एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने
काठमाडौं । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे । साधारण सभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । साधारण सभामा आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा पनि छलफल भएको छ । साधारण सभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए । ‘क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ । पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ । आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,’ उनले भने, ‘पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ । यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ ।’ सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए । खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्ने बताए । ‘खेलाडी छनोट पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन । खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्,’ उनले भने । एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ । यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुँदैन,’ उनले भने ।
निफ्रा बैंकको नाफा पौने १४ करोड रुपैयाँ, कुल आम्दानी २५ करोड
काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पौने १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले साउनमा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । एक महिनामा बैंकको कुल आम्दानी २५ करोड १६ लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी २२ करोड १२ लाख रुपैयाँ गरेको छ भने बैंकले ब्याज खर्चमै १ करोड ८७ लाख रुपैयाँ, कर्मचारी खर्च ३९ लाख रुपैयाँ, कार्यालय सञ्चालन खर्च ४४ लाख रुपैयाँ गरेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड रुपैयाँ र अन्य जगेडा कोषमा ८० करोड रुपैयाँ रहेको छ ।
आजको मौसम : यी दुई प्रदेशमा हवाई यातायातमा असर पर्ने
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कुवेतभन्दा बहराइन दिनारको भाउ बढी, यस्तो छ आजको विदेशी मुद्राको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०२ रुपैयाँ र बिक्रीदर १५७.७२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.७८ रुपैयाँ र बिक्रीदर ९१.१९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.२९ रुपैयाँ र बिक्रीदर ९८.७३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.२१ रुपैयाँ र बिक्रीदर १०३.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०७ रुपैयाँ र बिक्रीदर १३.१३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९६ रुपैयाँ र बिक्रीदर २०.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१२ रुपैयाँ र बिक्रीदर १७.२० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.२० रुपैयाँ र बिक्रीदर ४३९.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.०१ रुपैयाँ र बिक्रीदर ३५५.६१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकामा ओलीले भने- कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’ यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आजै राष्ट्रसङ्घ भवनमा स्थानीय समयानुसार अपराह्न ५ः१५ बजे भेटवार्ता हुँदैछ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न रहेका छन् ।
प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखा सिनामङ्गलमा
काठमाडौं । प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोर्डका सीईओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले बताए । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए । होटल व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर भण्डारीले पारिवारिक वातावरणमा स्तरीय सेवा दिइरहेको जानकारी दिए । वि.सं २०६२ देखि हस्पिटालिटी सेवा सुरु गरेको ग्रुपले १८ वर्षमा काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा १५ आउटलेट विस्तार गरेको छ । स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना भन्ने अवधारणाका साथ लगानी विस्तार गरी स्तरीय सेवा दिने कम्पनीले उल्लेख गरेको छ । गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढङ्गले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताए । तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ । लुम्बिनी, चितवन हुँदै गन्तव्यमा जाने लक्ष्य छ । त्यसका लागि गैरआवासीय सङ्घले सम्झौता गरेको उनले जानकारी दिए । करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
मोरङका अस्पतालमा बिरामी बढेपछि रगत अभाव
बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७० देखि ८० युनिटसम्म मात्र संकलन हुने गरेकाले माग धान्न नसकिएको बताए । यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारीलगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उनले जानकारी दिए। ‘विगतमा भन्दा बिरामीको सङ्ख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ । अब रक्तदान कार्यक्रम आयोजना गर्ने क्रम बढाउनुपर्ने आवश्यकता छ’, प्रमुख यादवले भने । प्रदेशभर विभिन्न सङ्घसंस्थाले मासिक रूपमा औसत १५ देखि २२ वटासम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको भन्दै उनले गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने भएकाले रगतको अभाव हुने गरेको बताए। प्रसूति, मिर्गौला डायलासिसका बिरामी, थाल्सेमिया ९रगत नबन्ने० बिरामीका साथै दुर्घटनाका घाइतेहरूलाई धेरै रगत चाहिने गर्दछ । थाल्सेमिया विशेषगरी बालबालिकामा देखापर्ने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको सम्पर्कमा रहेका ९० जना बालबालिकाले थाल्सेमियाका कारण १५/१५ दिनमा नियमित रगत चढाइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिए। स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जनस्तरमा रक्तदानसम्बन्धी पर्याप्त जनचेतना जगाउन सके रगत संकलनमा केही सहज हुने बताए। बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेषकुमार श्रेष्ठले रगत अभाव पूर्ति गर्न आफूहरूले पनि रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताए । उनले शुक्रबार पनि रक्तदान कार्यक्रम आयोजना गरी ५५ युनिट रगत संकलन गरिएको जानकारी दिए ।
मुलुकको अर्थतन्त्र विकासमा वर्तमान सरकार केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, ‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।’ सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे । मन्त्री गुरूङले भने, ‘खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन ।’ उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरू घटाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए ।