लागि अत्यधिक रकम आवश्यक पर्छ। सो रकममध्ये केही रकम बुकिङकर्ताहरूसँग लिने गरिएको हो । बिक्रीको सुनिश्चितताको लागि बुकिङकर्ताहरूसँग उक्त रकम लिइएको हुन्छ अधिकतम रकम लिइएको होइन । विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? विद्यमान अवस्थामा हामी सहकारीको समस्या समाधान गर्न सक्छौं । सोको लागि हामीले हाम्रो कार्ययोजनासमेत समस्याग्रस्त व्यवस्थापन समितिलाई पटक–पटक बुझाएका छौं । सो कार्ययोजनाअन्तर्गत लिन मन्जुरी भएका बचतकर्ताहरूलाई बचत बराबरको सम्पत्ति बाँडेर बचत फिर्ता गर्न सकिन्छ । हामीले सोहीअनुरूपको कार्यसमेत सुरु गरिसकेका थियौं । जसमध्ये भक्तपुर गुन्डुको १३ रोपनी जग्गा समितिबाट फुकुवा भएपछि करीब २३ करोड रकम बराबर भएका बचतकर्ताहरूलाई बाँडियो । सोपश्चात थप जग्गा लिन मन्जुर भएका १ अर्ब ७२ करोड रकम बराबरको बचत भएका बचतकर्ताहरूको नामावली समस्याग्रस्त व्यवस्थापन समितिसमक्ष पेस गरेका छौं । जसमध्ये १८ करोड बराबर रकम बचत भएका बचतकर्ताहरूलाई सनाखत समेत गराइसकिएको छ। हाल आएर समस्याग्रस्त व्यवस्थापन समितिका पदाधिकारी परिवर्तन भएको हुँदा उहाँले बुझ्न समय लाग्ने र मन्त्रालयमा स्वीकृतिको लागि पत्र पठाउनु भएको भनी जानकारी गराउनु भएको छ। हाल बचतकर्ताहरूसँग सनाखत गर्ने कार्यसमेत रोक्नु भएको छ। यदि हामीले हाम्रो कार्ययोजना अनुरूप सहज रूपमा सम्बन्धित बचतकर्ताहरूलाई जग्गा वितरण गर्न पाएमा नौ महिनादेखि एक वर्ष भित्रमा सम्पूर्ण बचतकर्ताहरूलाई बचत फिर्ता गर्न सक्ने अवस्थामा छौं । साथै साना बचतकर्ताहरूको हकमा विभिन्न जिल्लामा भएका सम्पत्ति र भक्तपुर गुन्डुका केही जग्गाहरू बिक्री गरी बचत रकम फिर्ता गर्न सकिने छ। हाम्रो कार्ययोजनाको एक प्रति प्रतिलिपि यस समितिमा पनि पेश गरिसकेका छौं। नेपाल सरकारकाे रोहबरमा बचतकर्ताहरूलाई बचत रकम बराबरको जग्गा बाँड्न पाएमा समस्या समयमै समाधान हुने थियो । तपाईं अध्यक्ष रहेको ओरियन्टियल कोअपरेटिभ लि. सहकारीको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैकले के-के गर्नु पर्ला ? हामीसँग भएको सम्पत्तिहरू बचतकर्ताहरूको मन्जुरीमा उनीहरूलाई उपलब्ध गराउन नेपाल सरकारले बचतकर्ताहरूको मन्जुरी लिएर सनाखत गराई नेपाल सरकार के रोहबरमा बचतकर्ता वा बचतकर्ताहरूले मन्जुरी दिएको व्यक्तिकाे नाममा पास हुने गरी फुकुवा भएमा सहकारीको समस्या समाधान गर्न सहज हुने थियो । सहकारीका अहिलेको समस्या समाधान गर्न कम्पनीमा रूपान्तरण गर्दा समस्या समाधान गर्न सकिन्छ? यसमा तपाईको भन्नु के छ ? अहिलेको कानुनअनुसार उपयुक्त हुँदैन । मेरो विचारमा कुनै पनि सहकारी यसरी कम्पनीमा जाँदैनन् । बचत तथा ऋणका सञ्चालक र सहकारीको संख्यासमेत कम गर्नु पर्छ । सहकारीमा रु १०० मा सदस्य बनाइएको हुन्छ जुन कार्यविधि पुरा गर्न गरिएको मात्र हुन्छ । तपाईंले सञ्चालन गर्नु भएको ग्राण्ड अपार्टमेन्ट समेतमा लगानी गरेका लगानीकर्ताहरूको तर्फबाट सुनिता श्रेष्ठ र राजु श्रेष्ठ समेतले १२ वर्षदेखि हामीले लगानी गरेको लगानीको प्रतिफल प्राप्त हुन सकेन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति लगायतबाट रोका रहेको हुँदा यस समस्याको शीघ्र समाधान गरि हाम्रो लगानीको प्रतिफल हा नाममा गरिपाऊँ भन्नेसमेत व्यहोराको निवेदन प्राप्त भएको छ। उक्त समस्या के कति कारणले सृजना भएको हो? तपाईंको ग्राण्ड अपार्टमेन्ट लगायतका अपार्टमेन्टहरूका समस्या के कसरी समाधान गर्नु हुन्छ ? ग्राण्ड अपार्टमेन्ट हामीले २०६६/०६७ सालमा नै हस्तान्तरण गरेका थियौं । हामीले हस्तान्तरण गर्दा सबै युनिटको पुर्जा बनिसकेको थियो । सो बिल्डिङ पास गर्नको लागि हामीले चार करोड अन्यत्रबाट व्यवस्थापन गरी बैंकको कर्जा भुक्तानी गरिदिएका थियौं । सो समयमा समितिका अध्यक्ष राजु श्रेष्ठले बैंक डिल गर्ने, पास गराउने लगायतका सम्पूर्ण कार्य गर्नु हुन्थ्यो। राजु श्रेष्ठ २०६६/२०६७ सालदेखि उक्त बिल्डिङमा बसोबास गर्दै आउनु भएको छ । हाल उहाँले उक्त बिल्डिङ भाडामा लगाउनु भएको छ । सो बिल्डिङको विषयमा अन्य कुनै समस्या भएको भए अन्य व्यक्तिहरू पनि यहाँ निवेदन गर्न उपस्थित हुनु हुन्थ्यो होला । हाम्रो तर्फबाट राजु श्रेष्ठसँग कुनै समस्या रहेको छैन । उक्त आवास संयुक्त आवास भएको हुनाले एक जनाले मात्र भुक्तानी गरेर फुकुवा हुँदैन सम्पूर्ण भुक्तानी भएमा मात्र फुकुवा हुन्छ र बिल्डिङमा टाँसिएको रातो स्टिकर हटाई हरियो स्टिकर टाँस गर्न सबैले मिलि खर्च गरि मर्मत सम्भार गरेमा हुन्छ । यसमा हाम्रो कम्पनिको कुनै गल्ति छैन । यसमा कम्पनिले गरेको करार बमोजिम निजलाई ब्याज बमोजिमको रकम भुक्तान गरि निजले उक्त अपार्टमेन्टबाट लिएको फाइदा समेत सबै कट्टा गरि अपार्टमेन्ट फिर्ता लिन तयार छौं । कुनै सहकारी सम्बन्धि वा फौजदारी मुद्दामा थुना वा कैदमा पर्नु भएको छ की छैन ? खुलाइदिनुहोस् । मलाई सहकारी ठगी मुद्दामा दुई वर्ष कैद तोकिएकोमा १८ महिना कैद भुक्तान गरिसकेको छु । धेरै मुद्दामा कैद भुक्तान गरी बाँकी केही मुद्दा विचाराधीन अवस्थामा छ । अन्त्यमा तपाईको थप केही भन्नु छ ? यस सहकारीको सम्पत्ति दायित्वभन्दा धेरै रहेको छ । तसर्थ सहकारीको बचतकर्ताहरूलाई सहकारीको सम्पत्ति र सहकारीको रकमबाट खरिद गरेर रोक्का राखिएको सम्पत्ति दिएर हिसाबकिताब मिलाउन सरकारले उचित वातावरण निर्माण गरिदियोस् भन्न चाहन्छु । सामाजिक दायित्वका कारण समस्या छिटो भन्दा छिटो समाधान भएमा राम्रो हुन्थ्यो। उक्त समयमा जग्गामा धेरै लगानी भएको हुनाले समस्या सृजना भएको हो। मैले पछिल्लो १२ वर्षमा अत्यधिक मुद्दा झेल्नु परेकोले समयमै यी सबैबाट मुक्त हुनका लागि बचतकर्ताको रकम फिर्ता गर्न पाए हुन्थ्यो। म १२ वर्षदेखि यस सहकारीहरूको समस्या समाधान गर्न लागि परिरहेको छु। समयमै समाधान गर्न पाए हुन्थ्यो ।

प्राकृतिक कूचीकार अरिंगाल रेष्टुराँमा परिकार, विज्ञ भन्छन्- पारिस्थितिक पद्धतिमा असर

गण्डकी । गाउँघरतिर अरिंगाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिंगालका गोला पोल्दा अरिंगालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिंगालको शिकार गरिन्छ । अरिंगालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरू लालायित हुने गरेका हुन् । पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिंगालका परिकार पाइन थालेका छन् । कतिपयलाई अरिंगाल अर्थोपार्जनको माध्यम बनेको छ । किराँत समुदायमा त कुलपितृलाई अरिंगाल चढाउने चलन नै छ । विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिंगालको अप्राकृतिक ढंगले शिकार भइरहेकामा जानकारहरूले भने चासो व्यक्त गरेका छन् । प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक डा. इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिंगाल, बारुलालगायत किराको परागसेचनमा महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ, बारुला र अरिङ्गालले बोटबिरुवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्, ‘ उनले भने, ‘प्रकृतिलाई सन्तुलित बनाउने किरा-फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ ।’ व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहेपनि घातक ढंगले शिकार गरेमा भने अरिंगाल हराउँदै जानसक्ने सुवेदीकाे भनाइ छ । उनले बासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिंगालले मानिसलाई चिल्ने गरेको बताए । ‘अरिंगालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरूमा भयसँगै नकारात्मक धारणा व्याप्त छ,’ उनले भने, ‘असुरक्षाको महसुस भयो भने अरिंगालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ ।’ डा. सुवेदीले नेपालमा मौरीमा जति अध्ययन/अनुसन्धान बारुला, अरिंगालगायत किरामा हुन नसेको बताए । प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ । डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतंग नष्ट गर्नु कानुन विपरीत हुने बताए । त्यस्ता कृयाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ । ‘झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रुखमा आगो लगाएर अरिंगालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन, ‘ उनले भने । त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रुखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ । प्रमख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरुले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताए । ‘तत्काललाई कानुनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरूमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अप्राकृतिक र घातक तरिका अपनाएर अरिंगालको शिकार गर्नुहुँदैन ।’ कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए । उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिंगाले बोटबिरुवामा परागसेचन गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘अरिंगाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढीरहेका बेला यस्ता कीटपतंगले पर्यावरण सन्तुलनमा सहयोग गर्छन्, ‘ प्रमुख काफ्लेले बताए । प्रायः अग्ला रुख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पाती आदिका रुखमा बस्न बढी रुचाउने उनले बताए । चीनलगायत कतिपय देशमा घरघरमै अरिंगालको खेती गर्ने गरिएको प्रमुख काफ्लेले सुनाए । विश्वभर किटपतङको घट्दो अवस्थाका कारण वनस्पतीजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ । अग्ला रुख, वनस्पती तथा स्थानहरुमा अरिंगाल, बारुलालगायत परागसेचनको मुख्य माध्यमका रूपमा रहेको प्रमुख काफ्लेले बताए । पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘सामान्यतया एक गोला अरिंगालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरू खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ,’ उनले भने,  ‘किराफट्याङ्ग्रा भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन ।’ अरिंगालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजंगलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उनले सुझाए । शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए । अरिंगालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिंगालका गोला कम देखिन थालेको सुनाए । ‘अरिंगाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रूपमा शिकार गर्ने गरिएको छ,’ उनले भने, ‘आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ ।’ वन क्षेत्रका महत्त्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरूको पनि प्राथमिकता नपरेको उल्लेख उनले गरे । नेपालमा अरिंगाल र बारुलाका ११ प्रजाति रहेको बताइन्छ । यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन् । अरिंगालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरू बताउँछन् । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट बयस्क हुनु अरिंगालको जीवनचक्र हो । अरिंगालले मौरी, झिंगा आदि किरालाई आहार बनाउने गरेको छ । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिंगाल पाइने गरेका छन् । रासस

मन्त्री खड्काले गरे सुनसरी–मोरङ सिँचाइ आयोजनाको अनुगमन, तत्काल सिँचाइ पुर्‍याउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन् । ‘कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्‍याउनुहाेस्,’उनले भने । मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धति’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ । मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बता‍ए । सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ । निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए ।